+
+

‘वाम तालमेल शुभेच्छुकहरूको चाहना हो, एमाले खुला छ’

वाम तालमेल होस् भन्ने धेरै शुभेच्छुकहरुको चाहना छ । अघिल्लो पटक पनि त्यही चाहनाले नै त्यो ठाउँमा पुर्‍याएको हो । त्यसैले ढोका नै बन्द भएको छ भन्ने होइन । तर आजको दिनसम्म त्यो उद्देश्यका साथ छलफल भएको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २० गते २१:०५

२० जेठ, काठमाडौं । स्थानीय चुनावलगत्तै नेकपा एमालेले सत्तारुढ गठबन्धन तोड्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गरेको विषय चर्चामा छ ।

पूर्वप्रधानमन्त्रीद्वय प्रचण्ड र माधव नेपाल स्वयंले प्रधानमन्त्रीको अफर आएको चर्चा सत्य भएको बताएपछि एमाले नेताहरु खण्डनमा उत्रिएका छन् । एमालेकी सचिव पद्‍मा अर्याल पनि वाम तालमेल र अर्को प्रधानमन्त्री बनाउनेबारे औपचारिक निर्णय नभएको बताउँछिन् । तर वाम तालमेल धेरै शुभेच्छुकको चाहना भएकाले एमालेले ढोका बन्द नगर्ने उनको भनाइ छ ।

गण्डकी प्रदेश इन्चार्ज रहेकी सचिव अर्यालसँग स्थानीय चुनाव र वाम तालमेलको सम्भावनामाथि केन्द्रित रहेर अनलाइनखबरका सइन्द्र राईलिलु डुम्रेले गरेको कुराकानीको सम्पादित अंश

स्थानीय तहको निर्वाचनअघि जुन अपेक्षा एमालेले गरेको थियो, त्यसअनुसार नतिजा ल्याउन सक्नुभएन नि ?

अहिले एमालेको लडाई सत्तारुढ गठबन्धनसँग हो । अलग–अलग पार्टीहरुले आ–आफ्नो बाकस थापेका होइनन् । अलग–अलग लडेको भए कुन पार्टीको हैसियत के हो भन्ने थाहा हुने थियो । एमालेले चाहेको पनि त्यही थियो ।

एमाले एक्लै एकातिर, अरु एकातिर जस्तो देखियो । गठबन्धनसँग लडेर एमालेले जुन जनमत प्राप्त गरेको छ, हामी कमजोर भयौं भन्ने जनमत छैन । एमालेले प्राप्त गरेको जनमत हाम्रो पार्टीको सिंगो जनमत हो, हाम्रो विचारको निम्ति पाएको मत हो । अरु दलले पाएको मत फरक फरक विचारका जनमत हुन् । परिणामले के देखिन्छ भने एमाले कमजोर छैन ।

मत र सिटको हिसाबले गण्डकी प्रदेशमा एमालेले पहिलाको सिट संख्या जोगायो । सात प्रदेशमध्ये राम्रो भएकै गण्डकी हो । अनि गण्डकी असफल हुन्छ ? गण्डकी सफल प्रदेश हो । यद्यपि, अपेक्षा गरेअनुसार नतिजा आएन ।

दोस्रो कुरा, यस निर्वाचनमा विचारको लडाईं नै भएन । विचारका आधारमा प्राप्त गरेको मत एमालेले प्राप्त गरेको मात्रै मत हो । अरु फरक फरक दलहरु एक ठाउँ भएर एमालेसँग प्रतिस्पर्धा गरेका हुन् ।

कांग्रेस, माओवादी, एकीकृत समाजवादीको मत कति हो भन्ने के आधारमा छुट्याउने ? ती दलले अलग अलग पाएको मत कति हो भनी छुट्याउने कुनै आधार छ ? कांग्रेसको उम्मेदवारले पाएको मत कांग्रेसकै मत भन्न सकिन्छ ? सबै गठबन्धनका दलले मत दिएका छन् । त्यसैले यो मतको आधारमा को सबल र को निर्बल भन्ने निष्कर्ष नै आउँदैन ।

तपाईंको अनुसार नियमित चुनावमा गठबन्धनका कारणले सिट गुमेको मात्रै हो भन्न सकियो ?

सबै दलले एउटै चिह्नमा मत खसालेपछि त्यो दलको उम्मेदवारले जित्दैन त ?

पार्टी अध्यक्ष केपी शर्मा ओलीले यो निर्वाचनलाई जनमत संग्रहको रुपमा व्याख्या गर्नुभएको थियो । अनि एमालेविरुद्ध गठबन्धन हुनुलाई स्वभाविक रुपमा लिनुपर्ने होइन र ?

कसरी व्याख्या गर्ने वा विश्लेषण गर्ने आफ्नो ठाउँमा छ । मैले यथार्थताको कुरा गरिरहेकी छु । चुनावपूर्व कसले के भन्यो, कसरी प्रस्तुत भइयो, त्यो अलग कुरा हो ।

जनमत नै हेर्दा पनि एमालेको मत ३७ प्रतिशत भन्दा बढी आएको छ । व्याख्या आ–आफ्नो तरिकाले होला । मैले प्राप्त मतको हिसाब किताब मात्रै भनिरहेकी छु ।

लोकतन्त्रको अनेक सबल पक्ष छन् । एउटा दुर्बल पक्ष पनि रहेछ । मान्छेले विचारको आधारमा भोट हाल्न नपाउने परिस्थिति बन्यो । धाकधम्की, गुण्डागर्दी, लोभ लालच, प्रलोभन, जबर्जस्ती, कब्जासहित निर्वाचन भयो । त्यसरी जित्ने अनि, मैले जितेँ भनेर घमण्ड गर्ने ?

पार्टी पराजय भएपछि धाँधली र अन्तर्घात भयो भनेर नेतृत्व उम्कने अस्त्रका रुपमा व्याख्या गरिएको त होइन ?

मैले नेतृत्व गरेको ठाउँको दर्जन बढी उदाहरण दिन सक्छु । आरोप लगाउने मनसाय होइन, स्वस्थ भइदेओस् भन्ने हो । जनताले आफ्नो अभिमत प्रयोग गर्ने हो नि !

लाइनमा उभिएको मतदाताले आफैंले मन लागेको चिह्नमा मत दिन पाएको छैन । जबर्जस्ती गरेर मतपत्र खोसेर छाप लगाइएको छ ।

निर्वाचनबाट किन कम सिट आयो भनी तपाईंहरुले बैठक बसेर निष्कर्ष निकाल्दा उचित हुने होइन र ? पोखराकै कुरा गर्दा एमालेको मेयरको उम्मेदवार हार्ने र उपमेयर जित्ने भयो । कस्तो धाँधली भयो होला उपमेयरले जित्दा एमालेको मेयर हार्ने ?

धाँधली भएको धेरै उदाहरण दिन सक्छु । धाँधलीका प्रकृति फरक फरक रहे । पोखराको सन्दर्भ अलि विशेष नै देखियो । पोखरा मात्रै होइन, मुलुकका अरु ठाउँमा पनि त्यस्तो देखिएको छ । मेयरमा नदिएर अरुमा एमालेलाई मत दिएको धेरै ठाउँमा देखियो ।

ठूला शहरहरुमा नजिता एमालेको पक्षमा खासै देखिएन । ती शहरमा मेयरमा अरु दललाई मत दिएर उपमेयरमा एमालेलाई दिएको देखिन्छ । अरु पद त जित्नुभएको छ । यो नतिजा स्वभाविक हो कि अस्वभाविक ? 

के फ्याक्टरले काम गर्‍यो, समीक्षा हुन्छ । समीक्षा गर्दा आउने एउटा पाटो धाँधलीको कुरा हो । सबै कुरा धाँधली भनिएको पनि होइन । आन्तरिक र बाह्य रुपमा के रह्यो, ती दुबै पाटोको समीक्षा हुनुपर्छ ।

हाम्रो उम्मेदवार पपुलर नभएर हारियो कि ? हाम्रै पार्टीबाट उसलाई जिताउन नचाहेर पो पराजित भयौं कि ? समस्या के हो ? यो विषय पार्टीले मूल्यांकन गर्न बाँकी नै छ ।

समस्याको दोस्रो–तेस्रो तह वा जिल्ला तहबाट मूल्यांकन भएको देखिन्छ । मूल नेतृत्वले जिम्मेवारी लिने संकेत त देखिएन ?

जहाँजहाँ जसले कमाण्डिङ गरेको छ, सबैको समीक्षा हुनुपर्‍यो । पार्टीको तहगत सबै संरचनामा जिम्मेवारी लिनेको समीक्षा हुनुपर्‍यो । समग्रको कुरा गर्दा पार्टी नेतृत्वको कुरा पनि हो ।

यस निर्वाचनमा पार्टीभित्र जुन अस्वभाविक मत खसेको देखियो, अहिले यसले राजीनामा दिनु्पर्छ वा दिनुपर्दैन, यो दोषी हो वा होइन भन्ने निर्क्यौल आइसकेको छैन । तल कहाँ–कहाँ कमजोरी रह्यो, मूल्यांकन हुँदैछ । वडा देखिका प्रतिवेदन प्राप्त भइसकेपछि केन्द्रले एक खालको समीक्षा गर्छ ।

अलि अस्वभाविक देखिएको स्थानमा तलको प्रतिवेदन नकुरेरै केन्द्रले छानबिन गर्न सक्छ । अहिले नै फलानो अयोग्य भनेर टिप्पणी गर्नु उपयुक्त होइन ।

गठबन्धन भएकै कारणले एमाले पराजित भएको तथ्य तपाईंहरुले प्रस्तुत गरिरहनुभएको छ । तर गठबन्धन बन्नुमा त अध्यक्ष केपी शर्मा ओलीलाई कारण मानेका छन् नि त ?

तपाईंहरुले हेक्का राख्नुपर्छ, हामीकहाँ स्वार्थ समूह धेरै हुन्छन् । जतिबेला कम्युनिस्ट पार्टीले विजय प्राप्त गर्‍यो, हाम्रो एकता टुटाउनका लागि अनेक स्वार्थ समूह सक्रिय थिए । अलिकति विश्लेषण गर्ने व्यक्तिले यो बुझेकै कुरा हो ।

त्यो स्वार्थ समूहबारे थोरै भनिदिनु न ।

नाम लिन चाहन्न । वैदेशिक शक्तिहरु क्रियाशील थिए । जब हाम्रो नेतृत्वको बीचमा हार्दिकता देखिएन । यसैबाट खेल्न सकिन्छ भन्ने उनीहरुलाई लाग्यो । पार्टीमा दुर्घटना भयो, एकता टुट्यो, सरकार टुट्यो ।

अहिलेको यो दुर्भाग्यपूर्ण अवस्था कस्तो भयो भने, माधवकुमार नेपाल एमालेको नेतृत्वमा १६ वर्ष रहुनभयो । उहाँको आजको मिसन के हो ? एमालेलाई पत्तासाफ बनाउने र धुलो चटाउने । अब उहाँलाई बामपन्थी भन्ने कि नभन्ने ? वामपन्थी हो भने वामपन्थीले धुलो चटाउने सपना देख्छ र ? वामपन्थीले आफ्नै शक्ति वामपन्थीलाई धुलो चटाइरहँदा फलिफाप हुने त दक्षिणपन्थीलाई हो ।

दक्षिणपन्थीको हार्दिकतालाई स्वीकार गर्न सक्ने, वामपन्थीको सफलतालाई स्वीकार गर्न नसक्ने शक्ति वामपन्थी हुन सक्छ कि सक्दैन ? त्यो शक्ति वामपन्थी हुनसक्दैन ।

त्यसैले गठबन्धन निर्माण हुनुको कारण केपी ओली मात्रै हो भन्नु हुँदैन । समीक्षा गर्दैगर्दा कसका के कमजोरी भए विश्लेषण हुँदैजाला ।

राष्ट्रिय राजनीतिमा पार्टी असफल हुँदा नैतिकताको आधारमा नेतृत्वले राजीनामा दिएको नजीर पनि देखिन्छ । चुनाव हारेपछि रवीन्द्र मिश्रले पनि राजीनामा दिए । एमाले नेतृत्वबारे समीक्षा हुन्छ कि हुन्न ?

पार्टी हारेकै छैन । विचार र नेतृत्व असफल भएकै छैन । अनि किन दिने राजीनामा ? एमालेभित्र यो विषयले प्रवेश नै पाउँदैन ।

तर शहरी क्षेत्रमा नराम्रो गरी पराजित भएको छ र कुल ७५३ स्थानीय तह मध्ये २०५ मा खुम्चिएको तथ्य पनि सत्य हो नि ?

कहाँ धेरै भए, कहाँ जिरो भए । त्यो त सम्बन्धित जिल्लाहरुले हेर्ला । संगठन कमजोर भए ? हाम्रो विचार जनतासम्म पुगेन कि ? हाम्रो कामहरुले जनताको विश्वास जित्न सकिएन कि ? जनप्रतिनिधिहरुले राम्रो काम गरेनन् कि ? तलदेखि नै वस्तुनिष्ट समीक्षा हुन्छ । प्रत्येक पालिकाको सुक्ष्म समीक्षा नआएसम्म यो कारण हो भनेर भन्न सक्दैनौं ।

सत्तारुढ दलहरुले गठबन्धन गर्दा पनि पोखरामा जित्न गाह्रो छ भन्ने अनुमान विपरीत एमालेले चुनाव हार्यो । गण्डकी प्रदेशको इन्चार्जको हैसियतले नैतिक जिम्मेवारी लिनुपर्छ कि पर्दैन तपाईंले ?

गण्डकी प्रदेशमा एमालेले हारेको छैन । म एउटा पालिकासँग जोडिएर कुरा गर्दिनँ । पहिले जितेकोमा आज हार्‍यो, हिजो हारेकोमा आज जित्यो । तर समग्रमा गण्डकी प्रदेशमा हिजो भन्दा माइनस भएन ।

मत र सिटको हिसाबले गण्डकी प्रदेशमा एमालेले पहिलाको सिट संख्या जोगायो । सात प्रदेशमध्ये राम्रो भएकै गण्डकी हो । अनि गण्डकी असफल हुन्छ ? गण्डकी सफल प्रदेश हो । यद्यपि, अपेक्षा गरेअनुसार नतिजा आएन ।

पोखराबारे तपाईंको बुझाइ के हो ?

जितिन्छ भन्ने हो । गठबन्धन भएकाले सानो मतान्तर भएपनि जितिन्छ भन्ने थियो । तर हारियो ।

तर पोखरा महानगरको चुनाव हार्नुमा भने तपाईंको नेतृत्व क्षमतामाथि पनि प्रश्न उठ्यो नि ?

मलाई व्यक्तिगत रुपमा त्यसरी भन्ने आधार छैन । हिजोको नतिजा भन्दा प्रदेश कमजोर भएको भए सबैभन्दा पहिलो जवाफदेही म हुन्थेँ । म इन्चार्ज भएकाले जिम्मेवारी लिनुपर्थ्यो होला । हिजोको बिरासत जोगाएका छौं, अझ थपेका छौं । तर यस्तो नतिजा ल्याउँदा पनि कसैले मेरो क्षमतामाथि प्रश्न उठाएको छ भने त्यो व्यक्तिगत कुण्ठाबाहेक अरु केही होइन ।

पैसा लिएर मत बिक्री गर्नेलाई जोगाउन गण्डकी प्रदेश नेतृत्व नै लागेको टिप्पणी एमालेकै नेताहरुले गरिरहेका छन् नि ?

ती मानिस कारवाहीमा परिसके । जुन अडियो सार्वजनिक भयो, त्यो गम्भीर हो । त्यसमाथि छानबिन गर्यौं, छानबिनको नतिजा नआएसम्म निलम्बन गरौं भन्ने म नै हुँ । अरुले सामान्य भन्दा पनि यो सामान्य होइन भनेको छु । छानबिन गर्दा दोषी देखिएमा पार्टीका जो भएपनि कारवाही हुन्छ ।

तपाईंहरु सरकारमा हुँदा नयाँ नक्सा प्रकाशन, धरहरा निर्माण, रानीपोखरी निर्माण, सगरमाथको उचाइ जस्ता कुरालाई बढी चर्चा गर्नुभएको थियो । तर जनमत त अरुतिरै देखियो नि ?

स्थानीय चुनाव भनेको यस्ता राष्ट्रिय मुद्धाले जित्ने चुनाव नै होइन । स्थानीय चुनाव स्थानीय एजेण्डाले जितिने हो । र, जनताले उम्मेदवारबारे के अनुभूति गरेको छ भन्ने प्रकट गर्ने ठाउँ हो । त्यसैले राष्ट्रिय चुनाव र स्थानीय चुनावको भिन्नता छ ।

उम्मेदवारकै कुरा गर्दा पनि काठमाडौंमा केशव स्थापितसहित राम्रा उम्मेदवार उठाएका छौं भन्ने तर्क एमालेले प्रस्तुत गरेको होइन ?

व्यक्ति चयनबारे हाम्रो निष्कर्ष गलत रहेछ । हामी समीक्षाको क्रममा छौं । पालिकास्तरको समीक्षा भएपछि त्यसको जवाफ दिउँला, हामीलाई कुर्नुहोस् ।

स्थानीय चुनाव पछि फेरि वाम गठबन्धनको कुरा उठेको छ । के हुँदै गरेको हो ?

औपचारिक रुपमा पार्टी कमिटीबाट निर्णय भएर यो कुरा सुरु भएको छैन । माधव नेपालजी र प्रचण्डजी बोल्नुभएको छ, आफ्नो हिसाबबाट बोल्नुभएको छ । केपी ओलीसँग भेट भएर, छलफल गरेर, आश्वासन दिएर बोलेकै होइन । यो उद्देश्य लिएर केपी ओली र प्रचण्डको, केपी ओली र माधव नेपालको भेटै भएको छैन ।

बाहिर कामना गर्नेहरुले, शुभेच्छुकहरुले वाम तालमेल भइदिए हुन्थ्यो, नेता मिलिदिए हुन्थ्यो भन्ने कामना गरेका होलान् । कसैले कुरा पनि गरेका होलान्, प्रयत्न पनि गरेका होलान् । त्यो आफ्नो ठाउँमा छ । तर संस्थागत रुपमा केही पनि भएको छैन । त्यो लेभलको नेता उचालिएर किन मलाई प्रधानमन्त्रीको अफर आएको छ भन्दै हिँडेको ! त्यो भन्नै पर्थेन ।

वाम गठबन्धनको सम्भावना चाहिँ कति देख्नुहुन्छ ?

अहिले भर्खरै चुनावलाई केन्द्रित गरेर कुनै छलफल चलेको छैन । तर वाम तालमेल धेरै शुभेच्छुकहरुको चाहना त छ नि । अघिल्लो पटक पनि चाहनाले नै त्यो ठाउँमा पुर्‍याएको हो । त्यसैले ढोका नै बन्द भएको छ भन्ने होइन । तर आजको दिनसम्म त्यो उद्देश्यका साथ बैठक भएको छैन ।

छलफल हुन सक्छ ?

हुनुपर्ने गठबन्धन त विचार मिल्नेका बीचमा हो नि । अहिले त विचार मिल्नेहरुलाई कमजोर बनाउनका निम्ति अप्राकृतिक गठबन्धन हो । अस्वभाविक र नोक्सानदायी हो ।

विचार मिल्ने भएकाले वाम गठबन्धनको ढोका खुला छ !

खुला छ नि । तर ठ्याक्कै यो चुनावको रिजल्ट र आउने चुनावलाई लक्षित गरेर आजका दिनसम्म कुनै छलफल भएको छैन, बाहिर आएका कुरा हल्ला मात्रै हो । भोलि के हुन्छ त ? भोलिका लागि ढोका बन्द भएको छैन । र, (सत्तारुढ) गठबन्धनमा सामेल भएका साथीहरुले पनि अलिकति समीक्षा गर्न जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?