+
+
कथा :

फेसबुके खेती, समयको क्षति

बुढो भएका बाउ भैंसीको भकारो सोर्ने, सत्तरी नाघेकी आमा डोको नाम्लोले तालु कुच्याउने जिन्दगी घिच्याउने ! यता तरुण छोराछोरी जतिबेला पनि घोप्टिंदै मोबाइलको मेसेन्जरमा समय सिध्याउने। एउटा विचित्रको घोप्टे रफ्तार हो फेसबुके लीला।

लक्ष्मण सिटौला लक्ष्मण सिटौला
२०७९ असार १८ गते १४:१८

घर आएको भोलिपल्टै उ शहर फर्की। यत्रो समयपछि गाउँ आएकी छोरी। दुईचार दिन गाउँमै बसोस्, दही–दूध खाओस्, अलिकति भने पनि मोटाओस् भन्ने सोझा बाउआमाको चाहना। आमाबाबुको मन छोराछोरी माथि छोराछोरीको मन ढुङ्गामुढा माथि भन्ने उखान यत्तिकै बनेको होइनरहेछ। छोरी आधुनिक हुनु पनि बाबुआमालाई साह्रै पिरलो पो हुँदोरहेछ नि !

गाउँमा वाईफाई छैन। त्यसैले हाईफाई पनि छैन। अरु त परै जाओस् टेलिफोनको टावर पनि राम्रो छैन। द्वन्द्वकालमा माओवादीले भत्काएको टावर अहिलेसम्म पनि बनेको छैन। त्यही गाउँको टावर भत्काउने नेता तीन–तीन पटक संचार मन्त्री भइसके।

त्यही गाउँको तिनैले भत्काएका टावर अहिलेसम्म उस्तै। उनीहरू कस्ता धनाढ्य भैसके गाउँ द्वन्द्वकालकै बुढो लौरो टेकिरहेछ। अहिलेको समय संचार र सोसल मिडियाको हो रे ! सबका सब भुलेका छन्। मस्त छन्। चुस्त छन्। सब चार इन्चीको पर्दामा रमाएका छन् मानौं मोबाइल र फेसबुक भनेको मान्छेलाई ज्यूँदो छु भन्ने प्रमाणदेखि रमाइलो गर्ने एउटा वैधानिक वेश्यालय जस्तो !

यसैमा केटाकेटीको अन्तरङ्ग गफ। चुम्बन चाटाचाट–साटासाटदेखि देह देखाउने लीलागिरी थलो पनि। सेल्फीको चुच्चे नाक होस् या बुद्धि बङ्गारो खुस्केको हाब्रे मुख, सिंगानदेखि अल्छीको वैराग्य विरहसम्म यही फेसबुकमै देखाइन्छ। भागेर बिहे गर्ने कुरादेखि साँधेर अचार खाने कुरासम्मको घटना र विचारको पौडी पोखरी हो फेसबुक।

घाटमा जलाएको लासदेखि खाएको गाँससम्म यसमै उत्तानिन्छ। उसो त काम नभएका बेरोजगारीहरुलाई समय कटाउने, गफ पड्काउने, विचार छड्काउने मेसो पनि हो फेसबुक। जतिबेला पनि केटालाई केटी र केटीलाई केटो उपलब्ध हुने आधुनिक रत्नपार्क भनेको अहिलेको फेसबुक हो। गाडीमा झन्डा हल्लाउनेदेखि पिंढीमा कोक्रो हल्लाउनेसम्मका उत्तरआधुनिक कथा यसमै पोख्छन् मनुवा।

बुढो भएका बाउ भैंसीको भकारो सोर्ने, सत्तरी नाघेकी आमा डोको नाम्लोले तालु कुच्याउने जिन्दगी घिच्याउने ! यता तरुण छोराछोरी जतिबेला पनि घोप्टिंदै मोबाइलको मेसेन्जरमा समय सिध्याउने। एउटा विचित्रको घोप्टे रफ्तार हो फेसबुके लीला।

बल्लतल्ल घरमा आएकी छोरी। दु:खसुखका कुरा गर्ली, पढाइका कुरा गर्ली, मलाई यो चाहियो, मलाई उ थोक चाहियो भनेर भन्ली भनेको त मोबाइलमै झुन्डिएको देख्दा विचरा आमाबाबु आफैं लज्जित पो भए। मोबाइल नकिन्दिंदासम्म त राम्रोसँग बोल्थी। आमाबाबुका दु:ख बुझ्थी। जब आइफोन मोबाइल किन्देको छोरी त छोरी जस्ती छैन।

दुई दिन बसेर उ निस्की। उसलाई शहर नै प्यारो रे ! बाबुआमा थोत्रा भए उसका लागि। उ आधुनिक शहरिया। गाउँ त ओढार भयो उसको लागि। बाले माया गरी बोलाउने प्यारो नाम छ्यङ्री हो उसको। यो उसको नाम छ्याङ्री जुर्नुमा पनि रोचक कुरो छ। तामाङ बस्तीमा जन्मेकी उ। बच्चामै एउटी गुरुङ्सेनी फुपूले बेस्सरी छ्याङ ख्वाएर नचाइछन्। त्यसबेलादेखि उसको नाम छ्याङ्री।

गाउँ आएकै पिच्छे एक महीनालाई पुग्ने सामल लैजान्छे उ। स्कुलमा राखेको नाम चैं सरिता हो उसको। सरिताको अर्थ सरल, शान्त। नाम अनुसार काम कस्तो छ तपाईं यो कथा पूरै पढेपछि थाहा पाउनुहुन्छ। म विस्तारै भन्दै जान्छु। हतार नगर्नु न। हतार गरेको कुनै काम पनि राम्रो हुन्न क्या। तपाईं हतार गरेर दौडेर पनि के गर्नुहुन्छ आखिर गन्तव्यमा पुग्न हिंडेको बसले तपाईंलाई मात्रै कहाँ कुरेर बस्छ र ?

उ बस चढ्छे। धादिङबेसीदेखि बालाजु चोकसम्मको भाडा ४०० थियो। खलासीसँग बेला–बेलामा झगडा गर्छे। ५०० को नोट दिएकी थी उसले। खलासीसँग खुद्रा थिएन। एकछिनमा पैसा फिर्ता गर्छु है भन्यो उसले। हरेक आधा आधा घन्टामा उ पैसा फिर्ता माग्छे। खलासीले “कस्तो किचकिचे केटी हो तिमी! तिम्रो पैसा कसले खान्छ ?” भनेर कडापन देखाउँथ्यो। उ चुपचाप घोप्टो परेर मेसेन्जरमा च्याट गर्न थाल्थी।

मोबाइलमा च्याटिङ गर्दा गर्दै बाटो काटेको पत्तै भएन उसलाई।

आफ्ना केटाहरुसँग च्याटिङ गर्दा उ दायाँबायाँ वरपर अगाडि पछाडि केही हेर्दिनथी। उ खुब रमाइलो कुरा गर्छे। भर्खरैकी कोरली कोर्के बैंसले लोर्के जवानीको पानी भरिएकी खाइलाग्दी। धेरै बोकाहरुको बथानमा एउटी जवान बाख्री कसरी चोखी रहन्छे ? उसको पनि हालत त्यही हो। अहिलेका फेसबुके बोकाहरुको काम छैन।

कोही राम्री तरुनीको प्रोफाइल पिक्चर देखेपछि सक्किगो, भित्रको गडबडी कसलाई के थाहा ? कति बेते हुन् वा कति केटा फेरिसकिन्? नयाँ साथीहरूसँग जोडिनु, अलिकति खाइलाग्दा केटाहरुलाई फ्रेन्ड रिक्वेस्ट पठाउनु। नचिनेका केटाहरुको फेसबुक प्रोफाइल खोलेर हेर्नु। अलिक मनले खाएको जस्तो केटा देखियो भने स्टाटसमा गएर लब्ली लाइक ठोक्नु, मीठो कमेन्ट गर्नु उसको रमाइलोको विषय हुन्थ्यो।

आफ्ना नजिकैको फेसबुके साथीहरूलाई आफ्ना फोटोहरु देखाउनु, रोमाञ्च गफ गर्नु, अनलाइन कुराकानी गर्नु, भ्वाइस मेसेज पठाउनु आदि कुरामा उ रमाउँछे। उ अर्थात् सरिता अर्थात् छ्याङ्री।

आजको त्यो यात्रामा आफूसँगै काम गरेको एकजना अफिसको साथी “सोम” भन्नेसँग गफ भैरह्यो र अहिले पनि भैरहेको छ। उनीहरूको मेसेन्जर च्याटमा नुहाएको, खाएको, गाएको, लाएको, पाएको, धाएको, छाएको कुरादेखि जवानीका कुरा समेत साटासाट हुन्थे।

“ओइ छ्याङ्री कहाँ आइपुगिस् ?”

“नौबिसे पुग्न लागें।”

“खोइ देखा त सेल्फी।”

“देखाउन्न।”

“तलाइँ मैले त्यो देखा भन्या हो र?”

“तैं देखा न।”

“किन जान्ने हुने।”

“मेरो जिन्दगी तेरो हातमा साँचो?”

“यस्तै हो धेरै केटा साथी हुने केटी भाउ खोज्छन् एउटासँग कुरा नमिले अर्को जगेडा।”

“तिमी बोकाहरु पनि कम्ता छौ र?”

“ओइ ! गाउँ गएपछि त पूरै चेन्ज भैछस् धेरै घ्यू खाइस् कि क्या हो?”

“ओइ जेपीटी बोल्छस्?”

“रातभर केटाहरुसँग च्याट गरेर थाकिस् होला।”

“तँ जस्तो हो र म?”

“म जस्तो भएको भए तेरो पूजा गर्थें?”

“गर्न त पूजा। सर्दाम ठिक पार म तेरो रुममा सीधै आउँछु।”

“पक्का आउछेस् छ्याङ्री ? नत्र म रेडी भएर बस्छु।”

“के गर्न?”

“पूजा गर्न।”

“भात पकाइ राख। म चिकेन र वाइन लिएर आउँछु। आज दिनभर जम्ने।”

“गिद्दी होइन नि फेरि खुरुक्क आइज।”

“हस् आउँछु नि राजा।”

“छोरी !” आफ्नै सिटको पछाडिबाट कोही बुढो मान्छे सुँक्क सुँक्क गरेर रुँदै कराए जस्तो लाग्यो। को रोयो भनेर यसो पछाडि फर्किंदा त आफ्नै बुवा। छ्याङ्री एकैचोटि चिसो भई। बाटोमा एक्कासि गाडीमा ब्रेक लागे जस्तो भो। एक्कासि अत्तालिएर बोली–

“बा !”

मैले तिमीलाई महँगो शहरमा पढ्न पठाएको फेसबुके प्रेम र मनोरञ्जन गर्न पो रहेछ। हामीले कोदो खायौं तिमीलाई चामल पठायौं। हामीले गुन्द्रुक खाई तिमलाई दाल पठायौं।

हामी बेखर्ची भएर पनि तिमीलाई खर्च पठायौं। हामी लुम्रेझुम्रे बस्यौं तिमीलाई सुकिलो बनायौं। तिमी पढेर ठूलो हौली, लोकसेवा पास गरौली, अधिकृतमा नाम निकालौली भनेको त फेसबुकमा पो नाम निकालिछौ छोरी! धादिङबेसीदेखि तिमी नौबिसे खोलासम्म आउँदा अनेक फोहोरी केटाहरुसँग मनपरी च्याट गरेको देखें। धिक्कार छोरी ! म तिम्रो बाबु भएकोमा।

तिम्रो कारणले यो उमेरमा म यति दुखी हुनुपर्ला भन्ने सोचेको पनि थिइनँ, यो सोसल मिडियाले सप्रिने भन्दा बिग्रने धेरै भए। अफसोच छ ! सोसल मिडियाको पिरो ज्वालाले तिमी पनि जल्यौ र हामीलाई पनि जलायौ। हामी गरिब भएर पनि, कहिल्यै गरिब छौं भनेर तिमीलाई अनुभूति हुन दिएनौं छोरी !

जामले गर्दा गाडी उकालोमा रोकियो। बुढा गाडीबाट सीधै ओर्लिए। जाम खुल्यो। गाडी अगाडि बढ्यो। बुढा पछाडि हटे। यही हो जिन्दगी कोही पछाडि हट्ने पनि असल हुन्छन् र कोही अगाडि बढ्ने पनि खराब हुँदारहेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?