+
+

महानगरका कर्मचारीलाई कामका आधारमा मात्रै सवारी सुविधा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ५ गते १८:३७

५ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले सरकारी कर्मचारी चढ्ने सवारीको सुविधालाई कार्य सम्पादनमा आधारित बनाउने भएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगरपालिकाका हलुका सवारी साधनलाई कार्य सम्पादनको आधारमा व्यवस्थापन गर्न सवारी साधन मापदण्ड तर्जुमा गरी लागू गर्ने घोषणा गरेका छन् ।

काठमाडौं महानगरपालिकाका सवारी साधन र इन्धनको चरम दुरुपयोग हुने गरेको एक अध्ययनले देखाएको थियो । यतिसम्म कि महानगरसँग आफ्नो स्वामित्वमा कति सवारी छन् र कसले उपयोग गरिरहेको छ भन्ने तथ्यांक समेत छैन ।

सवारी साधन व्यवस्थापन, सुविधाका रुपमा दिइने इन्धन नियमन र थप सवारी साधनको आवश्यकताबारे अध्ययन गर्न कार्यपालिका बैठकले १७ मंसिर २०७७ वडा १६ का अध्यक्ष मुकुन्द रिजालको संयोजकत्वमा समिति गठन गरेको थियो ।

समितिले तीन महिना लगाएर गरेको अध्ययन प्रतिवेदनअनुसार महानगरका सवारी र इन्धनको व्यापक दुरुपयोग भएको पाइएको छ । साथै, यसमा महानगरका विभागीय प्रमुखदेखि तल्ला तहसम्मका कर्मचारी संलग्न भएको अध्ययन समितिको प्रतिवेदनमा उल्लेख छ ।

महानगरमा ५५ देखि ६० वटा चारपांग्रे सवारी रहेको र माोटरसाइकल त कति छन् भन्ने विवरण नै नभेटिएको समितिको निष्कर्ष थियो ।

उपलब्ध सवारी साधानको विवरण प्रतिवेदनमा समेटिएको छ । समितिका सदस्यकाअनुसार महानगरका अधिकांश सवारीको वार्षिक रुपमा तिनुपर्ने कर पनि तिरिएको छैन ।

कतिपय विभागीय प्रमुखले दुई वटा गाडी प्रयोग गरिरहेको पाइएको छ । कतिपय गाडीमा सेतो नम्बर प्लेट नराखी रातो राखिएको पाइएको छ, जुन कर्मचारीको परिवार तथा आफन्तले प्रयोग गर्ने गरेका छन् । यसैगरी कतिपय सवारीलाई महानगरका कर्मचारीले लिएदेखि नै फिर्ता नगर्ने र पेवा बनाएको खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?