+
+

र्‍यापर लाउरे अब लागूऔषधविरुद्धको अभियन्ता !

कास्की प्रहरीले बनायो लागूऔषध विरुद्धको ‘युथ आइकन’

विकास रोकामगर विकास रोकामगर
२०७९ असार ३ गते १७:०३

३ असार, पोखरा । २०७८ पुस १५ गते एउटा खबर फैलियो- र्‍यापर आशिष राना ‘लाउरे’ लागूऔषध मुद्दामा पोखराबाट पक्राउ । अघिल्लो दिन साँझ नै पोखरा सिर्जनाचोकबाट साथीहरुसँगै पक्राउ परेको भए पनि पछिल्लो दिन मात्रै यो कुरा प्रहरीले जानकारी दियो ।

त्यतिबेला लाउरे पक्राउ परेको खबरले सञ्चारमाध्यमसहित सामाजिक सञ्जाल तातिनु स्वाभाविक नै थियो । किनकि उनी युवापुस्तामाझ चर्चित ‘सेलिब्रिटी’ कलाकार थिए भने अर्कातिर एक राष्ट्रिय टेलिभिजनको एउटा रियालिटी शोमा निर्णायकको भूमिका समेत निभाइरहेका थिए ।

लागूऔषध सेवन गरिरहेको अवस्थामा पक्राउ परेका लाउरेले ५६ दिन हिरासतमा बिताए । तर उनले अदालती प्रक्रिया पूरा गरेर निस्किंदै गर्दा लागूऔषध मात्रै छाडेनन्, त्यसविरुद्ध लड्न युवापुस्तालाई सचेतना दिने अभियानमा सरिक हुने योजना बनाए ।

खास लाउरेको यो योजना भने हिरासतमै बनेको थियो । हिरासतमै रहेका बेला जिल्ला प्रहरी कार्यालय कास्कीसँग निरन्तर सम्पर्कमा रहेका उनले सकारात्मक ‘काउन्सिलिङ’ पाइरहेका थिए । यसले पनि उनलाई सकारात्मक मनोविज्ञान सञ्चार गरिरहेको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीले असार ६ गतेदेखि सप्ताहव्यापी लागूऔषध विरुद्धको ‘एन्टी ड्रग्स क्याम्पियन’ चलाउँदैछ । जसमा प्रहरीले ‘आइकन’को रुपमा उभ्याएको छ, र्‍यापर आशिष राना अर्थात् लाउरेलाई । यसमा र्‍यापर लाउरे पनि खुसी छन् ।

लागूऔषधकै कारण आफ्नो करिअर विकासमा पनि थुपै चिज गुमाउन पुगेको लाउरेको अनुभव छ । विदेशमा हुने कार्यक्रम होस् वा नेपालकै विभिन्न ठाउँका, आफू लागूऔषध दुर्व्यसनी भएकैले धेरै अवसर छोड्नु परेको उनी सुनाउँछन् ।

‘मानवीय मनोविज्ञान कस्तो हुन्छ भने राम्रो व्यवहार पायो भने राम्रै हुन्छ, नराम्रो पायो भने नराम्रो । कस्टडीमा रहँदा मैले एकदमै राम्रो संगत पाएँ’ लाउरे भन्छन्, ‘कस्टडीमा ५६ दिन बसेपछि नै लागूऔषध विरुद्धको अभियानमा लाग्नुपर्छ भन्ने ठानें । कस्टडीबाट निस्किएपछिको यो मेरो पहिलो प्रेसमिट पनि हो ।’

लागूऔषध सेवनमा पक्राउ परेका उनी अब लागूऔषध विरुद्धको अभियन्ता भएका छन् । असार ६ गते जिल्ला प्रहरी कार्यालय कास्कीले गर्न लागेको कार्यक्रममा आफ्ना दर्शक, श्रोता नै बढी युवापुस्तालाई लक्ष्य गरेर प्रस्तुति दिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

‘मलाई फलो गर्ने धेरै योङ जेनेरेसनकै साथीहरु हुनुहुन्छ । लागूऔषधमा फस्ने भनेको पनि यही उमेर हो’ र्‍यापर लाउरे भन्छन्, ‘त्यसैले पनि यो अभियानले राम्रो सन्देश दिन्छ भन्ने मलाई आशा छ ।’ अभियानका दौरान उनले आफ्ना भोगाइ पनि सुनाउनेछन् ।

प्रत्येक पटक ड्रग्स लिंदा अब छोड्छु भन्ने लाग्दो रहेछ’

फाइल तस्वीर

र्‍यापर लाउरे नयाँ लागूऔषध प्रयोगकर्ता भने होइनन् । उनी १० वर्षअघि नै यसको कुलतमा फसिसकेका थिए । उनको दुर्व्यसनको सुरुवात कलेज जीवनबाटै भएको उनी सुनाउँछन् । ‘कलेज पढ्नेबेला मन बढी चञ्चल हुने रहेछ । मन र दिमागको बढी द्वन्द्व चल्ने रहेछ । त्यही द्वन्द्वको कारण म नराम्रो बाटोमा लागें’, उनले भने ।

कलेज पढ्नेबेला साथीभाइको लहलहैमा लागेर आफूले लागूऔषध सेवन गर्न थाले पनि पटकपटक छोड्न कोसिस गरेको र्‍यापर लाउरेले बताए । ‘प्रत्येक पटक ड्रग्स लिंदा अब त छोड्छु भन्ने लाग्थ्यो । तर शरीरले सक्दैन’ भन्छन्, ‘फिजिकल्ली मात्रै नभएर मेन्टल्ली असर गर्ने भएकाले छाड्न नसकिने रहेछ ।’

लागूऔषधकै कारण आफ्नो करिअर विकासमा पनि थुपै चिज गुमाउन पुगेको लाउरेको अनुभव छ । विदेशमा हुने कार्यक्रम होस् वा नेपालकै विभिन्न ठाउँका, आफू लागूऔषध दुर्व्यसनी भएकैले धेरै अवसर छोड्नु परेको उनी सुनाउँछन् ।

‘लागूऔषधले खासमा काममा फोकस गर्नै दिंदैन । करिअरलाई पनि धेरै धक्का दियो । एक किसिमले भित्रको फिलिङ्सलाई नै मार्दो रहेछ’ उनी भन्छन्, ‘कति राम्रा अवसर पनि ड्रग्स लैजान नपाउने भएरै क्यान्सिल गर्नुपरेको छ ।’

रिह्याबमा आउने ८० प्रतिशत पटके’

लागूऔषध दुर्व्यसनीलाई पुनर्सामाजिकीकरण गरिरहेको संस्था रिकभरिङ नेपालका विकास बडुवालका अनुसार रिह्याब सेन्टरमा आउने ८० प्रतिशतभन्दा बढी सेवनकर्ता दोहोरिएका हुन्छन् । एकपटक लागूऔषध सेवन गरिसकेपछि पटकपटक फेरि त्यसैमा फस्ने सम्भावना धेरै हुन्छ ।

बडुवालका अनुसार रिकभरिङ नेपालसँग हाल गण्डकीभरका १७ वटा रिह्याब सेन्टरमा ५०० भन्दा बढी लागूऔषध सेवनकर्ता छन् । ‘त्यसमध्ये अधिकांश दोस्रो वा तेस्रो पटक पर्ने पटकेहरु हुन्’, उनले भने ।

तर र्‍यापर लाउरे लागूऔषधको दलदलमा अब भने फेरि नफर्किने बताउँछन् । लागूऔषध छोडेपछि पनि सुरुका दुई महिना आफूलाई एकदमै गाह्रो भएको उनले बताए । ‘फिजिकल्ली सुरुका दुई महिना एकदमै गाह्रो हुन्छ । त्यसपछि भनेको मेन्टल्ली हो’ उनले भने, ‘मेन्टल्ली आफूलाई जीवनभर जोगाइराख्नुपर्छ । यो एउटा तपस्या जस्तै हो ।’

लाउरेले एकपटक लागूऔषध सेवन गरिसकेपछि पनि समाजले नस्वीकार्ने भएकाले पुनः त्यसैमा फस्ने गरेको आफूले देखेको बताए । ‘यो भनेको संगतले हुने रहेछ । कतिलाई परिवार र समाजले नै स्वीकार्दैन । तर मेरो केसमा भने एकदमै सकारात्मक भयो’ उनले भने, ‘केही महिनामै आफूलाई चिन्ने मौका पाएँ ।’

लाउरेले लागूऔषधसँग सम्बन्धित नै र्‍याप गीत समेत तयार पारेका छन् । जुन गीतको असार ११ गते टिजर सार्वजनिक हुँदैछ । गीत भने उनी हिरासत पुग्नुभन्दा अघि नै लेखेका हुन् । ‘गीतले पनि एन्टी ड्रग्स क्याम्पियनमा सहयोग गर्नेछ भन्ने विश्वास छ’, उनले भने ।

लाउरे सन् २०१३ मा ‘रअ बार्ज’ले गरेको र्‍याप ब्याटलबाट चर्चामा आएका हुन् । उनले तत्कालीन समयमा अर्का र्‍यापर युनिक पोइटसँग गरेको र्‍याप ब्याटल युट्युबमा धेरै हेरिएको नेपाली र्‍याप ब्याटलमध्येमा पर्छ ।

लाउरेको ‘मेरो सोल्टा’, ‘लाहुरे’, ‘पोखरा’, ‘केस नम्बर ४२०’, ‘नेपहपको बाटो’लगायत गीत चर्चित छन् । उनले ताण्डव नामक फिल्ममा समेत काम गरिसकेका छन् । पछिल्लो समय उनी रियालिटी शो हिमालय रोडिजको निर्णायकको भूमिकामा थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले लागूऔषध विरुद्धको अभियान निरन्तर चलिरहेको भए पनि युवा लक्षित ‘आइकन’ फेला पार्न नसक्दा प्रभावकारी हुन नसकेको बताए । ‘कार्यक्रम, अभियानहरु चलाइरहेका छौं । तर प्रभाव पार्ने आइकन चुन्न चुक्ने रहेछौं । यसपटक राम्रो मान्छे छानेका छौं’, उनले भने ।

एसपी थापाले लागूऔषध विरुद्धको अभियान असार ६ देखि सुरु भएर असार १२ गते सकिने जानकारी दिए । उनले यसबीचमा पुनर्स्थापना केन्द्र, समुदायमा अन्तरक्रियासँगै साइकल र्‍याली समेत गरिने बताए ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?