
९ असार, काठमाडौं । आगामी शनिबार नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना हुने भएको छ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले सो दिन ‘सीएनआईवाईईएफ नेपाल स्टार्टअप फेस्ट-२०२२’ आयोजना गर्ने भएको हो ।
राष्ट्रिय योजना आयोग, युवा तथा साना व्यवसाय स्वरोजगार कोष र नेपालस्थित भारतीय दूतावासको सहयोगमा फेस्ट आयोजना गर्न लागिएको हो ।
नेपालमा स्टार्टअपलाई अभियानका रुपमा अघि बढाउने र नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण अंगको रुपमा स्थापित गराउन नवप्रवर्तनकारीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको परिसंघले जनाएको छ ।
स्टार्टअपलाई अघि बढाउन सरकारले विभिन्न नीतिगत व्यवस्था गर्दै आएको र त्यसको सफल कार्यान्वयनका लागि रचनात्मक भूमिका निर्वाह गर्दै आइरहेको समेत परिसंघले जनाएको छ । स्टार्टअपले लगानीका लागि परियोजनासहित प्रस्ताव पेश गरेका छन् । स्टार्टअपहरुलाई लगानीका लागि आवेदन पेश गर्न २७ जेठसम्मको अवधि तोकिएको थियो ।
यसमा देशभरबाट ३ सय परियोजनाका प्रस्ताव आएका थिए । फेस्टमा नेपाल उद्योग परिसंघ, युवा उद्यमी मञ्च र लगानीकर्ताको टिमबाट छानिएका १० वटा प्रस्तावलाई प्रस्तुतिको अवसर दिइने भएको छ ।
कार्यक्रमबाट स्टार्टअपलाई पूँजी तथा प्राविधिक सहयोग प्रदान गरिने भएको छ । साथै लगानीकर्तालाई उत्कृष्ट परियोजनामा लगानी गर्ने अवसर दिइएको समेत विज्ञप्तिमा उल्लेख छ । यस फेस्टमा ५० करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आउने भएको छ । सोल्टी होटेलमा हुने कार्यक्रममा सहभागी हुने ३ सय रुपैयाँ टिकट तोकिएको छ ।
कार्यक्रममा सहभागी हुन फेस्टको अफिसियल वेवसाइट https://startup.cniyef.org/ मा नाम दर्ता गर्नु पर्ने छ ।
प्रतिक्रिया 4