+
+

‘कुनै नेताले बदला लियो, अपमान गर्‍यो भनेर म किन भाग्ने ?’

यो पार्टीमा निरन्तर लागिरहने र लडिरहने कुरा मलाई मार्क्सवादले सिकाएको हो भने कुनै नेताले मसित अन्याय गर्‍यो, मसँग बदला लियो, कसैले अपमानित गर्‍यो भनेर म किन डराउने ? जसका कारण म यो आन्दोलनमा आएकै हैन, जसका कारण म यो पार्टीमा लागेकै हैन, त्यसका कारण किन भाग्छु म ?

बिनु सुवेदी बिनु सुवेदी
२०७९ जेठ २२ गते २०:२७

२२ जेठ, काठमाडौं । स्थानीय तह निर्वाचनको परिणामपछि वाम गठबन्धनको चर्चा अलि धेरै सुनिन थालेको छ । नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका केही नेताले वाम गठबन्धनको लबिइङ सुरु गरिसकेका छन् ।

तर शीर्ष नेताहरू अहिलेकै परिस्थितिमा कम्युनिस्ट पार्टीहरूबीच एकता सम्भव देख्दैनन् । वाम एकताको प्रयास र पार्टीहरूबीच भइरहेको छलफलबारे यसका लागि पहल गरिरहेका एमाले स्थायी कमिटी सदस्य घनश्याम भूसालसँग अनलाइनखबरले गरेको कुराकानी :

यहाँहरूको वृत्तमा फेरि वाम गठबन्धनको चर्चा सुनिन्छ, के भइरहेको छ ?

अहिले भइरहेको त मलाई त्यस्तो लाग्दैन । खासगरी हामी नेतृत्वमा बसेकाहरू आम रूपमा चुप छौं । त्यसमा कतिपयको अनिच्छा पनि देखिन्छ । तर आम रूपमा जो वामपन्थी हो, जो कम्युनिस्ट पार्टीको सदस्य हो, जसले कम्युनिस्ट पार्टी निर्माणमा योगदानमा निर्माण गरेको छ, वामपन्थी भविष्यप्रति समर्पित छ, लोकतान्त्रिक स्थिरताका साथ मुलुकको विकास गर्नुपर्छ भनेर ठानेको पंक्ति वामहरू फेरि एकठाउँमा आउन् भन्ने चाहन्छन् । किनभने यो ऐतिहासिक आवश्यकता हो ।

तर केही सीमित मान्छे र नेतृत्वको स्वार्थ, अहंकार र दम्भका कारण यो विभाजित भयो । त्यो विभाजित भयो भनेर वाम मोर्चाको, वाम एकताको औचित्य समाप्त हुँदैन बरु झन् बढेको देखाउँछ । किनभने हिजो हामी एकता गर्दाखेरि त्यसले मुलुकमा लोकतान्त्रिक स्थिरताका लागि उत्पन्न गरेको विश्वास, आम जनतामा उत्पन्न गरेको भरोसा जुन थियो आज भत्किएको छ ।

यस हिसाबले हेर्दा मुलुकले बाटो नपाउने हो कि, शासकीय अस्थिरता आउने नै भयो भन्ने सबैलाई लागेको छ । यस्तो शासकीय अस्थिरताले संवैधानिक, संसदीय अस्थिरता निम्त्याउँदै जान्छ र मुलुकलाई फेरि हामी विगत ७० वर्षमा जे भोगेर आयौं त्यस्तै अवस्थातिर लैजान्छ भनेर पार्टीमा ठूलो पंक्ति चिन्तित छ ।

तर हामीले हेर्दा चुनावी परिणाम पछि एमालेमा अलिकति सुनसान देखिन्छ, यो सुनसान बाहिर मात्रै कि भित्र पनि हो ?

एकहिसाबले हेर्दा सुनसान पनि हो । सुनसान किन हो भने हामीले यो बीचमा जे प्रयोग गरेर आएका छौं; खासगरी अदालतले नेकपा विभाजित गर्‍यो, त्यसपछि स्वयं नेकपा एमाले विभाजित भयो । हामीले उसलाई सञ्चालन गर्दै आयौं, जे प्रयोग गर्दै आयौं हरेक प्रयोग असफल हुँदै आए । र यो निर्वाचन हाम्रा लागि ठूलो परीक्षा थियो, यो परीक्षामा पनि हामी असफल भयौं । यसैगरी अगाडि गयौं भने हामीमाथि धेरै ठूलो संकट फेरि आउनेछ ।

वाम आन्दोलनको प्रमुख शक्तिका हिसाबले नेकपा एमालेमाथि संकट आउँछ । त्यस अर्थमा हामीले गरेका राजनीतिक, सैद्धान्तिक र संगठनात्मक प्रयोग उदांगो भइसकेका छन् । अब हामी फेरि यो प्रयोगलाई सुधार्छाैं या यही बाटोबाट हिंड्छौं यो बीचमा नेकपा एमाले अन्योलमा छ, हामीले यसलाई चिर्नुपर्नेछ ।

तपाईंहरूलाई चिन्ता लागेको– एमाले कमजोर हुँदै गयो, स्थानीय तह निर्वाचनको परिणाम हेर्दा आउने चुनाव त्यति सुखद् नहुन सक्छन् भनेर पो हो कि ?

आजको बजारको राजनीतिमा चुनाव हारियो भने म सांसद नहुँला, सांसद भइनँ भने मन्त्री नहुँला, मन्त्री भइनँ भने कमाउने धमाउने पनि नहोला भनेर सोच्ने मान्छे छैनन् भन्ने होइन । तर जसले यो पार्टी निर्माण गरेका छन् र पार्टीप्रति जो मान्छे चिन्तित छन् ती मान्छेहरू चुनावको जोडघटाउमा मात्रै छैनन् ।

किनभने यो चुनावमा हामी दोस्रो भयौं, यो संकट नाप्दा २० प्रतिशत होला । तर योभन्दा अगाडिदेखि नै हामीले धेरै कुरा बिगार्दै आएका छौं । छँदाखाँदाको त्यत्रो पार्टी विभाजित गर्‍यौं । फेरि एमालेलाई विभाजित गर्‍यो । यसले संसदमा हामी कमजोर भयौं, हाम्रो संघीय सरकार गयो, हाम्रा प्रदेश सरकारहरू गए । त्यसको परिणाम आज आएर यो निर्वाचनमा पनि भोग्यौं ।

यो पराजयलाई २५ प्रतिशत मान्नुहुन्छ भने योभन्दा अगाडि पनि हामी असफल हुँदै आएका छौं । कतिपय साथी भन्नुहुन्छ, जनमतमा हामी बढी छौं । सैद्धान्तिक रूपमा त हिजै पनि बढी थियौं, पञ्चायतकालमा पनि बढी थियौं । तर व्यवहारमा हामी असफल छौं ।

त्यसैले अब हामी कसरी जाने हो त्यसको अर्थ चुनाव, चुनावका लागि जाने हो भने त जे गर्दा पनि हुन्छ, अहिले पनि दोस्रो छौं । आगामी दिनमा कम्तीमा दोस्रो हौंला, सत्ताको चलखेल गर्न सकिन्छ । तर यदि समाजको परिवर्तनको कुरा गर्ने हो भने यो संकट हो । त्यसैले अहिले समाजलाई कसरी परिवर्तन गर्न सकिन्छ भनेर सोच्नुपर्नेछ ।

तर हुँदाखाँदाको संसद जोगाउन नसकेर, भएको शक्ति पनि नजोगाएको एमालेले जनता, समाज र देशको चिन्ता गर्ला भनेर पत्याउने बेला भएकै छैन नि…

जनताले पत्याउनुपर्दैन, उनीहरूलाई पत्याउने बनाउने हो । जनताले पत्याइदिनुपर्ने होइन । मैले ठीक–ठीक गर्दै गएँ भने जनताले पत्याउने हो । मैले बेठीक कुरामा पनि उल्टै अहंकार देखाउन थालें भने जनताले दिनुपर्ने निर्णय त दिन्छन् । तर जनताले सबै पार्टी सधैं राम्रा हुँदैनन् भन्ने बुझ्दैनन् । तर राम्रा संगठनले आफ्नो सामथ्र्य चिन्छ र कमजोरी हटाउने प्रयत्न गर्छ ।

यदि सांगठनिक, संरचनात्मक रूपले बिग्रेको छ भने त्यसले आफ्ना कमजोरी सच्याउन सक्दैन र इतिहासको कठघरामा ऊ नराम्ररी असफल भएर उभिन्छ । तर वाम आन्दोलन नेकपा एमालेको इतिहास धेरै अप्ठ्याराहरूमा सिक्दै, आफ्नै कमजोरी हटाउँदै आएको हो ।

एउटा गुट मात्रै बसेर यही पार्टी हो भनेर सबैलाई बाहिर कसले पारेको हो ? संसद विघटन कसले गरेको हो ? महाधिवेशनमा लिष्ट कसले पढेर सुनाएको हो ? योभन्दा बाहेक खबरदार भनेर कसले भनेको हो ? उठेकाहरू विरुद्धमा फलाना फलानालाई भोट नदिनू भनेर कसले प्रचारप्रसार गरेको हो ? यी त दुनियाँका सामु छन् त ।

एमालेसँग पर्याप्त जीवनशक्ति छ, जसले आफूले गरेको गल्ती सुधार्न सकोस् । हामीले जनतालाई इमानदारीपूर्वक कहाँ–कहाँ गल्ती गर्‍यौं भनेर भन्न सक्यौं भने उनीहरूले यिनीहरूले राम्रै गर्न खोजेका हुन्, माफी मागे भनेर जनताले बुझ्न र हामीलाई अघि बढ्ने बाटो दिन्छन् जस्तो लाग्छ ।

तर अहिले एमालेको नेतृत्वको कुरा सुन्दाखेरि एमाले परायजको दुई कारण छन्– पहिलो धाँधली, दोस्रो अन्तर्घात । यहाँ अरू गल्तीको कुरा कसरी जोडिए र ?

नसोचेको चुनाव हारेपछि एउटा सार्वजनिक खपतका लागि केही भनिदिऊँ भनेर अन्तर्घातले हारियो या धाँधलीले हारियो भनेर भनिएको हो भने त्यसलाई सामान्य रूपमा लिनुपर्छ । तर साँच्चिकै त्यही हो कि होइन भनेर छलफल गर्ने हो भने म चाहिं त्यस्तो होइन भन्छु । किनभने हामीमा कतिपय विचारमै पनि समस्या छन् भनेर म त भन्दै आएको छु ।

राजनीतिका हाम्रा विचार, हाम्रो तरिका, हाम्रो बाटोमा रहेका समस्या संगठनमा असाध्यै समस्याग्रस्त देखिएका छन् । मैले सधैं भन्ने गरेको छु संगठनको सञ्चालन दुई खालले हुन्छ । एउटा व्यक्ति हुन्छ, त्यसले संगठन बनाउँछ, संगठनको योजना बनाउँछ, संगठनको कार्यविभाजन गर्छ । अर्काे कसले के गर्ने भन्ने कुरा समूहमा निर्णयमा हुन्छ । जस–अपजस सबै समूहमा बाँडेर लिन्छन् । त्यसले गर्दा उनीहरूले चाँडो कमजोरी पनि देख्छन् ।

यी दुई तरिकामध्ये आज नेकपा एमाले हिंडेको पहिलो तरिका हो । विधिकै हिसाबले एमाले हिंडेको यो बाटो व्यक्ति आधारित भएको छ । एक त जहिले पनि यो तरिका गलत हो । व्यक्ति सर्वगुण सम्पन्न हुन्छ भन्ने कुराको त हामीले ४०० वर्षअघि खण्डन गरेर आएको हो । आज २१औं शताब्दीको वामपन्थी पार्टीमा व्यक्ति सर्वेसर्वा हुँदा जनता अलग्गिंदै जान्छन् ।

आज हामीले भोग्दै गरेको संकट यही हो । त्यसैले अब हामीले किन यसमा असफल भयौं भन्ने कुरा धेरै राम्ररी छिट्टै मूल्यांकन गर्नुपर्छ र जस्ताको तस्तै दुनियाँलाई बताइदिन सक्यौं भने नेकपा एमाले फेरि जाग्छ ।

पार्टीको लोकतान्त्रीकरण गर्नुपर्छ भनेर यहाँले सातौं महाधिवेशनदेखि सुरु गर्नुभयो, सो प्रस्ताव नवौं महाधिवेशनमा पारित नै भयो । तर तपाईंले भनेको व्यक्तिवादी चरित्र त्यति नै खेर सुरु भयो । के मिलेन ?

हामीले यो भोग्यौं । तर मेरो दाबी के हो भने, हामीले जुन विचारहरू ल्यायौं यो विचारले त आजको समयमा समाजका असल मान्छेहरूलाई, असल परम्पराहरूलाई एकठाउँमा ल्याउने र कहिल्यै पनि नहार्ने, कहीं केही कमी भयो भने आफैंभित्र समाधान गर्न सक्ने फराकिलो पार्टीको विचार हामीले ल्याएको हो । तर दुर्भाग्यवश हामी हिंडेका छैनौं । त्यसैले म कहिलेकाहीं स्वर्गको ठेगाना खल्तीमा हालेर नर्कको बाटो हिंडेपछि पुग्ने नर्कै हो भन्ने गर्छु ।

अहिले हामीमा कतै त्यो पो समस्या छ कि त्यसलाई पुनर्विचार गर्नुपर्छ । पार्टीले जुन विचारलाई सिद्धान्तको रूपमा स्वीकार गरेको छ, त्यसअनुसार आजको संगठन कस्तो बन्ला भनेर कल्पना गर्ने हो भने यसमा असल, एकदमै अग्रगामी र प्रगतिशील मान्छेहरू जम्मा हुनेछन् । लोकतान्त्रिक वातावरण हुन्छ । सबभन्दा असल महिला, राम्रा शिक्षक, राम्रा कर्मचारी हामीसित हुनेछन् ।

समाजमा गाउँका अगुवा तत्वहरू हामीसित हुनेछन् । आवारागर्दी, गुण्डाहरू हाम्रो साथमा हुँदैनन् । हामी असल मान्छेहरूलाई लिएर निरन्तर त्यसको दायरालाई बढाउँदै जान्छौं र यो प्रक्रियामा हामी हार्दै नहार्ने बाटोबाट जान्छौं । दुर्भाग्य अहिले हामी त्यस्तो बाटोमा छैनौं ।

अहिले त समाजका खराब मान्छेहरू यहाँहरूसँग छन् र कोही असल थिए भने पनि खराब छन् हैन त ?

म त्यसै त भन्दिनँ तर समाजको सडेगलेको मध्यमवर्गले अहिले बढी च्यापेको छ कि हामीलाई । समाजका मध्यमवर्गका पनि अलि राम्रा, सहयोगी हुने एउटा परम्परा हो । अर्काे एउटा हुन्छ मध्यम छ आफूभन्दा तलकोलाई दबाउँछ, माथिकोलाई चाकडी गर्छ ।

यो चाहिं समाजको एउटा जबर्जस्त चरित्र हो । त्यसले पार्टीमा प्रवेश पायो भने संगठन पनि त्यस्तै गरिदिन्छ । त्यसो गर्दा नेकपा एमालेले हेर्दाखेरि यी कमीबाट हामी कत्तिको अछुतो छौं ? हामी आफैं माथिकालाई चाकडी गर्ने तलकालाई दबाउने गरिएको छ कि छैन भनेर हेरियो भने हामी ठीक ठाउँमा हुन्छौं जस्तो लाग्छ ।

त्यो छ नि त हैन र ? अझै हेर्नुपर्छ र ?

म आम रूपमा अहिले पार्टीले हिंडेकै विचार पुनर्विचार गर्नुपर्छ भन्ने मान्छेले तपाईंले भनेको कुरामा असहमति जनाउँदिन । हामी गम्भीरतापूर्वक पुनर्विचार गर्नुपर्ने अवस्थामा छौं । कहिलेकाहीं साथीहरूले अलिकति चर्काे भयो पनि भन्नुहुन्छ । हामीसँग यही बाटो हिंड्ने हो भने सत्यानाश सिवाय केही पनि छैन ।

त्यसैले हामी सुध्रिने, पुनर्विचार गर्ने, वाम आन्दोलनलाई एकताबद्ध गर्ने, कम्तीमा वाममोर्चा बनाउने अहिले । यो चुनावभन्दा अगाडि वाममोर्चा बनाउन सकिएन भने हामीसँग पछुताउने पनि समय रहन्न ।

नेकपा एकीकृत समाजवादीलाई यहाँहरूको पार्टीले कसरी व्यवहार गर्छ, हामीले देखेकै छौं । माओवादीका नेताहरू एमाले अध्यक्षले आत्मालोचना गरे एकता हुन सक्छ भन्दैछन् । तपाईंहरू चाहिं वाम एकता भन्नुहुन्छ, तर आफ्ना अध्यक्षलाई सच्चिनुस् भन्न सक्नुहुन्न !

हिजो एउटा बेलामा हाम्रो अध्यक्षलाई लाग्यो कि संविधानतः प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँछ भन्नुभयो, उहाँले गर्नुभयो । पार्टीभित्रको कचिंगललाई लगेर संसदमा हान्न हुन्थ्यो कि हुँदैनथ्यो, त्यो संसद जसलाई हिजो राजाहरूले हानेका थिए । जनयुद्धमा माओवादीले हानेको थियो ।

आज पनि संसदलाई अस्थिर बनाउँदा के प्रभाव पर्छ भनेर छोडिदिने हो भने पनि यो संसद भंग गलत थियो भनेर हामीले अदालतमा जाँचिसकेका छौं । अदालतले गलत थियो भनेर फैसला गरिसक्यो । अब यस्ता कुरा र इतिहासमा अल्झेर भविष्यलाई तिलाञ्जली दिनुहुँदैन । हिजो हाम्रो अध्यक्षबाट गल्ती भयो नै भन्ने हो मलाई लागेको ।

अहिले त यो दुनियाँलाई प्रष्ट भयो त, हाम्रा कर्महरूले उत्पन्न गरेको विभाजनले गर्दा निर्वाचनमा पुग्दाखेरि त हामीले ठक्कर खाइसक्यौं । त्यसो गर्दा यो प्रयोग असफल भयो भन्ने हामीेले जति चाँडो सिक्छौं एमालेको उद्धार त्यति छिटो हुन्छ । यदि सिक्दै सिकेनौं भने, इतिहासमा नसिक्न पाइन्छ । तर नसिकेको सजाय व्यहोर्न तयार हुनुपर्छ । यसर्थ नेकपा एमाले फेरि जाग्छ, वाममोर्चा बन्छ भन्ने कुरामा म चाहिं विश्वस्त छु ।

एमाले जाग्न, फेरि अघि बढ्न अरूको सहारा किन लिनुपर्‍यो त नि ?

नेपालका वामपन्थी मूलतः एउटा आन्दोलन हो । एउटा आन्दोलनको एउटा पार्टी बन्नु प्राकृतिक कुरा हो । एउटा आन्दोलनमा १० वटा चुलाचौका राख्नु अप्राकृतिक कुरा हो ।

तर यो त असफल भएको अभ्यास हो नि !

होइन नि, कसरी असफल भयो ? जुट्याथ्यो, त्यो चाहिं दुई तिहाइ करिब ल्याएको थियो । फुट्याथ्यो, सबै सरकार असफल भएर अहिले हामी बाटोमा छौं । कुन प्रयोग असफल भयो ? जुटेको प्रयोग त सफल भएको हो । फुटेको, फुटाएको, फुटाउन प्रयत्न गरेको, फुटाउन आफैंले काम गरेर त्यसको कमजोरीबाट नसिकिएको हो ।

हाम्रा कर्महरूले उत्पन्न गरेको विभाजनले गर्दा निर्वाचनमा पुग्दाखेरि हामीले ठक्कर खाइसक्यौं । त्यसो गर्दा यो प्रयोग असफल भयो भन्ने हामीेले जति चाँडो सिक्छौं एमालेको उद्धार त्यति छिटो हुन्छ ।

सफल हुनु भनेको तपाईंहरूको सरकार बन्ने, यहाँहरू सत्तामा रहे भन्ने मात्रै होइन होला नि त ! फेरि नेकपा सत्तामा भएकै बेला जनताले पाएको दुःख त बिर्सिसकेका छैनन् नि !

सामान्य शासकीय हिसाबले अरू धेरै दुःख त के भयो र ? केही केही कमजोरीहरू हामीबाट भएका होलान् । ल तपाईंले भनेकै कुरालाई पनि मान्ने हो भने कतिपय कमजोरी सत्तामा रहँदै भए भन्ने हो भने पनि त्यो सरकारले जुन आशा र विश्वास देखाएको थियो नि त्यसको तुलनामा हामीले गरेका कमजोरी त सुधार्न सकिने थिए ।

त्यसले गर्दा यो आन्दोलन जुटेर गल्ती भएको हैन फुटेर भएको हो । प्रयोगले यो देखायो । त्यसैले हामीले जुटेर अझै विशाल हुनेतर्फ सोच्नुपर्छ भन्ने लाग्छ ।

अहिले तपाईंलाई पीर परेको चाहिं एमालेको हो कि समग्र वामपन्थी आन्दोलनको ?

पहिलो त वामपन्थी आन्दोलन हो । म पार्टीमा लाग्दाखेरि मेरो पार्टीको नाम नेकपा एमाले थिएन । म पार्टीमा लाग्दाखेरि त एउटा समूह थियो, को–अर्डिनेशन केन्द्र । पछि त्यो पार्टी नेकपा माले भयो, एमाले भयो । यो एउटै आन्दोलन हो । नामहरू विभिन्न भए, नाम सामान्य हो ।

पार्टीमा धेरैपछिसम्म हामीलाई चुनाव चिह्नबारे पनि थाहा थिएन । त्यसो हुँदा यो आन्दोलन हो । यहाँ पार्टी, गुट, व्यक्ति, व्यक्तिहरूका हैकम हाम्रो हिसाबकिताबभित्र पर्ने कुरा हैनन् । यो त समग्र आन्दोलनको कुरा हो ।

यहाँकै पार्टीका शीर्ष नेताहरूले पनि चुनावअघिसम्म जनताको अदालतमा जान्छौं भनिरहनुभएको थियो, अलिकति छनक त देखियो नै । यो बेला त अरू पार्टीहरूले एमालेलाई अझै सबक सिकाउन चाहलान् नि त, हैन र ?

वाम पार्टीहरूभित्रको कुरा गर्दा; वाम पार्टीहरूभित्र मैले जस्तै सोच्ने मान्छेहरू ९५ प्रतिशतभन्दा बढी छन् भन्ने मेरो दाबी हो । जसका लागि यो पार्टी, त्यो गुट, त्यो नेताभन्दा यो आन्दोलन बढी प्यारो छ । त्यो चाहिं मेरो विश्वास हो । यही चुनावपछि पनि माओवादीले पहिलेभन्दा अलिकति सिट बढाएको छ । त्यसका अध्यक्षले हामी उत्साहित छौं भन्नुभएको छ, पार्टीको हिसाबले माओवादीले जित्यो भनेर उत्साहित हुने एउटा कुरा हो ।

तर त्यहीभित्र पनि अरू तमाम कमरेड म देख्छु, यदि नेकपा माओवादी केन्द्र त्यहीं मात्रै अडिने हो भने त्यो जितको काम छैन । यसलाई पूर्णता दिनका लागि वाम आन्दोलनलाई नै एकीकृत गर्नुपर्छ भन्ने मैले प्रशस्त कमरेडहरू देखेको छु । हाम्रो पार्टीभित्र त विभिन्न कारणले बोल्न नसकेको मात्रै हो । एक खालको औडाहा पार्टीको हिजोको एकता भत्केको प्रति चिन्ता त छ नि ! आजै एकता हुँदैन तर राजनीतिक, सैद्धान्तिक हिसाबले वैचारिक हिसाबले त हुन्छ नै, किनभने दुई पार्टी मिलेर माओवादी केन्द्र र एमाले मिल्दा सबै कुरा समाधान गरिसकेका छौं ।

त्यसमाथि प्रश्न गर्ने भनेको नैतिक रूपमा असाध्यै अनैतिक कुरा हो । त्यतिखेर प्रधानमन्त्री बन्नुपर्ने थियो त्यसैले हतारहतार हस्ताक्षर गर्‍यौं भन्नु भन्नुपर्‍यो । कि त एकता गलत थियो भन्नुपर्‍यो, कि त फुट गलत थियो भन्न सक्नुपर्‍यो नि ! ल त को निस्किन्छ एकता गलत थियो भन्ने ? त्यसो गर्दाखेरि यी सबै पार्टीभित्रको आवाज हो, एकता वाममोर्चा ।

एकता गलत थियो त कसैले भन्दैनन्, साथसाथै वामपन्थीहरूले गलत थिएँ पनि भन्दैनन् नि त…

संसदको विघटन कसले गर्‍यो भनेर गाउँ कमिटीको कमरेडलाई तैंले गरिस् भन्ने के अर्थ हुन्छ नि ! हैन, के कारणले भत्कियो भनेर बसेर छलफल गर्दा त थाहा हुन्छ त ।

एउटा पार्टीलाई अदालतले एमाले र माओवादी भनेर किन छुट्याइदियो, एउटा गुट मात्रै बसेर यही पार्टी हो भनेर सबैलाई बाहिर पारेको हो ? संसद विघटन कसले गरेको हो ? महाधिवेशनमा लिष्ट कसले पढेर सुनाएको हो ? योभन्दा बाहेक खबरदार भनेर कसले भनेको हो ? उठेकाहरू विरुद्धमा फलाना फलानालाई भोट नदिनु भनेर कसले प्रचारप्रसार गरेको हो ? यी त दुनियाँका सामु छन् त । तर यसलाई व्यक्तिका रूपमा नलिएर आन्दोलनमा आएका समस्याका रूपमा लिंदै अघि बढ्नुपर्छ ।

व्यक्तिका रूपमा नलिने भन्दै फेरि व्यक्तिलाई आलोचना गर्दै गर्नुहुन्छ तपाईं फेरि…

ल ठीक छ यो प्रमाणित गरौं न त । मैले फेरि नि भनेको छु, पुस ५ गते गलत थियो । अदालतले पार्टी विभाजन गर्दाखेरि दिपावली गर्ने सांस्कृतिक, राजनीतिक, वैचारिक हिसाबले कुनै ठीक थिएन । म त्यो भन्छु ।

अनि आफ्नै पार्टीभित्र एउटा गुटको बैठक बसेर यही हो पार्टी भन्ने कुरा गलत हो भन्छु । कर्म गलत हो भने त्यो कर्म गर्ने कर्ताहरू ठीक होइनन् भन्ने प्रश्न त स्वतः उठ्ने भयो नि ! त्यसो गर्दा मेरो व्यक्तिसँगको कुरा होइन । यी कर्महरूसँग मेरो विरोध हो । यी कर्म हुँदैनन् भने त त्यो कर्म गर्ने कर्ता पनि हुँदैनन् ।

सधैं नेतृत्वलाई आलोचना गरेर त्यहीं बसिरहन कसरी सकिन्छ ? सकस हुन्न ?

म फेरि पनि यही भन्छु, म यो आन्दोलनमा लाग्दाखेरि, सुन्दाखेरि १५/१६ वर्षको थिएँ । लाग्दाखेरि १७/१८ वर्षको थिएँ, जतिबेला म सम्पूर्ण हिसाबले लागें । त्यो लाग्दाखेरि नै एक खालका केही सपना बनाएर लागेको हुँ । मेरो दाबी आज पनि के हो भने म त्यही प्रतिबद्धतामा छु । म त माक्र्सवाद पढेर आएको हुँ ।

यो पार्टीमा निरन्तर लागिरहने र लडिरहने कुरा मलाई मार्क्सवादले सिकाएको हो भने कुनै नेताले मसित अन्याय गर्‍यो, मसँग बदला लियो, कसैले अपमानित गर्‍यो भनेर म किन डराउने ? जसका कारण म यो आन्दोलनमा आएकै हैन, जसका कारण म यो पार्टीमा लागेकै हैन, त्यसका कारण किन भाग्छु म ? त्यसो गर्दा यो प्रवृत्तिसँग लड्न त कसम खाएर लागेको हुँ, त्यसमा कायम छु भन्ने मेरो दाबी हो ।

संवैधानिक, राजनीतिक र हाम्रो स्थायित्वका हिसाबले संसदमाथिको आक्रमण गलत हो । भोलि अर्काेले गर्छ हेर्नुस् । अर्काले हानेको कुरालाई हामीले समर्थन गर्नुपर्ने अवस्थामा हुन्छौं र हामी अस्थिर बनेर जान्छौं । त्यसो हुनाले प्रश्न व्यक्ति या गुटको होइन । पार्टीभित्र लोकतन्त्र हुनुपर्‍यो ।

अझै म यसो भन्छु, साँच्चै फुटेका तीन पार्टी छन् नि यी तीन पार्टीका केन्द्रीय नेताले केही गर्दैनन् भन्ने भयो भने केन्द्रीय बैठक तुरुन्तै बस्छ, एकता प्रक्रिया सुरु हुन्छ । तर यहाँ डर चाहिं मेरो के हुन्छ भन्ने खालको छ ।

अहिलेको अवस्थामा तपाईंले कसरी कल्पना गर्न सक्नुहुन्छ र ? तीन अध्यक्षविनाका केन्द्रीय कमिटीहरू जागरुक होलान् भनेर ?

विनाको मैले कुरा गरेको हैन । एउटा अध्यक्ष त हुन्छ नै । मैले भन्न खोजेको, यहाँभित्रका मान्छेहरूको महसुसका हिसाबले भन्नुहुन्छ भने नेताले मेरो पोल खोल्दैन, मलाई किनारा लगाउँदैन भन्ने हुने हो भने तीनवटै पार्टी केन्द्रीय कमिटीहरूले तुरुन्त वाम मोर्चा पर्सि बनाउँछन् हेर्नुस् ।

किन यस्तो भयंकर आन्तरिक लोकतन्त्र छैन भन्नुभयो भने हामीले त्यस्तै प्रयास गरेर आयौं । हामीले लोकतन्त्र त ल्यायौं तर आफैं लोकतान्त्रिक भएनौं । त्यसो हुँदा हाम्रो अलोकतान्त्रिक गतिविधिले मुलुकको स्थायित्वमाथि पटक–पटक आक्रमण गर्ने ठाउँमा पुगेका छौं ।

तपाईंहरूको आन्तरिक छलफल कसरी अघि बढेको छ ?

सबै व्यक्ति त पूर्ण हुँदैन । मैले चाहिं व्यक्तिगत रूपमा सबै पार्टीका साथीहरूसँग छलफल गरिरहेको छु । राजनीतिक तथा वैचारिक रूपमा म एमाले भए पनि सैद्धान्तिक रूपमा आफूलाई नेकपा एमाले भन्छु । यसकारण त्यो सैद्धान्तिक पार्टी छ नि, सैद्धान्तिक पार्टीका साथीहरूसित छलफल गर्ने गरेको छु । जिल्लाहरूमा विभिन्न जनसंगठनका साथीहरूसँग कुरा गरेको छु ।

ती सबै अहिले वाम एकता, कम्तीमा वाममोर्चा हुँदै अघि जाने कुरामा कुन दिन लिडरसिपले यो कुरा महसुस गर्छ भनेर पर्खाइमा बसेका छन् । जुन दिन हामीले गर्दैनौं भनेर निर्णय गर्नेछौं, लाखौं कार्यकर्तालाई घोर निराशामा धकेल्ने काम गर्छ । त्यसैले तीनवटै पार्टीका आगामी बैठक धेरै महत्वपूर्ण छन् । हामीलाई फुटाउन, गालीगलौज गर्न मच्चाउने ती शक्तिहरू अनेक छन् ।

फुटाउने शक्ति भन्नुभयो, यहाँहरूले असाध्यै उच्चारण गर्नुहुन्छ यो कुरा । नेकपा आफ्नै कर्मले फुटेको हैन र ?

हो, त्यसमा त कुनै शंकै छैन । हाम्रा कर्म र बाहिरको समेत सहयोग भइदियो भने समस्या त हुन्छ नै । सामान्य सतर्कताले पनि नेपालको वाम आन्दोलन सफल हुन सक्दैन । कांग्रेस पनि धेरै शक्तिशाली भयो भने हाम्रो भूराजनीतिमा त्यसलाई पनि फुटाउने छन् । कांग्रेस आफ्नो आन्तरिक लोकतन्त्रमा बलियो हुँदै जाओस्, हामी अझै व्यापक र लोकतान्त्रिक हुँदै जाऔं । दुवै लोकतान्त्रिक हुँदै जाँदा समाजलाई लोकतान्त्रिक बनाउन सकिन्छ ।

यहाँहरू वाम एकताको कुरा गर्नुहुन्छ, यहाँको नेतृत्वले दक्षिणपन्थीसित गठबन्धन गरेर चुनाव लडिदिन्छ, विरोधाभास त छ नि !

दुर्भाग्य हो । त्यो आउँछ कहिलेकाहीं । पार्टी भनेको पनि व्यक्तिको जिन्दगी जस्तै हुन्छ । व्यक्ति पनि सधैं तन्दुरुस्त रहँदैन । यो समाजको पनि त्यस्तै हुन्छ, राजनीतिक पार्टीको पनि त्यस्तै हुन्छ जिन्दगी । यो ठूलो कुरा हैन । ठूलो कुरा के हो भने त्यस्ता समस्या र एक–दुई पल्टका असफलताबाट ठेस लागेपछि, टाउको ठोक्किंदा पनि नचेत्नु चाहिं गम्भीर कुरा हुन् ।

अहिले एमाले भित्रै चाहिं छलफल गर्नुभएको छ कि छैन ?

हामीले हाम्रा प्रयोगहरू असफल भए भन्ने देख्यौं । हामी हार्‍यौं । केही ठाउँमा धाँधली, केही ठाउँमा अन्तर्घात पनि भएको हो । त्यो कुरा चुनावको रिजल्ट आएपछि हाम्रो पहिलो प्रतिक्रिया थियो । अब केही केही हामीले जितेका छौं । जनमतमा त हामीले जितेकै हौं नि फेरि । अहिले जे परिणाम आएको छ, त्यसलाई सुध्रिनका लागि हामीले भर्‍याङ बनाउनुपर्छ, हामी त्यही छलफलमा छौं ।

तर तपाईंहरूको नेतृत्व त्यति धेरै चेतेको जस्तो त देखिन्न !

कमजोरी धेरै भएका छन् । यसो सोच्दा हैन, यो त अब वित्यासै भयो कि जस्तो पनि लाग्छ । हामी पछारिएका कान्लाहरू गन्दै गयौं भने हाम्रो बाटो हेर्‍यौं भने त्यो देखिन्छ । तर फेरि अर्काे तरिकाले हेर्दाखेरि गाउँ–गाउँमा, दुर्गम बस्तीहरूमा, हाम्रा शहरमा मान्छेहरू लामो समयसम्म वर्षाैं दशकौं राम्रा मान्छेहरू थुप्रिंदै गएको, तिनको अकथनीय त्याग, तपस्या, बलिदान, संकल्पले बनाएको यो पार्टी संरचना सबै हेर्दाखेरि फेरि अपेक्षा लाग्छ ।

अहिले भर्खरै यस्तो कुरा सुन्दा त कस्तो लोककथा जस्तो सुनिन्छ नि…

यस्तो मात्रै छैन । नवौं महाधिवेशनभन्दा अगाडि कति लोकतान्त्रिक थियौं हामी । हेर्नुहुन्छ भने हामी दक्षिणएशियाको सबैभन्दा लोकतान्त्रिक पार्टी हौं भन्थ्यौं, अरूले स्वीकार गर्थे । हामीसँग त्यो क्षमता त रै’छ नि ! त्यो क्षमता पुनर्जागृत गर्छाैं, त्यसलाई रियल बनाउँछौं ।

उपाय के हो ?

क्षमताको हिसाबले नेकपा एमालेको दोस्रो पुस्ता साँच्चै नै क्षमतावान् छ । धेरै अप्ठ्याराहरूबाट शिला टिपेर पार्टी बनाउने त हाम्रो पुस्ता हो नि !

तपाईंहरूको पुस्ताका धेरै नेतामा अध्यक्षकै अभिव्यक्ति देखिन्छ, अध्यक्षले गलत गरेको यहाँले नै भनिरहनुभएको छ…

यो पुस्ताको लिडरसिपको हिसाबले भन्ने हो भने एउटा तहका असाध्यै सक्षम नेताहरूको पार्टी हो । तर अलिकति योग्यता पुगेन । योग्य हुनका लागि हामीले विधि स्थापित गर्नुपथ्र्याे । स–साना कतिपय मामलामा या त डरायो, या लोभियो के के भयो । तर सधैं लोभी हुन्छ, डराउँछ भन्ने छैन, यो ब्युँझिने आशमा छु म ।

यो पुस्ता अघि बढ्न पहिलो पुस्ताले विश्राम लिनुपर्‍यो फेरि !

हाम्रो जस्तो लोकतन्त्रमा आन्दोलनमा के हुन्छ भने एउटा सत्तामा रहेर सत्ताको सुखभोग गर्दै आएकोले धेरै कुरा पाइसकेको छ । विभिन्न ठाउँमा उसका कमि–कमजोरी भएका हुन्छन्, कमजोरीबाट बच्नका लागि ठूला आदर्शलाई तपसिलमा राखिदिन्छ । अर्काे तप्का हुन्छ, लाग्यो लाग्यो लडेर आयो केही पाएको छैन ।

त्यसैले केही पाइन्छ कि भनेर अलिकति लालसाले अलोकतान्त्रिक गतिविधिलाई पनि सदर गर्छ । तर यस्तो अवस्था आउँछ डराएर, भागेर, प्रश्न नगरेर सुखै पाइँदैन । त्यो अवस्था आउँछ फेरि, इतिहासमा आएको छ । मेरो पुस्ताको कसैले डराएको छ भने, अहिले पनि लोभ राख्यो भने त्यो साँच्चिकै अयोग्य पुस्ता हो भनेर प्रमाणित हुन्छ । त्यसो हुँदाखेरि यो पुस्ताले त्यो अयोग्यता नदेखाउला भन्ने लाग्छ ।

हामीले योग्यता देखाउन सक्या छैनौं, तर अयोग्य भइसकेका होइनौं । यही बाटोबाट अर्काे चुनाव पनि गर्‍यौं भने त्यसपछि योग्यता देखाउने ठाउँ रहँदैन । त्यही भएर आन्दोलनको सर्वनाश नहेर्ने हो भने हामी ब्यूँझिनैपर्छ ।

देखिइसकेको हैन अयोग्यता ? दशौं महाधिवेशनमा देखियो, त्यसअघि विधान महाधिवेशनमा देखियो, संसद विघटन गर्दा देखियो… कतिपटक अयोग्य भएपछि साँच्चिकै अयोग्य भन्ने हो र ?

म अर्काे तरिकाले भन्छु । हामीले योग्यता देखाउन सक्या छैनौं, तर अयोग्य भइसकेका होइनौं । यही बाटोबाट अर्काे चुनाव पनि गर्‍यौं भने, त्यसपछि योग्यता देखाउने ठाउँ रहँदैन । त्यही भएर फेरि यो चुनावलाई मैले एउटा ठूलो पानीढलोका रूपमा लिएको छु । यदि आन्दोलनको सर्वनाश नहेर्ने हो भने हामी ब्यँुझिनैपर्छ ।

आउँदो चुनावमा अहिले जुन संकेत देखिएको छ, त्यही अनुसारको परिणाम नआओस् भन्नका निमित्त यिनै नेताहरूले यसैगरी चुनावको नेतृत्व गरेर हुन्छ ?

व्यक्तिको, उमेरको चर्चा त नेपाली राजनीतिमा धेरै नै भइसकेको छ । नयाँ–नयाँ प्रवृत्तिहरू देखा परेको सन्दर्भमा यिनीहरूले नै ठीक गर्लान् भन्ने त एउटा कुरा भयो । यो पुस्ताले आफ्नो जिन्दगीमा जे गर्‍यो यो आन्दोलनका लागि अन्तिम राम्रो गर्ने हो भने यो पुस्ताको कुनै पनि व्यक्ति आउने वाम एकताका लागि बाधक नबनोस् । यो पुस्ता सहयोगी त देखिन सकेन नै, बाधक चाहिं नबनोस् ।

त्यो सम्भव छ ?

म आशावादी छु । सम्भव छ । हिजो ५०÷५० प्रतिशत पार्टी र सरकारको सत्ता बाँड्ने जस्तो निम्छरो आधारमा त पार्टी एकता हुन सक्दो रै’छ भने अहिले त विचारका हिसाबले स्पष्ट छौं । त्यसले गर्दा हिजोभन्दा आज पार्टी एकताको आधार तयार भएको छ ।

अहिले भर्खरै हामी धेरै झगडा गरिराखेको हुनाले एकतामै त नजाला तर वाममोर्चा किन बन्न सक्छ भने म कमल थापासित मिलेर एकता गर्न सक्ने, माधव नेपालसित गर्न नसक्ने भन्ने हुन्छ ? यो त गलत हो नि ! म त परिवार दलसँग सम्झौता गर्ने अनि हिजो सँगै एउटै पार्टीमा थियौं, अनि सैद्धान्तिक हिसाबले एकै ठाउँमा छौं त्योसँग नमिल्ने भनेको त गलत कुरा हो, भाँजो हाल्ने कुरा हो । हामीले फेरि वाममोर्चा बनाएर जनतासँग भन्छौं, हामीले गल्ती गर्‍यौं भन्दा अहिले पनि वामआन्दोलनले पर्याप्त उचाइ लिन्छ भन्ने लाग्छ ।

वाम आन्दोलन, वाम एकता गर्नका लागि सिद्धान्त, विचार, विधि पद्धतिले काम गर्छ र ? सत्ता भागबन्डा गरौं भन्ने कुरा पो व्यावहारिक होला नि हैन र ?

त्यो बाटो त असफल भयो नि ! नेताहरू झगडा गर्दैथिए, २०७४ को साउनसम्म यिनको गालीगलौज असांस्कृतिक थियो । हामीले वैचारिक, सैद्धान्तिक हिसाबले वाम आन्दोलन एक ठाउँमा आउनुपर्छ भन्यौं, हामीलाई गाली गरे । त्यस्तो कमजोर कडीमा एकता गरे ।

पछि यो विघटन नगरौं भनें म एक वर्ष यसका पछाडि लागें । त्यतिखेर पनि म आलोचित भएँ । अब विभाजन भइसक्यो, अब एकता हुनुपर्छ भन्दैछु, कतिपय मान्छेहरू मेरो विरोध गर्दैछन् । यो वामप्रवृत्ति होइन । त्यसैले मलाई जसले विरोध गरिरहेका छन्, ती वामपन्थी होइनन् भनेर मैले आफूलाई सन्तुष्ट राखिरहेको छु ।

आफूले गरेका सबै प्रयास असफल हुँदा तपाईंलाई हैन, गलत पो गरिएछ कि भन्ने लाग्दैन ?

हैन नि, आन्दोलन त अगाडि बढेको छ नि ! मेरो आलोचना भयो होला, एउटा खास शक्ति केन्द्रबाट । मैले मेरो जिन्दगीभर नेताहरूलाई पनि आलोचनात्मक रूपले हेरें । तिनका राम्रा कुरा के हुन्, नराम्रा कुरा के हुन् भन्नेमा मेरो ध्यान गयो । तर मेरो दृष्टि कहिल्यै एउटा नेता सर्वशक्तिमान हो, सर्वदर्शी हो भन्ने लागेन त्यसैले मैले सबैलाई आलोचना गरें, समर्थन गरें ।

इतिहासमा १० हजार घनश्यामहरूले राम्रो गर्दागर्दै किनारै परेर सकिए भने पनि यसको जगमा भविष्यका लागि राम्रै कुरा हुनेछ । यसबाट भावी पुस्ता राम्रो आउनेछ ।

ओली कमरेडलाई पनि कतिपय ठाउँमा मैले समर्थन गरेको छु । ओली कमरेड आठौं महाधिवेशनमा हार्नुभयो, हारेपछि उहाँको वरीयता पदाधिकारी भन्दा तल भयो । उहाँलाई त्यसले भयंकर पीर पर्‍यो । सार्वजनिक कार्यक्रममा जान अप्ठ्यारो भयो, बैठकमा अप्ठ्यारो भयो । त्यो अप्ठ्यारो पार्टीका विभिन्न बैठकमा पनि देखा परे । त्यसपछि के गर्ने त ?

उहाँका यस्ता अप्ठ्याराका कारण उहाँलाई अप्ठ्यारो पर्न थालेपछि मैले नै अगुवाई गरेर पार्टी कमिटीले निर्णय गरेर भए पनि अप्ठ्यारो हटाउनुपर्छ भन्ने प्रस्तावमा म नै अगाडि थिएँ । त्यो कुरामा ओली कमरेडलाई मैले समर्थन गरेको हो । मैले आलोचना गरेको मात्रै छैन । त्यतिखेर उहाँ केन्द्रीय कमिटीको मात्रै सदस्य भएको भए नवौंमा आउनुहुँदैनथ्यो । उहाँ तेस्रो हुनुभयो, त्यसपछि संसदीय दलको चुनाव लड्नुभयो ।

पार्टी अध्यक्ष भइकन झलनाथ खनालले त चुनाव गराउनुभएको छ, सम्झिउँ त । हाम्रो प्रस्तावको धरातलमा टेकेर ओली संसदीय दलको नेता हुनुभयो, त्यही धरातलमा टेकेर उहाँ पार्टी अध्यक्ष हुनुभयो । उहाँ जहाँ हुनुहुन्छ मेरो पनि योगदान छ । यो मैले ओली कमरेड हैन पार्टीका लागि गरेको हो । त्यसो हुनाले मैले आज पनि ओली कमरेडलाई आलोचनात्मक रूपले हेर्छु ।

हिजो झलनाथ खनाललाई समर्थन गर्‍यौं कतिपय शैलीमा समर्थन थिएन । तर उहाँको वाम लोकतान्त्रिक समाजवादी ओरियन्टेसनलाई समर्थन गरेको हो । त्यसो हुनाले मलाई कुनै पश्चात्ताप छैन । इतिहासमा हामी जस्ता अरू धेरै १० हजार घनश्यामहरूले राम्रो गर्दागर्दै पनि उनीहरू किनारै परेर सकिए भने पनि यसको जगमा भविष्यका लागि राम्रै कुरा हुनेछ । यसबाट भावी पुस्ता राम्रो आउनेछ । ओली कमरेडसँग धेरै कुरामा असहमति छ ।

झलनाथ खनालले जसरी आफू अध्यक्ष हुँदा संसदीय दलको निर्वाचन गराउनुभयो, माधवकुमार नेपालले पनि एमाले पार्टी पराजित भएपछि राजीनामा दिनुभएको इतिहास थियो । इतिहासका यी दुई कुरा सम्झेर अहिले ओलीबारे तपाईंको भनाइ के छ ?

उहाँले सिक्नुहुन्छ भन्ने लाग्छ, उहाँले सिक्नुपर्छ । यो आन्दोलनले त्यहाँ पुर्‍याएको, यो पार्टी निर्माण गर्ने शहीदहरू, झापाका उहाँका सहयोद्धा साथीहरू, त्याग गरेका साथीहरू जसले यो पार्टी बनाएका छन् र उहाँलाई नेतृत्वमा पुर्‍याएका छन् त्यो जिम्मेवारीबोधका साथ कमरेड ओली अगाडि आइदिनुभयो भने एमालेलाई पुनर्जीवित गर्नका लागि धेरै ठूलो योगदान हुन्छ । यदि ओलीजी लाग्नुभएन र उहाँलाई लाग्ने बनाउन यो पार्टीले सकेन भने त्यतिखेर मेरा लागि त्यो वित्यास अकथनीय देख्छु । त्यसैले वाम एकताबाहेक कुनै उपाय देख्दिनँ ।

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर ।

लेखकको बारेमा
बिनु सुवेदी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?