+
+

बालेन्द्र साहको जितले दिएका पाँच सन्देश

बालेन अवसर र चुनौतीको चौघेरामा उभिएका छन्। उनको कार्यकालमा राजधानीले मुहार फेर्न सक्यो भने नेपाली राजनीतिले धेरै बालेन जन्माउनेछ। तर उनी असफल हुँदा पुनः केही समयका लागि विकल्पको खोजीमाथि बादल लाग्नेछ।

केशरबहादुर दाहाल केशरबहादुर दाहाल
२०७९ जेठ १५ गते ८:४५

काठमाडौं महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दिएपश्चात् बालेन्द्र साह (बालेन)को नाम देशैभरि गुन्जिन थाल्यो। पेशाले उनी इन्जिनियर हुन् तर युवामाझ उनी एक र्‍यापरका रुपमा चिरपरिचित छन्।

युवा जमातमा चर्चित भएर पनि हुनसक्छ, उनी मेयर पदमा उठ्दा सुरु सुरुमा प्रचारप्रसार गर्नमा निकै सहयोग पुग्यो। सेलिब्रेटीहरूको ठूलो तप्काले उनको समर्थन गर्‍यो। चुनाव नजिकिंदै जाँदा भने लगभग सबै वर्ग र समुदायका जनताले उनलाई साथ र सहयोग गर्दै गए।

यिनै बालेन साह अहिले काठमाडौं महानगरपालिकाको मेयरका रूपमा निर्वाचित भएका छन्। बालेन साहको जितले मुख्यतः यी पाँच सन्देश दिएका छन् ।

उमेरसँगै सोचमा पनि युवा

वर्ष ३२ का बालेनको क्रेज उनी युवा भएर अथवा उनी कुनै पार्टीमा संलग्न नभएर मात्रै भएको होइन। यसअघि पनि र योपटक पनि धेरै युवा तथा स्वतन्त्र उम्मेदवारहरु उठेका थिए। तर बालेनकै अत्यधिक चर्चा हुनुमा उनको सरल व्यक्तित्त्व, सामान्य र स्पष्ट भाषाशैली, उच्च शैक्षिक योग्यता, प्राविधिक ज्ञानसहित उत्कृष्ट भिजन र योजना आदि कुराहरुले प्रमुख भूमिका खेलेको छ।

उनले चुनाव जित्नकै लागि मात्र जनतालाई झुटा आशाहरु देखाउने र तत्काल असम्भव रहेका विकासका योजनालाई पूरा पार्ने वाचा–कसम खाएनन्। उनले काम गर्न सम्भव रहेका विकास निर्माणका कामहरु पूरा गर्ने र स्थानीय जनताका प्रमुख समस्यालाई मध्यनजर गर्दै त्यसै अनुसारका समाधानका विकल्पहरू प्रस्तुत गरे। आफ्ना विचार र योजनाबाट उनले जनतालाई भरोसा दिलाउन सफल भए।

उदाहरणका लागि उनले काठमाडौंमा पाँच वर्षभित्रै मेट्रो रेल कुदाउनेछु भनेर असम्भव कुरा गरेर जनताको आँखामा छारो हाल्ने काम गरेनन्। बरु काठमाडौंको फोहोरको सही व्यवस्थापन गर्ने, ट्राफिक जामको समस्या हल गर्ने, वातावरण संरक्षण गर्ने र काठमाडौंको ऐतिहासिक सम्पदाहरुको आवश्यक परेको खण्डमा मौलिक तरिकाले नै पुनर्निर्माण गर्ने तथा अन्य पुरातात्विक सम्पदाको पनि संरक्षण गरेर काठमाडौंलाई साँच्चै नै काठमाडौं जस्तो बनाउने उत्कृष्ट भिजन र योजनाहरु सुनाए। काठमाडौंका जनता मात्रै नभएर पूरा देशभरि नै उनको चर्चा शिखरमा पुग्यो।

दलप्रति जनआक्रोश

उही पुरानो पार्टी, उही पुराना नेता, उही पुरानै झुटा वाचाकसम। जनता त्यही पुरानै पार्टीका नेतालाई भोट गर्दा र जिताउँदा वाक्कदिक्क भएका थिए। अघिल्लो चुनावमा स्वतन्त्र र युवा उम्मेदवारहरु नउठेका होइनन् तर पनि उनीहरूले जनतालाई भरोसा दिलाउँदै विश्वास जित्न सकेका थिएनन्।

यसपटक भने राजनीतिक पार्टीको उम्मेदवारका विकल्पमा एक क्षमतावान र आशालाग्दो स्वतन्त्र युवा शक्ति चुनावी मैदानमा आएकै कारण जनताले बल्लतल्ल राजनीतिक पार्टीप्रतिको रिस पोख्ने मौका पाएका छन्।

अब यसअघि झैं नेपाली जनताले मतपत्रमा राजनीतिक पार्टीको मतचिन्ह देख्ने बित्तिकै स्वस्तिक छाप लगाइहाल्ने युगको अन्त्य भएको छ। अब विकास र समृद्धिका आयोजनाहरु इमानदारीपूर्वक अगाडि बढाउने विश्वास दिलाउन सक्ने नेतृत्वले जनमत पाउन सक्छ। जनताका मुद्दालाई हल गर्ने सामर्थ्य नराख्ने तर रेलदेखि पानीजहाजसम्मका गफ दिने नेताले अब मत नपाउने अवस्था सिर्जना भएको छ। यही सुखद सन्देशसहित बालेनले विजयको इतिहास रचेका हुन्।

उदात्त बन्दै काठमाडौंका मतदाता

काठमाडौं नेपालको केन्द्रीय सहर भएकै कारण यहाँ देशका विभिन्न भागबाट मानिसहरू आउने गर्दछन् र काठमाडौंलाई नै कर्मथलो बनाउने पनि गर्दछन्।  देशैभरिबाट केही गर्छु र केही बन्छु भनेर आएका मानिसको बसोबास भएकाले  काठमाडौं महानगरपालिकालाई कुशल र क्षमतावान नेतृत्व पाउन निकै सजिलो हुन्छ। तर प्रायः यहाँका नेवार समुदाय र अन्य स्थानीय समुदायले जतिसक्दो बाह्य समुदायका व्यक्तिलाई नेतृत्वमा ल्याउनै चाहँदैनन्, चाहे ऊ जतिसुकै इमानदार र कुशल किन नहोस्।

काठमाडौंका नेवार समुदाय काठमाडौंको इतिहास, यहाँको संस्कृति र सम्पदासँग जोडिएका छन्। मठमन्दिर र यसमा कुँदिएका बुट्टाहरु प्रायः नेवा समुदायका कलाकारले बनाएका हुन्। पुरातन समयदेखि नै उनीहरू मल्ल राजाहरूको गुरु र पुजारीका रूपमा काम गर्दथे। उनीहरू काठमाडौंको इतिहासको साक्षी हुन्। त्यसैले काठमाडौंको विकास र सम्बर्धन यिनै समुदायको नेतृत्वकर्ताले मात्र गर्न सक्ने उनीहरूको बुझाइ छ।

तर यसपटक भने काठमाडौं महानगरपालिकाको स्थानीय तहको निर्वाचनमा फरक दृश्य देखियो। बालेन साह जसको पुर्ख्यौली बसोबास काठमाडौंमा होइन तर पनि काठमाडौंवासीले उनलाई विश्वास गरे। उनले काठमाडौंको पुरातात्विक सम्पदाको संरक्षणमा जुन समर्पण र भिजन देखाएका छन्, त्यो वास्तवमै उत्कृष्ट छ। त्यसैले त काठमाडौंले उनलाई विश्वास गरेको छ र काठमाडौंको मेयरका रूपमा चुनेको छ।

भौतिक शक्तिमान बदलिंदै भर्चुअल समर्थन

नेपाली समाजमा सामाजिक सञ्जालको प्रयोग बढ्दो क्रममा छ। घरदैलो कार्यक्रम, र्‍याली, पर्चा र पोस्टरमा सीमित चुनावी प्रचारप्रसार अभियान अहिले सामाजिक सञ्जालतिर पुगेको छ।

सामाजिक सञ्जालको प्रयोग तुलनात्मक रूपमा युवाहरुले बढी गर्दछन् जब चुनावमा युवा अथवा कुनै इमानदार र आशलाग्दो उम्मेदवार उठ्दछ तब अन्य युवाहरु उसको साथमा हुनेछन्। सामाजिक सञ्जालमार्फत अत्यधिक प्रचारप्रसार गर्दछन्। जित्नका लागि हौसला प्रदान गर्दछन्। सामाजिक सञ्जाल त तिनै युवा उम्मेदवारको फोटो र प्रचारले भरिएको हुन्छ।

झलक्क हेर्दा त यी उम्मेदवारप्रति ओहो जनताको क्रेज त धेरै नै रहेछ र सजिलै जित्लान् भन्ने लाग्छ। तर वास्तवमा प्रायः व्यक्तिहरूले भोट भने पुराना पात्रलाई नै हाल्ने गर्दछन्। मतदाताले बाहिरी रूपमा समर्थन युवा र राम्रालाई गर्नुपर्छ भन्ने मान्यता राखे पनि भोट हाल्ने बेलामा भने पुरानैलाई हाल्दछन्। मतदातालाई सायद ‘ब्रेनवास’ नै गरेका हुँदा हुन् राजनीतक पार्टीहरुले।

यो पटक काठमाडौं महानगरपालिकाको चुनावमा भने सामाजिक सञ्जालको लोकप्रियतामा र भोट पाएको संख्यामा धेरै मतान्तर देखिएन।  अझै बरु युवापुस्ताहरुले सामाजिक सञ्जालमा त प्रचार गरे नै, त्यसका साथै आफ्ना बाआमा, छरछिमेक र आफन्तजनलाई समेत बालेनलाई भोट हाल्न प्रोत्साहन गरे।

पहिला जस्तो भर्चुअल समर्थन मतमा रुपान्तरण नहुने अवस्थाको अन्त्य हुन थालेको छ। बालेनको पनि अरु युवा उम्मेदवारको जस्तो अवस्था हुने हो कि भन्ने शंका उपशंका नभएका होइनन् तर बालेनले यस्ता आशंका चिरेर जनताको मन जित्न सफल रहे।

दलभन्दा व्यक्ति प्राथमिकतामा 

स्थानीय जनतालाई न त कुनै पार्टीले जित्दा फाइदा छ न त कुनै राजनीतिक मुद्दा बोक्ने व्यक्तिलाई जिताएर नै। फाइदा त तब हुन्छ जब स्थानीय तहमा विकासका लहर आउन थाल्छन्। स्थानीय तहको विकास र समृद्धि स्थानीय नेतृत्व मार्फत नै होस् भन्ने उद्देश्यले संघीयताको अवधारणा अपनाइएको हो। त्यसैकारण स्थानीय तहलाई राजनीतिक रुपले भन्दा पनि समुन्नत र विकसित बनाउने एउटा सूत्रका रूपले हेरियो भने मात्रै संघीयताको भरपूर लाभ लिन सकिनेछ।

काठमाडौंका जनताले यही कुरालाई मध्यनजर गर्दै पार्टीगत कुराबाट माथि उठेर, स्वविवेक प्रयोग गरेर बालेनलाई जिताए। जस्तै: मेयरमा उठेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले स्वतन्त्र उम्मेदवार बालेन भन्दा निकै कम मत ल्याए तर उप-मेयरमा उठेकी नेकपा एमालेकै अर्की उम्मेदवार सुनिता डंगोलको मत बालेनले ल्याएको मतको हाराहारीमा र केशव स्थापितको भन्दा अत्यधिक धेरै रहेको छ।  यसरी एउटै पार्टीका उम्मेदवारहरुलाई समेत फरक ढंगले मत दिए। पार्टीको मतचिन्हलाई भन्दा व्यक्तिलाई हेरेर मत दिंदै काठमाडौंवासीले यसपटक पार्टीगत राजनीतिक मुद्दालाई भन्दा पनि विकास र समुन्नतिको मुद्दालाई मन पराएका छन्।

यसरी, बालेनको जित एक भए पनि यसले बहुआयामिक सन्देश दिएको छ, जसले राजनीतिक रुपान्तरणका लागि तरंग पैदा गरेको छ।

वास्तवमा काठमाडौंले बालेनमाथि निकै विश्वास गरेको छ। बालेन राजनीतिक पृष्ठभूमिबाट आएका होइनन्। यसकारण उनलाई काम गर्न भने सजिलो हुने छैन। आफ्नो योजना अनुसार त्यही अनुपातमा काम अगाडि नबढ्न पनि सक्छ। तर साँच्चै नै उनले आफैंले उठाएका काठमाडौंका सामान्य समस्यालाई हल गर्न सके भने मात्र पनि उनको नेतृत्व सफल ठहरिनेछ किनभने काठमाडौंवासीलाई अहिले ठूला ठूला परियोजना चाहिएकै होइन।

अहिले त सिर्फ ट्राफिक जाम, धुवाँधुलो, फोहोर आदि इत्यादि समस्याको हल भएमात्र पनि पुग्नेछ। बालेन अब नेपालको राजधानी काठमाडौंको मेयरमा निर्वाचित भएका छन्। यसैकारण उनलाई काठमाडौंका जनताले मात्र नहेरेर सिंगो देशका जनताले नजिकैबाट नियाल्ने छन्। उनीमाथि जनताले यति भरोसा गरेका छन् कि पार्टीगत राजनीतिभन्दा माथि उठेर उनलाई जिताएका छन्। तर यदि उनले भने अनुसार काम गर्न सकेनन् भने जनताको यो विश्वास र भरोसा फेरि पनि बालुवामा पानी हाले बराबर नै साबित हुनेछ ।

यसरी हेर्दा बालेन अवसर र चुनौतीको चौघेरामा उभिएका छन्। उनको कार्यकालमा राजधानीले मुहार फेर्न सक्यो भने नेपाली राजनीतिले धेरै बालेन जन्माउनेछ। तर उनी असफल हुँदा पुनः केही समयका लागि विकल्पको खोजीमाथि बादल लाग्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?