+
+

सिन्धुपाल्चोकको पाँचपोखरी : मतपत्रको संख्या फरक पर्दा धन्न अप्रिय घटना भएन !

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते १७:१८

५ जेठ, काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ५ को मतगणनामा भएको विवाद समाधान भएपछि अहिले मतगणना जारी छ ।

गएराति वडा नम्बर ५ को मतगणना भइरहेको बेला एमाले र कांग्रेस, माओवादी केन्द्र र राप्रपाका प्रतिनिधिहरुबीच विवाद भएको थियो । स्थिति असामान्य बनेपछि मुख्य निर्वाचन अधिकृत सहसचिव चन्द्रप्रकाश तिवारी र सुरक्षाकर्मीसहितको टोली मतगणना स्थल गाउँपालिकाको कार्यालयमा पुगेको थियो ।

सर्वदलीय बैठकपछि वडाध्यक्ष पदको मतगणना पुनः सुरु गरिएको थियो । बिहीबार बिहान सार्वजनिक भएको मत परिणाम अनुसार वडा नम्बर ५ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

कसरी भयो विवाद ?

वडा नम्बर ५ मा १ हजार २०३ मत खसेको भनेर मतदान अधिकृतको हस्ताक्षरसहितको कागज थियो । तर मतपेटिका खोलेर मतगणना गर्दा १ हजार २०० मत मात्र देखियो ।

१ हजार १०० मत गनिसकेपछि थोरै मतपत्र भएको विषय उठाएर प्रतिनिधिहरुले विवाद सुरु गरे र मतगणना स्थगित भयो ।

‘८ मतले जितहार पक्का हुने भएपछि थोरै मतपत्र भएको विषय उठाएर विवाद सुरु भयो,’ निर्वाचन आयोगका एकजना कर्मचारीले भने, ‘एमाले एकातिर र कांग्रेस, माओवादी र राप्रपा अर्कोतिर भएर वादविवाद गर्ने थालेपछि स्थति असामान्य बन्यो । ग्रिलको बार लगाएर मतगणना स्थल बलियो बनाइएको थियो, नत्र त अप्रिय घटना हुने रहेछ ।’

विवाद चर्किएपछि मतदान अधिकृत र गणक कर्मचारीहरु नै मतगणना स्थल छाडेर हिंडेका थिए । त्यसपछि मुख्य निर्वाचन अधिकृत तिवारीसहितको टोली मतगणना स्थलमा पुगेको थियो ।

रातभरको प्रयासपछि सर्वदलीय बैठकमा वडाध्यक्ष पदको मत पुनः गणना गर्ने सहमति भयो । पुनः मतगणना गर्दा एमालेका काले गोले १४ मत अन्तरले वडाध्यक्षमा विजयी भए ।

हालसम्म वडा नम्बर १ मा एमालेका आलोककुमार स्याङ्बो, २ मा कांग्रेसका बाबुलाल स्याङ्बो, ३ मा एमालेका ङिमा छिरिङ तामाङ, ४ मा राप्रपाका कुलबहादुर बस्नेत र ५ मा एमालेका काले गोले विजयी भएका छन् ।

गाउँपालिकाको अध्यक्षमा एमालेका टासी लामा र उपाध्यक्षमा एमालेकै सुनिता अधिकारीको अग्रता कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?