+
+

चितवनको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमण बढ्यो

बाघको संख्या पनि बढेको संकेतले संरक्षणकर्मी खुसी

सुवास पण्डित सुवास पण्डित
२०७९ असार १४ गते १७:५३

१४ असार, चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र राष्ट्रिय वन क्षेत्रमा बाघको आक्रमणबाट चालु आर्थिक वर्षमा १६ जनाको मृत्यु भयो । राष्ट्रिय निकुञ्ज क्षेत्रको यो घटना संख्या अघिल्लो वर्षको तुलनामा १० ले बढी हो ।

मध्यवर्ती क्षेत्रमा मात्रै चालु आर्थिक वर्षमा १३ जनाको ज्यान बाघले लिएको छ । ती १३ जनाका परिवारलाई क्षतिपूर्ती स्वरूप १ करोड ३० लाख रकम दिएको निकुञ्जले जनाएको छ ।

पूर्वी र पश्चिमी चितवनको राष्ट्रिय वन तथा मध्यवर्ती क्षेत्रमा मानिसमाथि बाघको आक्रमण बढ्दै जाँदा संरक्षणकर्मीहरु भने बाघको संख्या बढेको संकेत देखिएको भन्दै उत्साहित छन् ।

निकुञ्जको तथ्यांकअनुसार चालु आवमा मध्यवर्ती क्षेत्रमा मात्रै बाघको आक्रमणबाट १३ जनाको मृत्यु भएको छ । १ जनाको निकुञ्जको कोर क्षेत्रमा र २ जनाको डिभिजन वनको क्षेत्रमा आक्रमणमा परेर मृत्यु भएको छ ।

बुढा हुँदै गएका बाघहरुको बासस्थान रहेको मध्यवर्ती क्षेत्रमा यस्ता घटना बढी छन् । मालिका सामुदायिक वन मेघौलीका अध्यक्ष मोतीप्रसाद भुसाल निकुञ्ज र वन कार्यालयले आक्रामक वन्यजन्तु नियन्त्रण सम्बन्धी प्रभावकारी काम नगर्दा मानिसमाथि खतरा बढेको बताउँछन् ।

नियन्त्रणमा लिइएका चार बाघ खोरमा

मध्यवर्ती क्षेत्र र विभिन्न वन क्षेत्रमा मानिसलाई आक्रमण गरेर ज्यान लिने बाघलाई नियन्त्रणमा लिएर राख्ने काम चितवन राष्ट्रिय निकुञ्जले गर्दै आएको छ ।

निकुञ्जको मुख्यालय कसरामा २ र सौराहामा २ वटा बाघलाई नियन्त्रणमा लिएर खोरमा थुनेर राखिएको छ । असार २ गते र जेठ २७ गते मानिसको ज्यान लिने बाघलाई नियन्त्रणमा लिएर सौराहामा राखिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।

उनका अनुसार, ती दुबै आक्रमण एउटै बाघले गरेको थियो । गत वैशाख १६ गते कोल्हवी ४ बाराका रमेश चौधरीको ज्यान लिने बाघलाई वैशाख २१ गते नियन्त्रणमा लिइयो ।

मान्छे आक्रमण गरेपछि नियन्त्रणमा लिइएको बाघ ।

चारवटै खोर बाघले भरिएका छन् । अर्को नरभक्षी बाघ थुन्नुपर्ने अवस्था आउन सक्ने सम्भावनालाई ध्यानमा राखेर निकुञ्जले खोर तयार गरिरहेको छ ।

बाँकेमा पाँच जना मार्ने बाघलाई पनि नियन्त्रणमा लिएर सौराहामै ल्याएर राखिएको छ । एउटा बाघलाई दैनिक पाँचदेखि सात किलो मासु चाहिने निकुञ्जका सूचना अधिकारी तिवारीले बताए । उनका अनुसार, वन्यजन्तु उद्धार तथा व्यवस्थापन शीर्षकमा छुट्टनिे रकम र दाताहरूको सहयोगबाट बाघको लागि मासु जुटाउने गरिएको छ ।

नियन्त्रणमा लिइएका बाघलाई सकेसम्म जंगलमा छोडिदैन । बाघले आनीबानी परिवर्तन गर्न थालेपछि रेडियो कलर मेसिन जोडेर निकुञ्जको कोर क्षेत्रमा लगेर छाड्ने गरिन्छ ।

किन आक्रमण गर्छ बाघले मान्छेलाई ?

सामान्यतः बाघले आहाराका लागि जनावरलाई नै आक्रमण गर्छ । आपत्कालीन अवस्थामा भने मान्छेमाथि पनि आइलाग्न सक्छ । बाघले गाउँमा पसेर आक्रमण गरेका घटना निकै कम छन् । ‘मध्यवर्ती क्षेत्र भने पनि बाघकै ठाउँ हो, हामी नै उसको क्षेत्रमा गएका हौं’, बाघमा पीएचडी चिरन पोखरेल भन्छन्, ‘मध्यवर्ती क्षेत्रमा आश्रति जनताको जीविकोपार्जनमा वैकल्पिक व्यवस्था गरे आक्रमण रोकिन्छ ।’

उनका अनुसार बलियोबाट लखेटिएको, घाइते भएको, बुढो बाघ वा डमरुहरु लिएर हिँडेेकी बघिनीले मान्छेलाई आक्रमण गर्छ । चहकिलो रातो, पहेलो रंगको कपडाहरुले बाघलाई आक्रामक बनाउने उनले बताए ।

‘बलियो बाघले आफ्नो ‘टेरिटोरी’बाट लखेट्ने कमजोर बाघहरु मध्यवर्ती क्षेत्रतर्फ आउँछन्’, डा. पोखरेल भन्छन्, ‘जवान भाले बाघले ३० देखि ५० वर्गकिलोमिटर र पोथी बाघले २५ देखि ४० वर्गकिलोमिटर क्षेत्रलाई आफ्नो टेरिटोरी बनाउने गर्छन् ।’

उनका अनुसार, एउटा भाले बाघले ३ देखि ५ वटासम्म पोथी बाघलाई आफ्नो टेरिटोरीभित्र लिन्छ । त्यसले अरु भाले बाघलाई सहँदैन ।

मृत्यु संख्याले बढायो क्षतिपूर्ती रकम

जंगली जनावरको आक्रमणबाट मृत्यु हुनेको परिवारलाई निकुञ्जले १० लाख रुपैयाँ क्षतिपूर्ती उपलब्ध गराउँदै आएको छ । घाइते भएकालाई एक लाखसम्म उपचार खर्च दिने गरेको छ ।

चालु आर्थिक वर्षमा जंगली जनावरको आक्रमणबाट मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ती स्वरूप १ करोड ३० लाख रकम निकुञ्जले दिएको छ । घाइते ४३ जनालाई २८ लाख १८ हजार रुपैयाँ उपचार खर्च दिएको निकुञ्जका सूचना अधिकारी तिवारीले बताए ।

गत वर्ष जंगली जनावरको आक्रमणबाट मृत्यु भएकाका परिवारलाई राहत रकम स्वरुप १ करोड २० लाख दिइएको थियो । ४५ जना घाइतेहरुको उपचारका लागि २६ लाख ५२ हजार रकम दिइएको थियो ।

चालु आबको हालसम्म बाघ, गैंडा र जंगली हात्तीको आक्रमणबाट २४ जनाको मृत्यु भएको छ । त्यसका लागि निकुञ्जले १ करोड ९० लाख रकम क्षतिपूर्ती वितरण गरेको जनाएको छ ।

बाघले मानिसलाई आक्रमण गरेको घटना विवरण

गएको वर्ष साउन ३० गते खैरहनी नगरपालिका- १३ का ६६ वर्षीय भदै महतोको कुमरोज सामुदायिक वनमा घाँस काट्न गएको बेला बाघको आक्रमणबाट मृत्यु भयो ।

लगत्तै भदौ २१ गते भरतपुर महानगरपालिका-१३ का ५५ वर्षीय बसन्तमणी सुवेदीलाई दक्षिणकाली मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका बेला बाघले ज्यान लियो । असोज १३ गते कुमरोज वनमा नै घाँस काट्न गएका खैरहनी- १३ का २५ वर्षीय दिनेश बोटेलाई बाघले मार्यो ।

मंसिर १२ गते वन हेरालु काम गर्ने नवलपरासीको विनय त्रिवेणी गाउँपालिका १ का ६३ वर्षीय जीतबहादुर कामी र मध्यविन्दु नगरपालिका १२ की ३९ वर्षीया बरिसा सारुको बाघले आक्रमण गर्दा मृत्यु भयो ।

मंसिर २२ गते भरतपुर १३ का ६८ वर्षका डिल्लीराज श्रेष्ठलाई छितामाई देवालयमा पूजा गर्न जाँदा बाघले आक्रमण गर्दा उनको ज्यान गयो । फागुन १२ गते निकुञ्जको कोर क्षेत्रमा पुगेकी भरतपुरकी तिजा सर्किनी, चैत २० गते भरतपुर महानगरपालिका २३ का सुरेश सुनार, चैत २४ गते भरतपुरका प्रेम परियार, चैत २६ गते खैरहनी १२ का रमेशप्रसाद धमलाको पनि बाघको आक्रामणबाट मृत्यु भयो ।

१६ वैशाख २०७९ मा कोल्हवी-४, बाराका रमेश चौधरी, १८ गते खैरहनी-१२ का नारायणबहादुर दाहाल, जेठ ८ गते भरतपुर-१३ की फूलकुमारी बोटे, जेठ १६ गते राप्ती नगरपालिका-१ की सोतीमाया तामाङ, जेठ २४ गते भरतपुर-२३ की मंगली बोटे र असार २ गते भरतपुर २७ की रेखा बस्नेतको बाघको आक्रमणमा मृत्यु भयो ।

पछिल्लो पटक यही असार २ गते पश्चिम मेघौली सामुदायिक वनमा साथीहरुसँग निगुरो टिप्न गएकी पूर्वम्यादी प्रहरी रेखा बस्नेतको बाघको आक्रमणबाट मृत्यु भएको थियो ।

त्यसअघि जेठ २४ गते बाघले निकुञ्जको मुख्यालय कसरा नजिकै घैलाघारी मध्यवर्ती सामुदायिक वनमा निगुरो टिप्न गएकी भरतपुर-२३ कि मंगली बोटेको ज्यान लिएको थियो ।

गत जेठ २७ मा एकै दिनमा दुई ठाउँमा बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणमा परेका राप्ती नगरपालिका-१ पिप्ले डिपार्टका ४३ वर्षीय इन्द्रबहादुर वाइबा तामाङ घाइते भए भने भरतपुर-२४ का ४३ वर्षीय राजेश वाइवा भाग्न सफल भए ।

बाघ बढेको भन्दै संरक्षणकर्मीहरू उत्साहित

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बाघको गणना सकेर अहिले तथ्यांक केलाउने काम भैरहेको छ । प्रारम्भिक तथ्यांक विश्लेषणले संरक्षणकर्मीहरुलाई उत्साहित बनाएको छ ।

१२ वर्षमा बाघ संख्या दोब्बर बनाउने लक्ष्यसहित नेपालले सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा गरेको संकल्प पूरा हुने संकेत मिलेको उनीहरुको भनाइ छ ।

नेपालले २००९ को बाघ संख्या १२१ लाई आधार मानेर २०२२ मा दोब्बर बनाउने प्रतिवद्धता अन्तर्राष्ट्रिय समुदाय समक्ष गरेको थियो ।

त्यसो त नेपालले २०१८ मा नै लक्ष्य नजिक पुगेको थियो । त्यसबेला नेपालमा २३५ बाघ रहेको तथ्यांक सार्वजनिक भएको थियो ।

पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्ज ९३, बर्दिया राष्ट्रिय निकुञ्ज ८७, बाँके राष्ट्रिय निकुञ्ज २१, पर्सा राष्ट्रिय निकुञ्ज १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती र आसपासका वन क्षेत्रमा १६ बाघ भेटिएका छन् ।

चितवन, पर्सा, बर्दिया राष्ट्रिय निकुञ्जसहित राष्ट्रिय वन क्षेत्रमा गरिएको गणनाले बाघको उपस्थिति निकै राम्रो देखाएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख बाबुराम लामिछानेले बताए ।

उनका अनुसार, विश्व बाघ दिवसका दिन साउन १३ गते नतिजा सार्वजनिक हुनेछ ।

सन् २०१३ को गणनाअनुसार नेपालमा बाघको संख्या १९८ थियो । नेपालले विसं २०६७ देखि बाघ दिवस मनाउँदै राष्ट्रियस्तरमा बाघ गणनासमेत गर्दै आएको छ ।

नेपालमा बाघको संख्या सन् १९९५ मा ९८, २००० मा १०९, २००५ मा १२६, २००९ मा १२१ र २०१३ मा १९८ थियो ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?