+
+

बाढीले घर भत्कायो, पीडाले मन दुख्यो

हरि अधिकारी हरि अधिकारी
२०७९ असार १४ गते १९:३०

१४ असार, विराटनगर । मंगलबार दिउँसो ४ बजेतिर विराटनगर महानगरपालिका – ८ की तिलमाया भण्डारी (६०)को घर बाहिर छिमेकीको दौडधूप थियो । कोही घर भित्रबाट सामान निकालेर बाहिर राख्न व्यस्त थिए त कोही तिलमायाको दुःखप्रति सहानुभूति दिन ।

घरका सामान निकालेपछि भण्डारी बाहिर आइन् । सान्त्वना दिन आइपुगेका वडाध्यक्ष राम पोखरेललाई देखेपछि उनले भनिन्, ‘अब कतै बस्ने व्यवस्था मिलाइदिनुहुन्छ कि ?’

पोखरेलले टाउको हल्लाउँदै इसारा गरे, ‘हुन्छ ।’

तिलमायाले थोरै भए पनि राहत महसुस गरेको अनुहार हेरेरै बुझ्न सकिन्थ्यो ।

तिलमायाको घरका सामान निकालेको यो तेस्रो पटक हो । सिंघिया खोलाले यसअघि दुई पटक बगाएको उनको घर तेस्रो पटक पनि भत्काउन थालेपछि छरछिमेकीको सहयोगमा घर खाली गरिएको हो । ‘२०७४ सालको बाढीले घर बगायो, त्यसपछि दुःख गरेर बनाएँ,’ भावुक हुँदै उनले भनिन्, ‘अस्ती पुसमा) बनाएको घर फेरि यस्तो भयो ।’

सिंघिया खोला किनारमा उनको १२ धुर नम्बरी जग्गा छ । गत कात्तिकमा आएको बाढीले घर भत्काएपछि उनले त्यही जग्गामा भुईं ढलान गरेर टिनको छानो हालेकी थिइन् । तर मंगलबार बिहानदेखि आएको बाढीले उनको घर आधा भत्काएको छ ।

‘घर बनाउँदा पाँच लाख जति खर्च भयो,’ तिलमायाले भनिन्, ‘१२ धुर जग्गा थियो, बगाएर सकिन लाग्यो ।’ खाइनखाई दुःख बगेर घर खोलाले भत्काएको उनले गुनासो गरिन् ।

‘मन दुखेको छ, बोल्न पनि सकिरहेको छैन,’ उनले भनिन्, ‘आफूले दुःख गर्नु नपरेको भए, खर्च नगरेको भए मन दुख्दैन थियो होला, तर खाई नखाई–लाई नलाई घर बनाएको थिएँ ।’

स्थानीयबासिन्दाका अनुसार तिलमाया एक्लै बस्छिन् । गुजराका लागि उनले सानो किराना पसल पनि सञ्चालन गरिरहेकी छन् । बाढीले घर भत्काएपछि उनलाई बासको चिन्ता छ । कोठा कतै पाए भाडामा बस्ने उनले बताइन् ।

तिलमायाको घर भत्काउन थालेपछि उनका छिमेकी पनि घर बगाउने चिन्तामा छन् । तिलमायाको घरदेखि करिब दुई सय मिटर दक्षिण रहेको सुकुम्बासी बस्तीका बासिन्दा पनि बाढीका कारण विस्थापित भएका छन् ।

विस्थापित भएकाहरु त्रिपाल टाँगेर बसेका छन् । ‘आज १५ वर्षभयो वर्षेनी हाम्रो घर डुबेको तर राज्यले केही हेरेको छैन,’ सुशीला कामतले भनिन्,‘ राज्यले हामीलाई अन्त कतै सारिदेओस् ।’

जग्गा किन्ने पैसा नभएका कारण खोलाको डिलमा बस्नु परेको बाध्यता उनले सुनाइन् । ‘हामीहरुलाई व्यवस्था लगाइदिओस् अर्कै ठाउँमा,’ कामतकी छिमेकी हरिसा खातुन बोलिन्, ‘नडुब्ने ठाउँमा सारिदेओस् ।’

वडा अध्यक्ष राम पोखरेलका अनुसार बालगोपाल टोल आसपास ८० परिवारको बसोबास छ । खोला किनारमा बसोबास गर्ने उनीहरुलाई वर्षेनी बाढीले समस्या पार्ने गरेको छ ।

१ हजार ५०० परिवार प्रभावित

निरन्तरको वर्षाका कारण आएको बाढीका कारण विराटनगरमा मात्रै १ हजार ५०० परिवार प्रभावित भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । प्रभावितहरुलाई सुरक्षित स्थानमा सारिएको उनले जानकारी दिए ।

केसलिया र सिंघिया खोलामा आएको बाढीका कारण विराटनगर महानगरपालिकाका १,२,४, ७, ८, ११, १२, १६, १७, १८ र १९ नम्बर वडाका बासिन्दा बढी प्रभावित भएका छन् । विराटनगर ३ मा पानीको निकास नहुँदा केही घर डुबानमा परेका छन् ।

विस्थापितलाई राहत वितरण

प्रमुख जिल्ला अधिकारीका अनुसार विस्थापितका लागि राहत वितरण थालिएको छ । उनका अनुसार पहिलो चरणमा विराटनगर महानगरपालिकाले जिल्ला विपद् व्यवस्थापन समितिबाट लगेर २५० त्रिपाल प्रभावितहरुलाई वितरण गरेको छ । प्रभावितलाई तत्कालका लागि सम्बन्धित वडाले राहत वितरण गर्ने उनले बताए ।

मंगलबार बसेको जिल्ला स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले राहत संकलनका लागि व्यावसायिक संस्थाहरुलाई आग्रह गर्ने निर्णय गरेको उनले बताए ।

‘तत्कालीन रुपमा प्रभावितलाई वडाले राहत वितरण गर्छ,’ उनले भने, ‘पालिकाहरुले पनि राहत वितरण गर्छन, जिल्ला तहबाट दोस्रो चरणमा वडामार्फत राहत जान्छ ।’

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?