
२४ असार, काठमाडौं । अश्लिल तस्वीर देखाएर पूर्वप्रेमिकालाई ब्ल्याकमेल गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नीलकण्ठ नगरपालिका–१४, धादिङका ३२ वर्षीय टिकाराम नेपाली छन् ।
उनी नेकपा एकीकृत समाजवादी पार्टीका धादिङ जिल्ला कमिटी सदस्य पनि हुन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले नेपालीलाई बिहीबार साँझ साढे ५ बजेतिर ठमेलको होटल एक्सेसबाट पक्राउ गरिएको अनलाइनखबरलाई बताए ।
उनका अनुसार नेपालीमाथि जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार पीडित नेपालीका पूर्वप्रेमिका हुन् ।
सम्बन्ध राम्रो हुँदा उनले ती युवतीको अश्लिल तस्वीर खिचेर राखेका थिए । त्यही तस्वीर परिवारका सदस्यलाई पठाइदिने भन्दै धम्क्याएर उनले पीडितलाई बलात्कार गरेको आरोप छ ।
‘पछिल्लो समय पीडित तनावमा भएको थाहा पाएर उनले बोलाएर फेरि करणी गरेको पाइएको छ’ काठमाडौं प्रहरीका एक अधिकृतले भने ।
पीडित युवतीले आफू बलात्कृत भएको भन्दै एकजना नजिककी साथीलाई खबर गरेकी थिइन् । उनैले प्रहरी कन्ट्रोल १०० मा फोन गरेर घटनाबारे जानकारी दिएकी थिइन् ।
त्यसपछि प्रहरी वृत्त, लैनचौरको टोली पुगेर नेपालीलाई नियन्त्रणमा लिएको थियो । र, पीडितलाई उद्दार गरेको थियो । साँझ नै उनको थापाथलीस्थित प्रसुति गृहमा स्वास्थ्य परीक्षण पनि भएको छ ।
प्रतिक्रिया 4