+
+
कोरोना महामारीको चौथो लहर :

तीव्र गतिमा फैलिँदैछ कोरोना संक्रमण, खोप लगाएकाहरू पनि जोखिममा

संक्रमण रोक्ने अवस्थाबाट हामी धेरै पर पुगिसकेका छौं । भाइरस बढी संक्रामक भएकाले पहिले संक्रमित भएका र खोप लगाएकाहरूमा पनि संक्रमण हुनसक्छ । त्यसैले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नुको विकल्प छैन

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०७९ असार ३१ गते १८:५१

३१ असार, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र गतिमा फैलिरहेको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार मात्र थप २२९ जनामा संक्रमण पुष्टि भएको छ र संक्रमणदर ६ प्रतिशतभन्दा बढी पुगेको छ ।

जबकी १ असारमा संक्रमणदर ०.६४ प्रतिशत थियो । ३१ असारमा आइपुग्दा १० गुणाले बढेकाले नेपालमा कोरोना महामारीको चौथो लहर सुरु भएको मानिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले ओमिक्रोन भेरियन्ट र यसका उपप्रजाति ‘बीए टु’ र ‘बीए फाइफ’ बढी सक्रिय रहेको पाइएको छ । एकसाताअघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिन सिक्वेन्सिङ गरिएका ३२ वटा नुमनामध्ये दुईवटामा ‘बी फाइभ’ पुष्टि भएको थियो । विभिन्न ठाउँको १६ वटा नुमनाको धुलिखेल अस्पतालमा जिन सिक्वेन्सिङ गरिएको थियो, जसमा चार वटामा ‘बी फाइभ’ पुष्टि भएको छ ।

‘बी फाइभ’ हालसम्मकै संक्रामक मानिन्छ । यो समुदाय स्तरमा पुगिसकेकाले आगामी दिनमा संक्रमण बढाउने जनस्वास्थ्यविदहरूको विश्लेषण छ ।

भारतीय सीमा नाकाबाट नेपाल प्रवेश गर्ने मानिसको कोरोना परीक्षण गर्दा पुष्टि हुने दर बढिरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ । ‘हाल दैनिक भइरहेको संक्रमितमध्ये ३५ प्रतिशत सीमा नाकामा प्रवेश गर्ने यात्रुमा कोरोना पुष्टि भएको छ,’ ईडीसीडीका प्रमुख डा. चुम्मनलाल दासले भने, ‘हामी चोथौ लहरमा प्रवेश गरिसकेका छौं, संक्रमण फैलिसकेको छ ।’

विज्ञहरू पनि संक्रमणको यो अनुपातलाई सामान्य रुपमा लिन नहुने बताउँछन् । संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी समुदायमा तीव्ररुपमा संक्रमण फैलिरहेको प्रमाण बढ्दो तथ्यांक देखाइरहेको बताउँछन् । ‘डेढ महिनाअघि ०.२ प्रतिशत संक्रमणदर थियो । तर शुक्रबारसम्म आइपुग्दा ६.१५ पुष्टि भयो । जुन ३० गुणाले संक्रमणदर बढेको हो,’ डा. सुवेदीले अनलाइनखबरसँग भने, ‘यो तथ्यांकले घना वस्ती भएको समुदाय स्तरमा संक्रमण तीव्र गतिमा बढिरहेको देखाँउछ । अबको दुई हप्तामा महामारीको उच्चबिन्दुमा पुग्नेछौं ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन पनि ‘बी फाइभ’ समुदाय स्तरमा घुलमिल गरिरहेको बताउँछन् । ‘अस्पतालमा आएका केही बिरामीलाई सोध्दा घरमा भएका अन्य व्यक्ति पनि उस्तै लक्षण लिएर बसिरहेको पाइएको छ,’ डा. पुनले भने, ‘ओमिक्रोनले तेस्रो लहर ल्याउँदा पनि परिवारका अधिंकाश मानिसलाई संक्रमण भएको थियो ।’

खोप लगाएकाहरू पनि संक्रमित

ओमिक्रोन भेरियन्टको उपप्रजाति ‘बीए फाइब’ अरुभन्दा संक्रामक भएकाले खोप लगाएका मानिसलाई पुनः संक्रमण गराउने क्षमता राख्ने विज्ञहरू बताउँछन् ।

हालसम्म भएका अध्ययनअनुसार संक्रामक मानिएको ओमिक्रोनको संक्रमण दर(आर नट) १३ छ । ओमिक्रोनको उपप्रजाति ‘बीए.फाइभ’ को भने १८ छ । अर्थात एकजना संक्रमितले १८ जनासम्मलाई कोरोना सार्न सक्छ ।

‘ओमिक्रोनको उपप्रजातिले पहिला संक्रमित भएका वा खोप लगाएका मानिसलाई पनि पुनः संक्रमण गराउँछ,’ डा. पुन भन्छन्, ‘अहिलेसम्मकै बढी संक्रामक रहेकाले अबको केही हप्तामा संक्रमण ठूलो संख्यामा बढ्छ ।’ डा. पुनको भनाइ सहमत जनाउँदै जनस्वास्थ्यविद् सुवेदी भन्छन्, ‘बुस्टर खोप लगाएका मानिसमा पनि संक्रमण गराउने सम्भावना ठूलो छ । तर अघिल्लो लहरहरू जस्तो घातक नहोला ।’

सामान्य अक्सिजन आवश्यक

कोरोनाको संक्रमणदर बढेसँगै अस्पतालहरू भर्ना हुने दर पनि विस्तारै बढ्दै गएका छन् । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार कुल सक्रिय संक्रमित १ हजार २८४ पुगेको छ, जसमध्ये १४ जनाको आईसियूमा र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

एक महिनाअघिसम्म शून्य केस भएको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा तीन जना संक्रमित उपचाररत छन् । अस्पतालका फोकल पर्सन डा. निरज बम पछिल्ला दिनमा संक्रमित भर्ना हुन थालेको बताउँछन् । ‘दुई हप्ताअघि अस्पतालमा कुनै केस थिएन । दुई–तीनको बीचमा परीक्षण गराउने र भर्ना हुने संख्या बढेको छ,’ डा. बम भन्छन्, ‘भर्ना भएका बिरामीलाई सामान्य अक्सिजन सपोर्ट दिनुपरेको छ ।’

तर सामान्य ज्वरो खोकी भएका धेरै बिरामी परीक्षणको दायारामा नआएकालले आगामी दिनमा संक्रमणसँगै अस्पताल भर्ना दर बढ्ने उनी बताउँछन् । ‘परीक्षणको दायरा बढाउने हो भने संक्रमणदर ह्वातै बढ्नसक्छ,’ डा. बम थप्छन्, ‘दुई हप्तापछि अस्पतालमा पनि चाप बढ्छ ।’

पाटन अस्पतालमा पनि अहिले साधारण निमोनिया भएका कोरोना संक्रमित भर्ना भएका छन् । अस्पतालका निर्देशक डा. रवि शाक्य संक्रमण समुदायमा प्रवेश गरेकाले दीर्घरोगी संक्रमित हुन थालेको बताउँछन् । ‘संक्रमण समुदायमा फैलिएकाले घरमा भएका बालबालिका तथा दीर्घरोगी संक्रमित भएको पाइएको छ,’ डा. शाक्यले अनलाइनखबरसँग भने, ‘कोरोनाको संख्या बढ्दै जानुले थप चुनौति थपेको छ ।’

‘दुई हप्तापछि अस्पतालमा भर्ना बढ्छ’

कोरोना संक्रमणको दर यही ढंगले बढ्ने हो भने केही दिनमै अस्पतालमा भर्ना दर बढ्ने सूक्ष्म जीवाणु विज्ञ डा. सन्तोष दुलाल बताउँछन् । ‘भखरै कोरोना समुदायमा प्रवेश गरेको छ । पहिलाको लहरको अनुभवलाई हेर्दा अबको दुई हप्तापछि अस्पताल भर्ना हुने दर बढ्ने देखिन्छ,’ डा. दुलाल भन्छन्,’ तर, जेष्ठ नागरिक, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई अस्पताल नै भर्ना गर्नुपर्ने जोखिम छ ।’

तर अन्य देशको तथ्यांकले ओरजिनल ओमिक्रोनभन्दा सवभेरियन्ट ‘बी फाइभ’ले अस्पताल भर्ना तथा मुत्यु हुने संख्या ५० प्रतिशतले घटेको देखिएको चिकित्सकहरू बताउँछन् । डा. दुलालका अनुसार ओमिक्रोनको ‘बी फाइभ’को लहर धेरै दिनको रहँदैन । ‘ओमिक्रोनको सवभेरियन्ट ‘बी फाइभ’ छिटो फैलिन्छ, त्यति छिटो नै कम भएर जाने देखिएको । डेढ महिनासम्ममा यो लहर सकिन्छ,’ डा. दुलाल आंकलन गर्छन् ।

यसले ल्याउने सक्ने संकट टार्न सरकारले अस्पतालहरूसँग समन्वय गरेर अक्सिजनको क्षमता कति छ ? जनशक्तिको अवस्था के छ ? कतिसम्म संक्रमित धान्न सक्छन् ? हेरेर आवश्यक तयारी गर्नुपर्ने जनस्वास्थ्यविज्ञहरू सुझाव दिन्छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनी बढ्दो संक्रमितको संख्याले ठूलो प्रकोपको संकेत गरेको बताउँछन् । ‘केही ठूला अस्पतालमा कोरोनाका बेड होलान्, तर अन्य स्वास्थ्य संस्थामा बेडदेखि लिएर जनशक्ति छैन । ‘सरकारले करारमा राखेको जनशक्ति पनि हटाएको छ,’ डा. मिरासिनी भन्छन्, ‘अर्को लहरको सुरुवात भइसकेको छ । तर सरकारको तयारी भने शून्य छ ।’

संक्रमितको संख्या दैनिक बढिरहँदा पीसीआर परीक्षणको दायरा बढाउन नसकेको डा. मरासिनी बताउँछन् । ‘सीमा नाकाबाट आउने मानिसलाई परीक्षण नगरी प्रवेश गर्न दिररहेको छ । ज्वरो, खोकी लागेको तथा कोरोनाको सम्भावित बिरामीको निगरानी बढाउन आवश्यक थियो,’ उनी भन्छन्, ‘सरकारले निगरानीको काममा तीव्रता दिएको छैन ।’

संक्रमण रोक्न सकिँदैन, जनस्वास्थ्य मापदण्ड पालना गरौं

जनस्वास्थ्यका मापदण्ड पालनामा आम समुदायमा नै लापरबाही देखिएको शुक्रराज ट्रपिकल अस्पतालका पूर्वनिर्देशक डा. अनुप बास्तोला बताउँछन् । ‘अझै पनि मानिसहरूले कोरोनालाई सामान्य रुपमा लिने गरेका छन् । जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नैपर्छ । मास्क अनिवार्य रुपमा लगाउनुपर्छ । मास्क लगाउने विषयलाई सबैले प्रमुख प्राथमिकतामा राख्नुपर्छ,’ डा बास्तोला भन्छन्, ‘संक्रमण बढिरहेकाले सरकारले अझै व्यवस्थित र योजनाबद्ध भएर लाग्नुपर्ने देखिन्छ ।’

ओमिक्रोनको सवभेरियन्ट ‘बी फाइभ’ परिवर्तित जिन ‘स्पाइक प्रोटिन’ भएकाले खोपले प्रतिरक्षा कम गर्ने चिकित्सकहरू बताउँछन् । संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी अहिलेसम्म विकसित भएको खोपले ओमिक्रोनको सवभेरियन्ट ‘बी फाइभ’विरुद्ध कम सुरक्षा दिने बताउँछन् । ‘हामीसँग उपलब्ध खोपले ओमिक्रोनबाट जति मात्रा सुरक्षित राख्थो । बीए फाइभमा प्रभावकारिता घट्ने देखिन्छ,’ उनले भने ।

कोरोनाभाइरसविरुद्ध निर्मित एन्टिबडी मानिसको शरीरमा कम्तीमा छ महिना बस्ने विभिन्न अध्ययनले देखाएका छन् । नेपालमा हालसम्म कुल जनसंख्याको ६९.८ प्रतिशतले एक मात्रा र ६९.९ प्रतिशतले पूर्ण मात्रा लगाएका छन् । त्यसैगरी, ३२ प्रतिशतले मात्रै बुस्टर डोज (अतिरिक्त खोप) लगाएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।

‘तेस्रो डोज लगाएको चार–पाँच महिनापछि त्यसको प्रभावकारिता ५० प्रतिशतभन्दा तल छ । त्यसमाथि पनि बुस्टर डोज लगाउने मानिसको संख्या न्यून छ । धेरैजसो नेपाली भेरोसेल तथा एस्ट्राजेनेका खोप लगाएका छन् । जसको प्रभावकारिता पनि कम छ,’ डा. सुवेदी भन्छन्, ‘संक्रामक बढी भएकाले खोप लगाउँदै गर्दा पनि संक्रमण हुनसक्छ । त्यसकारण सबैभन्दा उपयुक्त जनस्वास्थ्यको मापदण्डको पालना नै हो ।’

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी पनि चौथो छाल आएसँगै जोखिम बढेको बताउँछन् । डा. अधिकारी भन्छन्, ‘सवभेरियन्ट ‘बी फाइभ’को संक्रमणले खोप लगाएका वा नलाएका जसलाई पनि संक्रमण हुन देखिएको छ । त्यसलाई रोकथाम तथा नियन्त्रण कसरी गर्ने भन्ने मन्त्रालयले होमवर्क गरिरहेको छ ।’

पूर्व तयारीका लागि विगतमा जस्तो संक्रमण कति पुग्छ वा कति अस्पतालमा चाप बढ्छ भन्ने प्रक्षेपणको तयारी मन्त्रालयले गरिरहेको डा. अधिकारीले बताए । उनले भने, ‘संक्रमण सर्ने खालको वातावरण बढिरहेको छ । जनस्वास्थ्यको मापदण्डको पालना भएको छैन । यही अवस्थामा केस बढे अस्पतालमा विगतमा जस्तो चाप बढ्छ ।’

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?