+
+

युरोपमा नेपालीहरुको आइडिया खोज्दैछु : महावीर पुन

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ११ गते १७:२२

११ जेठ, बार्सिलोना । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवम् नेपाली वैज्ञानिक डा महावीर पुनले हालै  युरोप भम्रण गरे । उनले झन्डै दुई महिनाको अन्तरालमा युरोपका १६ वटा मुलुकमा पुगेर नेपालीमाँझ छलफल तथा अन्तर्क्रिया गरिसकेका छन् । युरोपमा रहेका नेपालीसँग मात्रै नभई डा. पुनले विभिन्न देशहरुका अनुसन्धान केन्द्रहरुमा पुगेर अनुसन्धानकर्ताहरुसँग भेटवार्ता र छलफल गरेका छन् ।

उनले आफूले सिकेको ज्ञान सीप र अनुभव लिएर आविष्कार र उद्यमशीलताका लागि योगदान गर्न युरोपमा रहेका नेपालीलाई अनुरोध समेत गरेका छन् ।  मूलत: यति लामो भम्रणको उद्देश्य के हो ? यसबारे स्पेनको बार्सिलोना पुगेका बेला उनीसँग अनलाईनकर्मी बसन्त रानाभाटले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंश :

 तपाई झन्डै दुई महिनादेखि युरोपको भम्रणमा हुनुहुन्छ, खास उद्देश्य चाहिँ के हो ?

अब यसलाई भ्रमण भन्ने कि डुलि रहेको भन्ने । युरोपका १६ वटा मुलुकहरुमा पुगेँ । तर त्यहाँ मैले रमाइलोको लागि घुम्न खोजेको पनि होइन। पर्यटकको रुपमा साइट सिन हेर्न  खोजेको पनि होइन । विशेषत भेटघाट र अन्तर्क्रियाका लागि नै हिडेको हुँ । अहिलेको जमानामा प्रविधि मार्फत नेपालमा नै बसेर पनि भेटघाट र छलफल पनि गर्न सकिन्थ्यो । तर मैले आफ्नो कुरा सुनाउने मात्र होइन कि अरुबाट आइडिया पनि लिने हो । त्यसैले दोहोरो छलफलसहित अन्तर्क्रियाका कार्यक्रमहरु भए ।

दोस्रो कुरा राष्ट्रिय आविष्कार केन्द्रका भगवान भने पनि जे भने पनि जनताहरु नै हुन् । देश विदेशबाट हामीलाई सहयोग गर्नुभएको छ । आविष्कार केन्द्रमा के कस्ता कामहरु भइराखेका छन् ?  कसरी भइराखेका छन् ?  त्यो बारेमा पनि प्रत्यक्ष रुपमा  जानकारी दिने अवसर पनि मिलेको छ । कोरोना महामारीको बेलामा झन्डै ९ करोड़ रुपैयाँ सहयोग प्राप्त भएको थियो । धन्यवादसहित त्यसको जानकारी दिने अवसर पनि मिलेको छ ।

राष्ट्रिय आविष्कार केन्द्रबारे बुझाउने तपाईको अभियान पनि हो ?

हो । कतिपयले राष्ट्रिय आविष्कार केन्द्रबारे एकदमै थोरै मात्रामा बुझेका छन् । आविष्कार केन्द्र भनेको विदेशमा जस्तै  ठुला-ठुला आविष्कार गर्छन् होला भन्ने किसिमको धारणा छ । वास्तवमा हामीले कस्तो किसिमको अनुसन्धान र आविष्कार गरेका छौ भनेर सुक्ष्म ढंगले बुझाउने यो मौका पनि हो ।

हाम्रा ७-८ किसिमका अनुसन्धानका कामहरु सफल होला जस्ता छन् । त्यो कामका लागि लगानीकर्ताहरु चाहिन्छ । उनीहरुले इन्भेष्ट गर्नुपर्छ । त्यसमा व्यवसाय गर्नुपर्छ । लगानीकर्ताहरुलाई अग्रिम जानकारी पनि दिइरहेको छु ।

तपाईजस्तै विदेशबाट फर्केर, नेपालसँग जोडिने मनस्थिति भएका नेपाली वैज्ञानिकहरु यता भेट्नुभयो ? 

सबैको आ-आफ्नो बाध्यता हुन्छन् । कतिको मन हुन्छ तर बाध्यताले गर्न मिलिरहेको छैन । देशका लागि गर्छु भन्ने मननै नहुने त अति नै थोरै संख्यामा मात्रै होला । तर मैले उहाँहरुलाई भन्ने कुरा के छ भने, जहाँ बसेपनि हुन्छ । यदि मन छ भने आफूले सिकेको ज्ञान सीप जहाँ बसेर भए पनि नेपालको फाइदाका लागि काम गर्न सकिन्छ । किनभने अहिले प्रविधिको युग हो । जुन कुनामा बसेको भए पनि योगदान दिन सकिन्छ ।  तपाईसँग साँच्चिकै राम्रा आइडिया छन् भने हामीलाई सेयर गर्नुहोस् ।

त्यसो भए आविष्कार केन्द्रसँग विदेशमा रहेका वैज्ञानिकहरु कसरी जोडिन सक्छन् ? तपाईको केह योजना त होला ?

योजना भन्दा पनि हामीले ढोका खुल्ला गरिदिने हो । त्यो ढोका भित्र छिर्ने वा नछिर्ने उहाँहरुको चाहना हो । हामीले त अनुरोध गरिराखेका छौं । एउटा कोल्याबरेसन फर्म, सहकार्य गर्ने किसिमको अनलाइन फर्म पनि खोलेका छौं । त्यसमार्फत आफ्नो विज्ञताको कुराहरु भर्न अनुरोध गरेका छौं । मैले भेट्दा र डुल्दा पनि त्यही भन्दै आएको छु । आइडिया ल्याउनुहोस् । कोहीले नेपालमा बसेर काम गरौंला । कोहीले विदेशमा बसेर पनि सहकार्य गर्न सकिन्छ । मैले उहाँहरुलाई अनुरोध गरिराखेको छु ।

नेपालमा काम गर्ने वातावरण नै मिलेन भन्दै उम्किने छुट अब उहाँहरुलाई रहेंन त्यसो भए ?

उहाँहरुले ठुला-ठुला कुरा सिक्नुभएको छ होला । अहिले नै राष्ट्रिय आविष्कार केन्द्रमा ल्याएर डाइरेक्ट इम्लिमेन्ट गर्न सकिदैन होला । त्यस्तो अवस्थामा त छुट हुनुपर्‍यो नि । जस्तो यहाँ मैले ठूला – ठूला रिसर्च सेन्टरहरुमा, युनिभर्सिटीहरुमा, कम्पनीहरुमा काम गर्ने भाइबहिनीहरु भेटिरहेको छु । उहाँहरुलाई त्यस्तै वातावरण तत्काल बनाउन त सकिदैन । त्यस्तो अवस्थामा छुट हुनुपर्‍यो नि ।

त्यसो भए राष्ट्रिय आविष्कार केन्द्रमा कुन कुन क्षेत्रका लागि प्लेटफार्म छ त ?

सबै क्षेत्रका लागि छ । हामीले यो क्षेत्रका लागि ल्याट्फम दिने यसका लागि नदिने भन्ने हुँदैन । कस्तो किसिमको आइडिया छ ? त्यो कति ठुलो छ ? त्यसमा भर छ । नेपालमा इन्धनको हाहाकार छ । इन्धनको लागि मानौं न ठूला पेट्रोल कारखाना खोल्ने आइडिया ल्याउनुभयो भने त्यो त सकिदैन । कतिले नेपालमा रासायानिक मलको कारखाना खोल्ने कुरा पनि गर्नुहुन्छ ।

अब त्यो त सानोतिनो प्रोजेक्ट होइन। त्यो त अर्बौ अर्बौ रकम खर्च हुने प्रोजेक्ट हो । त्यस्ता ठूला-ठूला प्रोजेक्टहरु अहिले नै हामीले गर्न सकिदैन । तर गर्न सकिने जुनसुकै फिल्डमा पनि छ । आईटीको हुन्छ । सफ्टवेयर क्षेत्रको छ । कृषि, स्वास्थ्य, शिक्षालगायत विभिन्न क्षेत्रमा अनुसन्धान गर्न सकिन्छ । आइडिया सेयर भएपछि के गर्न सकिन्छ के सकिदैन भन्ने कुरा थाहा हुन्छ ।

युरोपका विकसित देशहरुमा अनुसन्धान केन्द्रहरुलाई सरकारले कस्तो सहयोग गरेको हुँदो रहेछ ? तपाईंले के देख्नुभयो ?

यता अनुसन्धान केन्द्रहरुलाई सरकारले, फाउन्डेसनहरुले, ड़ोनर, एजेन्सीहरुले सहयोग गर्छन् । तर नेपालमा यस्तो किसिमको चलन आइसकेको छैन । त्यसैले हामीलाई शतप्रतिशत जनताको सहयोग छ । हाम्रो अनुसन्धान केन्द्र यो विषयमा युनिक छ ।

डेनमार्क, स्वीडेन, फिनल्याण्डका अनुसन्धान केन्द्रहरुमा  पुग्दा सबैमा मिल्ने एउटै कुरा पाए । मोटामोटी एउटै कुरा मिल्छ । त्यो के भने, सबै केन्द्रहरुमा प्रतिभा भएका मान्छेहरुलाई इनोभेसन गर्न छुट्टै किसिमको वातावरण छ । युनिभर्सिटी भित्र नै इनोभेसन सेन्टर छ । जुन कुरा हाम्रो देशको अधिकांश युनिभर्सिटीहरुमा छैन । जस्तो टियुमा नाम मात्रैको छ । काठमाडौं युनिभर्सिटीमा पनि छ । तर जुन रुपमा यहाँ कामहरु भइरहेका छन् त्यो रुपमा गर्न सकिरहेको छैन ।

युरोपमा मात्रै होइन हरेक विकसित देशहरुले प्रतिभावान मान्छेहरुलाई रिसर्च सेन्टरहरुमा काम गर्ने वातावरण बनाउँछन् । उनीहरुलाई सहयोग गर्छन् ।  फन्डिङ गर्छन् । रिसर्च गरिसकेपछि उनीहरुले त्यसलाई व्यवसायीकरण गर्छन् । सरकारलाई कर तिर्छन् । रोजगारी सिर्जना गर्छन् । अर्थतन्त्रमा ठूलो सहयोग मिल्छ ।

त्यस्तो नेपालमा किन हुन सकेको छैन ?

सुरुमा त अनुसन्धान गर्नका लागि सरकारले सहयोग गर्नुपर्‍यो नि त । नेपालमा नभएको यही हो। नेपालमा सरकारलाई विकास गर्न नगद पैसा चाहियो । तर पैसा आउने बाटो त बनाउनुपर्‍यो । लगानी गर्नुपर्‍यो नि । अनुसन्धान भइसकेपछि ब्यवसायीकरण हुन्छ त्यहाँबाट पैसा आउँछ भन्ने बुझ्नु पर्‍यो ।

आविष्कार केन्द्रको मुख्य उद्देश्य पनि मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने नै त हो । अरु देशबाट हाम्रो सरकारले पनि सिक्नुपर्‍यो नि । अनुसन्धानका लागि कुनै वास्ता नै छैन । सरकारले सबै थाहा पाएर पनि नपाए जस्तो गरी बसिराखेको छ । हामीलाई नै सहयोग गर्नुपर्छ भन्ने छैन । जसलाई गरे पनि सहयोग गर्नुपर्‍यो । अनि मात्रै उद्यमीहरु उत्पादन हुन्छन् । त्यसले मात्र अर्थतन्त्र सुधार गर्न सकिन्छ । प्रदेशहरुमा थुप्रै अनुसन्धान केन्द्रहरु खोल्नुपर्छ । अझ स्थानीय निकायमा आफ्नो आवश्यकताका कुराहरु आफैं उत्पादन गर्न सक्ने वातावरण सिर्जना गर्न सक्नुपर्छ ।

अन्तरक्रिया गर्दा पहिले र अहिलेमा के फरक पाउनुभयो ?

सन् २०१७ मा जापान, कोरिया, मलेसिया, अष्ट्रेलिया, अमेरिका, क्यानाडा, युके लगायतका देशहरुमा पुगेको थिएँ । पहिले पहिले अन्तर्क्रिया गर्दा कामहरु सुरु भइसकेको थिएन । आविष्कार केन्द्र खोल्नुपर्छ, आवश्यक छ । देशको अर्थतन्त्रमा सहयोग गर्छ भन्ने किसिमको फुस्रो भाषणजस्तो मात्रै हुन्थ्यो । तर धेरै ठूलो काम नभए पनि सानोतिनो काम भइराखेका छन् । यसरी काम भइराखेको छ भनेर जानकारी दिन अहिले सजिलो भएको छ ।

विभिन्न देशहरुमा रिसर्च र इनोभेसन भएका ठाउँहरुमा पुगेर  हेर्ने मौका पनि मिल्यो । सबै देशहरुमा त्यो सम्भव नभए पनि केहि रिसर्च सेन्टरहरु र  युनिभर्सिटीहरुमा पुगेर कुराकानी गर्न पाइयो । त्यहाँ कसरी काम भइरहेको रहेछ भन्ने जानकारी प्राप्त भएको छ ।

दोस्रो कुरा, उनीहरुसँग कुनै पनि किसिमको कोल्याबरेसन गर्न सकिन्छ भन्ने कुरामा छलफल भएको छ । अब नेपालमा पुगेपछि केही कार्यक्रमहरु पनि बन्लान् । सम्भावनाको पनि खोजी हुनेछ ।

अहिले युरोप भ्रमणको क्रममा आर्थिक सहयोग पनि मिलिरहेको छ ?

त्यो मलाई थाहा छैन। किनभने मैले आर्थिक कुरो कहिँ पनि गएर भन्ने गरेको छैन । आर्थिक सहयोग आफ्नो इच्छाले दिने कुरा हो।  मन परेर दिने कुरा हो । मन पग्लेर दिने कुरा हो । जस- जसको मन पग्लेको छ उहाँहरु आफैंले संकलन गरेर पठाउनुहुन्छ । कति रकम संकलन भयो ? भन्ने विवरण सबै  नेपाल गएर मात्रै थाहा हुन्छ ।

तपाईलाई सबैभन्दा बढी सोधिने जिज्ञासाहरु वा प्रश्नहरु कस्ता हुन्छन् ?

तपाईंले यस्तो काम गर्दा पनि  आविष्कार केन्द्रलाई सरकारले किन सहयोग गर्दैन ? भन्ने अधिकांशको  जिज्ञासा हुन्छ । मैले पनि सजिलै उत्तर दिन्छु । ‘किनभने सरकारको अहिलेसम्म वुद्धि पलाइसकेको पलाउदै होला। पलाइसकेपछि मात्रै सहयोग गर्ला नि । मैले त्यही उत्तर दिदै आएको छु।

अर्को सोधिने प्रश्न के हो ? भने आविष्कार केन्द्रलाई दिगो कसरी बनाउन सक्नुहुन्छ ? तपाईं कालगति वा कुनै कारणले रहनुभएन भने आविष्कार केन्द्र कसले चलाउँछ ? यस्तै जिज्ञासाहरु राख्दै आइरहनुभएको छ ।

अहिलेको स्थानीय तहको निर्वाचनलाई कसरी लिनुभएको छ ?

मलाई धेरैले तपाईं चुनावको बेला किन विदेश तिर लाग्नुभएको भनेर प्रश्न गर्नुभएको थियो । चुनावले मात्रै ठूलो परिर्वतन एकैचोटी ल्याउँछ भन्ने होइन । परिवर्तन विस्तारै हुँदै जाने कुरा हो । मैले राजनीतिमा कहिले पनि चासो राखिनँ । त्यो मेरो रुचिको बिषय पनि होइन।

प्रजातन्त्रको एउटा राम्रो कुरा के छ भने, यदि जनता सचेत भए भने  राजनीतिमा बेइमान गर्ने मान्छे टिक्दैनन् । बेइमान राजनीतिज्ञहरु एक दुईपटक जनताको आँखामा छारो हालेर टिक्लान्  तर धेरै लामो समय भने टिक्दैनन् । स्थानीय तहमा केही ठाउँहरुमा आएको नजिता यो उदाहरण पनि हुनसक्छ । यसलाई एउटा राम्रो पक्षको रुपमा लिदा हुन्छ । किनभने स्वार्थसिद्धका लागि मात्रै राजनीतिमा लागेका बेइमानीहरुलाई केही ठाउँको परिणामले चिसो पसेको हुनुपर्छ ।

त्यसो भए काठमाडौंमा वालेन्द्र शाह लगायत स्वतन्त्र उम्मेदवारहरुले ल्याएको मतले तपाई खुसी हुनुहुन्छ ? 

खुसी त अहिले नै हुनुपर्छ भन्ने छैन । भोलि मेयरमा जिते भने उनले कस्तो काम गर्छन् ? राम्रो काम गरेपछि मात्रै खुशी हुने कुरा भयो । उनी जस्तै  अहिलेको निर्वाचनमा ३ -४ वटा  उदाहरण देखिएको छ।

चुनावमा मुख्य पार्टीहरुले नै नचिताएको रिजल्ट आएको छ । जित्छौं भनेर ढुक्क भएकाहरुलाई चिसो पसेको छ । जनताले अब त्यसै भोट दिदैंनन् केही गर्नुपर्ने रहेछ भन्ने उनीरुलाई परेको छ । यो उनीहरुका लागि ठूलो पाठ हो ।

यहाँबाट पनि पाठ नसिके उनीहरुलाई नै ठूलो घाटा हुन्छ । प्रजातन्त्रको राम्रो पक्ष म यसैलाई देख्छु । इमान्दार मान्छे वा गतिलो मान्छेको हातमा यदि प्रजातन्त्र गयो भने देशको विकास पनि हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?