
२७ वैशाख, काठमाडौं । श्रीलंकामा सरकार समर्थक र विरोधीबीच हिंसात्मक झडपको क्रममा सत्ताधारी दलका एक जना सांसदले आत्महत्या गरेका छन् ।
सत्ताधारी दलका सांसद अमरकीर्ति अथुकोरालले सोमबार सुरुमा सरकार विरोधी प्रदर्शनकारीमाथि गोली चलाए, पछि आफूले आफैंलाई गोली हानेर आत्महत्या गरेको बीबीसीले जनाएको छ । यो घटना राजधानी कोलम्बोको बाहिरी इलाकामा भएको हो ।
समाचार एजेन्सीका अनुसार प्रहरीले अमरकीर्तिले निट्टामबुआमा उनको कार रोक्ने कोसिस गरेका दुई जनामाथि गोली चलाएका थिए । उनले हानेको गोली लागेर एक जनाको मृत्यु भएको थियो ।
त्यसपछि आक्रोशित भिडबाट जोगिने प्रयासमा उनी नजिकको एक भवनमा लुकेका थिए । सो भिडले उनी लुकेको भवनलाई घेरा हाल्यो । त्यसपछि उनले आफैंलाई गोली हानेका थिए ।
श्रीलंकामा सोमबार सरकार समर्थक र विरोधीबीच झडप हुँदा पाँच जनाको मृत्यु र १३८ जना घाइते भएका छन् । यहीबीचमा श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले पदबाट राजीनामा दिएका छन् ।
श्रीलंकामा आर्थिक संकट चुलिएपछि नागरिकको आक्रोश बढेको छ । अभावबाट गुजि्ररहेका उनीहरुले सरकारविरुद्ध दिनहुँ विरोध प्रदर्शन गर्दै आएका छन् ।
प्रतिक्रिया 4