+
+

भक्तपुरमा नेमकिपाको ‘जब्बर’ विरासत

‘मैले जे चाहेर भोट हाल्दै आएको छु त्यो पाएको छु । समयअनुसार मेरा चाहना फेरिए होलान्, कहीँ कतै पुगेन कि भन्ने लाग्छ पनि तर, मलाई भक्तपुरबासी हुँ भन्दा गर्व लाग्छ ।’ भक्तपुरमा त्यस्तो के छ ? भन्दा उनी ‘के छैन ?’ भनेर प्रतिप्रश्न गर्छन् ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ वैशाख ३० गते २१:२६

३० वैशाख, भक्तपुर । २०४७ साल यताका हरेक निर्वाचनमा भक्तपुर नगरपालिका वडा नं.९ का ६६ वर्षीय बुद्धिकुमार बेञ्जुले नेपाल मजदुर किसान पार्टीका उम्मेदवारलाई भोट हाल्दै आएका छन् ।

उनी भन्छन्, ‘मैले जे चाहेर भोट हाल्दै आएको छु त्यो पाएको छु । समयअनुसार मेरा चाहना फेरिए होलान्, कहीँ कतै पुगेन कि भन्ने लाग्छ पनि तर, मलाई भक्तपुरबासी हुँ भन्दा गर्व लाग्छ ।’

भक्तपुरमा त्यस्तो के छ ? भन्दा उनी ‘के छैन ?’ भनेर प्रतिप्रश्न गर्छन् ।

नेमकिपाको कार्यकर्ता हो ? भन्ने प्रश्नमा ‘अहिलेसम्म कुनै पार्टीको सदस्यता लिएको छैन’ भन्ने जवाफ दिन्छन् ।

शुक्रबार भक्तपुरका बिभिन्न मतदान केन्द्रमा पुग्दा बेञ्जु जस्तै सवाल जवाफ गर्ने मतदाता कमै भेटिए । तर, धेरै भेटिए स्थानीय संस्कृतिको जगर्नेसँगै भएको विकासप्रति खुसी प्रकट गर्नेहरु । अधिकांशले भक्तपुरको व्यवस्थित विकास हुनुमा नेमकिपालाई जस दिएका छन् ।

भक्तपुर नगरपालिकाले अहिले सफा सहरको पहिचान बनाएको छ । ‘जबकि ३० वर्ष अघि यो नगरपालिकाको पहिचान फोहोर सहर थियो’, ५४ वर्षीय मानकाजी गाइजुले अनलाइनखरसँग भने ।

उनका अनुसार, दैनिक उत्पादन हुने फोहोर नगरभित्रै व्यवस्थापन हुन्छ । कुहिने र नकुहिने फोहोरलाई घरमै छुट्टाछुट्टै संकलन गर्ने व्यवस्था छ । फोहोर संकलनका लागि हरेक परिवारलाई नगरपालिकाले दुई वटाका दरले बाल्टिन दिएको छ ।

‘हाम्रो घरबाट उठाएको कुहिने फोहोर कम्पोस्ट मल बनाएर नगरपालिकाले हामीलाई नै सस्तोमा बेच्छ । नकुहिने फोहोर अन्तै बेचिदिन्छ’, मानकाजी थप्छन्, ‘यसले नगरपालिकालाई आम्दानी र हामीलाई सफा सहर प्रदान गरेको छ ।’ उनका भनाइमा, फोहोरबाटै बायोग्यासलगायत वैकल्पिक ऊर्जा निर्माण गर्ने कार्यलाई प्रोत्साहन गरिएको छ ।

घरबाट उत्पादन हुने फोहोर मात्रैको व्यवस्थापनले भक्तपुर सफा सहर बनेको होइन् । सडक बाटो र स्थानीय स्तरमा भएका सांस्कृतिक सम्पदाको पनि नियमित सरसफाइ गरिन्छ ।

मानकाजी भन्छन्, ‘कसैले सडकमै फोहोर फालेछन भने सफाइ कर्मचारीले तत्काल टिपेर लैजान्छन् । त्यसैले त भक्तपुर सफा छ ।’

उनका अनुसार प्रत्येक महिनाको १ र १५ गते सबै जनप्रतिनिधि, कर्मचारी, स्थानीय क्लव, डाफा–भजन, संघसंस्थाको सहभागितामा मठ–मन्दिर, खोलनाला र घाटको सफाई गरिन्छ ।

भक्तपुर नगरपालिकाले सम्पदा संरक्षणलाई उत्तिकै महत्व दिएको बताउँछन् ५३ वर्षीय विश्वराज गाइजु । उनका अनुसार संस्कृति र परम्परालाई संरक्षण गर्न नगर क्षेत्रभित्र डाफा, भजन चलाउने, नाचगानका लागि प्रोत्साहन गर्ने, बाँसुरी बाजाको प्रतियोगिता पनि नगरपालिकाले गर्दै आएको छ ।

गाइजु थप्छन्, ‘भुकम्पपछिको पुर्ननिर्माणमा पनि भक्तपुर अन्यत्र भन्दा निकै अगाडि भयो ।’ उनको बुझाइमा नगरपालिकाले भक्तपुरको लोक संस्कृति जगर्नेका लागि उच्चतम ध्यान दिएको छ । पाटी पौवाहरु, गुम्बाहरु बनाएको छ । पुराना ऐतिहासिक सम्पदाहरुको संरक्षण गरेको छ । उनी थप्छन्, ‘भक्तपुर बस्न लायक सहर हो । यहाँ सबै प्रकारको सुविधा छ ।’

स्वास्थ्य : घरघरमै सेवा

भक्तपुरको दत्तात्रेय मतदान केन्द्रमा भेटिएका निरज गुहँजुले भक्तपुरबासीले प्राप्त गर्दै आएको स्वास्थ्य सेवा र शिक्षाको विषयको चर्चा गरे ।

उनका अनुसार घरघरमा निशुल्क नर्सिङ सेवा पाइन्छ । नगरपालिकाले १० वटै वडाका लागि एक÷एक जना नर्स राखेको छ । जो हरेक दिन नागरिकहरुको घरमा पुग्छन् । नागरिकले दिनहुँ निशुल्क नर्सिङ सेवा प्राप्त गर्छन । नर्ससँगै स्वास्थ्य स्वयंसेविकासमेत गएर नागरिकको चाहना अनुसार रक्तचाप र सुगर परीक्षण, गर्भवती र सुत्केरी जाँच गर्छन् । कुनै समस्या भए अस्पताल जान सुझाउँछन् ।

अस्पतालमा पनि उपचारका लागि महंगो शुल्क तिर्नु नपर्ने निरजको अनुभव छ । उनी भन्छन्, ‘बालरोग, स्त्रीरोग, नाक, कान, घाँटीरोग, छालारोग, नसा तथा हाडजोर्नी जस्ता समस्याहरुको सेवा ५० रुपैयाँको टिकट काटेर पाउन सकिन्छ ।’ उनका भनाइमा, जटिल रोग बाहेक अरु सबै उपचार न्यून शूल्कमा पाइन्छ ।

घरघरमा पुगेका नर्सले नागरिकहरुको स्वास्थ्य जाँचको रेकर्ड राख्छन् । रेकर्ड अनुसार नगरपालिकाले नगरवासीका लागि थप सेवाहरु उपलब्ध गराउँछ । उदाहरणका लागि, नियमित व्यायामको अभावमा हुने जटिल किसिमका रोगबाट नागरिकहरु पीडित भएको निष्कर्ष निक्लिएपछि विभिन्न स्थानमा निशुल्क व्यायामशालाको सुरुवात गरिएको छ ।

५१ वर्षीय मोनकुमार माकका अनुसार, सुरुमा ५ ठाउँमा व्यायामशालामा राखिएको थियो । धेरैको आकर्षण बढेपछि अहिले १३ ठाउँमा व्यायामशाला निर्माण भएर सञ्चालनमा छन् । ‘एकाबिहानै व्यायामशालामा नागरिकहरुको भीड लाग्छ’ माकले अनलाइनखबरसँग भने ।

भक्तपुर नगरपालिकाका निवर्तमान मेयर सुनिल प्रजापतिका अनुसार, भक्तपुर नगरपालिकामा सरकारी र निजी गरी ५ वटा अस्पताल छन् । नगरपालिकाले २५ शैयाको अस्पताल आफ्नै लगानीमा बनाउन स्वीकृति लिएर काम अगाडि बढाएको छ ।

यस्तै, शिक्षा सर्वसुलभ रुपमा पाइएको स्थानीयबासिन्दाको भनाइ छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ख्वप इञ्जिनियरिङ कलेजमा स्नातक र स्नातकोत्तरको अध्यापन हुन्छ । अरु ६ वटा क्याम्पस छन् ।

निवर्तमान मेयर प्रजापतिका अनुसार, भक्तपुर नगरपालिकाले आफ्नै स्वामित्वका सातवटा शिक्षण संस्था (ख्वप मावि, ख्वप कलेज, ख्वप इन्जिनियिरिङ कलेज, ख्वप कलेज अफ इञ्जिनियरिङ, ख्वप बहुप्राविधिक अध्ययन संस्थान, शारदा मावि र शारदा कलेज)बाट सेवा प्रदान गर्दै आएको छ ।

भक्तपुरमा अध्ययनका लागि आफूहरुलाई अन्य नगरपालिका र जिल्लाका नागरिकहरुले भनसुनका लागि आग्रह गर्ने गरेको स्थानीयबासिन्दाको भनाइ छ । बुद्धिकुमार बेञ्जु भन्छन्, ‘मलाई भनसुन का लागि आग्रह गर्नेहरुले भन्दा कलेजले लिने परीक्षा पास गर्नेले पढ्न पाउँछ । कसैको भनसुसन लाग्दैन् भनेको छु ।’

शुक्रबार मतदान स्थलमा भेटिएका मतदाताहरु अब भक्तपुरको मुख्य चुनौती र चिन्ता शैक्षिक बेरोजगारलाई व्यवस्थापन गर्नु रहेको बताउँछन् । स्थानीय निरज गुहँजु भन्छन्, ‘कुनै बेला एक जना नर्स भए नगरपालिकाभर चिनिन्थ्यो । अहिले प्रत्येक वडा वडामा नर्स सेवा छ । धेरैले नर्स पढेका छन् । इन्जियिरिङ पढ्नेहरु उस्तै छन् । घर घरमा मास्र्ट डिग्री होल्डरहरु छन् ।’

जीवन मानन्धर भक्तपुर नगरपालिकाको अबको मुख्य चुनौती सबैलाई रोजगार दिलाउनु रहेको बताउँछन् । आफू इन्जियिरिङ पेशामा रहेको तर, आफ्ना सबै सहपाठीहरु रोजगार नरहेको भन्दै उनले अब निर्वाचित हुने जनप्रतिनिधिले यसतर्फ ख्याल गर्नुपर्ने बताए ।

‘पाँच वर्षको कार्यकालका लागि मैले चुन्दै गरेका जनप्रतिनिधिले यहाँको वेरोजगार समस्यालाई चिर्नुपर्ने छ’ मानन्धरले बताए ।

के गर्दा वेरोजगार समस्या समाधान हुन सक्छ भन्ने पनि उनी सुझाउँछन् । उनी भन्छन्, ‘पर्यटन विकास गर्ने, यहाँको कला संस्कृतिबारे जानकारी गराउन सक्ने गरी नागरिकलाई बिभिन्न भाषा सिकाउने गर्न सकिन्छ ।’

तीन दशकको प्रयास

व्यवस्थित भक्तपुर बन्नुको पछाडि एक दुई वर्षको मेहनत मात्रै नरहेको स्थानीयबासिन्दाहरु नै बताउँछन् ।

‘स्थानीय व्यापारी मोहनकुमार माक भन्छन्, ‘भक्तपुरले दीर्घकालीन हित हेर्ने गरी काम गर्ने नेतृत्व पायो । नेतृत्वले निरन्तर प्रयास गर्‍यो र नागरिकहरुले पनि साथ दिए । यसका लागि भक्तपुरले तीन दशक भन्दा बढी समय गुजारिसकेको छ’ उनले भने । उनी आफूले व्यापार गरेवापत्त नगरपालिकालाई कर तिर्ने गरेको र नगरपालिकाबाट पाएको सेवाबाट सन्तुष्ट रहेको बताउँछन् ।

६६ वर्षका बुद्धिकुमार बेन्जुका अनुसार २०५४ सालको स्थानीय चुनावमा नेमकिपाले शिक्षण संस्था स्थानीय निकायले सञ्चालन गर्ने, सम्पदा संरक्षणमा जनसहभागिता गराउने लगायतको नीति घोषण गरेको थियो । ‘उक्त घोषणा अहिले कार्यान्वयनमा छ’ उनले भने । त्यसबेलादेखिको नेमकिपाको नीति र जनताको समर्थनले नगरलाई व्यवस्थित बनाएको उनलाई लाग्छ ।

स्थानीयहरुका अनुसार ०५४ देखि नै भक्तपुरमा स्थानीय तह र संसदमा प्रतिनिधित्व गर्ने दल नेमकिपा हो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानपछिको पहिलो स्थानीय तहको चुनावबाट पनि भक्तपुर नगरको नेतृत्वमा नेमकिपाकै सुनिल प्रजापति विजयी भएका थिए । उनले पनि पार्टीको नीति अनुसार भक्तपुरलाई थप व्यवस्थित बनाउन भूमिका खेलेको स्थानीयहरुको बुझाइ छ ।

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर 

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?