+
+

पुराना दलमा छटपटी, नयाँमा हुटहुटी

संघ र प्रदेशसभा चुनावको मिति घोषणा नै नभई स्वतन्त्र उम्मेदवारी घोषणाको लहर देखिएको छ । स्थानीय तह निर्वाचनमा काठमाडौं, धरान, धनगढीलगायतका पालिकामा स्वतन्त्र उम्मेदवारले जितेपछि स्वतन्त्र उम्मेदवारी घोषणा र नयाँ दल खोल्ने क्रम बढेको छ ।

सइन्द्र राई सइन्द्र राई
२०७९ असार ७ गते २०:१८
आम निर्वाचनमा उम्मेदवारी घोषणा गरेका रवि लामिछाने, सुमन सायमी र रञ्जु दर्शना ।

७ असार, काठमाडौं । टेलिभिजन प्रस्तोता रवि लामिछानेले सात संकल्पसहित राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् । मंगलबार राष्ट्रियसभा गृहबाट नयाँ दल घोषणा गरेका उनले घण्टी चुनाव चिह्न प्रस्ताव गर्दै दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

चलिरहेकै दलमध्ये कुनैबाट राजनीति गर्ने चर्चा चलेपनि लामिछानेले अलग्गै पार्टी घोषणा गर्नुमा टेलिभिजन प्रस्तोताका रुपमा आफूले बनाएको ब्राण्डलाई मुख्य आधार बनाएको देखिन्छ ।

‘विश्वास गर्नुहोस्, मैले जति मान्छे रोएको कसैले पनि देखेको छैन । प्रत्येक दिन मेरो कार्यालय रहेको ठाउँमा दर्जनौं मान्छेहरु आउनु हुन्थ्यो र आएको पहिले दुई मिनेट उहाँहरू रुनु हुन्थ्यो’, पार्टी घोषणा कार्यक्रममा लामिछानेले आफूप्रतिको विश्वास सुनाए । तर नजिकै रहेको राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशको निवास वरपर कहिल्यै भीड नदेखेको उनले बताए ।

‘जहाँ मैले आफ्नो कार्यालय राखेको थिएँ, त्यसको वरपर न्यायालय प्रमुखको निवास छ, अलिकति पर प्रधानमन्त्रीको निवास छ । अलिकति तल गयो राष्ट्रपतिको निवास छ । तर आमजनताको भीड त्यहाँ कहिल्यै पनि लागेन । किनकि आमजनतालाई थाहा छ, अब उहाँहरुबाट केही हुँदैन’, दलहरुप्रति जनताको विश्वास नरहेको लामिछानेको तर्क छ ।

लामिछानेले दल घोषणा गरेपछि सामाजिक सञ्जालमा अनेक टिप्पणी, शुभकामना र आलोचना देखिएको छ । लामिछाने जस्तै सञ्चार क्षेत्र त्यागेर विवेकशील साझा पार्टी बनाएका रवीन्द्र मिश्रले आफूले गरेको कमजोरीबाट सिक्न आग्रह गरेका छन् ।

‘…पार्टी निर्माणको क्रममा हामीले गरेको कमजोरीबाट धेरै भन्दा धेरै सिक्ने प्रयास गर । तिम्रो सफलताका लागि हृदयदेखि शुभकामना व्यक्त गर्दछु’, मिश्रले लेखेका छन् । अघिल्लो चुनावको सम्मुखमा मिश्रले वैकल्पिक शक्ति बन्ने उद्घोषसहित साझा पार्टी गठन गरेका थिए ।

उस्तै उद्देश्य बोकेको विवेकशील नेपालीसँग एकता गरी साझा विकेकशीलको अध्यक्ष बनेका मिश्र २०७४ को प्रतिनिधिसभा चुनावमा काठमाडौं–१ मा उम्मेदवार बने । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग पराजित भएपनि उनको दलले उल्लेख्य मत पायो ।

तर गएको ३० वैशाखको चुनावमा भने लज्जास्पद नतिजा आएसँगै मिश्रले पार्टी प्रमुखबाट राजीनामा दिएका छन् । लामिछानेले भने यही स्थानीय चुनावको नतिजा देखेर प्रमुख राजनीतिक दलमा आवद्ध नभई अलग्गै पार्टी गठन गर्ने निष्कर्षमा पुगे । स्वतन्त्र उम्मेदवार बन्दा समानुपातिक तर्फको मत नपाउने बुझाइकै कारण दल गठन गरेको उनले लुकाएनन् ।

लामिछानेले जस्तै अलग्गै दल नबनाए पनि स्वतन्त्र उम्मेदवारी घोषणा गर्नेको लहर नै चलेको छ । रविकै दाइ हरिशरणसहितले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गरे । काठमाडौं–१ बाट पुकार बम, काठमाडौं–३ बाट हरिशरण, काठमाडौं–५ बाट रञ्जु दर्शना र काठमाडौं–८ बाट सुमन सायमीले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

पुकार विवेकशील साझा पार्टीका नेता हुन् । ०७४ सालमा काठमाडौंबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका उनले निकै कम मत ल्याएर पराजित भएका थिए । तर यसपटक उनी स्वतन्त्र उम्मेदवारी दिने तयारीमा जुटेका छन् ।

रञ्जुले ०७४ को स्थानीय चुनावमा काठमाडौं महानगरको मेयर पदमा प्रतिस्पर्धा गरेकी थिइन् । मेयर नजिते पनि २३ हजार बढी मत पाएकी रञ्जु पनि लामो समय विवेकशील साझामा आवद्ध थिइन् । तर यसपटक स्वतन्त्र उम्मेदवार बनेर प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धा गर्ने तयारी गरेकी छन् ।

सुमनले भने गएको ३० वैशाखको स्थानीय चुनावमा काठमाडौं महानगरको मेयरमा प्रतिस्पर्धा गरेका थिए । स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाह मेयर जित्दा आँखीझ्याल चिह्नबाट सुमनले १३ हजार ७७० मत पाए । मेयर पदको प्रतिस्पर्धामा दलगत र स्वतन्त्र गरी ५५ जना उत्रदा सुमनले पाएको मत चौथौ धेरै हो ।

विश्व साइकल यात्री पुष्कर शाहले पनि दोलखाबाट उम्मेदवारी दिने जानकारी दिइएको छ । आगामी १७ र १८ असारमा हुने राष्ट्रिय भेलाबाट थप घोषणा र जानकारी दिइने हरिशरण लामिछाने बताउँछन् । मोफसलका क्षेत्रहरू अहिलेसम्म मौन देखिएपनि राजधानी शहर रहेको काठमाडौंमा भने स्वतन्त्र उम्मेदवारी घोषणा बढेको छ ।

मंगलबार विहान सभा गरेरै आकर्षण पोखरेलले काठमाडौं–४ बाट चुनाव लड्ने घोषणा गरेका छन् । यसअघि नै काठमाडौं–६ बाट स्वतन्त्र उम्मेदवार बन्ने अब्दुस मियाँले घोषणा गरेका थिए । उनी पनि पुकार बम, रञ्जु दर्शना जस्तै विवेकशील साझा पार्टीमा आवद्ध थिए ।

स्थानीय चुनावले उत्साह

संघ र प्रदेशसभा चुनावको मिति घोषणा नै नभई उम्मेदवारी घोषणाको लहर देखिनु र दल नै गठन गरिनुको कारण भने स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारले पाएको जनमत हो ।

बलियो विरासत र सशक्त संगठन भएको राजनीतिक दलको उम्मेदवार नबनी जितिन्न भन्ने मनोविज्ञान तोड्दै काठमाडौं, धरान, धनगढीसहित शहरमा स्वतन्त्र उम्मेदवार जनप्रतिनिधि निर्वाचित भए ।

काठमाडौं महानगरमा बालेन्द्र शाह, धरान उपमहानगरपालिकामा हर्क साम्पाङ, धनगढी उपमहानगरपालिकामा गोपाल हमाल लगायतले सत्ता गठबन्धन र नेकपा एमालेका बलिया उम्मेदवार पराजित गरेका थिए । हुन त अघिल्ला चुनावमा पनि स्वतन्त्र उम्मेदवारले चुनाव जित्थे । तर ठूलो जनमत भएको प्रमुख शहरमै सम्भवतः पहिलोपटक गैरदलीय उम्मेदवारले जितेका छन् ।

०७४ को स्थानीय चुनावमा ६ स्थानीय तह प्रमुख, ५ उपप्रमुख, ९१ वडाध्यक्षसहित १३१ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए । तर यसपटक झण्डै तेब्बर धेरैले (३८५ जना) जितेका छन् । महानगर, उपमहानगर, नगर र गाउँपालिका गरी १३ स्थानीय तहको प्रमुख र चार उपप्रमुखमा स्वतन्त्र उम्मेदवार निर्वाचित भए । १३६ वडाध्यक्ष, ६० महिला सदस्य, ५५ दलित महिला सदस्य र ११७ जना सदस्य स्वतन्त्र उम्मेदवार निर्वाचित भएकाले मुख्य दलहरुमा एक प्रकारको छटपटी देखिन्छ ।

तर पनि आगामी चुनावबारे उनीहरुले औपचारिक तयारी बढाएका छैनन् । पहिलो दलमा कायमै रहने दावी विपरीत २०५ सिटमा खुम्चिएको एमालेले चुनावको समीक्षा नै गर्न सकेको छैन । स्थानीय चुनाव सकिएको एक महिनापछि ३० जेठमा बल्ल सचिवालय बैठक राखेको एमालेले अरु कमिटीमा छलफल गरेको छैन ।

एक नेताका अनुसार, तत्काल बैठक बोलाउने पक्षमा अध्यक्ष केपी शर्मा ओली छैनन् । ‘अहिले पार्टीभित्र तिक्तता छ । अन्तर्घातको कुरा उठेको छ, तत्कालै बैठक बस्ने सम्भावना छैन’, ती नेता भन्छन् । पार्टीको महत्वपूर्ण निर्णय गर्ने थलो केन्द्रीय कमिटी हो । तर एमालेमा स्थायी कमिटी बैठक समेत बस्न सकेको छैन ।

एमाले बाहेकका प्रमुख दल भने गठबन्धनमा छन् । कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले स्थानीय चुनावमा राम्रै सफलता पाएकाले आगामी चुनावमा पनि गठबन्धन कायमै राख्ने तयारीमा छन् ।

त्यसका निम्ति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक बस्दै आएपनि प्रष्ट निर्णय भइसकेको छैन । अझ गठबन्धनले साझा उम्मेदवारी दिएमा नतिजा प्रतिकुल आउने अनुमानसहित एमालेले नयाँ गठबन्धनको प्रयास गर्दा सत्तारुढ दलहरु आगामी चुनावबारे ठोस निर्णय गरेर अगाडि बढ्न सकेका छैनन् ।

तर राजनीतिमा नयाँ अनुहार बनेर आउन चाहना राख्नेहरुले भने सरकार र दलहरु भन्दा अघि बढेर चुनावी तयारी अगाडि थालेका छन् । कांग्रेस महामन्त्री गगन थापा केही गर्छु भन्ने हुटहुटी भएका नयाँ पुस्तालाई दलहरुमा सहज प्रवेश नहुँदा अहिलेको अवस्था आएको बताउँछन् । ‘दलहरुले आफूलाई नयाँ बनाउनुपर्ने चुनौती हो भन्ने रुपमा पनि लिन्छु’, उनको भनाइ छ ।

नेकपा माओवादी केन्द्रका युवा नेता हिमाल शर्मा भने युवाहरु राजनीतिमा आउनुले वर्तमान व्यवस्थालाई नै थप बलियो बनाउने तर्क गर्छन् ।

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?