+
+

हैन ! के हो यो अनलाइन फाराम भनेको ?

यति सानो फाराम भर्दा त जनता यसरी ठगिन्छन् भने अरू काम गर्दा कति ठगिन्छन् होला ? त्यो फाराम भर्दा बढीमा ५० पनि लाग्दैन होला तर, २०० देखि २ हजारसम्म लिएको गुनासो सुनें ।

कृष्णमणि पराजुली कृष्णमणि पराजुली
२०७९ असार २८ गते १०:१९

अनलाइनबाट कारोबार गर्ने कुरा केही वर्षअघिदेखि नै चर्चामा आएको थियो । मानिसहरू यसबारे परिचित भई नसकेको हुँदा यसप्रति खासै चासो पनि थिएन । २०७६ सालमा विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ को कारणले यसले मलजल पाउने मौका पायो । २०७६ चैत ११ गतेदेखि सरकारले देशभर लकडाउनको घोषणा गर्‍यो ।

मानिसहरूको हिंडडुल गर्ने कार्य बन्द भयो । यातायात सबै बन्द भए । उद्योग धन्दा, कलकारखाना सबै बन्द भए । श्रम गरेर रोजीरोटी गर्नेहरू बेरोजगार हुन पुगे । मानिसलाई बाँच्न धौ-धौ भयो । अवस्था यस्तो भइदियो कि खान नपाएर मानिसहरू सडकमा थाल थाप्न बाध्य हुनु पर्‍यो ।

यो त भयो आम नेपाली जनताको अवस्था । अर्कोतर्फ सरकारका गतिविधि पनि संकुचन गरियो । अत्यावश्यक कामका कार्यालयहरू बाहेक अन्य सरकारी कार्यालयहरू बन्द हुन पुगे । कतिपय कार्यालय आलोपालोबाट सञ्चालन गरिन थालिए ।

कोभिडले यतिसम्म सतायो कि धेरै धनजनको क्षति हुन गयो । राजस्व उठ्नै छोड्यो । सरकारी काम कारबाही ठप्प्ा प्रायः भएको हुँदा सरकारले जनतालाई सेवा प्रवाह गर्न सक्ने अवस्था पनि थिएन ।

आयात भन्सार, पर्यटन आगमन र विप्रेषणबाट धानिएको अर्थतन्त्र जोगाउन ज्यादै कठिन भयो । जसरी भए पनि सरकारले प्रवाह गर्नुपर्ने सेवा उपलब्ध गराउनु नै र अर्थतन्त्रलाई पनि चलायमान बनाउनुपर्ने सरकारको कर्तव्य र बाध्यता नै थियो । यसकारणले गर्दा सरकारले मिलेसम्म घरबाटै काम गर्ने थालनी गर्‍यो । यो भनेको अनलाइन प्रणाली हो अर्थात् विद्युतीय कार्य प्रणाली ।

विश्वका सबैजसो देशहरूले विद्युतीय प्रणालीबाट कारोबार गर्न थाले । यसको प्रभाव नेपाललाई पनि पर्‍यो र जसको कारणले गर्दा अहिले धेरै जसो काम-कारबाही अनलाइनबाटै भइआएको अवस्था छ ।

अहिले वित्तीय संस्थाहरू मूलतः अनलाइन प्रणालीमा अभ्यस्त भइसकेका छन् । जुम्लाको वाणिज्य बैंकको चेकले काठमाडौंमा रहेको बैंकबाट पैसा झिक्न सकिन्छ । ताप्लेजुङको एउटा निवृत्त कर्मचारीले दार्चुलाको बैंकबाट रकम झिक्न सक्दछ । विदेश अध्ययन गर्न बसेको छोरालाई नेपालबाट एक क्लिकको भरमा तुरुन्त नै उसले पैसा पाउन सक्दछ ।

त्यसैगरी खाडी मुलुकमा श्रम गर्न गएको छोराले बुढा बा-आमाको खर्च धान्न पठाएको पैसा केही समयमा नै बा-आमाले पाएका हुन्छन् । यही नै हो अनलाइन कारोबारको कमाल । अहिले त विश्वबजारभरि नै फैलिएको छ । कागजरहित कार्यालय भन्ने नाराको सिको पनि हामीले गर्दै आएका छौं । अहिले त कतिपय देशहरूमा देख्न, छुन नसकिने एकप्रकारको विद्युतीय मुद्रा पनि प्रयोगमा आइसकेको छ । जसलाई क्रिप्टो करेन्सी भनिन्छ । तर, नेपालमा भने यो अवैध घोषित गरिएको छ ।

अहिले हामी यसमा अभ्यस्त भइसकेका छैनौं । किनकि हामी अभ्यस्त भनेको कागजी काममा नै हो । एक त हामीमा चेतनाको अभाव छ, अर्को भनेको विद्युतीय प्रणालीको बारेमा ज्ञान नै छैन । कतिपयहरूलाई विद्युतीय प्रणालीमा विश्वास पनि हुँदो रहेनछ । थोपा थोपा पसिनाको कमाइ त्यसै हराएर जाने त होइन भन्ने पनि हुँदोरहेछ ।

जे होस् अनलाइन बैंकिङ प्रणालीमा चासो र प्रयोग भने निश्चय नै बढ्दै गएको छ । बुझ्नुपर्ने कुरा के छ भने विद्युतीय प्रणाली बुझेकालाई त सजिलो छ तर नबुझ्नेहरूको लागि भने टाउकोदुखाइ भएको छ ।

अनलाइन प्रणाली बारेमा म आफैंले पनि केही समस्या भोगेको छु । केही समयअघि एउटी बच्चीको जन्मदर्ता गराउनु परेको थियो । मैले सम्बन्धित कार्यालयमा सम्पर्क राखें । कार्यालयले अनलाइनबाट फाराम भरेर आउनुहोस्, त्यसपछि मात्र काम अगाडि बढ्छ भन्ने भयो । मलाई भने फसाद, अनलाइन फाराम कसरी भर्ने भन्ने थाहा नै थिएन । अनलाइन नै आधिकारिक भएकोले मैले जसरी भए पनि फाराम भरेर वडा कार्यालयमा जानुपथ्र्यो । अरू साथीको सहयोग लिएर मैले फाराम भरें । त्यस फारामसँग अपलोड गर्नुपर्ने आवश्यक कागजात पनि संलग्न गरें । त्यसपछि वडा कार्यालय गएर अन्य कतिपय प्रक्रिया पूरा गरेपछि जन्मदर्ताको काम सम्पन्न भयो ।

यस्तै केही दिनअघि म कामविशेषले बसमा यात्रा गर्दै थिएँ । छेवैमा बसेका एक युवकको हातमा केही कागजपत्र थिए । मलाई जिज्ञासा लाग्यो र सोधें- तपाईं कहाँ जाने हो ?

उनको उत्तर थियो, राष्ट्रिय परिचयपत्र बनाउन । यो नभइकन राहदानी बन्दो रहेनछ । त्यसैको लागि गाउँबाट परिचयपत्र बनाउन आएको भनेर उनले भने । अनि मलाई लाग्यो मैले पनि राष्ट्रिय परिचयपत्र बनाउनु थियो भन्ने कुरा मनमा आयो र के कसरी बनाउनुपर्ने रहेछ भनेर सोधनी गरें ।

उनले भने, ‘यो अनलाइन फारामबाट मात्र भरिन्छ । आफैंले भरे पनि हुन्छ, नभए साइबरेहरूबाट भराए पनि हुन्छ ।’ यसको लागि २०० लिने थाहा पाएँ । यति रकम तिरेर बनाऔं जस्तै लाग्यो ।
हामी दुुईबीच भएको अनलाइन फाराम सम्बन्धी कुराकानी पल्लो छेउमा बसिरहेका अर्का युवकले सुनिरहेका रहेछन् र उनको

चित्त साह्रै दुखेको रहेछ । उनले भने, ‘२०० रुपैयाँ लाग्नेमा मलाई त २००० पो लियो त !’

कुराकानीकै दौरानमा थाहा भयो कि उनी महोत्तरीका रहेछन् । यही कामको लागि काठमाडौं आएका रहेछन् । यो फाराम त्यति गाह्रो पनि रहेनछ । ४/५ मिनेटमा भर्न सकिंदोरहेछ । यति सानो कामको लागि काठमाडांै आउनुपर्ने, त्यसमा पनि २००० तिर्नुपर्ने Û काठमाडौंको बसाइले झनै ती युवकलाई कति साह्रो दुःख दिएको होला जस्तो लाग्यो मलाई । उनीप्रति यो मेरो सहानुभूति मात्र थियो । मबाट कुनै सहयोग हुने कुरै थिएन ।

त्यो बसभित्रको कुराकानी छोटो थियो तर मेरो लागि भने निकै सहयोगी भयो । किनभने राष्ट्रिय परिचयपत्र बनाउने सम्बन्धमा मैले ती दुई युवकबाट धेरै कुरा थाहा पाइसकेको थिएँ । मलाई पनि छिट्टै आवश्यक भएकोले साथीभाइसँग जानकारी लिएर अनलाइन फाराम भरें । म सिकारु भएको हुँदा धेरै समय खर्चन पर्‍यो । तर पनि फाराम भरें । फाराम भर्दा कम्प्युटरको कि बोर्ड त्यहीं संलग्न गरिएको रहेछ । तर, फन्ट अलि फरक भएको हुँदा समस्याजन्य हुन गयो । कतिपय अक्षरहरू खोज्दा नपाए पछि मिल्दो जुल्दो अक्षर मिलाएर पनि फाराम भर्ने काम येनकेन सम्पन्न गरें ।

फारामले निर्देशन गरे बमोजिम एकप्रति पि्रन्ट निकालेर तोकिएको मिति र समयमा सम्बन्धित कार्यालयमा पुगें । त्यहाँ भने मलाई त्यति असहज भएन किनभने म ज्येष्ठ नागरिक थिएँ । डेढ दुई घण्टा भित्रमा नै मैले आफ्नो राष्ट्रिय परिचयपत्र बनाउन सफल भएँ । अरू मानिसहरूको भने ठूलै लाइन देखिएको थियो ।

त्यहाँको वातावरण अध्ययन गर्दा सबैजसोले साइबरबाट नै फाराम भरेर आएको हुनुपर्दछ । सम्बन्धित व्यक्ति आफैंले भर्न सकेको भए त्रुटि कम हुन्थे होलान् अथवा हुँदै हुँदैनथे । भर्ने मानिसले कसरी भरे र भन्ने मानिसले कसरी भने ? प्रायः गरेर सबैकोमा सानोतिनो भए पनि गल्ती देखिएका थिए ।

यति सानो फाराम भर्दा त जनता यसरी ठगिन्छन् भने अरू काम गर्दा कति ठगिन्छन् होला ? त्यो फाराम भर्दा बढीमा ५० पनि लाग्दैन होला तर, २०० लिएका रहेछन् । अझ तराईका युवकले त २००० तिरेको गुनासो सुनाएका थिए । यी कामहरू आफ्ना नागरिकलाई उपलब्ध गराउनु सरकारको दायित्व नै हो । नागरिकता, राष्ट्रिय परिचयपत्र जस्ता राष्ट्रिय चिनारी आफ्ना नागरिकलाई उपलब्ध गराउनु राज्यको कर्तव्य होइन र ? सरकार आफैंले अनिवार्य गरेको हुन्छ तर सेवा दिन भने सकेको हुँदैन । यसतर्फ सरकारको ध्यान जानुपर्दछ । सरकारले निःशुल्क सेवा दिन सक्दैन भने न्यूनतम सेवा शुल्क लिएर भए पनि यस्ता राष्ट्रिय महत्वका बिषयहरूमा ध्यान दिनै पर्दछ ।

अहिलेको बदलिंदै गएको सूचना तथा सञ्चारको युगमा विद्युतीय प्रणालीबाट धेरै फाइदा लिन सकिन्छ नै । यसबाट समय, साधनस्रोत र पैसाको पनि बचत हुन सक्दछ । तर, ज्ञानै नभएपछि जनता पनि यसमा कसरी अभ्यस्त हुने ? हो यहाँ समस्या रहेको छ ।

मैले आफ्नो राष्ट्रिय परिचयपत्रको एक पन्ने पातो हातमा लिन पाउँदा युद्ध जितेर फर्केको सिपाहीको जस्तो अनुभव गरेको थिएँ । जब म कार्यालयको परिसरको ढोकाबाट बाहिर निस्कँदै थिएँ, सकी-नसकी लौरोको सहारा लिएका दुई वृद्ध जोडी कार्यालय प्रवेश गर्दै भनिरहेका थिए- ‘हैन ! के हो यो अनलाइन फाराम भनेको ?’

(पराजुली सेवा निवृत्त पूर्व उपसचिव हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?