+
+

यस्तो टापु, जहाँका १० प्रतिशत मानिसले रङ देख्दैनन्

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १५ गते १४:०८
Photo Credit : Wikipedia

काठमाडौं । सन् १७७५ मा प्रशान्त महासागरीय टापु पिंगेल्यापमा आँधीबेहरी आएको थियो । उक्त भयानक आँधीले ठूलो धनजनको क्षति गर्यो र उक्त टापुका बासिन्दामध्ये केवल २० जना मात्रै जीवित रहन सफल भए । त्यसरी बाँच्नेमध्ये एकजना त उक्त टापुुका राजा थिए ।

उक्त प्राकृतिक विपदको सदियौँपछि उक्त टापुमा हाल बसोबास गर्ने मानिसहरुको ठूलो हिस्सामा रङ दृष्टिहीनताको समस्या देखिएको छ ।

कलर ब्लाइन्डनेस अर्थात् रङ दृष्टिविहीनता यस्तो समस्या हो जसमा कुनैपनि रङ देख्न नसक्ने वा कुनै निश्चित रङ देख्नमा समस्या हुने गर्दछ ।

विज्ञका अनुसार उत्तरी युरोपेली वंशका करीब ८ प्रतिशत पुरुष तथा ०.५ प्रतिशत महिलाहरुमा हरियो तथा रातो रङको अन्धोपन रहेको हुन्छ । तर पिंगेल्याप टापका करीब १० प्रतिशत जनसंख्या एक दुर्लभ समस्याको सिकार छन् । उक्त स्वास्थ्य समस्यालाई पूर्ण एक्रोमेटोप्सिया अर्थात् टोटल कलर ब्लाइन्डनेस भनिन्छ ।

यस्तो समस्या भएको मानिसले केवल सेतो, कालो र खैरो रङ मात्र देख्दछन् । एक्रोमेटोप्सियाको समस्या भएका मानिसहरुमा प्रकाशप्रति उच्च संवेदनशीलता हुन्छ । उनीहरुको दृष्टि तीक्ष्ण नहुने आँखा सम्बन्धी अन्य समस्या पनि हुने गर्दछन् ।

पिंगेल्यापको जनसंख्या पहिलेदेखि नै कम थियो । तर सन् १७७५ मा आएको आँधीले १९ जना जनता र एकजना राजा बाहेक सबैजनाको ज्यान लियो । वैज्ञानिकहरुका अनुसार तिनै राजा र जीवित रहेका अन्य केही मानिसको शरीरमा एउटा यस्तो जिन थियो जसका कारण उक्त टापुका मानिसहरुमा त्यसपछि रङ नदेख्ने समस्या उत्पन्न भयो । जीवित बँचेका राजा र अन्य मानिसको जनसंख्या निकै कम रहेको हुँदा जनसंख्या बढाउने क्रममा उनीहरुबीच तीव्र प्रजनन भयो अनि त्यसक्रममा उनीहरुको शरीरमा भएको त्यस्तो लुप्त वंशाणु उनीहरुबाट जन्मिएका बच्चाहरुमा पनि प्रबल बनेर आयो र त्यसले उक्त टापुमा जन्मिने धेरै नयाँ बच्चाहरुमा कलर ब्लाइन्डनेसको समस्या देखिएको हो ।

हाल उक्त टापुका हरेक १ सय जनामा १० जना मानिसमा सेतो, कालो र खैरो बाहेक अन्य रङ नदेख्ने समस्या रहेको छ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?