
काठमाडौं । शुक्रबार हुने स्थानीय तहको चुनावको मतदान तयारीमा सेलब्रिटीहरु पनि जुटेका छन् । कलाकारले आफ्नो क्षेत्रमा तोकिएको केन्द्रबाट मतदान गर्ने जनाएका छन् ।
काठमाडौं बाहिर निर्वाचन क्षेत्र हुने कलाकार गाउँ पुगेका छन् भने केहीले काठमाडौंबाटै मतदान गर्दैछन् । कतिपय कलाकार कार्यक्रमको सिलसिलामा विदेशमा भएकाले मतदानबाट वञ्चित हुनेछन् ।
अभिनेता राजेश हमालले काठमाडौं लैनचौरस्थित कन्या हाइस्कुल मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् । अभिनेता दीपकराज गिरीले चन्द्रागिरी नगरपालिका-१, दहचोकबाट मतदान गर्नेछन् ।
हरिवंश आचार्य बुढानीलकण्ठ, रेखा थापाले पशुपति क्याम्पस चावहिल, र्यापर तथा स्वतन्त्र उम्मेदवार बालेन शाहले गैरीगाउँस्थित अन्नपूर्ण स्कुल मतदान केन्द्रबाट मत हाल्नेछन् ।
अभिनेता निर्मल शर्मा काठमाडौं महानगरपालिका-७ सिफलस्थित हिमालय विद्यामन्दिर केन्द्रबाट मतदान गर्नेछन् । निर्मल उक्त केन्द्रमा काठमाडौं महानगरको मेयरका उम्मेदवार बालेन शाहको तर्फबाट पर्यवेक्षक पनि छन् ।
अभिनेता मनोज गजुरेलले सूर्यविनायक-२, भक्तपुरबाट मतदान गर्ने भएका छन् । भुवन केसी र उनकी प्रेमिका जिया केसीले भीमसेनगोला केन्द्रमा मतदान गर्ने जनाइएको छ । अनमोल केसीको मतदान केन्द्र पनि त्यही हो ।
कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले काभ्रेको पनौती नगरपालिकास्थित सुन्थाना मतदान केन्द्रबाट भोट हाल्नेछन् । संगीतकार चेतन सापकोटाले हेटौंडा उपमहानगरपालिका-९ लामखुरे केन्द्रबाट मतदान गर्नेछन् ।
गायक कस्तुप पन्त मतदानका लागि पर्वतको फलेवास नगरपालिका पुगेका छन् । अभिनेता विपिन कार्की पनि मतदानको लागि विराटनगर पुगेका छन् । विराटनगर महानगरपालिका-३ पुकेट क्याम्प केन्द्रबाट विपिनले मतदान गर्नेछन् ।
प्रतिक्रिया 4