+
+

रामकुमारीको त्यो हाँसो, यो आँसु

शहरी विकास मन्त्रालयले ‘पत्रकार सम्मेलन र फेरि भेटौंला’ कार्यक्रम राखेको थियो, तर आधा घण्टाभन्दा लामो कार्यक्रम अवधिभर झाँक्री निकै भावुक भइन् । सुरुमा उनले आँसु लुकाउन खोजेकी थिइन्, तर आफैंलाई सम्हाल्न सकिनन् ।

अमृत चिमरिया अमृत चिमरिया
२०७९ असार १२ गते २०:५६

१२ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले सहरी विकास मन्त्रीका रुपमा ८ महिना २० दिन काम गरिन् । आइतबार राष्ट्रियसभामा मन्त्रालयगत बजेटबारे उठेको प्रश्नको जवाफ दिएपछि उनले मन्त्रालयबाट विदा लिइन् ।

त्यसको केहीबेरमा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरे, जसमा एकीकृत समाजवादीको सिफारिस अनुसार झाँक्रीको ठाउँमा मेटमणि चौधरी सहरी विकासमन्त्री बनेका छन् । झाँक्री २२ असोजमा मन्त्री बनेकी थिइन् ।

पदभार सम्हाल्दा देखिएको खुसी

विद्यार्थी राजनीति गर्दै नेकपा एमालेको केन्द्रीय राजनीतिमा पुगेकी झाँक्री २०७४ मा समानुपातिक निर्वाचन पद्धतिबाट प्रतिनिधिसभा सदस्य बनेकी थिइन् । यो अवधिमा एमाले र माओवादी केन्द्र मिलेर नेकपा बन्यो, संसद विघटनको विवादमा फुट्यो । सर्वोेच्च अदालतले २३ फागुन २०७७ मा नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र पुनर्स्थापित गर्‍यो, तर एमाले सहज रुपमा अघि बढ्न सकेन ।

माधवकुमार नेपालले २ भदौ २०७८ मा एकीकृत समाजवादी पार्टी बनाउँदा रामकुमारीले पनि साथ दिइन् । पार्टी सचिव बनेकी उनी मन्त्री पनि भइन् । सहरी विकासमन्त्रीको सपथ लिएर पदभार सम्हाल्दै गर्दा निकै खुसी देखिएकी थिइन् ।

झण्डै ९ महिनाको अवधिमा उनले दीर्घकालसम्म प्रभाव पार्ने नीतिगत काम गरेको दाबी गरेकी छन् ।

मन्त्रालयका निमित्त सचिव पदमराज मैनालीले झाँक्री जतिको मन्त्री पाउन गाह्रो हुने बताए । विषयको जानकारी नभई शहरी विकासको नेतृत्व गर्न नसक्ने भन्दै उनले भने, ‘यो सेक्टरमा इन्ट्री गरेर टर्मिनोलोजीहरुबाट छिर्न मोटिभेट नभई लिड गर्न गाह्रो हुन्छ । मन्त्रीज्यूले ठ्याक्कै लिड गर्नु थाल्नुभएको थियो ।’

झाँक्रीले क्याडर्सहरुले प्रयोग गर्ने भाषा बोल्न थालिसकेको भन्दै उनले भने, ‘यत्तिको सक्रिय मन्त्री पाउन चाहिँ गाह्रै हुन्छ ।’ मन्त्रालयको कर्मचारीहरुले जनताको भाषा बोल्ने मन्त्री खोजेको र रामकुमारीले त्यही गरेको भन्दै उनले भने, अब ६–८ महिना मन्त्रीज्यू बस्नुभयो भने उहाँले चाहिँ हामीलाई सिकाउनुहुन्छ ।’

विदाइमा गहभरि आँसु

मन्त्री झाँक्रीका अनुसार गत चैतमा नै मन्त्री हेरफेरका लागि कसरत सुरु भएको थियो । पार्टीकै सांसदहरुले महिना गन्न थालेपछि उनीहरुले पार्टी अध्यक्षलाई भेटेर सरकारबाट फिर्ता बोलाउनुअघि जानकारी दिन आग्रह गरेका थिए । ‘मिडियाबाट थाहा भयो भने रमाइलो हुन्न । पूर्वजानकारी भयो भने वातवरण बनाउँछौं भनेका थियौं,’ त्यो सम्वाद स्मरण गर्दै उनले भनिन् ।

वैशाख ३० मा स्थानीय चुनाव भयो । मत गणना सकिएलगत्तै एकीकृत समाजवादीले चुनावी समीक्षाका लागि बैठक बोलायो । २२ जेठमा बसेको सचिवालय बैठकले एकाएक मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गर्‍यो । अनि, रामकुमारीहरुले जे नहोस् भनेका थिए, त्यही भयो । फिर्ता बोलाएको सूचना मिडियाबाटै थाहा पाए ।

त्यसपछि पनि आफूले बनाएको बजेटको बचाउ गर्न पाउँ भनेर नेतृत्वलाई भनेको उनले सुनाइन् । त्यसअनुसार प्रधानमन्त्रीसँग कुरा गरेको भन्दै झाँक्रीले भनिन्, ‘आफूले गरेको सांसदमा काम भन्न र स्थापित गर्न पनि रहर थियो ।’

तर एकीकृत समाजवादीले यति धेरै दबाव दियो कि बजेट पास हुँदासम्म उनीहरु मन्त्री रहने अवस्था भएन । शनिबार एकीकृत समाजवादीले अब पर्खिन नसक्ने निर्णय गरेपछि आइतबार नै मन्त्रीहरुले राष्ट्रियसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिए र हतारहतार गर्दै मन्त्रालयबाट विदा भए ।

शहरी विकास मन्त्रालयले ‘पत्रकार सम्मेलन र फेरि भेटौंला’ कार्यक्रम राखेको थियो, तर आधा घण्टाभन्दा लामो कार्यक्रम अवधिभर झाँक्री निकै भावुक भइन् । सुरुमा उनले आँसु लुकाउन खोजेकी थिइन्, तर आफैंलाई सम्हाल्न सकिनन् ।

पार्टी अध्यक्ष, प्रधानमन्त्री र मन्त्रालयको टिमलाई धन्यवाद दिएपछि उनले प्रश्न लिन खोजिन् । पत्रकारले ‘पदभार ग्रहण गर्दा खुसी देखिएकी तपाई आज धेरै भावुक हुनुभयो ।

मैले चाहे अनुसार काम गर्न पाइनँ भन्ने लागेको छ’ भनेर प्रश्न गरेपछि उनले बरर आँसु झरिन् । उनले ‘अलि रिस उठ्ने प्रश्न गर्नुस्, त्यसो भयो भने बोल्न सक्छु’ भन्दै ठट्टा गरिन् । आँसु रोक्न सकिनन् ।

पटकपटक प्रयास गर्दा पनि बोल्न नसकेपछि उनले भोलि आफ्ना धारणा लिखित रुपमै राख्छु भन्दै विदा भइन् । उनले इमोसनल भएर नै प्रश्नलाई पन्छाउन खोजेको भन्दै अन्यथा नलिन आग्रह गरिन् ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?