+
+

पुरुष इगोलाई एउटा चिठी

समयको यही पृष्ठभूमिमा उभिएर तिमीलाई मेरो एउटा आग्रह छ कि एक पटक तिमी बादी महिला र कमलरी भएर हेर । जंगलको छेउमा एक हप्ता छाउगोठमा सुतेर हेर । आफ्नै भन्नेहरूबाट बलात्कृत भएर कहालीलाग्दो जीवन बाँचिहेर ।

अनुपम रोशी अनुपम रोशी
२०७९ असार ८ गते ६:४९

प्रिय पुरुष !

के हो तिमीले भन्ने गरेको मिस्यान्ड्री फेमिनिज्म ?

लोग्नेले गर्ने मनोवैज्ञानिक तथा भौतिक अत्याचारको विरोध गर्नु ! राजनीतिक विभेदको आलोचना गर्नु ! सामाजिक तथा परम्परागत दासत्वलाई इन्कार गर्नु ? या महिलामाथि हुने यौनिक हिंसाको विरोध गर्नु ! या फेरि विकृत पुरुष प्रवृत्तिलाई खण्डन गर्नु ! मैले बुझिनँ तिमीले कुन फेमिनिज्मको कुरा गर्दैछौ । तर यो पनि सत्य हो कि मैले तिमीलाई सधैं खण्डन गर्नेछु । तिम्रो सोचको साँघुरो घेरालाई सकेसम्म प्रश्न गर्नेछु ।

हो, जीवनको परिभाषाप्रति मान्छेको धारणा फरक-फरक हुन सक्छ । या जिन्दगीका बाँच्ने आधार मान्छेले आ-आफ्नै क्षमता अनुरूप तयार पार्ने गर्छन् । तर आफ्नो प्रभुत्वको चिन्तामा आफूभित्रको पशुत्वलाई जगाइराख्नु कतिसम्म सही हुनसक्छ ? कसरी र कहिलेसम्म तिमी मेरा प्रश्नहरूलाई नै प्रश्न गरेर विजेता बन्न सक्छौ ? त्यसको त तिमीले नै जवाफ दिनुपर्छ ।

मेडिकल मनोविज्ञानले आफ्नो बारेमा सोच्नु हरेक मान्छेको स्वभावगत विशेषता हो भनेको छ । तर खोइ महिलाहरूले अझै पनि स्वतन्त्र भएर आफ्नो बारेमा सोच्न पाएको ? मेरा प्रश्नहरूलाई पलायनवादी, बदलाको भावना या घृणाको शिकार भन्ने तिमी । कुन चैं न्यायको जगमा उभिएर बोलिरहेका छौ ? र किन भन्न छुटाउँदैछौ कि त्यो विद्रोहको असली कारक के हो ?

मलाई तिमीले पुरुष विरोधी भन्छौ । र, लेख्छौ तिमी मानसिक विचलनको सिकार भएकी छौ । पुरुषलाई यसरी नंग्याउनु तिम्रो बदलाको भावना बाहेक अरू केही होइन ।

तिमी नै भन यो सरासर गलत आक्षेप हो कि होइन । एउटा जिम्मेवार व्यक्तिले नियतवश यस्ता कुराहरू बक्नु कतिको उपयुक्त हुन्छ ? फेरि ममा भएको मानसिक विचलन घोषणा गर्ने धृष्टता तिमीले कसरी गर्न सक्छौ ? के तिमी मेरो निजी डाक्टर पनि भएका हौ ? चाहें भने मैले तिमीलाई मलाई यसरी पागल भनेको आरोपमा जेल पठाउन सक्छु । तर मैले त्यो गर्दिनँ । किनकि ममा मानसिक विचलन छैन । र एउटा स्वस्थ मानिसले दुवै पक्षको खण्डन गर्न सक्नुपर्छ । एकोहोरो आत्मालाप तिमीले गरेको स्वस्थ आलोचना हुँदै होइन । यो त तिम्रो रुवाइ हो ।

टिप्पणी गर्नु राम्रो कुरा हो तर एकपक्षीय निर्णय सुनाउनु गम्भीर समस्या । अझ भन्ने हो भने कुण्ठायुक्त रोग हो । यसरी एकोहोरो तर्क गर्ने हो भने त वेद, बाइबल, कुरान र त्रिपिटकमा पनि हजारौं गल्ती भेटिन्छन् । अरूको के कुरा आफैंलाई जन्मदिने आमा र आफ्नै जिन्दगीका पनि असीमित गल्ती फेला पर्छन् ।

त्यसैले एकोहोरो आलोचना गर्नु भनेको सम्भावनाहरूको समाप्ति गर्नु हो । कैयौंलाई भ्रमित बनाइदिने गलत पद्धति स्थापित गरिदिनु पनि हो । किनकि यो संसारमा सुन्दर फूलहरू मात्र फुलेका छैनन्, त्यहाँ त्यसलाई खान भनेर प्रशस्तै गोब्रे कीराहरू पनि सँगसँगै उत्पत्ति भएका छन् । जसले तर्कको नाममा जीवनको सुन्दरतालाई नै खाइदिने गर्छ र मात्रै कुण्ठा प्रस्तुति बाँकी रहन्छ । आफू अत्यन्त सफल छु भनेर घमण्ड गर्दैगर्दा आफ्नो सफलताको मानक के हो त्यो पनि थाहा पाउनु जरूरी हुन्छ ।

तिमीले नै भन्ने गर्छाै, समयले निकै लामो फड्को मारिसकेको छ । अध्ययन र कार्यचेतनाको स्तर निकै माथि उठिसकेको छ । तर हामीले बाँचेको जिन्दगी र उभिएको समाज अझै पनि पितृयुगको साङ्लोमा जेलिएरै अगाडि बढिरहेको छ । आज पनि तिम्रो इगो नै प्रभावशाली भएर मेरो अगाडि पटक-पटक उभिन आइपुग्नु त्यही युगको दूषित प्रभाव हो ।

सत्य जस्ताको तस्तै बोल्दा तिमी जस्तै धेरै लोग्ने मानिस हर्ट भएको मैले पटक-पटक महसुस गरेकी छु । मेरा सबै अभिव्यक्ति आलोचनाको विषय बन्ने गरेका छन् । मेरा पात्रहरूलाई क्षणिक आवेशमा लोग्ने छोड्ने, विचलनवादी र मानसिक बिमारीको शिकार भनिएको छ । यसले के देखाउँछ भने महिलाहरूको विद्रोह र स्वाधीनताको प्रश्नमाथि अझै पनि औंला उठाउनेहरू छन् ।

के एउटी महिलाले सामन्ती शासन लाद्ने लोग्ने छोड्न खोज्दा ऊ पलायनवादी हुन्छे ? विवाह गरेपछि महिलाको राजनैतिक क्रियाशीलता सकिन्छ भन्ने राजनीतिक संगठनलाई प्रश्न गर्नु बदलाको भावना हुन्छ ? मैले बुझ्दिनँ, समाजमा रहेका बलात्कारी कीराहरूलाई बलात्कारी भन्दा किन तिम्रो मन पोल्ने गर्छ ? किन महिला माथिको अत्याचारलाई तिमीले अत्यन्त सामान्य अनुभव गर्छौ ?

हुन त मैले आश्चर्य मान्नुपर्ने केही छैन । किनकि तिमी पनि एक अर्थमा रोगी छौ । सायद पितृसत्ताको हीन मनोग्रन्थीले तिमीलाई थिचिरहेको छ । जसले समाज बदलिनुपर्छ त भन्छ तर स्वयम् बदलिन सक्दैन । विकृत पुरुषसत्ताको विरोध गर्नुपर्छ भन्छ तर त्यसैको खण्डनलाई पुरुष विरोधी अभिव्यक्ति ठानिहाल्छ ।

तर म न पुरुष विरोधी हुँ न प्रकृति विरोधी । मेरो प्रश्न त आजको असामान्य व्यवस्था माथि हो । जसले मलाई सधैं दोस्रो दर्जाको नागरिक सम्झिने गर्छ । जसले मलाई पटक-पटक अपमानित गरिरहन्छ ।

यदि कुनै युवतीले बाबु विना पनि सन्तान जन्माउन चाहन्छे भने त्यो उसको प्राकृतिक स्वतन्त्रताको कुरा हो भन्छु म । जीवनका आधारभूत आवश्यकता पूर्ति गर्न सक्ने सामथ्र्य उसँग छ भने उसलाई इज्जतपूर्वक आमा बन्ने स्वतन्त्रता र अधिकार राज्यले दिनुपर्छ । यसलाई पुरुष विरोधी गतिविधि भन्ने अधिकार कसैलाई छैन । एकल आमा बन्न चाहनु पुरुष विरोधी कार्य गर्नु हुँदैहोइन । किनकि आमा बन्ने सौभाग्य त पुरुषबाटै सम्भव छ । यस अर्थमा पनि लोग्ने र पुरुष फरक सरंचना बुझ्न जरूरी छ ।

प्रिय पुरुष !

समयको यही पृष्ठभूमिमा उभिएर तिमीलाई मेरो एउटा आग्रह छ कि एक पटक तिमी बादी महिला र कमलरी भएर हेर । जंगलको छेउमा एक हप्ता छाउगोठमा सुतेर हेर । आफ्नै भन्नेहरूबाट बलात्कृत भएर कहालीलाग्दो जीवन बाँचिहेर । दाइजोको नाममा जिउँदै जल्ने मधेशी मूलका छोरी र बुहारीको पीडा भोगेर हेर । दिनदिनै वेश्यागमन गर्ने र साँझ रक्सी धोकेर मरणासन्न हुने गरी कुट्ने लोग्नेकी स्वास्नी भएर अनुभव गर । अनि भन्नु बल्छ कि बल्दैन आक्रोशको ज्वाला छातीमा । र त्यतिवेला तिमीले पनि लेख्नु यो मानसिक विचलन मात्रै हो । अथवा लोग्नेसँगको क्षणिक झगडाको आवेग मात्रै हो ।

तिमीलाई आज पनि महिलाको हकमा पर्ने उन्मुक्तिलाई बाँधेर नै सामाजिक मर्यादा कायम हुन्छ भन्ने भ्रमले अन्धो बनाएको हुन सक्छ । स्वास्नीमान्छेलाई लोग्नेको निजी सम्पत्तिको रूपमा भोग गर्न चाहने पुरुषसत्तावादी सोचले थला पारेको पनि हुनसक्छ । त्यसैले त बल्झिन्छौ पटक पटक । दुख्छौ स-साना प्रश्नहरूमा ।

एकपटक त्यो जैविक सत्यलाई पनि अध्ययन गर । जहाँ स्त्री र पुरुष प्राकृतिक सत्य उपज दुई वटा जीवित तत्व हुन् भनिएको छ । जसको भौतिक तथा अभौतिक संरचना एकअर्काको परिपूरक भएरै यहाँसम्म आइपुगेको छ । यौन र प्रजननसँग सम्बद्ध भाले र पोथी जातिको जीवनको परिभाषामा कतै विभेद छैन । यो समानरूपले अगाडि बढ्ने प्राकृतिक सत्य हो । तर मानव जातिको लैङ्गिक परिभाषा यौन र प्रजननसँग मात्रै सम्बन्धित नभएर भावनात्मक र बौद्धिक आयामहरूको विशिष्ट पक्षसँग जोडिन जान्छन् । तर त्यही भावुकताको सीमाभित्र महिला र पुरुषको अस्तित्व समान हुन नसक्नु ठूलो पीडाको विषय हो ।

महिलालाई नै संवेदनशील बनाउने सभ्यताको विकास ऊ आमा भएकै कारण भएको कुरा पनि सत्य हो । यद्यपि पुरुषसत्ता तिनै आमाहरूको जिन्दगीलाई टेकेर उभिन्छन् । शासन गर्छन् र उनीहरूलाई नै लाञ्छना लगाउँछन् । जसले सामाजिक शक्तिका रूपमा रहेको सभ्यतालाई नै दुई भागमा बाँडिदिएको छ ।
तर महोदय !

महिलाहरूको स्वाधीन अस्तित्व सधैं पुरुष अधीनस्त हुनुपर्छ भन्ने तिम्रो मान्यताको म घोर विरोधी हुँ । यही कुराको परिवर्तन चाहन्छु म । र एकदिन त्यस्तो पनि आओस् कि तिमीलाई महिलाहरूकै लाइनमा उभिएको देख्न पाऊँ । किनकि इतिहासलाई थाहा छ समय कसैको हकमा नियन्त्रित छैन । यतिबेला तिमीले आफ्नो नैतिक अवधारणा खतरामा पर्दै गएको महसुस गर्नु बिल्कुल स्वाभाविक हो ।

चेतनाको उपल्लो स्थानमा रहँदारहँदै पनि संस्कारिक इगोको रूपमा प्रस्तुत हुने तिमीलाई झेल्नुपर्ने समर्थन अब सकिएको छ । यसर्थ तिमी मौन बस्नुपर्छ होइन । महिलाको स्वाधीन अस्तित्वको कुरा गर्दैनौ त्यो पनि होइन । कुरा प्रशस्त गर्छौ । तर व्यावहारिकता स्वीकार्न सक्दैनौ । त्यसैले त आज पनि मेरो उन्मुक्तिमा तिम्रो प्रश्न यथावत् छ । र मैले एउटा अपमानबोध अस्तित्वसँग युद्ध गरिरहनुपरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?