+
+

कांग्रेस वीपीमा संकट, उपसभापतिदेखि कार्यालय सचिवसम्मले पार्टी छाडे

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३ गते १३:१५

३ असार, काठमाडौं । नेपाली कांग्रेसबाट छुट्टिएर बनेको नेपाली कांग्रेस (वीपी) का नेताहरुले पार्टी छोड्ने क्रम बढेको छ ।

केही दिन पहिला पार्टीका उपसभापति तथा बागमती प्रदेश संयोजक सुदर्शन सिटौला, सहमहामन्त्री दीपक कार्की, केन्द्रीय सदस्य तथा अनुशासन समितिका संयोजक गोपाल श्रेष्ठ, केन्द्रीय सदस्यहरु झविन्द्र आचार्य र ध्रुव थापा राप्रपामा प्रवेश गरेका थिए ।

पार्टीका केन्द्रीय उपसभापति विष्णुप्रसाद ढकालले पनि जेठ २२ गते उपसभापति र केन्द्रीय सदस्य पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा असार १ गते बसेको पदाधिकारी बैठकले अनुमोदन गरेको पार्टी प्रवक्ता शिव प्रसाद सिम्खडाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ढकाल गत स्थानीय निर्वाचनमा काठमाडौंको तारकेश्वर नगरपालिकामा मेयर पदका उम्मेदवार थिए ।

केन्द्रीय कार्यालय सचिव सुशीलराज वाग्लेले पनि राजीनामा दिएर स्वतन्त्र रुपमा बसेको बताएका छन् । नुवाकोटको बेलकोटगढी नगरपालिकामा मेयर पदमा प्रतिस्पर्धा गरेका वाग्लेले भने, ‘स्थानीय निर्वाचन पछि पार्टी कार्यालय गएको छैन । जेठ २० गते बसेको पार्टी केन्द्रीय पदाधिकारी बैठकमा म्यासेन्जर मार्फत मेरो राजीनामाको जानकारी गराएको थिएँ ।’ उनले सामाजिक सन्जालमा अब स्वतन्त्र रुपमा रहने आसयको स्टाटस लेखेका छन् ।

नेपाली कांग्रेस वीपी २०७४ असार ३० गते निर्वाचन आयोगमा दर्ता भएको थियो । सो पार्टीका संस्थापक सभापति हरिबोल भट्टराई हुन् । हालका सभापति सुशीलमान शेरचन छन् । २०७८ भदौ ३०, ३१ र असोज १ मा भएको पार्टीको विशेष महाधिवेशनबाट शेरचन सभापति चुनिएका थिए ।

करुवा चुनाव चिह्न पाएको सो पार्टीले २०७४ सालको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा पनि भाग लिएको थियो । त्यतिबेला काठमाडौं क्षेत्र नम्बर एकबाट उम्मेदवार बनेका भट्टराईले १९६ मत पाएका थिए ।

२०७९ को स्थानीय तह निर्वाचनमा सभापति शेरचनको जिल्ला मुस्ताङ, बरिष्ठ उपसभापति झलनाथ वाग्लेको जिल्ला जाजरकोट र महामन्त्री देवेन्द्र प्रकाश पौडेलको जिल्ला गुल्मीका कुनै पनि स्थानीय तहमा नेपाली कांग्रेस वीपीले उम्मेदवारी दिन सकेको थिएन ।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको वडा गन्यापधुरा–१ र सदरमुकाम अमरगढी नगरपालिका–८ मा वडा अध्यक्ष र एक दलित महिला सदस्य कांग्रेस वीपीले जितेको थियो ।

देउवा पत्नी आरजु राणा देउवाले डडेल्धुरामा आयोजित एक चुनावी सभामा नेपाली कांग्रेस (वीपी) को चुनाव चिह्न करुवालाई लक्षित गर्दै ‘करुवा, सरुवा हरुवा’लाई भोट नदिनू भनेर दिएको अभिव्यक्तिले चर्चा पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?