+
+

ओलीको प्रश्न : सरकार सरले चलाउनुहुन्छ कि म्याडमले ?

सोमबार सम्पादकहरुसँगको छलफलमा एमाले अध्यक्ष ओलीले हतियार खरिद, संवैधानिक परिषदसम्बन्धी विधेयक, चुनावी गठबन्धन, निजगढ विमानस्थललगायतका विषयमा आफ्नो धारणा राख्नुका साथै सञ्चार माध्यमप्रति पनि गुनासो गरे ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २७ गते २०:०४

२७ असार, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले बजेट निर्माणमा भएको भनिएको अनधिकृत व्यक्तिको संलग्नता र विवादस्पद हतियार खरिदमा प्रधानमन्त्रीलाई समेत तान्ने संकेत गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले यो सबै काम अर्थमन्त्री वा रक्षामन्त्रीको मात्र संलग्नता हुन नसक्ने बताएका छन् ।

आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता गराएको आरोप लागेपछि अर्थमन्त्री जनार्दद शर्माले २२ असारमा राजीनामा दिएका थिए । यसबारे छानबिन गर्न संसदीय विशेष समिति बनेको छ, जसले मंगलबारदेखि काम थाल्दैछ । एमाले अध्यक्ष ओलीले भने बजेटमा भएको ‘बद्मासी’मा अरु पनि पृष्ठपोषक रहेको बताएका छन् ।

सोमबार सम्पादकहरुसँग भएको अन्तर्क्रिया कार्यक्रममा ओलीले भने, ‘न हतियार खरिद रक्षामन्त्री वा अर्थमन्त्रीले मात्र गर्न सक्छन्, न बजेटमा यत्रो बद्मासी अर्थमन्त्रीले मात्र गर्न सक्छन् ।’ उनले कसैको नाम त लिएनन्, सरकार कसले चलाउँछ भन्ने दुनियाँलाई थाहा भइसकेको बताए ।

सम्पादकहरुको प्रश्नको जवाफमा उनले अघि भनेका छन्, ‘सरले चलाउनुहुन्छ कि म्याडमले चलाउनुहुन्छ ? यतापट्टी जान चाहन्न मेरो विषय बनाउन चाहन्न । दिदीले चलाउनुहुन्छ कि भाइले चलाउनुहुन्छ ? भिनाजुले चलाउनुहुन्छ कि सालाले चलाउनुहुन्छ ? प्रधानमन्त्रीले चलाउनुहन्छ कि रियल पावर मै हुँ भन्नेले चलाउनुहुन्छ ? त्यतापट्टी पनि जान चाहन्न । तर जसले चलाए पनि चलाएको त यही हो ।’

शासन सञ्चालनमा प्रधानमन्त्री पत्नी आरजु राणा र उनका भाइको संलग्नताका बिषयमा भइरहेका चर्चालाई बल पुग्नेगरी एमाले अध्यक्ष ओलीले निसाना साँधेका छन् ।

मुलुकको अर्थतन्त्रलाई यसरी नै अधोगतिमा जान दिने हो भने कम्तीमा श्रीलंकाको स्थितिमा पुग्ने उनले बताए ।

मुद्दा फिर्ता लेऊ र माफी माग

एमाले अध्यक्ष ओलीले संवैधानिक परिषदसम्बन्धी विधेयकलाई लिएर पनि सरकारको आलोचना गरेका छन् । संवैधानिक परिषदसम्बन्धी यस्तो विधेयक ल्याउनुअघि सर्वोच्च अदालतमा विचाराधीन मुद्दा फिर्ता लिनुका साथै हिजो जानिएनछ भनेर जनतासँग सार्वजनिक रुपमा माफी माग्नुपर्ने उनले बताएका छन् ।

ओली सरकारले ल्याएको अध्यादेश र त्यसविरुद्ध परेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । त्यही बेला सरकारले अध्योदशकै भावको विधेयक राष्ट्रियसभामा दर्ता गराएपछि ओलीले भने, ‘गर्नै मिल्दैन, असंवैधानिक छ भनेर सर्वोच्च अदलतमा मुद्दा हलेको छ, यता राष्ट्रियसभा जस्तो ठाउँमा लगेर नगरी हुँदैन, संविधानसम्मत छ भनेको छ । यो भन्दा निर्लज्ज, दुईमुखे दुईजिब्रे अरु के हुन्छ ?’

‘यो लज्जास्पद कुरा हो । उहाँहरुले त्यो मद्दा फिर्ता लिनुपर्छ । हिजो गरेको कामहरुमा माफी माग्नुपर्छ । हिजो हामीले जानेनछौं भनेर नेपाली जनतासँग भन्नुपर्छ’ उनले भने ।
तीन तहको संघीयताको कार्यान्वयन गरौं

एमाले अध्यक्ष ओलीले तीन तहको संघीयतालाई सफल बनाउन प्रयास गर्नुपर्ने बताएका छन् । पछिल्लो समय प्रदेश सरकारका गतिविधिको आलोचना हुने गरेको छ र, स्वयं एमालेका नेताहरुले पनि बेलाबेलामा प्रदेश खारेजको माग गर्ने गरेका छन् ।

तर ओलीले भने बडो मुश्किलले संविधान ल्याएको भन्दै इमान्दारीका साथ कार्यान्वयन गर्न कोसिस गर्नुपर्ने बताए । साम्प्रदायिक विद्वेष भड्काउने र विविधतालाई द्वन्द्वको विषय बनाउने प्रयास गरेका बेला लोकतान्त्रिक संविधान जारी गर्नुपर्ने जिम्मेवारी आफूहरुको रहेको भन्दै उनले भने, ‘त्यो जिम्मेवारी बहन गर्दा धेरै कुराहरुमा समुचित ढंगले विचार पु¥याउने अवसर रहेन ।’

संविधान बनाइसक्न पाएको छैन, कार्यान्वयन गर्न पाएको छैन भन्दै ओलीले यसलाई असफल बनाउन लाग्न नहुने बताए । सबैले प्रयास गर्दा पनि सफल भएन भने परिवर्तन  गर्न तयार हुनुपर्ने उनले बताए ।

ओलीले अघि भने, ‘एउटा चिज आइसकेपछि अनवतर घोच्ने होइन, एक तहसम्म कार्यान्वयन गर्ने कोशिस गर्नुपर्छ । कमी कमजोरी हटाउने कोसिस गर्नुपर्छ, सफल बनाउने कोसिस गर्नुपर्छ ।’

नक्कली बिहे गर्ने हतार गर्दैनौं

एमालेमा वाम गठबन्धन गर्नुपर्ने मत बलियो छ । तर अध्यक्ष ओलीले भने सरकार परिवर्तन गर्न सकिन्छ भनेर मात्र गठबन्धन नगरेको बताएका छन् आफूहरुले ‘जस्तो पनि गठबन्धन, जसरी पनि बनाए हुन्छ’ भन्ने ठानेको भए यो गठबन्धन उहिल्यै भत्किसक्ने दाबी गरेका उनले सत्तामात्र सबथोक नभएको बताए ।

ओलीले भनेका छन्, ‘एक पटक बिहे हुन्छ, डिभोर्स हुन्छ । अनि फेरि बिहे हुन्छ, फेरि डिभार्स हुन्छ । त्यसका पछाडिको कारण डिभोर्स चाहिँ साचो हुन्छ, बिहे चाहिँ नक्कली हुन्छ । त्यरसकारण साँचो डिभोर्स गर्न नक्कली बिहे गर्ने हतारो एमालेले गर्दैन ।’

गठबन्धन सरकार कति फलदायी हुन्छ भन्ने अहिलेको सरकारलाई हेरे पुग्ने उनले बताए । लोकप्रिय हुन सकेन भने जनताले राष्ट्रपति कार्यालय घेरेर घोक्राउन सक्ने श्रीलंकामा देखिएको भन्दै ओलीले अघि भने, ‘हामी पायो भने तीन माना चुक खाने अहिलेको सरकार जस्तो होइन । विचार गरेर मात्र चल्छौं ।’

यद्यपि यो सरकार नचलेको भन्दै उनले यसलाई बोकेर हिँड्नु हानिकारक भएको बताए । एमाले अध्यक्ष ओलीले भने, ‘यो निष्प्राण भइसक्यो, यसले हैजा फैलाउँछ, यसले समाजलाई दूषित गराउँछ । भगवान शिवले बोकेर हिँड्दा त सतीदेवी काम लागिनन् भने यस्तो गठबन्धन कुनै काम आउन सक्छ ? अस्ति एउटा झरेको देख्नुभयो फत्याक्क गरेर, अरु अंगप्रत्यंग झर्दै जान्छ । भ्रष्टचारी अंग झरेर पीठ बन्छ ? त्यो कुनै पीठ बन्नेवाला छैन, बरु त्यो ठाउँ त रुखो हुन्छ ।’

सञ्चार जगतप्रति गुनासो

अन्तर्क्रियाका क्रममा एमाले अध्यक्ष ओलीले पक्षधरता नदेखाउन सम्पादकहरुलाई समेत आग्रह गरेका छन् ।

जेठी श्रीमतीले जस्तो खाना बनाए पनि नमिठो भयो भन्ने श्रीमानले कान्छीले जस्तो बनाए पनि मिठो भन्ने गरेको कथा सुनाउँदै उनले त्यस्तो नगर्न आग्रह गरे ।

उनले भने, ‘कस्तो खाना बनाएको ? दाल पनि मिठो छैन, तरकारीमा नुन पनि चर्को छ । (जेठीले) मैले होइन कान्छीले बनाएको भनेपछि त्यही त चर्को भएपनि टाठो–टाठो मिठै रहेछ । सञ्चार जगत त्यस्तो नभइदिए हुन्थ्यो ।’

निजगढमै विमानस्थल बनाउन सकिन्छ

ओलीले वनको क्षति नगरी निजगढमा दुई हजार मिटर क्षेत्रफलमा विमानस्थल बनाउन सकिने बताए । ‘निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल, वनको क्षति नगरीकन नजिकको टाँगियावस्ती हटाउँदा र दक्षिणपट्टी बनाउँदाखेरि दुई हजार स्क्वायर मिटरमा बनाउँदा पुग्ने ठाउँमा ८ हजार मिटर लिनुपर्ने आवश्यकता पर्दैन’ उनले भने ।

विमानस्थल निर्माण गर्दा सरकारले अनावश्यक क्षेत्रफल लिनु, अनावश्यक ढंगले वन विनाश गर्नु र वातावरणमा जानीजानी दुष्प्रभाव पार्न नहुने भन्दै ओलीले अदालतले पनि विकास निर्माणमा हस्तक्षेप गर्न नहुने बताए । ‘विकास निर्माणमा अदालतले धेरै ठाउँमा अनावश्यक हस्तक्षेप गर्ने गरेको छ । त्यस्तो क्रियाकलाप पनि गर्नुहुदैन’ ओलीले भने ।

अध्यक्ष ओलीले धेरै वातावरणीय क्षति नगरी चाहिएजति जमिन लिएर विमानस्थल निर्माण गर्न सकिने बताए । ‘चाहिएजति जमिन लिने, त्यसमा धेरै क्षति पनि हुँदैन, त्यसलाई निर्माण गर्न सकिन्छ’ उनले भने ।

निजगढ विमानस्थलका विषयमा सर्वोच्च अदालतले पर्याप्त अध्ययन नगरी फैसला गरेको ओलीले बताए ।

‘सम्मानित अदालतले पर्याप्त अध्ययन गरेर विशेषज्ञको अध्ययनको आधारमा फैसला गर्ने गर्नुपर्छ’ उनले भने, ‘सम्मानित सर्वोच्च अदालतले पर्याप्त अध्ययनविना एउटा फैसला सुनाउने । सुनाएको फैसलाको पूर्णपाठ चाहिँ जारी गर्न नसक्ने पूर्णपाठ जारी गर्दा के हो के हो जस्तो जारी गर्ने, त्यस्तो खालको हुनुहुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?