+
+

चुरे, बाघ, बाढी र लोककल्याणकारी राज्य

कमलजंग कुँवर कमलजंग कुँवर
२०७९ जेठ ३० गते १५:२१

माथिको नक्साबाटै प्रष्ट हुन्छ कि जहाँजहाँ गैंडा, बाघ, हात्ती संरक्षित छन् त्यो क्षेत्रको चुरे तुलनात्मक रूपमा कम क्षति भएको देखिन्छ । जहाँ चुरेको विनाश न्यून छ त्यहाँ त्यहाँको तल्लो तटीय क्षेत्र तराईमा बाढीबाट धनजनको क्षति र कृषिभूमि मरुभूमिकरण हुनबाट जोगिएको छ ।

विदुर नीतिशास्त्रमा बताउँछन्- न स्याद् वनमृते व्याघ्रान् व्याघ्रा न स्युर्ऋते वनम् । वनं हि रक्ष्यते व्याघ्रैव्र्याघ्रान् रक्षति काननम् । अर्थात् वनमा बाघ हुन्छ, बाघले नै वनको रक्षा गर्दछ । बाघ नै प्राकृतिक वातावरण सन्तुलनको सूचक प्रजाति हो । चुरेमा बाघ हुनु भनेको चुरे संरक्षित छ भन्ने संकेत हो ।

वनले चुरे जोगाउँछ, चुरेको जंगल संरक्षण भए तल्लो तटीय क्षेत्र तराईको लागि खानेपानी, सिंचाइ, भूमिगत जलभण्डार सिंचित (रिचार्ज)का लागि जल र कृषिभूमिका लागि उर्वर मल उपलब्ध गराउँदछ ।

कौटिलीय अर्थशास्त्रमा चाणक्य बताउँछन्–पशुमृगद्रव्यहस्तीवनपरिग्रहो वनम् अर्थात् मृग, बाघ, बँदेल, बाँदर, चराचुरुङ्गी, पुतली, कमिला, कीरा, मौरी आदि पशु, काठदाउरा, जडीबुटी आदि द्रव्य हात्ती भएको जङ्गललाई वन भनिन्छ । वनले काठदाउरा मात्रै होइन गैरकाष्ठ वन पैदावार र जडीबुटी पनि प्रदान गर्दछ । जहाँ वन हुन्छ त्यहाँ स्वतः मृग, मयूर, बाघ, हात्ती, काठदाउरा, जडीबुटी हुन्छ । वन्यजन्तु विनाको वनको परिकल्पना सम्भव नै छैन । वन रहे जीवन रहन्छ । वनमा बाघ हुन्छ, बाघ रहे वन रहन्छ ।

चुरे संरक्षण हुँदा मानिसका लागि तल्लोतटीय क्षेत्र बसोबास गर्न योग्य हुन्छ । जङ्गलका कारण हामीलाई बाँच्नका लागि नभई नहुने स्वच्छ हावा, जल र खाने अन्न फल्ने उब्जाउ भूमि सुरक्षित भएको छ । चुरेको वन संरक्षण सुरक्षित जीवनको आधार हो ।

विभिन्न कालखण्डमा विविध कारणबाट हाम्रै आँखा अगाडि चुरे विनाश हुँदाको परिणाम अहिले हामी भोगिरहेका छौं । पानीको अभावमा तराईका मानिस काकाकूल जस्तै तड्पिरहेका छन् । पानीको अभाव, बाढीको चपेटाबाट वर्षैपिच्छे दर्जनौं मानिसको मृत्यु, सयौं परिवार घरबारविहीन र हजारौं बिघा उर्वर कृषि भूमि मरुभूमिकरण हुँदै गएको छ । चुरे नासिंदा तराई विनाश भएको टुलुटुलु हेरेर बस्नुपरेको छ । यस्तो देख्दादेख्दै, भोग्दाभोग्दै हामीले अब पनि नचेते, नसोचे कहिले सोच्ने र चेत्ने हो ?

२४० वर्षे शाहवंशीय शासन कालमा ३० वर्ष एकलौटी शासन गर्ने शाहवंश, २००७ सालदेखि २०७९ को अवधिमा पटक–पटक गरेर ४० वर्ष शासन गर्ने काङ्ग्रेस, कम्युनिस्ट र मधेशवादीहरूको दर्शन, दल, नेता, नेतृत्वको अक्षमताका कारण २१औं शताब्दीमा पनि नेपाली जनताले आफ्नो हातमुख जोर्न, बालबच्चाको भोको पेट भर्न, नाङ्गो आङ ढाक्नका लागि जीउज्यानकै जोखिम मोलेर गैंडा, बाघ, हात्ती, चितुवा, भालु जस्ता हिंस्रक जनावर भएको जङ्गलमा एक्लैदुक्लै निगुरो टिप्न, काठदाउरा, इन्धनका लागि झिंजामिजा जोगाड गर्न जानुपर्ने अवस्था छ ।

बाख्रा–पाठा, गाईवस्तुका लागि घाँसपात काट्न हिंस्रक वन्यजन्तु भएको जङ्गल धाउनुपर्ने विवशता, गोही, बाघ, हात्ती, गैंडाको आक्रमण हुनसक्ने सम्भावना हुँदाहुँदै पनि खोलामा घोंगी टिप्न, माछा मार्न जानुपर्ने बाध्यता रहँदै आएको छ । जसको कारण दैनिकजसो बाघ, गैंडा, हात्ती, चितुवा, भालु लगायत जनावरको आक्रमणमा परेर मृत्युवरण, घाइते, अपाङ्ग र बालबच्चा टुहुरा, अनाथ हुनुपरेको अवस्था छ ।

घरजग्गाको अभावमा वनजङ्गल, नदीकिनारा, भीरपहरा, कुनाकन्दरा, खोंच, अनकन्टार, नदी खोलाको मुहान तथा जलाधार क्षेत्रमा जीवन निर्वाहका लागि आश्रय लिनुपरेको छ । जसको परिणामस्वरूप वनजङ्गल, सार्वजनिकस्थल अतिक्रमण गरेको आरोपमा घरगोठ जलाइएका छन्, बेघरबार हुनुपर्दाको अपमान सहन बाध्य पारिएको छ ।

अक्षम, नालायकहरूको हातमा शासन हुँदासम्म विभिन्न बहानामा अझै कति धेरै निमुखा जनताले आफ्नो जीवनको आहुति दिनुपर्ने हो त्यो भविष्यकै गर्भमा छ । यस्ताको हातमा शासन हुँदासम्म न वन संरक्षण हुन्छ, न बाघ सुरक्षित रहन्छन्, न जनताको जीवनको रक्षा र देशको समुन्नति नै हुन सम्भव छ ।

यो देशका जनताको गरिबी, बेरोजगारी, अभाव, सङ्कट, भोकमरीको मुख्य दोषी यो देशको शासन सञ्चालन गर्दै आएका राजनीतिक दल, दर्शन, नेता र नेतृत्व नै हुन् । तर यो देशका राजनीतिज्ञ र तिनका पृष्ठपोषक सामाजिक अभियन्ताहरू जनताको जीवनको मूल्यको दोष प्रकृतिमाथि थोपरेर जनताको ‘आँखामा छारो हाल्ने’ र आफूलाई ‘पानीमाथिको ओभानो’ हुने कुचेष्टा गर्दै आउनु केवल दिवास्वप्न र दुष्प्रयास मात्रै हो ।

शेरबहादुर, प्रचण्ड, केपी ओली, माधव नेपाल, उपेन्द्र यादव, महन्थ ठाकुर, हिजोका पञ्चायती शासकहरू भौतिक सुख–सुविधा सम्पन्न, वन्यजन्तु नलाग्ने, बाढी पहिरो नआउने, नदी कटान नहुने सुरक्षित स्थलमा बसोबास गर्छन् तर गरिब नेपाली जनतालाई वनजङ्गलको छेउ, नदी किनार, भीरपहरा, अनकन्टार, कुनाकन्दरा, कमसल, बञ्जरभूमि, भौतिक पूर्वाधारविहीन स्थलमा राख्ने दुष्प्रयास गर्नुले यो देशका शासक नै जनताको जीवनमाथि खेलबाड गरिरहेका छन् भन्ने प्रष्ट हुन्छ ।

यस्तो असुरक्षित ठाउँमा राख्नु भनेको तिमीहरू मर्न जाऊ, मर्न तयार होऊ भन्ने आशय नै हो । शाहवंशीय शासन, साम्यवादी कम्युनिस्ट र समाजवादी काङ्ग्रेस र मधेशी शासकहरूको अक्षमताको परिणाम जनताले भोगिरहेका छन् । उनीहरूको कुशासनको मूल्य जनताले आफ्नो जीवन बलिदानी दिएर चुकाइरहेका छन् ।

यस्तै अक्षम, नालायकहरूको हातमा शासन हुँदासम्म विभिन्न बहानामा अझै कति धेरै निमुखा जनताले आफ्नो जीवनको आहुति दिनुपर्ने हो त्यो भविष्यकै गर्भमा छ । यस्ताको हातमा शासन हुँदासम्म न वन संरक्षण हुन्छ, न बाघ सुरक्षित रहन्छ, न जनताको जीवनको रक्षा र देशको समुन्नति हुन सम्भव छ ।

महान् नेपाली पुस्तकमा लोककल्याणकारी राज्यको सिद्धान्तलाई नेपालको समुन्नति, देशको सीमाको रक्षा र दिगो लोकतन्त्र कायम गर्न नेपालको शासन सञ्चालनको मुख्य सिद्धान्तको रूपमा प्रस्तुत गरिएको छ ।

लोककल्याणकारी राज्यमा निःशुल्क शिक्षा, निःशुल्क स्वास्थ्य उपचार, उचित पारिश्रमिकसहितको रोजगारी, सुरक्षित आवास, पौष्टिक आहार, वृद्धवृद्धा, महिला, बालबालिका, असहाय, अनाथ, बेघरबार, दीर्घरोगीहरूको पालनपोषण, हेरचाह, रेखदेख, उपचारको व्यवस्था नै राज्यको परम कर्तव्य हुनुपर्दछ ।

वन्यजन्तुको आक्रमण, बाढीपहिरो, नदी कटान, प्राकृतिक प्रकोप, सडक तथा हवाई दुर्घटना, मानवीय हत्या–हिंसाबाट जनताको जीउधनको रक्षा गर्नु राज्यको पहिलो दायित्व हो ।

नेपाली जनता र गाउँ–शहरका बस्तीहरू वन्यजन्तु, बाढीपहिरो, नदी कटानबाट सुरक्षित राख्न नेपालमा शासन गर्दै आएका शाह शासनको सामन्तवाद, कम्युनिस्टहरूको साम्यवाद, काङ्ग्रेस र मधेशीहरूको समाजवाद असफल भइसकेको सन्दर्भमा लोककल्याणकारी राज्यको सिद्धान्त नै भविष्यका दिनमा देशको समुन्नति, नेपाली जनताको जीउधनको सुरक्षा, देशको सीमा रक्षा र दिगो लोकतन्त्र कायम गर्ने एक मात्र विकल्प हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?