+
+

आयल निगमको जग्गा दुरुपयोग : कतै खेल मैदान, कतै सेनाको कब्जामा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३१ गते १९:३०
नेपाल आयल निगमले प्रदेश नं. १ मा पेट्रोलियम भण्डारणका लागि झापामा खरिद गरेको जग्गा/फाइल तस्वीर

३१ असार, काठमाडौं । नेपाल आयल निगमले खरिद गरेको देशका विभिन्न भागका जग्गा सदुपयोग नभएको पाइएको छ । निगमले आर्थिक वर्ष २०७३/७४ मा रूपन्देही, चितवन, सर्लाही र झापामा किनेको २ अर्ब ५ करोड ६६ लाख रुपैयाँ लागतको ६८ बिघा जग्गा हालसम्म उपयोगमा नल्याउँदा गलत उद्देश्यका लागि प्रयोग भएको पाइएको महालेखा परीक्षकको ५९औं प्रतिवेदनमा उल्लेख छ ।

पेट्रोलियम पाइपलाइन र भण्डारण पूर्वाधारका लागि महँगोमा किनिएको जग्गा कतै खेल मैदान बनाएर स्थानीयले प्रयोग गरेको तथा कतै भने नेपाली सेनाले कब्जा गरेको प्रतिवेदनमा उल्लेख छ ।

जग्गाको उचित उपयोग र संरक्षण गर्न आयल निगमलाई प्रतिवेदनले सुझाएको छ । सर्लाहीको जग्गामा एलपीजी ग्याँस बोटलिङ प्लान्ट बनाउने, चितवन र झापाको जग्गामा अमलेखगञ्जको जस्तै पाइपलाइनको व्यवस्था गरी भण्डारणको व्यवस्था गर्ने निगमको कार्ययोजना थियो ।

रूपन्देहीमा रहेको जग्गामा पेट्रोलियम पदार्थ भण्डारणको कार्य गर्न केही जग्गा नपुग रहेको हुँदा थप जग्गा प्राप्तिपछि पूर्ण उपयोगमा ल्याउने निगमको योजना थियो ।

निगमको पोखरा प्रादेशिक कार्यालय अन्तर्गत रहेको ७७ रोपनी जग्गामध्ये करिब १८ रोपनी जग्गा निगमको नियन्त्रणमा नरहेको र उक्त जग्गा स्थानीय बासिन्दाहरूले खेल मैदान तथा बाटोको रूपमा प्रयोग गरिरहेको पनि प्रतिवेदनमा औल्याइएको छ ।

निगमको लालबन्दी १, सर्लाहीस्थित जग्गामा तारबार नहुनाले स्थानीयले सडक निर्माण गरी प्रयोग गरेको, धनकुटास्थित जग्गा र भवन रेडियो नेपालले प्रयोगमा ल्याए पनि बहाल रकम असुल नगरेको, चारआलीस्थित जग्गामा तारबार नभएकाले अतिक्रमणको जोखिम रहेको, जनकपुरस्थित जग्गाको अधिकांश भूभाग नेपाली सेनाले प्रयोग गरेको र थानकोटस्थित जग्गामा समेत पूर्ण रूपमा तारबार नगरेको प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?