
८ असार, काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले पेट्रोलियम पदार्थको खपत कम गरी स्वच्छ उर्जाको उपभोग बढाउने बारे नीतिगत प्रबन्ध गर्न सरकारलाई निर्देशन दिएको छ ।
बुधबार सिंहदरबारमा बसेको बैठकले विद्युतीय सवारी साधन, शौर्यबत्ती, पानी तताउने शौर्य मेसिन, विद्युतीय चुलोजस्ता उपकरणलाई प्रोत्साहन गरेर पेट्रोलियम पदार्थको खपत घटाउन उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई समिति निर्देशन दिएको हो ।
बैठकले वैकल्पिक उर्जाको उपलब्धता र सम्भावना बारे अध्ययन गर्नपनि निर्देशन दिएको छ । वैकल्पिक उर्जाबारे विषय विज्ञ र सरोकारवालाहरु सँगको छलफलपछि समितिले पेट्रोलियम पदार्थको खपत कम गरी स्वच्छ उर्जाको उपभोग बढाउने सम्बन्धमा उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयलाई ३ महिनाभित्र कार्यक्रमसहितको रोडम्याप बनाइ उपलब्ध गराउन पनि निर्देशन दिएको हो ।
ज्येष्ठ सदस्यको हैसियतले समितिको सभापतित्व गरेका नेता वामदेव गौतमले सीमावर्ती भारतीय बजारमा इन्धनको तस्करी भइरहेको भन्ने सम्बन्धमा जनगुनासो आएकोले सो बारे तत्काल अध्ययन र छानबिन गर्न नेपाल आयल निगमलाई निर्देशन दिए ।
समितिले खनिज इन्धनलाई प्रतिस्थापन गर्ने वैकल्पिक उर्जाबारे उर्जा विज्ञ सुमन बस्नेतसँग छलफल गरेको थियो ।
छलफलमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा मधुसुदन अधिकारी, विद्युत नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंह, उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारी लगायत उपस्थित थिए ।
प्रतिक्रिया 4