+
+
एसीसी महिला टी–२० च्याम्पियनसिप :

पानीले बगाएको सपना सम्झेर अझै रसाउँछन् रुविनाका आँखा

नमिता दाहाल नमिता दाहाल
२०७९ असार १४ गते १८:२७
नेपाली क्रिकेट टिमकी कप्तान रुविना क्षेत्री । तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

१४ असार, काठमाडौं । करिब दशकदेखि नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानी सम्हालिरहेकी रुविना क्षेत्री करिअरको उत्तरार्द्धतिर छिन् ।

मलेसियामा हालै सम्पन्न एसीसी महिला टी–२० च्याम्पियनसिप जितेर एसिया कपमा छनोट हुँदै करिअरमा एउटा इँटा थप्ने उनकाे ठूलो सपना थियो । तर त्यो सपना पूरा हुन नसक्दा उनमा ठूलो चोट परेको छ । मलेसियाको किनरारा ओभलमा युएईविरुद्धको सेमिफाइनलमा ब्याटिङ गर्नै नपाई हारको नतिजा स्वीकार्न नेपाली टिमलाई कठिन भएको थियो । खेलाडीहरु मैदानमै रोइरहेका थिए, नेपाली अफिसियललाई सम्झाउन हम्मे हम्मे परेको थियो ।

क्रिकेटलाई भाग्यको खेल पनि भनिन्छ । एसीसी महिला टी–२० च्याम्पियनसिपबाट नेपाल जसरी बाहिरियो, त्यसले त्यो उक्ति प्रमाणित भएको छ । मलेसियाको त्यो दुर्भाग्यलाई नेपाली खेलाडीले अहिलेसम्म पनि बिर्सिन सकेका छैनन् । गत शुक्रबार किनरारा ओभलमा आफ्नै आँखा अगाडी एउटा ठूलो सपना बगेको देखेका खेलाडीको आँखामा अहिलेसम्म पनि पीडा छचल्किन्छ ।

युएईसँगको त्यो सेमिफाइनलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । पहिलो अन्तर्राष्ट्रिय टुरमा नै चम्किएकी अस्मिना कर्मचार्यको बलिङले गर्दा युएईका कुनै पनि ब्याटर क्रिजमा लामो समय टिक्न सकेका थिएनन् । उनले ५ विकेट लिएको खेलमा स्पिनरद्वय इन्दु बर्मा र सीता राना मगरले क्रमशः ३ र २ विकेट लिँदै युएईलाई ८१ रनमै अल आउट गरेका थिए ।

८२ रनको लक्ष्य पाएको नेपाली टिममा उत्साह भरिएको थियो, पहिलो इनिङ्स सकिँदै गर्दा उत्साहित नेपाली टिम जितप्रति ९९ प्रतिशत ढुक्क थियो । ‘हामीले ९९ प्रतिशत खेल जित्छौं भन्ने थियो । तर खेल्नै नपाई खेल गुमाउँदा असाध्यै नराम्रो लाग्यो’, रुविनाले अनलाइनखबरसँग भनिन् ।

खेलाडीलाई हौसला दिँदै रुविना ड्रेसिङ रुममा छिरेकी थिइन् । नेपाली ब्याटर प्याड लगाएर ब्याटिङका लागि मैदान उत्रिन तयार थिए । ‘अघिल्ला क्रमका चार ब्याटर प्याड लगाएर खेल्न तयार भइ सकेका थियौं । बाहिर निस्किदाँ पानी परेछ । पानी परेर खेल रद्द भएको घोषणा भयो’, उनले मन अमिल्याउँदै भनिन् ।

युएईलाई अलआउट गरेर नेपाली टिम ड्रेसिङ रुममा पस्दासम्म पानी परेको थिएन । तर ब्याटिङमा निस्किनुअघि नै पानी परेर खेल रद्द भएको थियो ।

युएई समूह एको विजेता बनेर सेमिफाइनल पुगेको थियो भने नेपाल बीको उपविजेता बनेर । त्यसैले खेल रद्द भएपछि समूह विजेता भएका कारण युएई फाइनल पुग्यो भने नेपालको एउटा ठूलो सपना चकनाचुर भयो ।

‘जब मैले हात मिलाएर, युएईकी कप्तानलाई बधाई दिएर भित्र गएँ तब मलाई असाध्यै नराम्रो अनुभव भयो । एउटा सुनौलो अवसर पानीले बगायो भन्ने महसुस भयो ।’

कप्तान रुविना ड्रेसिङ रुममा भित्र पस्दा सबैको अनुहार निन्याउरो थियो । सबैका आँखा रसाएका थिए । प्रशिक्षक जगत टमटादेखि सबैका आँखामा आँसु थियो । बाहिर पानी झमझम परेको थियो, त्यो भन्दा ठूलो वेदनाको वर्षा नेपालको ड्रेसिङ रुममा भयो । नेपालले खेल गुमायो । सबै कुरा सकियो भन्ने भयो ।

युएईका टिम नेपालको ड्रेसिङ रुममा आएर उनीहरुलाई सान्वना दिन खोजे, तर ठूलो सपना गुमाएका नेपाली खेलाडीको आँखाबाट निरन्तर आँसुको भेल बग्यो । ‘कोसँग कुरा गरें, के के गरें मलाई होस नै छैन । कसैले कसैलाई केही भन्ने अवस्था नै थिएन सबैजना नराम्रोसँग टुटेका थिए’, रुविनाले भनिन् ।

‘भाग्यले साथ दिएन या भनौं मेरो लागि सफलता दिलाउन लेखेकै छैन’, एक दशक टिमको नेतृत्व गर्दा पनि कुनै अन्तर्राष्ट्रिय उपाधि उचाल्न नपाउनेको पीडा रुविनामा छ । ‘धेरै कुरामा चुकेको महसुस भयो । म आफैंलाई पनि अफै कति परिक्षा दिनु बाँकी रहेछ भन्ने भयो । कि म आफैं क्रिकेट छोडेर नै जाम् भन्ने जस्तो सम्म भइसकें ।’

नेपाली महिला टिमले गरेको त्यो बेलाको अनुभव बाहिर बसेर कसैले पनि अनुभव गर्न सक्दैनन् । ‘कसैले चाहेर पनि अनुभव गर्न नसक्ने वातावरण थियो । धेरै मुस्किल भयो । अब अर्को खेलमा राम्रो गर्ने बाचा भन्दा अरु केहि गर्ने अवस्था थिएन । यहि भनेर आफूले आफूलाई सम्हालेको छौं ।’ रुविनाले भनिन् ।

मलेसियाको त्यो दिन सम्झँदा बारम्बार रुविनाका गह भरिए । भक्कानिएर रोइन् पनि । त्यो क्षणको नमिठो अनुभवले उनलाई फेरि पनि रुवायो ।

‘आफ्नो हातमा ९९ प्रतिशत खेल हँदा हुँदै खेल गुमाउँदा जीवन नै सकिएको जस्तो अट्टाहस अनुभव भयो ।’ सोमबार बिहान नेपाल आइपुगेको नेपाली टिमले अझै पनि युएईसँगको खेल बिर्सन सकेको छैन । जीवनमा केही गर्न नसकेको अनुभव कप्तान रुविनासँग छ ।

नेपाली महिला टिम ठूलो सफलता पाउँदा पाउँदै ठेस् लागेको पहिलो पटक होइन । टिमले २०१६  को एसियन कपमा खेल्ने अवसर पाएको थियो । नेपालले पाएको त्यो हालसम्मकै ठूलो प्रतियोगिता थियो । यसमा नेपालको ब्याटिङ नचल्दा नेपाल खेलेका सबै पाँच खेल हारेर पुछारमा रहँदै बाहिरिएको थियो ।

नेपाली क्रिकेट जगतमा हेर्ने हो भने किनरारा ओभल नेपालका लागि अन्तिम खेलमा प्रतिकुल जस्तै हुन्छ । नेपाली यू–१९ पुरुष टिम पनि युएईसँगैकै खेलमा २०१९ मा यहि मैदानमा एक रनले पराजित भएको थियो । त्यो बेला पनि कारण थियो वर्षा, यस अर्थमा भन्ने हो भने किनरारा ओभलको त्यो मैदानमा नेपाली क्रिकेटको दुई महत्वपूर्ण अवसर बगेका छन् ।

कहाँ चुक्यो त नेपाल ?

‘मलेसियामा नेपालले आफ्नो सपना छोडेर आयौं ।’ धरमरिएको बोलीले सम्हालिँदै बोलिन् रुविना ।

खेलपछि एसीसीका कन्सल्टेन्टले आएर नेपाली टिमसँग कुरा गरे । ‘भारत र पाकिस्तानसँगको त्रिकोणात्मक सिरिजमा सामेल गराउने आश्वासन दिएका छन् । यो कुरा छिट्टै क्रिकेट संघमा आउला भन्ने आश छ’, रुविनाले भनिन् ।

एसीसी महिला टी–२० च्याम्पियनसिप गुमाए पनि आत्मविश्वास बढेको कप्तान रुविनाले बताइन् । ‘हामीलाई हाम्रो बलियो पक्ष थाहा भएको छ । एक प्रकारको आत्मविश्वास पनि आएको छ । केही नयाँ खेलाडीमा भएको डर, खेल्न सक्दैनौं कि भन्ने चिन्ता हटेको छ । त्यहि कुरा लिएर नेपाल फर्केका छौं ।’

नेपाली महिला क्रिकेटमा अहिले आएको मोमेन्टम कायम राख्न दीर्घकालीन सोचको खाँचो रहेको उनले औल्याएकी छिन् । मंगलबार भएको टिम र क्यानको संयुक्त बैठकमा उनले खेलाडीलाई सँगै राखेर प्रशिक्षण गराउन प्रस्ताव गरेकी छिन् ।

एकै ठाउँमा प्रशिक्षण गर्दा एकले अर्कालाई बुझ्ने र सच्याउने गर्दै प्रशिक्षण गर्दा सहज हुने उनको बुझाइ छ ।

हङकङ, युएई, मलेसिया जुन देशहरु नेपालभन्दा पछि थिए । थाइल्यान्ड र नेपाल सन् २०१२ तिर लगभग उस्तै प्रकृतिका टिम थिए । अहिले थाइल्यान्ड विश्वकप खेल्ने भइसकेको छ ।

नेपालसँगैका र पछि परेका राष्ट्रहरुले क्रिकेटमा गरेको प्रगतिबाट नेपालले सिक्नुपर्ने र गर्नुपर्ने कामहरु धेरै छन् । नेपालले महिला क्रिकेटलाई उकास्न दीर्घकालीन नीतिको अभाव देख्छिन् उनी । ‘यी जति पनि राष्ट्रहरुसँगको हाल नेपालको तुलना हुन्छ यी राष्ट्रहरुले पनि एक महिना वा सातामा नै पाएको सफलता होइन । यसका लागि स्थायी रुपमा फिटनेस ट्रेनर, निरन्तर प्रशिक्षणको जरुरत छ’, कप्तान रुविनाले भनिन् ।

दिन वा हप्तामा नै सुधार नहुने भएका कारण खेलमा लामो नीति बनाइ अघि बढ्नु पर्ने उनले बताइन् । ‘युएई र थाइल्यान्डमा यस्तै नीतिका कारण उनीहरु अगाडी छन् । उनीहरुको ४/५ जना खेलाडी एक्सपोज नहुँदो रहेछ । विदेशी प्रशिक्षणमा पठाउँदा रहेछन् । प्रतियोगितामा तीनै खेलाडी चल्दा रहेछन् ।’ नेपाली खेलाडीलाई पनि विदेशी प्रशिक्षणको खाँचो रहेको उनले बताइन् ।

भारत, बंगलादेश वा कुनै देशमा ब्याटर वा बलरको समूहलाई पठाएर प्रशिक्षण गराउन सक्ने वातावरण सिर्जना भएमा नेपाली महिला क्रिकेटको स्तर उन्नतीमा टेवा पुग्नेछ ।

नेपालले यो खेलबाट आफ्नो बलियो पक्ष र कमजोर पक्ष दुवै औल्याएको कप्तान रुविनाले बताइन् ।

यो खेलबाट के सिकेर आउनुभयो भन्ने प्रश्नमा उनले भनिन्, ‘करिअर सकिने बेलामा यो खेलले मलाई अझ बलियो बनाएको छ । आँशु लुकाएर बाँच्न र बलियो हुन सिकेर आएको छु ।’

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?