+
+
ब्लग :

राष्ट्रिय गान मातृभाषामा अनुवाद खोइ ?

विविधता संरक्षण गर्न अमेरिकाले आह्वान गर्ने डाइभर्सिटी भिसा लोटरीमा आवेदन दिने नेपाली युवापुस्ता मधेशका सीमान्तकृत समुदायका कुनै जनप्रतिनिधिले नेपाली भाषामा राष्ट्रिय गान गाउन सकेन भनेर खिसिटिउरी गर्छ त्यो पनि सामाजिक सञ्जालमा। उसको चेतनालाई आधुनिक सभ्यताले जिस्काइरहेको कुरा कसले बुझाइदिने ?

राजेश विद्रोही राजेश विद्रोही
२०७९ असार १२ गते १८:०५

केही दिनअघि संघीय सरकारले महोत्तरीको बर्दिबासमा मधेश प्रदेश स्तरीय निर्वाचित मेयर उपमेयर जनप्रतिनिधिहरूको लागि स्थानीय सरकार सञ्चालन सम्बन्धी दुईदिने विचार गोष्ठी आयोजना गरेको थियो। गोष्ठीमा मधेश प्रदेशमा रहेका ८ जिल्लाका १३६ स्थानीय तहका मेयर उपमेयरहरूको उपस्थिति थियो। दुईदिने उक्त विचार गोष्ठीका लागि बर्दिबासका अधिकांश होटल रिजर्भ थिए।

एकजना पत्रकार सोही कार्यक्रम हलभित्र प्रवेश गरेछन्। र, केही मेयर उपमेयरहरूलाई राष्ट्रिय गान सम्बन्धी प्रश्न गर्न थाले। तर, एकजनालाई पनि नेपाली भाषामा रहेको राष्ट्रिय गान राम्ररी गाउन आएन।

ती जनप्रतिनिधिहरूमाथि निकै खिसिटिउरी भयो। यो विषय सामाजिक संजालमा निकै भाइरल भयो। यतिसम्म कि संसद बैठकमा समेत यो विषय उठाइयो। तर, गर्नुपर्ने प्रश्न गरिएको छैन। नगर्नुपर्ने प्रश्न र अफवाह फैलाइएको छ।

नेपाल बहुजाति, बहुभाषा र बहुसंस्कृति भएको देश हो। भौगोलिक विविधताभित्र मौलाएको सांस्कृतिक विविधता यहाँको सम्पत्ति हो। तर, पहाडी नश्लवादी शासकहरूले एक भाषा, एक भेषको नीति ल्याएर भाषिक दमन र ज्यादती गर्दै आइरहेका छन्। मैथिली संस्कृतिमा हुर्किएको मानिस र पहाडको पनि खस-आर्य समाजमा हुर्किएको मानिसलाई एउटै भाषा थोपरेर असमानबीच समान प्रतिस्पर्धा गराइनु आफैंमा प्राकृतिक न्यायको सिद्धान्त विपरीत हुनजान्छ। तर, यस्तै भइरहेको छ।

हो, जनप्रतिनिधिले मात्र होइन, मुलुकका हरेक नागरिकले देशको राष्ट्रिय गान गाउन जान्दा राम्रो। तर नजान्दैमा ऊ अपराधी भइहाल्यो ? अराष्ट्रिय भइहाल्यो ? सवाल गरिनुपर्ने वास्तवमा अरु नै विषय छन्। मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको दशक बितिसक्दा पनि देशको राष्ट्रिय गान किन यहाँका विभिन्न मातृ भाषामा अनुवाद गरिएन ? किन हरेक भाषाहरूमा गाइएन ?

यो प्रश्न न जातीय मुक्तिको नारा लगाउनेहरूले उठाए न त नेपालको पत्रकारिता जगतले उठायो। एकात्मक केन्द्रीकृत शासन व्यवस्थाले हाम्रो मस्तिष्कलाई यस्तै बनाइदिएको छ। एक भाषा एक भेषको ह्याङओभरले हामीलाई गाँजिरहेको छ। अझै पनि लोकसेवादेखि विभिन्न सरकारी कामकाजमा केवल एक खस भाषाकै हालीमुहाली छ। यस्तो अभ्यासबाट मुलुकमा रहेका विविधतायुक्त भाषा संस्कृतिहरू ओझेलमा परिरहेका छन्। भाषामाथिको हमला भनेको संस्कृति र पहिचानमाथिको हमला हो। एउटा जातिको सभ्यतामाथिको हमला हो। यो आधुनिक विश्वमा सह्य विषय होइन।

संसारका कैयौं देशमा त्यहाँको राष्ट्रिय गान देशभित्र विद्यमान रहेका विभिन्न मातृ भाषामा अनुवाद गरिएको हुन्छ। नागरिकले आफूलाई सजिलो लाग्ने भाषामा राष्ट्रिय गान गाउन सक्छन्। यो उनीहरूको आधारभूत मानवअधिकार पनि हो।

तर हाम्रो देशमा कुनै पनि शासकले यसमा लगानी गर्न र काम गर्न आवश्यकता नै महसुस गर्दैनन्। अनि कसैलाई राष्ट्रिय गान गाउन लगाएर सामाजिक सञ्जालमा ट्रोल बनाइन्छ। यो एकप्रकारको गम्भीर अपराध हो। आधुनिक सभ्यता नबुझ्ने पिछडिएको चेतनाले मच्चाएको बबण्डर हो। संघीयताको अभ्यास भन्ने, विकेन्द्रीकरण भन्ने तर एउटै भाषाको रजगजलाई संस्थागत गरिरहने अभ्यास संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संकथन र मर्मविरुद्धमा छ। यसरी जनताका छोराछोरीलाई बेवकुफ बनाउने अभ्यास बन्द गरिनुपर्छ।

संसद र सामाजिक सञ्जालका कुरा सुन्दा यस्तो लाग्छ कि हाम्रो देश संसारबाट कटिएको छ। वैश्विक चेतनाबाट कटेको छ। हामीलाई इतिहासमा कुनै एउटा जातिले अर्को जातिमाथि गरेको ज्यादतीविरुद्ध माफी माग्ने अष्ट्रेलियाको सरी डे बारे थाहा छैन। क्यानडामा संसदमा माफी माग्ने प्रधानमन्त्रीको अभ्यास थाहा छैन। राष्ट्रिय गान विभिन्न मातृ भाषामा रुपान्तरण हुने वैश्विक अभ्यासबारे केही थाहा छैन। यस्तो पिछडिएको चेतनाबाट हामीले समृद्ध नेपालको जग कसरी हाल्न सक्छौं ?

एउटा मगरको छोरोले आफ्नो देशको राष्ट्रिय गान मगर भाषामा गाउन किन नपाउने ? भोजपुरी भाषा संस्कृतिमा हुर्किएको बच्चाले भोजपुरी भाषामा राष्ट्रिय गान गाउन किन नपाउने ? रोल्पाबाट रुमानी क्रान्तिको रथमा काठमाडौं भित्रिएका नेताहरूले यी सबै कार्यभार भुलिसके। न त मधेश मुक्तिको ठेक्का लिएका नेताहरूले भाषिक ज्यादतीको मर्म बुझेका छन्।

यी मुद्दामा बौद्धिक विमर्श गर्न हाम्रो बौद्धिक समुदायलाई कसले रोकेको छ ? अझ नयाँ पुस्ता त भीडको पछाडि दगुर्छ। विद्यालय शिक्षा त्यस्तै छ। हाम्रो भाषिक र सांस्कृतिक विविधताको शक्तिबारे उनीहरुलाई बुझाइएको छैन। समावेशिताको शक्तिबारे सिकाइएको छैन। विविधता संरक्षण गर्न अमेरिकाले आह्वान गर्ने डाइभर्सिटी भिसा लोटरीमा आवेदन दिने नेपाली युवापुस्ता मधेशका सीमान्तकृत समुदायका कुनै जनप्रतिनिधिले नेपाली भाषामा राष्ट्रिय गान गाउन सकेन भनेर खिसिटिउरी गर्छ त्यो पनि सामाजिक सञ्जालमा। उसको चेतनालाई आधुनिक सभ्यताले जिस्काइरहेको कुरा कसले बुझाइदिने ?

संघीयतामा प्रवेश गरेको दशक बढी भइसक्यो। तर, अझै पनि हामी पुरानै आधार र चेतनामा बाँचिरहेका छौं। कुरा मात्र हामी नयाँ-नयाँ गर्दैछौं। तर त्यो आदर्शले हामीलाई नयाँपन र नयाँ जीवन दिन सकिरहेको छैन। कस्तो विडम्बना छ !

पंक्तिकारको ती जनप्रतिनिधिलाई प्रश्न छ- अब त कम्तीमा स्थानीय तहमा रहेका भाषामा राष्ट्रिय गान अनुवाद गर्ने र गाउन सिकाउने अभ्यास सुरु गर्नु हुन्छ कि ? यस्तो चेतना भयो भने तपाईंले सस्ता प्रश्न गर्ने पत्रकारलाई महँगो प्रश्न गर्न सक्नुहुन्छ र भन्न सक्नुहुन्छ- पत्रकार महोदय- प्रश्न गर्नुभन्दा अगाडि आफूले के प्रश्न गरिरहनुभएको छ तपाईंलाई थाहा हुनुपर्छ।

एउटा जनप्रतिनिधिको रुपमा हरेक नेताहरूले यस्ता भाषिक विभेदको विरुद्ध अभियान छेड्न आवश्यक छ। रुपान्तरणको कार्यक्रम ल्याउन आवश्यक छ। हाम्रा अग्रजको संघर्ष र बलिदान यस्तो घिसेपिटे नेतृत्व र कार्यशैलीका लागि होइन।

राष्ट्रिय गान देशको साझा सम्पत्ति हो। जहाँ देशको गौरव हुन्छ। यस्ता कुरालाई सानो र कमजोर आँक्नु हुँदैन। यसर्थ आफ्नो देशको राष्ट्रिय गान थाहै नहुने र आफ्नो मातृभाषा र संस्कृतिको कुरा गर्न नसक्ने प्रतिनिधिहरूबाट देश र जनताको अपेक्षा कसरी पूरा गर्न सक्छन् भन्ने प्रश्नको वस्तुनिष्ठ जवाफ अब हरेक जनप्रतिनिधिले दिन सक्नुपर्छ।

लेखकको बारेमा
राजेश विद्रोही

राष्ट्रिय दलित मुक्ति जागरण अभियानका केन्द्रीय संयोजक रहेका लेखक समसामयिक विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?