+
+
आकाशे पानी संकलन तथा पुनर्भरण :

पानीको दुःख टर्छ, पैसा बच्छ

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका अनुसार अहिले १४ स्थानमा पानी संकलन र पुनर्भरणको काम भइरहेको छ । बोर्डका सिभिल इन्जिनियर चन्दनकुमार साह आकाशको पानी संकलन गरेर दुई पटक फिल्टर गर्दा मज्जाले खान मिल्ने बताउँछन् ।

अंगद सिंह अंगद सिंह
२०७९ असार १७ गते २१:०२

१७ असार, काठमाडौं । काठमाडौं महानगरपालिका–१५ डल्लुको आफ्नै घरमा मन्टेसरी स्कुल सञ्चालन गरेका नरेन्द्र डंगोललाई दैनिक १२०० लिटरसम्म पानी चाहिन्छ । घर र स्कुलका लागि ट्याङ्करको पानी किन्नु पर्दा उनले वार्षिक कम्तिमा १ लाख रुपैयाँ खर्च गर्नुपर्थ्यो । यो खर्च जोगाउन उनले आकाशे पानी उपयोगको जुक्ति लगाएका छन् ।

प्रकृतिले निःशुल्क दिने पानी सञ्चित गर्दा डंगोलले धेरै मिहिनेत गर्नु पर्दैन । महसुलको बिल मात्र आउने सरकारी धारा नजोडेका उनले घरको छतमा परेको पानीलाई पाइपबाट इनारमा झारेका छन् । त्यसैगरी, आँगन र वरपर परेको पानी जम्मा पार्न छुट्टै खाडल खनेका छन् । खाडलको पानी प्राकृतिक रूपमा फिल्टर भएर इनारमै पुग्छ ।

‘छतबाट वर्षमा अढाइ लाख लिटरभन्दा बढी आकाशे पानी इनारमा संकलन हुने मोटामोटी हिसाब छ । १२ वर्षयता यसरी नै चलेको छ’ उनी भन्छन्, ‘सबैले आकाशको पानी सदुपयोग गर्ने हो भने खानेपानीको अभाव हुँदैन ।’

इनारमा जम्मा भएको पानी गाडी, मोटरसाइकल धुने, भुई पुछ्ने जस्ता काममा सीधै प्रयोग हुन्छ । भाँडाकुँडा र कपडा धुन एक पटक फिल्टर गर्दा राम्रो हुन्छ । दुई चरण फिल्टर गरेपछि मजाले खान मिल्ने डंगोल बताउँछन् ।

तीव्र शहरीकरणका कारण काठमाडौं उपत्यकामा पानी अभाव चर्किएको छ । पानी सिञ्चित हुने जमिन कंक्रिटका संरचनाले ढाक्दा जमिनमुनि पानीको पुनर्भरण हुने प्रक्रिया रोकिएको छ । यसले गर्दा ढुंगेधारा र इनारहरू सुक्खा मौसम सुरु नहुँदै सुक्न थालेका छन् ।

उपत्यकामा पानीको अभाव बढ्दै गएपछि निरुपाय भएर आकाशे पानी उपयोग गर्नेहरू पनि बढ्दैछन् । आकाशे पानीको संकलन तथा पुनर्भरणको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरू पनि खुलेका छन् ।

आकाशे पानी सम्बन्धी तालिम दिने र समुदायमा आकाशे पानी रिचार्ज पुनर्भरणको काममा लगानी गर्दै आएको गैरसरकारी संस्था गुठीका प्राविधिक सल्लाहकार प्रकाश अमात्य आकाशे पानीको व्यवस्थित संकलन र पुनर्भरण गर्ने हो भने वर्षभरको चिन्ता हराउने बताउँछन् । उनी भन्छन्, ‘हामीले व्यवस्थापन गर्न नजानेर, नसकेर पनि पानी अभाव भएको हो ।’

उनी पनि उपत्यकाका हरेक घरधनीले वर्षात्को पानी संकलन र पुनर्भरण गर्ने हो भने पानीको समस्या नहुने बताउँछन् । यसका लागि महानगरपालिकाले घरधनीहरूलाई प्रोत्साहन गर्नुपर्ने अमात्यको धारणा छ । ‘सम्बन्धित सबै निकायले अभियान नै चलाउनु आवश्यक छ’, उनले भने ।

उनका अनुसार, तीन आना जग्गाको घरमा वार्षिक १ लाख २० हजार लिटरभन्दा बढी पानी जम्मा गर्न सकिन्छ । यो काम काठमाडौंका हरेक घरधनीले सहजै गर्न सक्ने उनी बताउँछन् ।

त्रिपुरेश्वरस्थित विश्व निकेतन स्कुलले पनि आकाशे पानी प्रयोग गरिरहेको छ । प्रधानाध्यापक हेरम्बराज कँडेल आकाशे पानी संकलनबाट शौचालय र अन्य सरसफाई धेरै सहज भएको बताउँछन् ।

स्कुलले आकाशे पानी संकलनका लागि जमिनमुनि ५० हजार लिटरको ट्याङ्की राखेको छ । धेरै वर्षात् भएर ट्याङ्की भरिएपछि पानी रिचार्ज ट्याङ्कीमा जाने व्यवस्था मिलाएको छ ।

कालीकाटीको जनप्रभात माविले पनि पानीको समस्याबाट पार पाउन आकाशे पानीको उपयोग गरेको छ । आकाशको पानीलाई २५ हजार लिटरको ट्याङ्कीमा जम्मा गरेर त्यसपछि केमा प्रयोग गर्ने त्यसअनुसार अर्को ट्याङ्कीमा सारेर प्रशोधन गर्ने गरेको जनप्रभातका शिक्षक मेघनाथ पोखरेलले बताए ।

उता भक्तपुर नगरपालिका–८ मा पर्ने सिंगो लिवालीको जीवन आकाशे पानीबाट चलिरहेको छ । ८३ घरधुरी रहेको यो गाउँमा एउटा पनि सरकारी वा सार्वजनिक धारो छैन ।
गाउँलेले आकाशे पानी संकलनका लागि एक लाख ६ हजार लिटरको ट्याङ्की बनाएका छन् । त्यसमा जम्मा भएको पानी फिल्टर गरेर वितरण गरिएको लिवाली गणेश खानेपानी समितिका अध्यक्ष नारायणप्रसाद खाइतुले बताए ।

‘हाम्रो गाउँमा पानीको ट्याङ्कर नपसेको चार वर्ष भयो’ उनले भने, ‘हरेक दिन बिहान साढे ६ देखि ८ बजेसम्म आप्mनै पानी वितरण हुन्छ । आकाशे पानी संकलन र पुनर्भरणबाट हामीलाई निकै फाइदा भएको छ ।’

भक्तपुरको ख्वपः इन्जिनिररिङ कलेजले त आकाशे पानीबाट आफ्नो आवश्यकता टारेको १२ वर्ष भइसक्यो । कलेजका स्टोर इन्चार्ज तुलसीराम सुवाल पानी कम हुँदै गएपछि भक्तपुरमा स्कुल, कलेज र घरधनीले पनि आकाशे पानीको उपयोग बढाएको बताउँछन् ।

‘रिचार्ज काठमाडौं’ अभियान

काठमाडौं महानगरका नवनिर्वाचित मेयर बालेन्द्र साहले पानीको समस्या कम गर्न ठाउँठाउँमा रिचार्ज स्टेशन निर्माण गरिनुका साथै हरेक घरमा पाँच फिटको शोक पिट र वडापिच्छे रिभर्स बोरिङ राखिने बताएका छन् ।

शोक पिटहरूबाट जमिनमा पानी रिचार्ज हुने र वडाहरूका रिभर्स बोरिङले वर्षात्को बाढी सडकमा आउनबाट रोकेर जमिन रिचार्जमा सहयोग गर्ने उनले बताएका छन् ।

काठमाडौं महानगरपालिकाको भवन तथा नक्शा समिति संयोजक हिरालाल तण्डुकार आकाशे पानीको संकलन तथा पुनर्भरणको काममा महानगर पहिल्यैबाट लागेको बताउँछन् । काठमाडौंलाई पानीको समस्याबाट मुक्ति दिलाउन आकाशे पानी संकलन तथा पुनर्भरणलाई व्यवस्थित तरिकाले अगाडि बढाउने तण्डुकारले बताए । तण्डुकार महानगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष समेत हुन् ।

महानगरपालिकाले नयाँ घर बनाउँदा पानी पुनर्भरणको संरचना अनिवार्य हुनुपर्ने नीति लागु गर्न सकेको छैन । अब यसमा जोड दिने तण्डुकारले बताए ।

महानगरले आकाशे पानी संकलन र पुनर्भरणका लागि आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा ‘रिचार्ज काठमाडौं’ अभियान ल्याएको थियो । यसको सुरुवात वडा नम्बर १५ र २६ बाट गर्ने भनिएको थियो ।

वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोलले आकाशे पानी संकलन र पुनर्भरणबारे जनचेतना जगाउने काम भइरहेको बताए ।‘कतिपय टोलमा विधि सिकाउने र प्राविधिक सहयोग गर्ने काम भइरहेको छ’ उनले भने, ‘मेरो वडाका ४३ घरले आकाशे पानी संकलन र पुनर्भरण गर्न थालिसकेका छन् । धेरै उपयोगी काम भएकाले यसमा सबै घरधनीले रुचि देखाउनुभएको छ ।’

जलस्रोतविज्ञ डा. नरेन्द्र शाक्य काठमाडौंको जमिनमा पानी पुनर्भरणको लागि रिभर्स बोरिङ राख्नुअघि उपयुक्त ठाउँ पत्ता लगाउन राम्ररी अध्ययन हुनुपर्ने बताउँछन् । उनका अनुसार हालसम्म त्यस्तो अध्ययन भएको छैन ।

‘भूमिगत जलभण्डार भरेर उपत्यकालाई मरुभूमिकरणबाट जोगाउन पनि पुनर्भरण महत्वपूर्ण छ’ उनी भन्छन्, ‘यसका लागि जनप्रतिनिधिहरूले नै महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।’

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका अनुसार अहिले १४ स्थानमा पानी संकलन र पुनर्भरणको काम भइरहेको छ ।

बोर्डका सिभिल इन्जिनियर चन्दनकुमार साह आकाशको पानी संकलन गरेर दुई पटक फिल्टर गर्दा मज्जाले खान मिल्ने बताउँछन् ।

लेखकको बारेमा
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?