+
+

उज्ज्वलको आमाछोराले आश्रम छाड्दा आँसु

सुरेश बिडारी सुरेश बिडारी
२०७९ असार १८ गते १८:०३

‘जुन दिन तिम्रो जन्म भयो, त्यो दिन म अरु भन्दा धेरै खुशी थिएँ बाबु । बीचमा धेरै अप्ठेराहरु आयो गयो । तिमी ९ महिना पूरा भई १० महिनामा पाईला टेक्दै थियौं । तिमीलाई छोरा भनेर राख्नलाई धेरै जना मानिस आए । बरु म उनीहरुसँग रिसाएँ तर तिमीलाई लैजान दिइनँ ।

किनकी तिमी मेरो लागि अरुभन्दा विशेष थियौं । तिम्रो लागि मैले धेरै जनासँग झगडा समेत गर्नुप¥यो । धेरै जना बोल्न छोडे, मबाट टाढिए । तिम्रो अनुहार हेरेर यी सबै घटनाहरु बिर्सन्थेँ ।

हुन त तिम्रो र मेरो कुनै नाता छैन, मानवताको नाता मात्रै हो । तर किन किन मलाई तिमी मेरै कोखबाट जन्मिएको जस्तो लाग्छ । जुन दिन तिमीले यो धर्तीमा पाइला टेक्यौं, त्यही दिन मैले तिमीलाई छोरा भनेर सम्बोधन गरेकोले पनि होला । आज धेरै दुःखी पनि छु, धेरै खुशी पनि छु । तिम्रो सुन्दर भविष्यको लागि म भगवानसँग प्रार्थना गरिरहने छु मिस यू छोरा ।’

मानव सेवा आश्रम वीरगञ्ज शाखा संयोजक सानु मानवसेवा (सानुमाया गुरुङ) ले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटस हो । उनी अविवाहित छिन्, एयर होस्टेसको जागिर छोडेर दुई वर्षदेखि मानव सेवा गरिरहेकी छन् ।

काममा सघाउन सक्ने एक जना पुरुषबाहेक वीरगञ्जस्थित आश्रम शाखामा महिला र बालबालिका मात्रै राखिएको छ । सानु अविवाहित भएपनि उमंग, ओजस्वी, उपासना, उन्नती र उज्ज्वल गरी पाँच सन्तानको आमाको भूमिकामा छिन् । तर बिहीबार उज्ज्वल र उनकी आमा रीनादेवीलाई खोज्दै परिवार आइपुगे । उज्ज्वललाई घर पठाउनु पर्दाको पीडा उनको स्टाटसबाट झल्कन्थ्यो ।

आफूले जन्माएको सन्तान नभएपनि काखमा राखेर खेलाएको, दिनरात नभनी हुर्काएको बच्चा पठाउन पर्दा नरमाइलो लागेको सानुले बताइन् ।

‘मानसिक अवस्था कमजोर भएकै कारण गर्भावस्थामा रीना दिदिको स्याहार राम्रोसँग हुन सकेको थिएन, निमोनियाको समस्या छ । मुटुमा पनि प्वाल छ’ सानु भन्छिन्, ‘उज्ज्वल म आश्रममा आएपछि जन्मेको पहिलो बच्चा हो । दिनरात नभनी हुर्काइयो । ६ महिना जति त रातभरि सुत्न दिँदैनथ्यो ।’

परिवारलाई नै दिएको भएपनि आफूसँग नरहने भएकोले मन खिन्न भएको उनी बताउँछिन् । उज्जवलको विदाइको दिन उनी नेपालगञ्ज थिइन् । मन थाम्न गाह्रो हुन्छ भनेर आश्रमबाट आएको भिडियो कल नै नउठाएको उनले सुनाइन् ।

वीरगञ्ज शाखामा सेवा गर्दै आएका मुना लिम्बु र प्रमिला श्रेष्ठले पनि बिहीबार आँसु थाम्न सकेनन् । ‘सानैदेखि स्याहार गरेको, अरुलाई दिन खोज्दा पनि लडेर राखेको बच्चा पठाउन मन नै थिएन’ मुनाले भनिन्, ‘बच्चा लगेको हेर्न नसक्ने भएर अन्तै काममा निस्किदिएँ ।’

पठाउने दिन गाडीसम्म छोड्न आएकी प्रमिला फोटो देखेपछि आँसु आउने बताउँछिन् । ‘रातदिन नभनी सेवा गरियो, आफूले जन्म नदिएपनि गु–मुत नभनी स्याहार गरियो, हुर्काइयो’, उनले भनिन् ‘पठाउनुपर्दा त साह्रै चित्त नै दुख्यो, अहिले फोटो हेर्दै रुन मन लाग्छ ।’

आश्रममा रहेका अरुले पनि उज्ज्वल खै भनेर सोध्ने गरेको उनी बताउँछिन् ।

को हुन त उज्ज्वल ?

०७८ साल असोज १२ गते मंगलबार धनुषाको धनुषाधाम नगरपालिका–९ धारापानीबाट आश्रमको टोलीले एक गर्भवतीको उद्दार गर्‍यो । एकातिर उनको मानसिक स्वास्थ्य अवस्था कमजोर थियो । भने अर्कोतिर उनी बेवारिसे थिइन् ।

धनुषाबाट एम्बुलेन्समा वीरगञ्ज ल्याउँदा रात परिसकेको थियो । सँगै उनलाई सुत्केरी व्यथाले पनि च्याप्न थालिसकेको थियो । प्रभु अस्पतालमा सोही दिन राति ११ः११ मिनेटमा उनले एक बालक जन्माइन् । आश्रममै गरिएको ‘छठियार’ (छैठी) मा उसको नाम ‘उज्ज्वल’ राखिएको हो । उज्ज्वलकी आमाले कागजमा आफ्नो नाम रीना देवी भनेर लेख्थिन तर घरको ठेगाना बताउन सक्दिनथिन् ।

मानसिक रोग विशेषज्ञ डा. भरत गोइतसँगको समन्वयमा उनको उपचार सुरु गरिएपछि मानसिक स्वास्थ्य अवस्था सुधार उन्मुख छ ।

९ महिनादेखि ३२ वर्षीया रीना आश्रममा थिइन् । भारतको बिहार राज्य, जिल्ला दरभंगा ग्राम पञ्चायत बरना, थाना कुशेश्वर वडा नं ३ उनको घर थियो । श्रीमान रवीन्द्र मुखिया, १० वर्षीय छोरा शिवम, ७ वर्षीया छोरी शिवानी, भाई इन्द्रजित मुखियासहित रीनालाई लिन बिहीबार बिहानै वीरगञ्ज आइपुगेका थिए ।

श्रीमान र छोराछोरी भेटेपछि रीनाको पनि मन थामिएन । आँसु झार्दै सन्तानलाई माया गर्न थालिन् । शिवम र शिवानीले पनि रुँदै आमालाई अंगालो हाले । अर्कोतिर हराएकी श्रीमती भेटिएको खुशीमा रवीन्द्रका आँखा पनि रसाएका थिए । पहिलो पटक अनुहार हेर्न पाएको ९ महिनाको कान्छो छोरालाई म्वाई खाए, अनि काखमा लिएर खेलाए ।

रवीन्द्रका अनुसार रीना १४ महिना पहिले नै घरबाट हराएकी हुन् । रीनामा मानसिक स्वास्थ्य समस्या देखिएको १० वर्षअघि नै हो । पहिलो सन्तान जन्मिएपछि नै उनमा समस्या देखिन थालेको थियो । खाना समयमा नखाइदिने, बढी कराउने गर्थिन् । समस्तीपुर, सहर्सा लगेर मानसिक रोग विशेषज्ञ डाक्टरलाई देखाएका पनि थिए ।

डाक्टरले लेखिदिएको औषधी नियमित खुवाउन भने समस्या हुन्थ्यो । औषधी ओकलेर फालिदिन्थिन् । ३ वर्षदेखि गाउँमै चिया पसल चलाउँदै आएका रवीन्द्र पसलमै व्यस्त भएको समयमा रीनाले घर छोडेर हिँडेकी रहिछन् । दरभंगा, समस्तीपुर लगायत आसपासका गाउँ र आफन्तको खोजी गर्दा उनी नभेटिएपछि परिवारले खोज तलास गर्नै छोडिसकेका थिए ।

श्रीमती भेटिन्छिन् भन्ने विश्वास रवीन्द्रलाई थिएन । आश मारिसकेका थिए । ‘भेटिन्छ भन्ने लागेकै थिएन, गुमेको श्रीमति भेटिएपछि खुशी त लागिहाल्छ नि’ उनले भने ।

रीनालाई उद्दार गरेर ल्याएका मानव सेवा आश्रम वीरगञ्जका अभिभावक प्रकाश थारुले नै उनको परिवार पत्ता लगाउन भूमिका निर्वाह गरेका थिए । गर्भवती रीना एक्लै जंगलभित्र गइरहेको अवस्थामा उद्दार गरेर ल्याएको उनी सम्झन्छन् ।

‘धारापानीको जंगलभित्र आधाघण्टा खोजेपछि रीनालाई भेटेर ल्याएका थियौं’ उनले भने, ‘आश्रममै जन्मिएको सन्तानसहितको पारिवारिक पुनर्मिलन पहिलो हो । एकदमै खुशी लागेको छ । ’

रीना र उज्ज्वलको उपचार निरन्तर गर्नुपर्ने भएकोले परिवारलाई सम्पर्कमा रहन भनिएको छ । २०७४ साल जेठ १५ गते स्थापना भएको मानव सेवा आश्रम वीरगञ्ज शाखामा १ सय ६१ जनाले सेवा पाइसकेका छन् ।

जसमध्ये १८ जनाको आश्रममै मृत्यु भएको छ । ४७ जना आफ्नो इच्छाले आश्रम छोडेर गएका छन् भने हाल आश्रममा १ जना पुरुष, ४ जना बालबालिकासहित ५० जना आश्रित छन् ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?