+
+

एयर होस्टेसको जागिर छोडेर मानव सेवामा

सुरेश बिडारी सुरेश बिडारी
२०७८ असोज १९ गते ११:५८

१९ असोज, वीरगञ्ज । १२ असोज मंगलबार धनुषाको धनुषाधाम नगरपालिका-९ धारापानीबाट मानव सेवा आश्रम वीरगञ्ज शाखाको टोलीले एक गर्भवतीको उद्दार गर्‍यो । उनको मानसिक स्वास्थ्य कमजोर थियो । सडक पेटीमा बेवारिसे थिइन् । कागजमा आफ्नो नाम ‘रिना देवी’ लेख्थिन् ।

धनुषाबाट एम्बुलेन्समा वीरगञ्ज ल्याउँदा रात परिसकेको थियो । चेकजाँचका लागि प्रभु अस्पताल ल्याउँदा उनलाई सुत्केरी व्यथाले च्याप्न थालिसकेको थियो । मंगलबार राति ११ः११ मिनेटमा उनले एक बालक जन्माइन् । उनको नाम उज्ज्वल राखिएको छ । उज्ज्वलको सोमबार नगर प्रमुख विजयकुमार सरावगी, उपप्रमुख शान्ति कार्कीलगायतको उपस्थितिमा आश्रममै ‘छठियार’ (छैठी) गरिएको छ ।

औषधि उपचार शुरु गरिए पनि उज्ज्वलको आमाको मानसिक स्वास्थ्यमा पूर्ण सुधार आइसकेको छैन । उनलाई आफूले सन्तान जन्माएको छु भन्ने हेक्का पनि छैन ।

शिशुको स्याहार गर्ने जिम्मा सानुमाया गुरुङको काँधमा छ । उनी सोमबार मात्रै २० पुगेर २१ वर्ष लागिन् । उनी १ वर्षदेखि मानव सेवा आश्रम वीरगञ्ज शाखा संयोजकको जिम्मेवारीमा छिन् । आश्रममा यसअघि नै उमंग र ओजस्वी गरी २ जना सन्तान छन् । विवाह नहुँदै तीन सन्तान हुर्काउने जिम्मेवारी सानुको काँधमा आइपरेको छ ।

रिना जस्तै मानसिक सन्तुलन गुमाएकी सविताले अढाई वर्ष अघि उमंगलाई जन्म दिएकी हुन् । तीन वर्षीया ओजस्वीलाई एक आमाले आश्रम ल्याएर छोडेर गएकी थिइन् । तीनै जनालाई सानुले मातृ वात्सल्य दिएर हुर्काइरहेकी छन् ।

‘बच्चाहरुले मामु भन्दा खुशी लाग्छ, बाबु थपिएपछि रमाइलो भएको छ झन्,’ उनले भनिन्, ‘बच्चाहरु हाँसेको, खेलेको देख्दा थकान मेटिन्छ, रमाइलो लाग्छ ।’

साइकोलोजी समेत पढेकी उनले कम्तीमा २५० घण्टा कुनै सामाजिक संघ संस्थामा काम गरेको अनुभव बटुल्नु थियो । त्यसै क्रममा २०७२ मंसिर अन्त्यतिर राजधानीको सामाखुशीस्थित आश्रम शाखामा आउजाउ हुन थाल्यो । उनको ध्यान सेवा गर्ने तर्फ नै मोडियो । लमजुङ दोर्दी गाउँपालिका-९ लप्सीबोटकी सानु चार वर्ष अघि मानव सेवा आश्रमसँग पूर्णकालीन सेविका बनेर जोडिएकी हुन् ।

आश्रमसँग जोडिनुअघिसम्म उनी बुद्ध एयरमा एयर होस्टेस थिइन् । ७ महिना एयर होस्टेसको काम गर्दा ३५ हजारको तलब स्केल दोब्बर भइसकेको थियो । आकाशमा उड्ने जागिर, आकर्षक तलब छोडेर उनले मानव सेवामा नै लाग्ने निर्णय किन गरिन् त ? उनी भन्छिन्, ‘पैसा त राम्रै कमाउँथे तर खाएर, लाएर, घुमेर सकिन्थ्यो । मानव सेवा गर्दा आत्मसन्तुष्टि मिल्छ, त्यो अमूल्य छ ।’

आश्रममा तीन सन्तान हुर्काउने मात्र हैन, ६३ जना सहयोगापेक्षीको सेवा र स्याहार गर्नुपर्छ । उनीहरु प्रायः सबै मानसिक सन्तुलन गुमाएका छन् । उनीहरुको स्याहार गर्नु अत्यन्त चुनौतिपूर्ण काम भएको सामाजिक अभियन्ता एवं आश्रमका अभिभावक प्रकाश थारु बताउँछन् ।

आश्रममा बिहान उठेदेखि राति अबेरसम्म काम हुन्छ । दैनिक नित्यकर्म गराउने, सरसफाइ गर्ने/गराउने, खाना मात्रै नभएर समयमा औषधि खुवाउनुपर्ने हुन्छ । बिरामी परेकालाई अस्पताल पुर्‍याउन होस् वा सडकमा अलपत्रलाई उद्दार गर्न सानु अग्रसर हुन्छिन् । आश्रममा दैनिक आउने आगन्तुकलाई स्वागत गर्ने र आश्रमको गतिविधिबारे जानकारी गराउनेसम्म काम भ्याउनुपर्छं ।

मानव सेवा आश्रम प्रदेश नं. २ संयोजक देवेश गुप्ता सानुको आगमन पछि वीरगञ्ज शाखा छोडेर अन्य जिल्लामा ढुक्कले काम गर्न पाएको बताउँछन् । वि.सं. २०७४ जेठ १५ मा स्थापित आश्रम शाखामा हाल ६३ जना सहयोगापेक्षी छन् । आश्रमले हालसम्म ३४ जनालाई उपचारपछि पारिवारिक मिलन गराइसकेको छ । १३ जनाले आश्रममै प्राण त्यागेका छन् । भने ३२ जना आश्रमको पर्खाल नाघेर भागेका छन् ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?