+
+

इतिहासले रचेका मान्छेहरू

यस संघीय प्रणालीले पनि आफूलाई पुरानै पदचिह्नमा हिंडाउन थाल्यो भने जनताको आशा मर्नेछ । तत्पश्चात् उर्लिने आँधीलाई थाम्न असम्भवप्रायः हुनेछ ।

गुरुराज घिमिरे गुरुराज घिमिरे
२०७९ असार ६ गते १०:२५

विज्ञानले भन्छ- पदार्थ, समय र आकाशको परिणाम हो मान्छे । ब्रहृमाण्डभन्दा धेरै पछि पृथ्वी र पृथ्वी भन्दा धेरै पछि मान्छेको उत्पत्ति भयो । पृथ्वीका अनेकन् जीवात्मामध्ये सर्वाधिक चेतनशील प्राणी हो मान्छे । मान्छेले नै ब्रहृमाण्डको उत्पत्तिको रहस्य र पृथ्वी निर्माणको प्रक्रियाका बारे गहिरो खोज अनुसन्धान गरी जीवन र जगतको कथा समेत रचना गर्‍यो । आफ्नो जीवनलाई सहज तथा सुखद बनाउन अनेक आविष्कार र अन्वेषण गर्‍यो । उत्पत्तिदेखि आजसम्मका विभिन्न कालखण्डमा दुनियाँमा एकप्रकारले तहल्का नै मच्चायो ।

मानव जातिले नै धर्मको प्रतिपादन गर्‍यो र भगवान पनि बनायो ! एकथरी होइन, अनेकथरी । प्राकृतिक सम्पदाको अधिकतम दोहन गरी आफ्ना निम्ति ऐश्वर्यको संग्रह गर्‍यो, विपुल सम्पदा जोड्यो । यसबीचमा धेरै सभ्यताको उत्थान र पतन भए, मोहनजोदाडो, हडप्पा, सिन्धुघाँटी जस्ता । भीषण युद्धहरू भए, राज्यहरू बने, टुटे । यी सबै घटनाक्रम माथि मान्छेले अभिमान गर्‍यो र आफू निकै सफल भएको अभिनयमा मग्न भयो ।

तर जीवन र जगतको वास्तविकता के हो भने मानव जाति रहस्य वा अज्ञात शक्तिको अधीनमा छ, जस्तो कि कोरोनाको महामारीले मान्छे हायलकायल भयो, यसअघि पनि यस्ता प्रकोपहरूमा उसको केही चलेन । निश्चित अन्तरालपछि बल्लतल्ल सुरक्षित महसुस हुँदै आजसम्म टिकेको छ । तथापि मान्छे दुनियाँको एउटा त्यस्तो प्रजाति हो, जसको अतुलनीय पौरख नै अहिलेसम्मको तुलनात्मक श्रेष्ठता हो ।

हामीसँग यस्तो लामो गौरवपूर्ण सुखद र दुःखद दुवै अनुभव छ । आदिम साम्यवादी युगदेखि वर्तमान अत्याधुनिक युगसम्मका शृङ्खलावद्ध उतारचढावपूर्ण प्रवाहबाट आर्जित ज्ञानको थुप्रो र अपूर्व भण्डार छ । यद्यपि यो अपर्याप्त छ, अध्ययन अनुसन्धान निरन्तर छ । मान्छे थाकेको छैन । प्रकृतिलाई जित्ने महत्वाकांक्षा भए पनि त्यसको छेकछन्द छैन ।

यो प्रसंग किन ल्याइएको हो भने मान्छेले संसारमा सकेजति र जानेजति गर्दै आएको छ । अहिले हाम्रो हातमा भएका वा हामीले उपभोग गरिरहेका सुविधा र उपलब्धि मान्छेकै देन हुन् । कतिपय असम्भव जस्ता लाग्ने यथार्थ मान्छेकै खोजका परिणाम हुन् ।

यसबाट के प्रमाणित हुन्छ भने मान्छेले मानव सभ्यतालाई प्रगतिको उत्कर्षमा पुर्‍याएर स्वणिर्म इतिहास रचेको छ । मान्छे स्रष्टा हो, उपभोक्ता मात्र होइन । अझ समाज चलाउने जिम्मा पाएका व्यक्तिहरू त अभियन्ता र सर्जक हुन् । रमिते, प्रतिक्रियात्मक वा टिप्पणीकार मात्र होइनन्, कर्मी, विचारक र मार्गदर्शक पनि हुन् । यस्ता व्यक्तिहरू समाजभन्दा अगाडि हुन्छन्, करिष्म्याटिक र अग्ला हुन्छन् । औसत बुद्धि र विवेकले यस्तो स्थान प्राप्त हुँदैन । अतिरिक्त योग्यता र क्षमता विना नेतृत्वको पगरी पाइँदैन । यदि कथंकदाचित प्राप्त भइहालेछ भने त्यसलाई दुर्घटना सम्झिनुपर्छ ।

पैसा, दलबल र धुत्र्याइँ, यी तीन राजनीतिका लागि आधारभूत तत्व हुन लागेका छन् । राजनीतिक दलसँग व्यापारी कति छन्, दलबल कत्रो छ र उसले जनता अलमल्याउन कति सक्छ जस्ता कुराले उसको भविष्य निर्धारण हुने भएको छ । के यही हो लोकतान्त्रिक राजनीति ? छिनोफानो गर्नुपर्ने भएको छ

यतिबेला हामी गम्भीरतापूर्वक सोच्नुपर्ने ठाउँमा उभिएका छौं । इतिहासले रचेका मान्छेले समाजको रथ हाँकिरहेका छन् जसको परिणाम देश कसरी चलेको छ ? समाज कसरी चलेको छ ? अनि कसले चलाएको छ ? समकालीन नेपालमा भइरहेका गतिविधिले मानव सभ्यताको विकासक्रममा के योगदान पुर्‍याइरहेको छ ? आˆनो हातमा समाजको बागडोर भएका व्यक्तिहरूको भूमिका कस्तो छ ? अब समग्र वस्तुस्थितिको वस्तुनिष्ठ समीक्षा गर्नुपर्ने भएको छ । आजसम्म जे भयो, भयो, अब रमिते हुने सुविधा हामीसँग छैन, समाजले गुहार मागिरहेको छ । किनभने हामी इतिहासले रचेका मान्छे मात्र छैनौं, इतिहास रच्ने मानिस पनि छौं ।

नेपालमा चलेका विभिन्न शासन प्रणालीले गरिब र निम्छरा जनताको हितमा चित्तबुझ्दो काम गर्न सकेनन् । हरेक प्रणालीहरूले टाठाबाठा नेपालीकै सेवा गरे र लामो समयसम्म सम्पूर्ण नेपालीलाई समान रूपमा हेर्ने, व्यवहार गर्ने र आवश्यक सेवा प्रवाह गर्ने (पुर्‍याउने) कार्य गरेनन् । यसले नेपालभित्रै धनी र गरिबबीचको खाडल बढ्दै गयो । सरकारमा बसेका व्यक्तिहरूमा ठोस दृष्टिकोण र अठोट देखिएन ।

शासन वा सत्ता त्यस्तो साधन भयो जसको कुनै उत्पादकत्व देखिएन । मूलतः शासन व्यवस्थाहरूले राज्यको साधन र स्रोतको सदुपयोग नै गरेनन् । उनीहरूलाई थाहा नै भएन वा थाहा नपाएझैं गरे कि राज्यको निर्माण भएको नै नागरिक सुरक्षाका लागि हो र यो नागरिक अग्रसरतामा नै निर्माण भएको हो । यो दैवी चमत्कार होइन र शासकहरू दैवी अवतार पनि होइनन् ।

संसारमा उपयुक्त शासन प्रणालीका लागि मानव जातिले हजारौं वर्ष संघर्षमा बिताउनु पर्‍यो । प्राचीनकालमा अभ्यासमा आएका शासन प्रणालीहरूका कतिपय शासक योग्य र सही थिए भने कतिपय शासकले नागरिकलाई दास बनाए । कालान्तरमा यसका विरुद्ध विद्रोह भयो । यस्ता क्रम, उपक्रमहरू चल्दै गए ।

अहिले हामी हजारौं वर्षको अनुभवको पहाडमाथि उभिएका छौं । कुन शासन प्रणाली उपयुक्त र कुन खराब भनेर छुट्याउन सक्ने भएका छौं । तथापि प्रणालीले मात्रै पुग्दो रहेनछ । प्रणाली आफैंमा जतिसुकै राम्रो वा गतिलो भए पनि त्यसका अगुवा वा शासनको केन्द्रमा बसेका व्यक्तिहरू सही, उपयुक्त र योग्य भएनन् भने जनता र देशले दुःख पाउँदो रहेछ । यसको ज्वलन्त दृष्टान्त हाम्रो देश नेपाल पनि हो । नेपालले झण्डै अढाइ शताब्दीसम्म अनेकन् हण्डर र दुःख झेल्यो । यसको सिकार नेपाली नागरिकहरू भए । विश्वका अरू मुलुकहरू विकासको तीव्र गतिमा अघि बढिरहेको अमूल्य समयलाई नेपालको राजनीतिक प्रणाली र शासकहरूले सदुपयोग गर्न सकेनन् । यसैको प्रतिफल आजको पछौटेपन, गरिबी र अविकास हो ।

अर्को कुरा गरिबीले प्रतिष्ठा बढ्दैन । नेपालको विश्वसामु प्रतिष्ठा बढ्न सकेन । यसको कारण हाम्रो अल्पविकास र गरिबी नै हो । हाम्रा नागरिकहरू विश्वभर हेपिएका छन्, निरीह र दयाका पात्र छन् । यो सबै कारण हाम्रो अकर्मण्यता हो ।

हामीले समयमै ध्यान पुर्‍याएको भए देश समृद्ध हुन्थ्यो । यही समृद्धिले नै हामीलाई प्रतिष्ठित बनाउँथ्यो र हाम्रो आत्मसम्मान बढाउँथ्यो । हामीले सगरमाथा देखाएर, बुद्ध भूमिको कुरा गरेर दुनियाँबाट पर्याप्त इज्जत पाउँदैनौं । यसका लागि पौरख गर्नुपर्छ । पौरखीहरूलाई मात्र दुनियाँले मान गर्दछ । हामीहरू ज्यादा गफाडी भएका छौं, परिमाणस्वरूप आजको दुरवस्था छ । कर्म नगर्नेहरूको भाग्य चम्किंदैन भन्ने उदाहरण हामी नेपाली आफैं छौं ।

नेपालमा राजनीतिक दलहरूलाई जनताले धेरै साथ दिए । पटक-पटक आˆनो बहुमूल्य मत दिएर शासन सत्तामा पुर्‍याए । तर बदलामा सोचेजस्तो प्रतिफल पाएनन् । त्यसैले आजकल हुने निर्वाचनहरूमा सबै जनता भोट हाल्न जाँदैनन् । मुस्किलले ६० प्रतिशत मतबाट सत्तामा जाने दलको चयन हुन्छ । अर्थात् ४० प्रतिशतको ठूलो संख्या उदासीन रहन्छ । यसबाट बुझ्नुपर्छ कि दलहरूसँग जनताको मन कुँडिएको छ ।

वृद्धवृद्धाहरू मत दिंदादिंदा दिक्दार र निराश छन् । नयाँ पुस्ताले अहिले चलेको राजनीतिलाई फोहोरी भन्छ । हुँदाहुँदा समग्र राजनीतिले नै ‘डर्टी गेम’को संज्ञा पाएको छ । राजनीतिक नेतृत्वप्रति आकर्षण र आस्था दुवै हराउँदै गएको छ ।

लोकतन्त्रले जनताको जीवन बदल्छ भनिन्छ र दलहरूले पनि यही संकल्प दोहोर्‍याएर जनताको समर्थन पाएका छन् । तर लोकतान्त्रिक प्रणालीमार्फत उनीहरूले गरेको संकल्प पूरा भयो त ? यसको स्पष्ट जवाफ छैन । भन्नुको तात्पर्य पूरा भएन वा पूरा गरेनन् । पछिल्लो समय राजनीतिको अपरिहार्य अंगको रूपमा रहेको राजसंस्थालाई उन्मूलन गरी देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरियो । अब चाहिं लोकतन्त्रले काम गर्छ भनेर उद्घोष भयो । बाचा-बन्धन पनि भए । फेरि एकपटक नेपाली जनताले दलहरूलाई विश्वास गरे । र, यो विश्वास झण्डै पन्ध्र वर्षदेखि कायम छ ।

नेपालको वर्तमान प्रणालीमा जनताको अधुरो सपना जोडिएको छ । साथसाथै नयाँ पुस्ताको भविष्य र राष्ट्रको प्रतिष्ठा पनि । अहिलेसम्म यी चौपट छन् । एकीकरण पश्चात्का खेर गएका राष्ट्रका बहुमूल्य अढाइ सयभन्दा बढी वर्षहरू अब फकर्ंदैनन् । त्यस अवधिमा नेपाली जनताले भोगेका कहरहरूलाई विस्मृतिमा धकेल्दै हाम्रो समुन्नत राष्ट्र, सुखी तथा सम्पन्न नेपाली भन्ने मूल नारा र सपनालाई सार्थक बनाउन वर्तमान प्रणाली सफल हुन्छ कि हुँदैन, गम्भीर परीक्षा छ । अब हुँदै जाला, गर्दै जाउँला भन्ने विकल्प हामीसँग छैन ।

अर्को कुरा नेपालमा पछिल्लो समयमा राजनीतिक दलहरूले जनतामा राम्रो छाप पार्न सकेका छैनन् । यता आएर त दलको नेता बन्न राजनीतिक आदर्श, मूल्य, मान्यता, त्याग र इमान मात्र भएर हुँदैन भन्ने मानक स्थापित हुन लागेको देखिन्छ । पैसा, दलबल र धुत्र्याइँ, यी तीन राजनीतिका लागि आधारभूत तत्व हुन लागेका छन् । राजनीतिक दलसँग व्यापारी कति छन्, दलबल कत्रो छ र उसले जनता अलमल्याउन कति सक्छ जस्ता कुराले उसको भविष्य निर्धारण हुने भएको छ । के यही हो लोकतान्त्रिक राजनीति ? छिनोफानो गर्नुपर्ने भएको छ ।

राजनीतिक परिवर्तनले परिवर्तनकारी शक्तिलाई सत्तामा पुर्‍याउँछ । सत्ता भनेको काम गर्ने मौका हो । त्यस्तो मौका जसले जनताको जीवनमा सुधार ल्याउँछ, देशको मुहार बदल्छ र परिवर्तनको अनुभूति दिन्छ । के आज यी सबै कुरा हुँदैछन् त ? हाम्रो अगाडि गम्भीर प्रश्न खडा छन् ।

तसर्थ लोकतन्त्रले सिद्धान्त वा ग्रन्थमा भनेजस्तो व्यवहार पनि देखाउँछ भन्ने कुरा सिद्ध गर्नुपरेको छ । यसैका लागि वर्तमान प्रणाली हो । यस संघीय प्रणालीले पनि आफूलाई पुरानै पदचिहृनमा हिंडाउन थाल्यो भने जनताको आशा मर्नेछ । तत्पश्चात् उर्लिने आँधीलाई थाम्न असम्भवप्रायः हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?