+
+
काठमाडौंका मतदाताको अपेक्षा :

‘चुनाव जितेको भोलिपल्ट विजय जुलुस होइन, फोहोर व्यवस्थापन’

रोयल आचार्य रोयल आचार्य
२०७९ वैशाख ३० गते २०:४७

३० वैशाख, काठमाडौं । शुक्रबार भएको स्थानीय निर्वाचनमा मतदाताले उत्साहपूर्ण सहभागिता जनाए ।

आगामी पाँच वर्षका लागि चुनिने नेतृत्व सबल र जनताको पीरमर्का बुझ्ने खालको हुनुपर्ने मतदाता बताउँछन् । काठमाडौंका धेरैजसो मतदाताका समान अपेक्षा छन् । धेरै मतदाताको पहिलो अपेक्षा भने काठमाडौंको फोहोर व्यवस्थापन होस् भन्ने छ ।

स्थानीय चुनावमा सहभागी भइरहँदा काठमाडौंका बासिन्दाले झण्डै एक महिनादेखिको फोहोर घरमै राखिरहेका छन् । काठमाडौं महानगरपालिकाका विभिन्न मतदानस्थलमा पुग्दा धेरै मतदाताले निर्वाचित हुने जनप्रतिनिधिको पहिलो काम फोहोर व्यवस्थापन हुनुपर्ने बताए ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० निवासी ६७ वर्षीया मनमाया खरेल विहान ८ नबज्दै मतदान गर्न बानेश्वरको रत्नराज्य स्कूल मतदान केन्द्रमा पुगिन् । ज्येष्ठ नागरिक भएकाले उनले लाइन बस्नु परेन । सहजै मतदान गरेर बाहिरिइन् । स्थानीय तह सदस्यका लागि मत खसाउँदै गर्दा उनको मनमा एउटै चाहना छ, ‘फोहोरको समस्या आउने जनप्रतिनिधिहरुले समाधान गरुन् ।’

उनले चुनाव जितेपछि नेताहरुले विजय जुलुस निकाल्नुअघि फोहोर व्यवस्थापन गर्न सुझाव दिइन् ।

चुनाव आउने बित्तिकै विकासका राम्रै बहस हुन्छन् । आधारभूत आवश्यकता मात्रै होइन धेरै ठूला विकासका मुद्दा लिएर उम्मेदवारहरु घरघरमा पुग्छन् । मनमायाको चाहना भने खासै ठूलो छैन । काठमाडौंमा खानेपानीको समस्या पनि विकराल नै छ । त्यो भन्दा धेरै समस्या फोहोरमैलाको भएको उनी बताउँछिन् ।

‘फोहोर बाटाभरि छ, ढलको ठूलो समस्या छ, वर्षातमा पानी आउँदा सिधै घरभित्र पस्छ,’ उनले भनिन्, ‘फोहोरलाई समयमा नै उठाउने व्यवस्था गर्नुपरो, अहिलेसम्म जनप्रतिनिधिले काम नै गर्नुभएन ।’

मनमायाको घर विजुलीबजारमा छ । उनको घर छेउमा माछा पसल छ । त्यो माछा पसलको फोहोर वर्षातको समयमा घरभित्रैसम्म आउने गरेको उनले सुनाइन् । ‘गहिरोमा घर छ, दैलो दैलोमा फोहोर पुग्छ’ उनी भन्छिन्, ‘यति मात्रै समस्या समाधान भएपनि अरु खासै मतलब थिएन ।’

वडा नम्बर १० कै मतदाता तथा स्थानीय नेता बाबुराम आचार्य पनि सडकमा छरपस्ट तार र सडक किनारामा थुप्रिएको फोहोरको व्यवस्थापन अबको नेतृत्वले गर्नुपर्ने बताउँछन् । व्यवस्थापन यसअघि पनि नभएको होइन । तर फोहोर उठाउन ढिला हुँदा सहर दुर्गन्धित हुने गरेको छ । यस विषयमा नयाँ जनप्रतिनिधिले ध्यान दिनुपर्ने उनको सुझाव छ ।

‘निर्वाचन एउटाले जित्ने र अर्कोले हार्ने भन्दा पनि लोकतन्त्रको जित हुने हो, यहाँका समस्याहरु समाधान गर्न सक्ने नेतृत्व चाहिन्छ’ बाबुराम भन्छन्, ‘विचारका हिसाबले सबैका आ–आफ्ना होलान् तर जसले वा जुन विचारधारा बोक्ने नेताले जिते पनि यहाँका फोहोर व्यवस्थापन हुनुपर्छ ।’

उनको बुझाइमा यसअघिका निर्वाचनपछि स्थानीयले तात्विक परिवर्तनको अनुभुति गर्न पाएका छैनन् । कतिपय समस्या समाधान भए पनि धेरैजसो समाधान हुनसकेका छैनन् । फोहोर व्यवस्थापन जस्ता सामान्य समस्याको सहज तरिकाले दीर्घकालीन समाधान खोज्नुपर्ने उनको सुझाव छ ।

बानेश्वरका स्थायी बासिन्दा दृष्टिविहीन राघव महर्जनले सहजकर्ताको सहयोगमा शुक्रबार विहानै मतदान गरे । उनको यो तेस्रो पटकको मतदान हो । उनले विगतको निर्वाचन र अहिलेको निर्वाचनमा खास फरक देखेका छैनन् । निर्वाचनबाट ५ वर्षअघि चुनिएका जनप्रतिनिधिले समस्या समाधानमा तदारुकता नदेखाएको उनी बताउँछन् । फोहोर व्यवस्थापन जस्तो सामान्य समस्या समेत समाधान हुन नसक्नु दुःखको विषय भएको उनको बुझाइ छ ।

‘अबको नेतृत्व नयाँ केही गर्छु भन्ने सोच भएको मान्छे चाहिन्छ, चुनावका बेला नमस्कार गर्न आउने मात्रै होइन अन्य समयमा पनि ध्यान दिनुपर्छ’ उनले भने, ‘कम्तीमा जनताको यो अपेक्षा त पूरा गर्नैपर्छ भनेर गम्भीर हुनसक्ने जनप्रतिधि हामीलाई चाहिएको हो ।’

बानेश्वर हाइटका केशव खरेल जनप्रतिनिधिले फोहोर व्यवस्थापनलाई आफ्नो पहिलो काम ठान्नुपर्ने बताउँछन् । ‘विकास गर्ने खालको मान्छे चाहिन्छ, पार्टी भनेको जुनसुकै होस् मतलब भएन,’ उनले भने, ‘अब आउने नेतृत्वले पहिले ध्यान दिनुपर्ने विषय भनेको फोहोरमैला नै हो, यसबाहेक ढलको व्यवस्थापन र खुला ठाउँहरुमा पार्क बनाउनेतिर ध्यान दिनुपर्छ ।’

मतदान गर्ने लाइनमा भेटिएका स्थानीय इशान सुवेदी पनि स्थानीय तहका जनप्रतिनिधिहरुबाट खासै ठूलो आशा नरहेको सुनाउँछन् । ‘ठूला सपना देखाउनुपर्ने छैन, जे वास्तविक समस्या हो त्यतिमात्रै समाधान गरिदिए पुग्छ’ उनले भने, ‘अब आउने नेतृत्वले सबै भन्दा पहिला गर्नुपर्ने काम फोहोरमैला व्यवस्थापन नै हो ।’

काठमाडौं एउटा सुन्दर संग्रहालय भएको र यसलाई सुन्दर नै रहन दिनका लागि सहरमा फोहोरको सही व्यवस्थापन जरुरी रहेको उनी सुनाउँछन् । सानो गौचरन मतदान केन्द्रमा भेटिएका स्थानीय अनुपम पराजुलीको अपेक्षा पनि यस्तै छ ।

स्थानीय सुस्मिता राणाका अनुसार अन्य वडाको तुलनामा वडा नम्बर १० मा चाडै फोहोर उठ्ने गरेको छ । तर यसलाई अझै धेरै राम्रोसँग समयमा नै फोहोर उठ्ने बनाउनुपर्ने उनको भनाइ छ ।

काठमाडौंको मेरीगोल्ड बुथमा भेटिएका ज्येष्ठ नागरिक मीनप्रसाद गौतमको अपेक्षा पनि ढल र फोहोरको व्यवस्थापन गर्नुपर्छ भन्नेमै छ । स्थायी घर काभ्रे भए पनि उनी पछिल्लो समय काठमाडौंमै बस्छन् । काठमाडौंको मतदाता भएपछि मात्रै उनले यसअघि भएका दुई निर्वाचन स्थानीय तहसँगै प्रदेश र संघीय सदस्यका लागि भएको निर्वाचनमा पनि सहभागी भएका छन् ।

यसअघिको नेतृत्वले पनि राम्रै काम गरेको बताएका उनी अब झनै राम्रोसँगले फोहोर व्यवस्थापन गर्नुपर्ने बताए । ‘पानी र ढलको समस्या धेरै छ, फोहोर मात्रै समयमा उठ्ने हो भने पनि धेरै राम्रो हुने थियो,’ ७२ वर्षीय गौतमले अनलाइनखबरसँग भने ।

बसन्तुरका कमलमान सिंहले अघिल्लो पटक बढो उत्साहका साथ भोट दिएका थिए । तर, त्यो मत खेर गएको उनी बताउँछन् । भन्छन् ‘अघिल्लो पटक भोट दिएको व्यक्तिले जिते तर काम भएन । काम नभएपछि खेरै गएको त हो ।’
टोल, नगर सफा गर्छु भनेको व्यक्तिले कहिले हप्ता दिनसम्म फोहोर नउठाउँदा दुर्गन्धले हिँड्न, बस्न नसकिने हुने गरेको बताउँछन् ।

बसन्तपुरको मतदान केन्द्रमा मतदान गरेर फर्किरहेका उनी काष्ठमन्डप अगाडि भेटिएका थिए । त्यहाँ थुपारिएको फोहोर देखाउँदै उनी भन्छन् ‘हेर्नुहोस् न यी यो फोहोर तीनदिनदेखि यहिँ थुप्रिएको छ । काम गरेको भए आजको दिन त झन सफा हुनुपथ्र्योहोला । त्यसैले नयाँ पिँडीलाई मतदान गरिएको छ । जितेपछि उठाउलान नि यो फोहोर ।’

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?