+
+
अग्रपथ :

दलहरूसँग जनता किन यति धेरै विरक्तिए ?

लोकतन्त्रसँग नै त्यस्तो क्षमता छ, जहाँ बारम्बार जनअसन्तुष्टिहरू वैधानिक विधिद्वारा मुखरित हुन पनि पाउँछन्, त्यसले आफ्ना कमजोरीलाई स्वस्फूर्त सन्तुलन पनि गर्दछ । तर, त्यो अझ बढी वा अझ राम्रो लोकतन्त्र आउने, ल्याउने मार्ग चाहिं के हो त ? के दलहरूप्रतिको वितृष्णाबाट मात्र त्यो सम्भव छ ? 

डम्बर खतिवडा डम्बर खतिवडा
२०७९ असार १२ गते ९:०६
स्वतन्त्रबाट निर्वाचित धरानका मेयर हर्क साम्पाङ, काठमाडौंका मेयर बालेन साह र धनगढीका मेयर गोपी हमाल ।

दलीय वितृष्णाको जरा

दोस्रो विश्वयुद्धकालका बेलायती प्रधानमन्त्री वेष्टन चर्चिलले भनेका थिए- ‘लोकतन्त्र कुनै राम्रो व्यवस्था हैन । यो नराम्रोमध्ये सबैभन्दा कम नराम्रो व्यवस्था मात्रै हो ।’ चर्चिलको यो भनाइमा दम छ । त्यसैले यो भनाइ कालजयी पनि छ । लोकतन्त्र जतिसुकै अक्षम, विसंगत, भद्दा र कामकाजविहीन देखियोस् वा यसले बारम्बार वितृष्णा र जनअसन्तुष्टि सिर्जना किन नगरोस्, यसको विकल्प के छ त ? लोकतन्त्र यसर्थ उत्कृष्ट भनिएको हो कि यसका विकल्पमा भएका राजनीतिक व्यवस्था झनै खराब हुन्छन् ।

जस्तो कि निरंकुश राजतन्त्र, सैनिक तानाशाही, एकदलीय कम्युनिस्ट व्यवस्था, धर्मगुरुहरूको शासन, नेपालको राणाशासन जस्तो कुनै परिवारको कुलीन शासन वा कुलीनतन्त्र, पञ्चायतजस्तो निर्दलीयता । के यी लोकतन्त्रभन्दा राम्रा थिए ? राम्रा हुन् ? निःसन्देह थिएनन्/हैनन् ।

त्यसो भए विकल्प के त ? फेरि पनि त्यही लोकतन्त्र । अझ बढी लोकतन्त्र । अझ राम्रो लोकतन्त्र । लोकतन्त्रसँग नै त्यस्तो क्षमता छ, जहाँ बारम्बार जनअसन्तुष्टिहरू वैधानिक विधिद्वारा मुखरित हुन पनि पाउँछन्, त्यसले आफ्ना कमजोरीलाई स्वस्फूर्त सन्तुलन पनि गर्दछ । तर, त्यो अझ बढी वा अझ राम्रो लोकतन्त्र आउने, ल्याउने मार्ग चाहिं के हो त ? के दलहरूप्रतिको वितृष्णाबाट मात्र त्यो सम्भव छ ? कि त्यसका लागि अझ बढी सुविचारित र विवेकसम्मत प्रयास चाहिन्छ ?

भनिन्छ- लोकतन्त्र त्यस्तै हुन्छ, जस्तो अधिकांश नागरिकको ‘मूड अफ माइन्ड’ हुन्छ । बहुमत मानिसले जसरी सोच्छन् त्यही लोकतन्त्रको प्रवृत्ति वा चरित्र हो । सृष्टिको सीमा के हो भने बहुमतले सधैं सबै कुरा ठीक नै सोच्छ, ठीक नै निर्णय गर्छ भन्ने हुँदैन । कैयौं काम यस्ता हुन्छन् कि जो बहुमतले भन्दा अल्पमतले अझ एक्लो मान्छेले झनै राम्रो गर्न सक्दछन् ।

बहुमतले रचना गरेको कुनै उत्कृष्ट महाकाव्य संसारमा छ र ? बहुमतले सृजना गरेको कुनै सुमधुर संगीत संसारमा छ र ? बहुमतले आविष्कार गरेको कुनै विज्ञानको सूत्र वा प्रविधिको फर्मूला संसारमा छ र ? बहुमतले पानी पर्न रोक्न सक्छ ? बहुमतले भूकम्प आउन रोक्न सक्छ ? बहुमतले मान्छेलाई मर्नबाट जोगाउन सक्छ ? निःसन्देह सक्दैन ।

लोकतन्त्रसँगै जोडिएर आउने ‘बहुमत’ कुनै अन्तिम सत्य हैन । लोकतन्त्रप्रतिको वितृष्णा त्यहीनेरबाट सुरुवात हुन्छ- जब लोकतन्त्रलाई विवेकहीन शक्ति संरचनाका रूपमा अभ्यास गर्न थालिन्छ । बहुमतसँगै सत्य पनि छ भने लोकतन्त्र सजीव र कामकाजी हुन्छ । सत्य एकातिर छ बहुमत अर्कोतिर भने त्यो कृत्रिम र औपचारिक बहुमत बन्न पुग्दछ । यस्तो बहुमत नै लोकतन्त्रको सबैभन्दा ठूलो समस्या हो । ‘हामीसँग शक्ति छ, संगठन छ, पार्टी छ, जनमत छ, धन छ, पहुँच छ, बहुमत छ’ भनेर जब दलहरू, दलका नाममा गुटहरू, गुटका नाममा नेताहरू, नेताका नाममा केही शीर्ष नेताहरू अहंकार र विवेकहीनताको भावनाले भरिन्छन, त्यस्तो बेला दलहरूप्रतिको जन-घृणा चुलिने हो, त्यस्तो अहंकार हावा भरिएको बेलुनझैं त्यो फुट्नै पर्दछ ।

नेपालमा अहिले त्यही भएको हो । केही ठूला दलका मुट्ठीभर शीर्ष नेताहरूको सिन्डिकेटले राज्य कब्जा गर्‍यो । राजनीतिक तथा प्रशासनिक शक्ति कब्जा गर्‍यो । राज्य मात्रै हैन, अर्थतन्त्र नै कब्जा गर्‍यो । नेता र उनीहरूका आसेपासेहरू रातारात धनी हुने, सर्वसाधारणले जतिसुकै मिहिनेत गरे पनि सामान्य जीवन निर्वाह गर्न नै गाह्रो हुने अर्थतन्त्र बन्यो । लोकतन्त्रको नाममा दलतन्त्र र दलतन्त्रका नाममा लुटतन्त्र संस्थागत गर्न खोजियो । दलहरू निर्जीव र यान्त्रिक संरचना जस्ता भए, तिनलाई जनताको पीरमर्काले छोएन ।

त्यस्तो अहंकार र विवेकहीनताको जगमा पार्टी संगठनको स्थायी शक्ति र त्यसबाट निर्माण भएको जनमत र प्राप्त हुने भोट थियो । अरू सबै कुरामा ती निकम्मा देखिए । न ज्ञान, न सीप, न विवेक, न सत्यनिष्ठा, न जनमुखी सोच, न डेलिभरी क्षमता, न निष्पक्षता, न तटस्थता, न मानवीय संवेदनशीलता- तातो न छारो केही नभए जस्तो, त्यही एउटा पार्टीको संगठनमार्फत कब्जा गरेको अलिकति जनमत छ, त्यही जनमतलाई भर्‍याङ बनाएर राज्यमार्फत जोगाड गरेको कालो धन छ, त्यति भए सबै शक्ति आफैंमा बाध्य भएर आउँछ भन्ने सोच मात्र त्यहाँ बाँकी रहृयो ।

राम्रो कुरा, भर्खरै सम्पन्न स्थानीय निर्वाचन २०७९ ले त्यो सोच, अवधारणा र मनोविज्ञानलाई गतिलो झापड दियो । कहीं कसैको गढ छैन, लोेकतन्त्रमा कसैको स्थायी भोट बैैंक हुन सक्दैन, जो जहाँसुकै हार्न सक्दछ, जो जहाँसुकै जित्न सक्दछ भन्ने नयाँ सन्देश दियो । हिजो मान्छेहरू दलविहीन हुनुलाई कमजोरी ठान्थे, आज स्वतन्त्र हुनुलाई शक्तिको विषय ठान्न थाले- गज्जब राम्रो भयो । एक बिल्कुलै नयाँ मनोविज्ञान जन्म भयो, जो त्यसअघि दशकौंदेखि बिल्कुलै कमजोर थियो । त्यो हो- दलविहीन हुनुमा आत्मगौरव । कुनै पनि दल र चुनावचिहृनको स्थायी मतदाता हुन अस्वीकार ।

‘कांक काल’ को गहिरिंदो संकट

स्थानीय निर्वाचन २०७९ पछि नेपालमा पनि ‘कांक युग’ संकटग्रस्त हुँदै गएको सहज अनुमान गर्न सकिन्छ । यो वा त्यो कोणबाट मतदाताको एउटा यस्तो पंक्ति तयार हुँदै गएको प्रष्ट देखिन्छ- जो सबै परम्परागत दलहरूभन्दा बाहिर गएर मतदान गर्नुलाई गौरवको विषय ठान्न थालेको छ

‘काल परिवर्तन’ सृष्टिको स्वाभाविक नियम हो । सृष्टिका कुनै पनि चिज, कुनै पनि अस्तित्व, संसारका कुनै पनि देशको राजनीति वा शक्ति सन्तुलन सधंै एकै ठाउँमा बसेको छैन । बस्दैन, बस्नु पनि हुँदैन ।

नेपाल राज्यकै इतिहास हेर्ने हो भने यहाँ कैयौं पटक युग परिवर्तन भएका छन् । करिब पाँच हजार वर्ष अघिको ‘नागवंश’ संभवतः नेपालको राजतन्त्र थियो । संस्थापक राजतन्त्र । त्यो काल गयो, गोपाल-महिषपाल शासनको युग आयो । फेरि किरात-ठकुरी शासन आयो । पुनश्च लिच्छवि र मल्लहरू आए । यी केवल राजवंशको परिवर्तन मात्रै थिएनन्, युग परिवर्तनका द्योतक पनि थिए । पछिल्लो चरणमा शाहकाल, राणाकाल, पञ्चायतकाल इतिहासमा थन्किए ।

नेपालमा कांग्रेस-कम्युनिस्ट -कांक) मुख्य दुई पार्टी आलोपालो शासनको पनि एउटा अर्को ‘काल’ बनेको छ । यो काल, यो युगले पनि सृष्टिको नियम मुताविक कुनै दिन इतिहास बन्नै पर्छ अरू जस्तै । करिब एक दशक यता ‘वैकल्पिक राजनीति’ राजनीतिको बढ्दो बहस र यसपालिको स्थानीय चुनावमा स्वतन्त्रहरूको लहर कतै त्यही ‘कांक युग’ को गहिरिंदो संकटको संकेत त हैन भन्ने कोणबाट समेत सोच्न सकिने स्थिति सृजना भएको छ ।

निःसन्देह वैकल्पिक भनिएका दलहरू प्रभावकारी भइसकेका छैनन्, त्यहाँ पनि अनेक समस्या छन् । तर, हिजो जस्तो मानिस कांग्रेस, कम्युनिस्ट वा राजावादी मात्र भएर सोच्न छोडेका छन् । यी परम्परागत विचार र शक्तिभन्दा बाहिर पनि राजनीति हुन सक्दछ, त्यहाँबाट राजनीतिक विकल्प आउन सक्छ भन्ने सोच निरन्तर विकास र विस्तार हुँदैछ ।

निःसन्देह नेपाली कांग्रेस र नेकपा- नेपालको इतिहासका महत्वपूर्ण राजनीतिक शक्ति हुन् । यिनीहरूकै संघर्ष र शक्तिको बलमा देशमा लोकतान्त्रिक गणतन्त्र आयो । संघीयता, समावेशिता, धार्मिक स्वतन्त्रता र सामाजिक न्यायका अवधारणा स्वीकार गर्न, गराउन अरू थुप्रै शक्तिले पनि तागत थपे । तर मुख्य संवाहक दल यिनै बने ।

तर, इतिहासमा महत्वपूर्ण भूमिका गरेका शक्ति सदावहार हुन्छन् भन्ने छैन । छिमेकमा भारतको उदाहरण छ । भारतीय राष्ट्रिय कंग्रेस र भारतीय कम्युनिस्ट पार्टी त्यहाँका निकै ठूला राजनीतिक शक्ति र दल थिए । भारतीय स्वतन्त्रताको संघर्षमा कंग्रेसको इतिहास र भूमिका अद्वितीय थियो । तर, त्यो सन् २०१० पछि निरन्तर कमजोर हुँदैछ । कुनै समय पश्चिम बंगाल, त्रिपुरा र केरला- तीन राज्यमा लामो समय शासन गरेको र संघीय संसदमा प्रमुख प्रतिपक्षसम्म बनेको कम्युनिस्ट पार्टी मृतप्रायः बन्न पुगेको छ ।

सन् २०१० पछिको भारतमा हुर्हुराएर ‘नयाँ शक्ति’ आए । पुरानो भारतीय जनता पार्टी -भाजपा) बहुतै शक्तिशाली भएर आयो । आम आदमी पार्टी (आप) आयो । आपको तीव्र विस्तार भइरहेको छ । लाग्दैछ- भारतमा ‘कांक युग’ सकिंदैछ । ‘भाजपा-आप युग’ सुरु हुँदैछ । स्थानीय निर्वाचन २०७९ पछि नेपालमा पनि ‘कांक युग’ संकटग्रस्त हुँदै गएको सहज अनुमान गर्न सकिन्छ । यो वा त्यो कोणबाट मतदाताको एउटा यस्तो पंक्ति तयार हुँदै गएको प्रष्ट देखिन्छ- जो सबै परम्परागत दलहरूभन्दा बाहिर गएर मतदान गर्नुलाई गौरवको विषय ठान्न थालेको छ ।

विकल्पहीनताको आशा

स्थानीय निर्वाचनभन्दा केही दिन अघिको कुरा हो । नयाँबानेश्वरको एक रेस्टुराँमा संयोगले एक पुराना मित्रसँग भेट भयो । राजनीतिक रूपमा एमाले-कालका मित्र । एकअर्कासँग करिब १५ वर्षपछि अचानक भेट हुँदा खुसी भयौं । सँगै चिया पियौं र एक घण्टाजस्तो गफियौं ।

विगत करिब पाँच वर्षका घटनाक्रमबारे विशेषतः एमालेको संस्थापन पक्ष, त्यसमा पनि पार्टी अध्यक्ष केपी ओली निकटहरूको भित्री हृदयको अनुभूति चाहिं कस्तो होला ? के ती ओलीको शैली, विगत पाँच वर्षका क्रियाकलापबाट सन्तुष्ट छन् ? कि ओलीप्रतिको समर्थन पार्टी संस्थापन पक्षलाई रिझाउनुपर्ने राजनीतिक बाध्यता मात्रै हो ? यथार्थमा यो जान्ने इच्छा, जिज्ञासा थियो ममा ।

मैले १५ वर्षपछि भेटेका मित्र एमाले अध्यक्ष ओलीका असाध्यै निकटस्थ मध्ये एक मानिन्छन् । उनी करिब २० वर्षदेखि एमालेमा ओली गुटको नजिक थिए । एमालेको बुटबलमा भएको आठौं महाधिवेशनमा पनि उनी ओली पक्षमै थिए- जतिखेर हाम्रो अघिल्लो भेट भएको थियो ।

अनौपचारिक कुराकानीमा उनको भित्री हृदयको कुरा फरक थियो- जो अक्सर ओली निकट एमाले कार्यकर्ताले भन्ने गर्दछन् । उनी भन्दै थिए- कम्युनिस्ट पार्टी र आन्दोलनसँग अब हिजोको जस्तो नैतिक तथा वैचारिक बल त कहाँ रहृयो र ? तर, मतदातासँग पनि के विकल्प छ र ? भएकै मध्ये एउटालाई भोट दिने हुन्, कांग्रेसका शेरबहादुर देउवाभन्दा एमालेका ओलीकै बोलीमा अझै पाइन र दम छ ।

अर्थात् उनलाई ‘विकल्पहीनताको आशा’ थियो । जनता र मतदातासँग विकल्प छैनन्, मन परे पनि नपरे पनि ती घुमीफिरी एमाले र कांग्रेसकै पोल्टामा जान्छन् भन्ने बुझाइ थियो । यो बुझाइको आयतन अझै पनि ठूलो छ । जनताले आफ्नो विकल्प आफैं बनाउन सक्दछन्, तसर्थ दलहरू बेलैमा नसच्चिए जोखिम छ भन्ने आत्मस्वीकारोक्ति त्यहाँ थिएन ।

इतिहास मोहको नतिजा

दलहरूसँग रिस उठे अझ राम्रा र नयाँ दलहरू बनाउने प्रयत्न गरौं तर दलीय प्रणालीप्रति नै वितृष्णा सृजना गर्ने काम कसैले नगरौं । यो प्रवृत्ति भविष्यमा कुनै ठूलो दुर्घटनाको कारकतत्व बन्न सक्दछ

चुनावमा भोट हाल्न गाउँ गएँ । करिब तीन वर्ष भएको थियो गाउँ नगएको । पुराना साथीभाइसँगको भेटघाट र कुराकानीमा त्यही झल्किन्थ्यो जो नयाँबानेश्वरको रेस्टुराँमा मैले भेटेका कमरेडले भन्दैथिए ।

मान्छेका कुुरा त्यही थिए- त्यहाँ पनि राजनीतिक वितृष्णा समान थियो, जो कांग्रेस एमालेकै प्रचारमा हिंडिरहेका थिए, उनीहरू बीच पनि । उनीहरू भन्दैथिए- ‘आफू लागेको संस्था जोगियो भने कुनै दिन नेतृत्व फेरिएर आउला भन्ने मात्रै हो । अहिलेका नेताहरूको चरित्र र बानीव्यहोरा हेर्दा अहिल्यै छोडौं जस्तो लाग्दछ तर, छोडेर पनि के गर्ने उपयुक्त विकल्प पनि त जन्मिन सकेन ।’

मान्छे वर्तमानप्रति विरक्तिएका थिए । तर, इतिहासप्रतिको मोह कायम थियो । भविष्यबारे धेरै बलियो आशावादिता थिएन तर दलहरूका कमी-कमजोरीका बाबजुद लोकतन्त्रमा दलहरू जोगाउनुपर्छ, संस्थागत निरन्तरता चाहिन्छ भन्ने भावना बलियो थियो । भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा कांग्रेस-एमालेले राम्रै नतिजा ल्याएका छन्, तर त्यो सन्तुष्टि र विश्वासको नतिजा हो जस्तो भन्ने लाग्दैन । चुनावका बेला गाउँमा भेटेका मान्छेका कुरा पत्याउने हो भने त्यो इतिहास मोहको नतिजा हो, आफू लागेका र भोट दिंदै आएका पार्टी छोड्न नसकेको प्रमाण मात्रै हो । उपयुक्त विकल्प विकास हुँदैछ भन्ने सन्देश जाने हो भने अझै धेरै मतदाताले पुराना दलहरूलाई मतदान गर्न छोड्ने संभावना तीव्र छ ।

‘बालेन फ्याक्टर’ को सन्देश

गाउँमा समकालीनहरू त्यसै पनि थोरै बाँकी छन् । कति ठाउँ छोडेर हिंडे । कति पेशा-व्यवसायमा बाहिरै छन्, चुनावमा पनि गाउँ आएनन् । गाउँमा बुढाबुढी र नव युवायुवती नै धेरै थिए । बरु साथीभाइका छोराछोरी लाठे भइसकेका पाएँ । गाउँ पुग्दा उनीहरू पो मसँग भन्दैथिए- ‘काठमाडौंमा बालेनले पक्का जित्छन् ।’

छक्क परें । सोधें- ‘म त भर्खरै काठमाडौंबाट आएको, मलाई त्यस्तो लाग्दैन, कसरी थाहा पायौं तिमेरुले ?’ उनीहरू भन्थे- ‘हामी त अचेल बालेनको बाहेक कसैको समाचार नै हेर्दैनौं, फेसबुकमा ।’ नभन्दै नतिजाले देखायो कि मैले लोकतन्त्रको समसामयिक र ‘अन्डरकरेन्ट’ प्रवृत्ति बुझ्न सकिरहेको थिइनँ बरु काठमाडौंबाट करिब ५०० किमी टाढा बस्ने मेरा गाउँका नव युवायुवती ‘अपडेट’ थिए ।

काठमाडौंको बालेन फ्याक्टर काठमाडौंमा मात्रै सीमित छ भनेर बुझ्यो भने निकै ठूलो गल्ती हुने रहेछ । यसले सिंगो देशको मनोविज्ञान हल्लाएको छ । धरानका हर्क साम्पाङले बडो सजिलो गरी स्वीकार गरे- ‘मेरो पार्टी, संगठन, कार्यकर्ता सबैथोक फेसबुक हो, म जहाँ छु, त्यही फेसबुकको कारणले छु ।’ हर्कले स्वीकार गरे, बालेनले स्वीकार गर्लान् नगर्लान् नत्र बालेनको पनि सर्वस्व त्यही सामाजिक संजाल हो । तर, त्यही फेसबुकलाई हाम्रा पुराना र परम्परागत नेताहरू ‘फेसबुके’ भनेर ओल्चिन्छन् जसले उनीहरूको जरा हल्लाउँदैछ ।

भर्चुअल संसार नव युवायुवतीको स्वप्नमय संसार हो । आफ्नै युवाउमेरका सोचसँग तुलना गरेर हामी त्यसको असर बुुझ्न सक्दछौं कि त्यो बेला अमिताभ बच्चन, धर्मेन्द्र, हेमामालिनीहरूको कत्रो क्रेज थियो । धर्मेन्द्र र हेमामालिनीले जति वटा चुनाव लडे कहिल्यै हारेनन् । हेमा अहिले पनि सांसद छिन भारतमा । अमिताभ बच्चनले हेमबत्तीनन्द बहुगुणा जस्तो वरिष्ठ राजनीतिज्ञलाई यसरी हराइदिएका थिए कि भारतको सबैभन्दा ठूलो उत्तरप्रदेशको राजनीतिले नै त्यो घटनाबाट नयाँ मोड लियो ।

बालेन फ्याक्टरका सकारात्मक पाटो थुप्रै होलान् तर यसको नकारात्मक पक्ष पनि छ । त्यो हो- नयाँ पुस्तामा ‘भर्चुअल म्यानिपुलेसन’ र नयाँ पुस्ताको अराजनीतीकरण । हिजो कुनै विषयमा बोल्नु अघि मानिस त्यसबारे दुईचार वटा किताब पढेर नोट बनाउँथे- अनि मात्र बोल्थे । आफ्नो ज्ञानमा थोरै आधिकारिक हुन खोज्थे । विस्तारै यस्तो समय आयो कि किताब पढ्न छोडियो र समाचारपत्रका समाचार र लेख नै ज्ञानका ठूला स्रोत मानिए । आज त्यसको पनि युग सकिएको छ ।

अब फेसबुक स्टाटस, ट्वीट, युट्युब अन्तर्वार्ता र १५ सेकेन्डको टिकटक ज्ञानको सबैभन्दा ठूलो र आधिकारिक स्रोत जस्तो भएको छ । यदाकदा म आफैं प्रवृत्ति विश्लेषण गर्छु । मेरा लेखहरूको लिंक मुश्किलले २०० मानिसले हेर्छन् तर स्टाटसहरू औसत २ हजारले । अर्थात् सीधै १० गुणाको ग्याप छ ।

यो प्रवृत्तिले पुरातन दलतन्त्रलाई पक्कै चर्मराउने बनाउँदैछ तर सँगसँगै समाजलाई सतही पनि बनाउँदैछ । नयाँ पुस्तालाई अराजनीतीकरण पनि गरिरहेको छ । नयाँ पुस्तालाई हाम्रो समाजको संघर्षको गौरवमय इतिहास र वर्तमानको क्रूर यथार्थबाट विमुख बनाउनुहुँदैन । उनीहरूलाई आफ्नै पितापुर्खाले गरेको योगदानको गाथाबाट विमुख हुन दिने हो भने भन्न सकिन्न आम मतदाताको ‘मूड अफ माइन्ड’ कता जान्छ र लोकतन्त्रले कस्तो मोड लिन्छ । यो प्रवृत्तिले भविष्यमा कुनै दुर्घटना नगराउला भन्न सकिन्न ।

स्वतन्त्र उम्मेदवारीको लहर र स्वतन्त्र पार्टी

काठमाडौंका बालेन र धरानका हर्क अहिले स्वतन्त्र उम्मेदवारहरूका प्रेरणा र आदर्श बनेका छन् । आगामी मंसिरको संघीय चुनावका लागि चर्चित सत्याग्रही युवा पुकार बमले काठमाडौं-१ बाट अहिल्यै स्वतन्त्र उम्मेदवारी घोषणा गरी अर्को लहर सृजना गरिदिएका छन् । सुन्दैछु- बालेन निकटहरूको स्वतन्त्र उम्मेदवारी अभियान भन्ने अनौपचारिक सञ्जाल नै बनेको छ । देशैभरि थुप्रै युवायुवती फेसबुकको भित्तामा देखिन थालिसकेका छन्- अर्को बालेन र हर्क बन्ने तीव्र महत्वाकांक्षासहित ।

लोकतन्त्रले त्यो अधिकार र स्पेस दिएको छ र त्यसको सम्मान हुनै पर्दछ । राजनीतिक दलहरूको अक्षमता र नालायकीलाई सन्तुलन गर्नसम्म यो ठीकै हो ।

तर, प्रश्न उठ्छ के स्वतन्त्रबाट युगीन कार्यभार र राजनीतिक मिसनको बेडा पार लाग्छ ? के त्यस्तो कुनै उदाहरण छ संसारमा ? के आधुनिक सिंगापुरको निर्माता मानिएका लि क्वान यु स्वतन्त्र थिए ? उनको पार्टी थियो, छँदैछ अहिले पनि सत्तामा ‘पाप’ । आधुनिक चीनका निर्माता माओ र तेङ सियाओ पिङ स्वतन्त्र हुन् ? हैनन्, उनीहरूको पार्टी थियो- चिनियाँ कम्युनिस्ट पार्टी ।

के अमेरिकी इतिहासका महान् राष्ट्रपति अब्राहम लिंकन र प|mाङ्कलिन डि. रुजबेल्ट स्वतन्त्र थिए ? हैन, उनीहरूको पार्टी थियो, लिंकनले रिपब्लिकन पार्टी आफैं, आफ्नै जीवनकालमा बनाएका हुन् । रुजबेल्ट डेमोक्र्याटिक पार्टीबाट उदाएका थिए । यस्ता सयौं उदाहरण हुन्छन् ।

हुँदाहुँदा अब स्वतन्त्रहरूको पनि पार्टी बनाइदिए रवि लामिछानेले- स्वतन्त्र पार्टी । अर्थात् लामिछानेले धमिलो पानीमा माछा मार्न खोजेको प्रष्टै देखियो । बालेन र हर्क फ्याक्टरको कारणले आगामी चुनावमा देशभरि जुन स्वतन्त्रहरूको लहर चल्ला भन्ने अनुमान छ, त्यसको समानुपातिक भोटलाई आफ्नो ढोक्सीमा भर्ने नियत देखाए रविले । रविको अरू कुराबारे अहिले नै चर्चा नगरौं, उनको प्रयोगको नतिजा के हुने हो त्यो त मंसिरको चुनावपछि मात्रै भन्न सकिएला ।

यथार्थमा दलीय लोकतन्त्रमा स्वतन्त्र उम्मेदवारीको लहर एक हल्ला हो । एक हृविम हो । एक स्विङ हो । कुनै सुविचारित, दीर्घकालीन र विवेकसम्मत निर्णय हैन । लोकतन्त्रले स्वतन्त्र उठ्ने अधिकार दिन्छ । कानुनी रूपमा त्यसमा कुनै आपत्ति छैन । राजनीतिक रूपमा त्यसको कुनै आलोचना हुन सक्दैन । तर, स्वतन्त्र उम्मेदवार स्वतन्त्रहरूको काम हो, त्यो उनीहरूकै नैतिक प्राधिकारको क्षेत्र हो । अलिकति हावा बग्दैमा दल छोडेर स्वतन्त्र उम्मेदवार घोषणा गर्नेहरू भने नैतिकता च्युत अवसरवादीहरू हुन् । जिन्दगीभरि दलीय प्रणालीका लागि लडेर, दलीय प्रणालीको पक्षपोषण गरेकाहरू अलिकति हल्ला र हावाको अनुकूलता पाउने वित्तिकै स्वतन्त्र भएको अभिनय गर्छन् भने त्यो कुनै नैतिक उपक्रम हुँदैहैन ।

अन्ततः किन दल नै चाहिन्छ ?

जर्ज वर्कलेले भनेका थिए- ‘दलीय प्रणाली चाहे त्यो राम्रो होस् वा नराम्रो, लोकतान्त्रिक शासन पद्धतिको अनिवार्य शर्त हो ।’ राजनीतिक दल असल वा खराब हुन सक्छन् । लोकपि्रय वा अलोकपि्रय हुन सक्छन् । साना वा ठूला हुन सक्छन् । क्षेत्रीय वा राष्ट्रिय हुन सक्छन् । उदारवादी वा अनुदारवादी हुन सक्छन् । पुँजीवादी, साम्यवादी वा अरू कुनै विचारधाराका हुन सक्छन् ।

असल, लोकपि्रय र राम्रा दल हुनु लोकतन्त्रको सौभाग्य हो तर खराब, अलोकपि्रय र नराम्रा नै भए पनि दल विना लोकतन्त्र क्रियाशील हुन सक्दैन । लोकतन्त्र भनेको दलीय प्रणाली मात्र हैन, त्यसका अरू थुप्रै पक्ष र शर्त छन् तर दल ती ‘रिक्वायरमेन्ट’ मध्ये एक हो, दल विना लोकतन्त्र चल्न सक्दैन ।

बेलायतलाई दलीय लोकतन्त्रको जननी मुलुक भनिन्छ । बेलायतको लोकतन्त्र संविधान विनाको लोकतन्त्र हो तर, त्यहाँ प्रारम्भदेखि नै टोरी र हृवीङ दल थिए । अमेरिकी लोकतन्त्र सबैभन्दा पुरानो ‘संवैधानिक लोकतन्त्र’ हो । रमाइलो कुरा- अमेरिकी संविधान दलहरूको अस्तित्व र भूमिकाबारे मौन छ तर त्यहाँ प्रारम्भदेखि नै ‘फेडेरालिष्ट’ र ‘एन्टि-फेडेरालिष्ट’ समूह थियो जो, प्रकारान्तरले दल बने । संसारभरि नै लोकतन्त्रका उदाहरण यस्तै छन् ।

केही त्यस्ता प्राकृतिक कारण छन् जसले लोकतन्त्रमा दलहरूको अस्तित्व र भूमिकालाई अनिवार्य वा अपरिहार्य बनाउँछन् । लोकतन्त्रमा कुनै दल वा त्यसको शासनको अन्त्य र नयाँ दलको उदय पनि एक प्रकारको क्रान्ति हो । भारतमा आप र अरविन्द केजरीवालको उदय एकप्रकारको क्रान्ति हो, जसले ‘कांक युग’ लाई अन्त्य गर्न महत्वपूर्ण भूमिका खेल्यो ।

प्रथमतः राजनीतिक दलले नागरिक अभिमतको प्रतिनिधित्व मात्र हैन, मतदाता मनोविज्ञानको निर्माण र विनिर्माण पनि गर्दछन् । यो प्रक्रियाले समाजलाई गतिशील राख्दछ । दलीय प्रक्रियाले विचार, दृष्टिकोण, एजेण्डा, रणनीति र संस्कृतिका अनेक आयाम नागरिक बीच उजागर र प्रवाहित हुन्छन् । ठूला, शक्तिशाली र मूलधार दललाई चुनौती दिने स्पेस समेत दलीयताले उपलब्ध गराउँदछ । दलीय भिन्नता र बहसले मतदाताको मस्तिष्क विचार र एजेण्डाको खेलमैदान बन्दछ । दलहरू जनताको मस्तिष्क मन्थनका औजार हुन् र यो राजनीतिक मात्रै नभएर सामाजिक गतिशीलताको समेत द्योतक हो ।

दोस्रो- राजनीतिक दलले समान विचार, सिद्धान्त, आकांक्षा र स्वार्थ भएको मानव समुदायलाई संगठित प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्दछ । संगठनको अधिकार क्रियाशील हुन्छ । र कलियुगको सबैभन्दा ठूलो शक्ति संगठन नै हो ।

राजनीतिक दलको जुन संगठनात्मक सञ्जाल हुन्छ, त्यसले दलको संगठनमा, अधिवेशन तथा सम्मेलनमा, आमसभा, आन्दोलन, प्रदर्शन, विरोध वा समर्थन कार्यक्रममा व्यक्तिले आफूलाई समूहमा, शक्ति संरचनामा सामेल भएको अनुभूति गर्छ । व्यक्तिको आत्मविश्वास बढेर जान्छ । व्यक्ति र समाजको अन्तरक्रिया सघन हुन्छ । व्यक्तिले आफूलाई ‘अलगाव’ बाट ‘अन्तरसम्बन्ध’ तिर, ‘महत्वहीनता’ बाट ‘महत्ता’ तिर, ‘लघुताभाष’ बाट ‘आत्मगौरव’ तिर ‘परिचयहीनता’ बाट ‘पहिचान’ तिर, ‘जिम्मेदारीहीनता’ बाट ‘उत्तरदायित्व’ तिर उकास्दछ ।

पार्टी संगठनको शक्ति सामाजिक शक्ति सन्तुलनको आधार बन्दछ । त्यसले सामाजिकस्तरमा हुने शोषण, दमन, अन्याय र अत्याचारलाई न्यूनीकरण गर्न मद्दत गर्दछ । दलहरूले ‘आम मनोविज्ञान’ मा निहित हुने अलगाव, दुश्चिन्ता, अस्तित्व भय, पहिचानहीनता आदि समस्या र संकटको उपचार गरिरहेका हुन्छन् ।

तेस्रो- दलहरूले राज्य संचालक तथा नीतिनिर्माताको वैधानिक परिपूर्ति गर्दछन् । लोकतन्त्रमा शासकीय वैधता नागरिक अनुमोदनबाट हासिल हुन्छ । व्यक्ति प्रतिस्पर्धी हुन सक्दछ तर स्वेच्छाले शासक हुन सक्दैन । यदि दलहरू नहुने हो भने दलीय प्रतिस्पर्धामा आधारित निर्वाचन हुन सक्दैन । फलतः शासकीय वैधताको जन्म हुँदैन । संसदीय प्रणालीमा त दलको भूमिका झनै बढी हुन्छ । यस प्रणालीमा संसदीय दलमार्फत शासनकर्ताको उदय हुने हो । मानौं कि संसदमा स्वतन्त्र सांसदको बहुमत भयो, संसदीय प्रणाली कसरी क्रियाशील होला ?

चौथो- दलहरूले सामाजिक स्वार्थ-समूहको भवनालाई मूलप्रवाहीकरण गर्दछन् । समाजमा विभिन्न प्रकारका जातीय, भाषिक, सामाजिक, सांस्कृतिक तथा क्षेत्रीय समुदाय/उपसमुदाय हुन्छन् । तिनको स्वार्थ फरक-फरक हुनसक्छ । दलहरूले फरक स्वार्थ समूहलाई साझा थलोमा ल्याउँछन् र राजनीतिक कार्यक्रमको ‘रसायन’ ले जोड्दछन् । सामाजिक रेसाको रक्षा र सामाजिक संयान्त्रिकीको भूमिका गर्दछन् ।

दलीय संगठनमा जाति, धर्म, वर्ग, वर्ण, लिंग र समुदायको सहभागिता र प्रतिनिधित्वले ती सामाजिक समूहबीचको मनोवैज्ञानिक दूरी घटाउन योगदान गर्दछ । वस्तुतः यो राष्ट्र निर्माणको महान् प्रक्रिया दलहरूको विशिष्ट योगदान बन्न पुग्दछ ।

यस्ता थुप्रै कारण छन्, जसले लोकतन्त्र र दलीय अस्तित्वको औचित्यको पुष्टि गर्दछन् । तसर्थ दलहरूप्रति जनताको विद्यमान निराशा, घृणा र वितृष्णा तत्कालका लागि फाइदाजनक भए पनि दीर्घकालका लागि एक चिन्ताको विषय हो । ‘लोकतान्त्रिक घाटा’ को विषय हो ।

दलहरूसँग रिस उठे अझ राम्रा र नयाँ दलहरू बनाउने प्रयत्न गरौं तर दलीय प्रणालीप्रति नै वितृष्णा सृजना गर्ने काम कसैले नगरौं । यो प्रवृत्ति भविष्यमा कुनै ठूलो दुर्घटनाको कारकतत्व बन्न सक्दछ ।

लेखकको बारेमा
डम्बर खतिवडा

राष्ट्रिय राजनीतिमा सशक्त कलम चलाउने राजनीतिक विश्लेषक डम्बर खतिवडाको नियमित स्तम्भ 'अग्रपथ' हरेक आइतबार प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?