+
+
पोस्ट कोभिड-१९ :

कोरोनाले बढायो दीर्घरोगी

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०७९ साउन ४ गते १८:१५

४ साउन, काठमाडौं । एक सरकारी अस्पतालमा कार्यरत डा. बिष्ट (नाम परिवर्तन) लाई वैशाख २०७८ मा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भयो । सामान्य लक्षण देखिएका उनी करिब दुई हप्ता होमआइसोलेनमा बसेपछि नियमित काममा फर्किए । त्यसको तीन हप्तापछि (जेठको पहिलो साता) अचानक स्वास्थ्य समस्या देखियो ।

हात, खुट्टा तथा शरीरका विभिन्न मांशपेशीका भागहरु आफैं चल्न थाले । मुटको चालमा गडबडी, प्रेसर कम हुने, अत्याधिक थकानको समस्या पनि थपियो । त्यही कारण झण्डै चार महिनाभन्दा बढी काममा फर्किन सकेनन् । कोरोनाका कारण सिर्जित समस्याबाट अहिले पनि मुक्त भएका छैनन् । उनी भन्छन्, ‘अहिले पनि बेला-बेलामा शरीरका विभिन्न भागहरु आफैं बाउँडिन्छन् । मांशपेशीहरु कडा बन्दै जान्छ । मुटुको चाल कहिले ह्वातै घट्ने त कहिले बढ्ने भइरहन्छ ।’

कोरोना संक्रमण हुनुभन्दा पहिला डा. विष्टलाई कुनै स्वास्थ्य समस्या थिएन । त्यसैले मांशपेशी आफैं चलायमान हुने तथा मुटुको चालमा घटबढ लगायतका समस्या कोभिडकै असर भएको निचोडमा पुगेका छन् । भन्छन्, ‘संक्रमणमुक्त भएको लामो समय भइसक्दा पनि समस्या छ । बेला-बेला समस्या बल्भिmने हुँदा नियमित काममा असर परेको छ ।’

कोरोना संक्रमण निको भएको लामो समय भइसक्दा पनि स्वास्थ्यसम्बन्धी समस्या भोग्ने डा. विष्ट मात्र होइनन् । काठमाडौं कागेश्वरी मनोहरा ९ बस्ने ४० वषर्ीया शान्ति सन्जेल पनि यस्तै समस्यामा छिन् ।

गत मंसिरमा करिब तीन हप्ताको उपचारपश्चात कोरोना संक्रमणमुक्त भएसँगै उनी घर फर्किन् । त्यसको केही समयपछि उनलाई निन्द्रा नलाग्ने समस्या देखियो । उनले थुप्रै रात अनिदो काटेकी छन् । भन्न खोजेको कुरा झट्ट याद नआउने जस्ता मानसिक स्वास्थ्य समस्या पनि थपिएपछि अस्पतालमा पुगिन् । चिकित्सकले ‘पोस्ट कोभिड’को लक्षणका कारण समस्या भएको आशंका गर्दै मानसिक रोग विभागमा देखाउन सुझाव दिए । चिकित्सकलेे उनलाई ‘एन्जाइटी’ भएको बताए र निद्रा लाग्ने औषधि खान सुझाव दिए । उनी भन्छिन्, ‘केही समय औषधि पनि खाए । ठिक भएको जस्तो पनि भयो । तर, पछि सुगर बढ्ने, दमका साथै अन्य समस्या देखियो ।’

उनका अनुसार कोरोना संक्रमण हुनुभन्दा अगाडि कुनै दीर्घरोग देखिएको थिएन । ‘पहिला घरको काम सबै आफैं गर्थें, तर अहिले शरीरमा कुनै फुर्ति छैन । कोरोना संक्रमण नै दीर्घरोग देखियो,’ शान्ति दुखेसो पोख्छिन् ।

कोरोनाले स्वस्थ्य मानिसलाई दीर्घरोग देखियो

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले गरेको एक सर्वेक्षणमा ‘पोस्ट कोभिड’ भएका मानिसमा दीर्घरोगको समस्या देखिएको औंल्याएको छ ।

एनएचआरसी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) र निजामती कर्मचारी अस्पताल (सिभिल)मा पोस्ट कोभिड भएपछि सेवा लिन आएका ४५० बिरामीमा एक अध्ययन गरिएको थियो । गत मंसिरदेखि फागुनसम्म पोस्ट कोभिडका सेवा लिएका मानिसमा सोधेर र ल्याब परीक्षण मार्फत अध्ययन गरिएको एनएचआरसीले जनाएको छ । अध्ययनमा सामेल एक अधिकृतका अनुसार पोस्ट कोभिड भएका बिरामीमा क्रमशः सुगर, थाइराइड, दम बढेको, उच्चरक्तचाप, एन्जाइटी, डिप्रेसन, बिर्सने बानी, श्रवणशक्ति कमजोर भएको पाइएको छ ।

‘स्वस्थ मानिसमा पनि दीर्घरोग नौ गुणाले बढेको देखिएको छ । यस अध्ययनले पोस्ट कोभिड भएका बिरामीमा दीर्घरोगको समस्या बढ्दै गएको देखाएको छ,’ अध्ययनमा संलग्न एकजना अधिकृतले भने, ‘कोरोना भएपछि दीर्घरोगी वा रोग प्रतिरोधात्मक क्षमता भएका मानिसमा थप जटिलता देखिने भयो नै स्वस्थ्य मानिसमा समेत दीर्घरोग देखिएको छ ।’

पटक-पटक संक्रमितले जटिलता निम्ताउँछ

पटक-पटक कोरोना संक्रमण हुँदा दीर्घकालीन जटिलता थप्दै गएको उपचारमा संलग्न चिकित्सक बताउँछन् । पोस्ट कोभिडबाट देखिने समस्या व्यक्तिपिच्छे नै फरक हुने संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी बताउँछन् ।

उनका अनुसार विभिन्न अध्ययनले १०० संक्रमितमध्ये २५-३० जनालाई पोस्ट कोभिड समस्या देखिने गरेको छ । उनको आफ्नै क्लिनिकल अनुभवले पनि पछिल्ला दिनमा पोस्ट कोभिडका बिरामीको संख्या बढ्दै गएको देखाएको छ । अत्यधिक थकान वा आलस्य, सास फेर्न गाह्रो हुने, जोर्नी दुख्ने, खोकी निको नहुने, टाउको दुख्ने, छाती दुख्ने, दृष्टि र श्रवणशक्ति कमजोर हुने, खान मन नलाग्ने जस्ता समस्या पोस्ट कोभिडका बिरामीले भोगिरहेका छन् । ‘पोस्ट कोभिड भएका बिरामीमा देखिएका लक्षण केही समयमा हराएर गएका छन् । तर केही बिरामीमा भने दीर्घकालिन रोग देखिएको छ,’ डा. अधिकारी थप्छन्, ‘कोहीले यस्ता समस्याका कारण आत्महत्याको प्रयास समेत गरेका छन् ।’

अर्का संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी कोरोना संक्रमणले फोक्सोमा गरेको असर निको भएपछि पनि त्यसबाट हुने दीर्घकालिन जटिलता बढ्दै गएको बताउँछन् । ‘पटक-पटक संक्रमणका कारणले केही मानिसमा असर थपिँदै गएको र त्यसको जोखिम थपिँदै दीर्घकालिन रुपमा स्वास्थ्य समस्या देखिएको छ,’ डा. सुवेदीले भने,’ केही संक्रमितमा पछि गएर पक्षघात, बिर्सने रोग, प्यारालाइसिस, हृदयाघात जस्ता जटिलता समेत देखिएको छ ।’

डा. सुवेदीका अनुसार पटक-पटक संक्रमित हुँदा रोग प्रतिरोधात्मक प्रणालीमा गलत तरिकाले असर गर्ने पाइएको छ । हाम्रो शरीरमा एक प्रतिरक्षा प्रणाली हुन्छ जुन विशेष कोशिकाहरू र अंगहरूको रक्षा गर्छ । जसले शरीरलाई कीटाणुहरू, भाइरस वा ब्याक्टेरियाको आक्रमणबाट बचाउँछ । प्रतिरक्षा प्रणालीका धेरै रोगहरु हुन्छन्, जसलाई अटोइम्युन रोग पनि भनिन्छ ।

‘अटोइम्युन शरीरमा अटोएन्टिबडीहरू बनाउँछ, जसले कोशिकाहरुलाई आक्रमण गर्छ । प्रतिरक्षा प्रणालीले आफ्नै शरीरमा आक्रमण गर्न थाल्छ,’ सुवेदी भन्छन्, ‘पटक-पटक कोरोना संक्रमित भएका मानिसमा पनि अटोइम्युन रोग भएको देखिएको छ । केही मानिसमा दीर्घकालिन रोग बन्ला, केहीलाई एक-दुई पटक समस्या देखिएर हराएर गएका छन् ।’

डा. सुवेदीका अनुसार ओमिक्रोन उपप्रजाति ‘बी फाइभ’ डेल्टा वा अल्फाभन्दा कडा नभएको खण्डमा भए पनि पटक-पटक संक्रमण हुँदा त्यसको असर थपिँदा जटिलता निम्ताउन सक्छ । ‘पटक-पटक संक्रमित हुँदा पोस्ट कोभिड बाहेक केही मानिसमा दुर्लभ खालका दीर्घकालिन स्नायू प्रणाली असर र रोग प्रतिरोधात्मक प्रणालीलाई असर गरेको छ । कोरोना दीर्घकालिन असर विषयमा अझै १०, १५ वर्षपछि मात्रै थाहा पाउन सक्छौं,’ डा. सुवेदी भन्छन् ।

शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका मुटु रोग विशेषज्ञ डा. रिजु मानन्धरका अनुसार हाल कोरोना संक्रमणमुक्त भएका बिरामी मुटुका गडबडी तथा हृदयाघात भएका उपचारका लागि हप्तामा दुई-तीन जना आउने गरेको छन् ।

‘कोरोना संक्रमित भएपछि केही मानिसमा मुटुको चालमा तल-माथि भएको पाइएको छ । केही बिरामीमा केही समयमा आफैं हराएर जान्छ, केहीले नियमित औषधि नै सेवन गर्नुपर्ने हुन्छ,’ डा मानन्धरले भने । उनका अनुसार कोरोना भाइरस संक्रमणले केही मानिसको रगतलाई धेरै बाल्लो बनाउने हुन्छ । ‘रगतको स-सानो ढिक्काले रगतका नलीहरु ब्लक हुन्छन् । जुन शरीरको जुनसुकै भागमा पुग्छन् । जसले गर्दा पक्षघातदेखि हृदयाघात समेत हुने हुन्छ,’ उनी थप्छन्,’ मुटुको काम भनेको रगत सबै शरीरतिर फाल्ने हो । मुटुले काम नगरेपछि फर्किएर फोक्सोमा जान्छ । फोक्सोमा पानी जम्छ । बिस्तारै-बिस्तारै श्वासप्रश्वासको समस्या आउँछ । जसले हृदयाघात निम्ताउँछ ।’

डा. मानन्धरका अनुसार गंगालालमा गरिएको अनुसन्धानमा मुटु रोग भएका बिरामीमा संक्रमण भएमा एक चौथाइको मृत्यु भएको पाइएको छ ।

कोरोना सुरूवात भएपछि मानसिक स्वास्थ्यका समस्या र तनावको बढ्दै गएको त्रिवि शिक्षण अस्पतालका मानसिक स्वास्थ्य सेवा विभागका प्रमुख प्रा.डा. सरोज वझा बताउँछन् । कोरोना संक्रमणकै कारणले निन्द्रा नलाग्ने, एन्जाइटी, तनाव, डिप्रेशन, रक्सी सेवन गर्ने मानसिक स्वास्थ्यको समस्या बढी देखिएको उनको अनुभवले देखाएको छ । ‘कुनै मानिसलाई तनाव भएपछि कुनै पनि विषयवस्तुमा ध्यान दिन सक्दैन । जसका कारण हाम्रो दिमागमा बस्न सक्दैन,’ डा. वझा भन्छन्, ‘तनाव बढी भएकाले मानिसले कुनै विषयवस्तुमा ध्यान कम दिएका छन् । जसले स्मरणशक्ति हराउँदै गएको महसुस गरेको हुन्छ ।’

उनका अनुसार कोरोना सुरू हुनुभन्दा अगाडि तथ्यांकलाई हेर्दा अहिले मानसिक स्वास्थ्य सेवा विभागमा समस्या लिएर आउने बिरामीको संख्या ३० प्रतिशतले बढेको छ । ‘कोभिड सिर्जित भएका मानसिक स्वास्थ्य ठूलो समस्या होइन । समयमा पहिचान गर्न सकेमा साधारण परामर्श र केही समय औषधिको निको पार्न सकिन्छ,’ डा. वझा भन्छन्, ‘मानसिक कडा लाग्यो भन्ने सोचाइबाट बाहिर निस्कनुपर्छ ।’

उनले अघि भने, ‘मनोपरामर्श नै पोस्ट कोभिड असरको उपचार हो । मनोविद् तथा मनोचिकित्सकहरूको प्रत्यक्ष परामर्श लिँदा समयमै समस्या समाधान हुन्छ ।’

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?