+
+

एन्फा छानविन समितिको निष्कर्षः मुख्य प्रशिक्षकको विकल्प खोज्नु

१० खेलाडीलाई एसियन कप छनोटमा नपठाउन सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते १८:५५

६ जेठ, काठमाडौं । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक र ९ जना खेलाडीबीच विवादको सत्यतथ्य पहिल्याउन अखिल नेपाल फुटबल संघ (एन्फा)ले गठन गरेको समितिले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको विकल्प खोज्न सुझाव दिएको छ ।

खेलाडी र प्रशिक्षक विवादले चर्को रुप लिएपछि एन्फाले अघिल्लो साता नेपाली सेनाका पूर्वरथी भिक्टर राणाको संयोजकत्वमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा र पूर्व अन्तर्राष्ट्रिय खेलाडी विदूर विष्टसम्मिलित समिति गठन गरेको थियो । समितिले एक साता लगाएर छानविन पूरा गरी २८ पृष्ठको प्रतिवेदन मंगलबार एन्फालाई बुझाएको थियो ।

प्रतिवेदनमा खेलाडी, टिम व्यवस्थापक तथा एन्फा सचिवालय र मुख्य प्रशिक्षक गरी तीन पक्षको कमजोरी औल्याएको छ ।

छानविन समितिको प्रतिवेदनमा कतार फुटबल संघको सहयोगमा नेपाल आएका फिफा फ्रो लाइसेन्सधारी कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एन्फा सचिवालयसँग समन्वय नगरी एकलौटी र स्वेच्छाचारी ढंगले काम गरेको, खेलाडीको छनोट, प्रशिक्षण र मूल्यांकन गर्ने जिम्मेबारीबाहेक अन्य कार्यमा समेत हस्तक्षेप गरेको ठहर गरेको छ ।

छानविन समितिले खेलाडीहरु बन्द प्रशिक्षणबाट भागेको कुरामा सत्यता नरहेको बरु प्रशिक्षक अल्मुताइरीले ९ जना खेलाडीलाई बारम्बार अमर्यादित भाषामा निस्केर जानु भनेपछि खेलाडीहरु बाध्य भएको निष्कर्ष निकालेको छ । प्रशिक्षकले खेलाडीलाई बाहिर जाने निर्देशन दिनुको कारण पनि प्रष्ट बताउन नसकेको प्रतिवेदनमा लेखिएको छ ।

मुख्य प्रशिक्षक अल्मुताइरी उनको स्वास्थ्य अवस्थाका कारण उत्तेजित र तनावमा देखिनु, स्वास्थ्य परीक्षणका लागि विदा स्वीकृत अवस्थामा रहेको, फरक सामाजिक/सांस्कृतिक परिवेश र सामाजिक सन्जालमा बारम्बार विवाद तथा अनावश्यक टिकाटिप्पणीजस्ता कार्यले राष्ट्रिय टिममा स्वच्छ वातावरण नपाएको प्रतिवेदनमा उल्लेख छ ।

एसियन कप छनोट प्रतियोगितापछि कतार फुटबल संघको सहयोगलाई निरन्तरता र सहमति कायम राख्दै मुख्य प्रशिक्षकको अर्को विकल्प खोज्न सिफारिस गरिएको छ ।

छानविन प्रतिवेदनमा खेलाडीको पनि कमजोरी उल्लेख गरिएको छ । होटेलसम्बन्धी विवादलाई बारम्बार नदोहो¥याउन आग्रह गर्दा पनि खेलाडीले समूहगत रुपमा कुरा उठाएर वादविवाद सृजना गर्न खोजेको प्रतिवेदनमा उल्लेख छ । मुख्य प्रशिक्षकबाहेक टिमका अन्य सबै अफिसियलको आग्रह नमानी वैशाख १३ गते राती बन्द प्रशिक्षणरत होटेलबाट बाहिर जानु पनि खेलाडीको गल्ती भएको औल्याइएको छ ।

भोलिपल्ट मुख्य प्रशिक्षक र व्यवस्थापकले फोन तथा म्यासेजबाट सम्पर्क गरी समस्या समाधानको प्रयास गर्दा कुनै पनि खेलाडीले प्रतिक्रिया नदिनुलाई गैरजिम्मेबारीपन भनिएको छ । एन्फामा गएर समस्या समाधानको विकल्प हुँदाहुँदै पत्रकार सम्मेलन गरी विषयलाई अतिरन्जित गरिनु, राष्ट्रिय खेलाडीबाट अनुशासनहीन र गैरजिम्मेबारीपूर्ण कार्य देखिएकाले १० खेलाडीलाई आसन्न एसियन कप छनोट प्रतियोगितामा समावेश गर्न नहुने समितिले प्रतिवेदनमा उल्लेख छ । भविष्यमा यस्ता गतिविधि दोहो¥याएमा फुटबल टिममा छनोट हुन अयोग्य हुनेबारे सचेत गराउन पनि भनिएको छ ।

समितिले नेपाली टोलीका व्यवस्थापन मधुसुधन उपाध्ययको कार्यक्षमतामा प्रश्न उठाखउँदै उनलाई आसन्न एसियन कप छनोट प्रतियोगितापछि पदबाट हटाउन एन्फालाई सिफारिस गरेको छ ।

घटना भएको रात व्यवस्थापक होटेलमा नरहेको हुनाले आफ्नो पदीय जिम्मेबारी संहाल्न नसकेको, मुख्य प्रशिक्षक र खेलाडीको विवाद समाधानका लागि समयमै पर्याप्त प्रयास नगरेको दावी गरिएको छ । उनलाई एन्फा सचिवालयले व्यक्तिगत विश्वासका आधारमा नियुक्ति दिएको गम्भीर आरोपसमेत प्रतिवेदनले लगाएको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?