+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
Biartnagar Kings won by 6 wickets
Won विराटनगर किंग्स 2025
150/4 (11.5)
Shares

कास्कीको क्याँदुखोला २ दिनदेखि पहिरोले थुनियो

तल्लो तटीय क्षेत्रका बासिन्दा र होइड्रो व्यवसायीलाई सतर्क रहन अनुरोध

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २७ गते १६:०८

२७ असार, पोखरा । कास्कीको मादी गाउँपालिकाको माथिल्लो भेगमा रहेको क्याँदू खोला पहिरोका कारण थुनिएपछि तल्लो तटीय क्षेत्र जोखिममा परेको छ । पालिकाको दुर्गम भेगको २ ठूला पहाडको बीचमा पहिरो गएर शनिबारदेखि खोला थुनिएको मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजंग गुरुङले जानकारी दिए ।

हुँगुमा सिक्लेसका केही स्थानीय भेडा चरणसँगै होटल व्यवसाय गर्छन् । नेपालकै सबैभन्दा होंचो स्थानको हिमताल कफुचे ताल त्यही बाटो भएर जाने भएकाले त्यहाँ मादिवासीले होटल व्यवसाय गरेका हुन् ।

हुँगुको नजिकै क्यादु खोला बग्छ । त्यहाँ होटल व्यवसायीले त्यही खोलाको पानी प्रयोग गर्दै आइरहेका छन् । तर, शनिबार साँझ करिब ५ बजेबाट खोला आउन छाड्यो । लगातारको झरीमा पनि खोलामा पानी नआएपछि स्थानीय होटल व्यवसायीले गाउँपालिकालाई खबर गरेका थिए ।

‘त्यहाँ (हुँगु) फोनले काम गर्दैन । स्याटेलाइट फोनबाट ४० मिनेट पानी आएन भनेर खबर भएको हो,’ वडाध्यक्ष गुरुङले भने, ‘आइतबार पनि पानी नआएपछि त्यहींका व्यवसायीले हेलिमार्फत हेरेर फर्किंदा खोला थुनिएको थाहा भयो ।’

हेलिबाट हेर्दा पहिरोले खोला थुनिएर बनेको ताल सानो देखिएपनि गहिरो हुन सक्ने अनुमान गाउँपालिकाको छ । ‘टाढाबाट हेर्दा सानो देखिएको छ । तर, खोंचमा रहेकाले गहिरो छ भन्ने लागेको छ,’ वडाध्यक्ष गुरुङले भने, ‘अरुबेला पनि मान्छे हिँड्ने बाटोभन्दा पनि धेरै माथि भएकाले हिँडेर जान सक्ने सम्भव छैन ।’

क्यादू खोला मादी नदीमा आएर मिसिने भएकाले मादीसँग जोडिएका वस्ती बढी जोखिममा रहेको वडाध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार मादीको वडा नम्बर १, ५, ९, ११ र १२ नम्बर वडा सबैभन्दा बढी जोखिममा छन् । ‘मादीमा रहेका हाइड्रो व्यवसायी पनि जोखिममा छन् । तल सिक्लेस हाइड्रो, अपरमादी, सुपरमादी छन् । उनीहरुलाई खबर गरिसकेका छौं,’ उनले भने ।

अघिल्लो वर्ष पनि मादीमा आएको बाढीका कारण मादी १ सोंदावासी विस्थापित भएका थिए भने सुपरमादीलाई क्षति पुर्‍याएको थियो । त्यतिबेला क्यापु खोलाका कारण बाढी आएको भए पनि यसवर्ष क्यादू खोलाबाट जोखिम बढेको गाउँपालिकाले जनाएको छ । ‘सोंदाबासीलगायत जोखिमयुक्त सबैलाई सूचना जारी गरिसकेका छौं,’ वडाध्यक्ष गुरुङले भने ।

खोला थुनिएकोबारे शनिबार नै सिडिओ कार्यालयलाई जानकारी दिइसकेको र सोमबार फेरि जान लागेको बताए । ‘भिडिओ खिचेर ल्याएका छौं । त्यो भिडिओ सिडिओ साबलाई देखाइसकेपछि कतिको जोखिम हो, खोल्नु पर्ने हो कि होइन ? त्यसपछि थाहा हुन्छ,’ उनले भने । उनका अनुसार सोमबारदेखि खोलामा केहीमात्रामा पानी बग्न थालेपनि पुरानै अवस्थामा फर्किएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?