+
+

तेल महँगिंदा बाइक बेच्नेहरु बढे, रिकन्डिसनमा माइलेज धेरै दिनेको खोजी

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ४ गते १९:४४

१४ असार, काठमाडौं । पछिल्लो दुई महिनायता बजारमा सेकेन्ड ह्यान्ड (रिकन्डिसन) मोटरसाइकल र स्कुटर (बाइक) को बिक्री बढेको छ । विशेषगरी सेकेन्ड ह्यान्ड बाइक बेच्नेहरु बढेपछि किन्नेहरुले पनि धेरै विकल्पहरु पाउन थालेका छन् ।

वित्तीय प्रणालीमा तरलताको संकट र सरकारको आयातलाई कस्ने नीतिका कारण नयाँ मोटरसाइकल/स्कुटर (विद्युतीयबाहेक) को आयात र बिक्री खुम्चिएको छ । विदेशी मुद्राको सञ्चिति जोगाउन राष्ट्र बैंकले लिएको नीतिका कारण बैंकहरुले अटोमोबिल क्षेत्रमा पर्याप्त लगानी गर्न नपाएपछि मोटरसाइकल/स्कुटरको आयात घटेको हो । साउनयता त सरकारले १५० सीसीभन्दा माथिको बाइक आयात नै गर्न रोकिदिएको छ । यसले यस्ता कारणले बजारमा रिकन्डिसन बाइकहरुको माग बढेको छ ।

चन्द्रागिरि रिकन्डिसनका सञ्चालक सागर गिरी पछिल्लो दुई महिनामा रिकन्डिसन बाइकको व्यापारमा वृद्धि देखिएको बताउँछन् । ‘दुई महिनाजस्तो भयो, बिक्री राम्रो छ,’ उनले भने,‘ बाइक बेच्नेहरु पनि छन्, किन्नेहरुको पनि खासै कमी छैन ।’

ललितपुरको एकान्तकुनास्थित ग्रेस अटोका सञ्चालक आकाश विष्टको अनुभवमा अहिले बाइक किन्नेभन्दा बेच्नेहरु बढेका छन् । ‘रिकन्डिसन बाइक किन्नेभन्दा बेच्ने बढी छन्,’ उनी भन्छन्,‘ रिकन्डिसनमा पनि नयाँ नयाँ बाइक आएकाले किन्नेको संख्या पनि राम्रो छ ।’

धोबीघाटको बंगलामुखी रिकन्डिसनका सुधन रायमाझी रिकन्डिउसन बाकइमा अहिलेसम्मकै बढी उत्साह देखिएको बताउँछन् । महामारीपछि केही समय रिकन्डिसन बाइक किन्नेको संख्या बढेको स्मरण गर्दै उनले अहिले त्योभन्दा पनि राम्रो अवस्था आएको बताए । ‘जोर–बिजोरको कारण रिकन्डिसन बाइकको माग बढेको थियो, त्यतिबेला बेच्नेहरु धेरैै थिएनन्,’ उनी भन्छन्,‘अहिले किन्ने र बेच्ने दुबैको कमी छैन ।’

भक्तपुर गठ्ठाघरको आरएन ब्रदर्श अटो प्वाइन्टका सञ्चालक रविन भण्डारी भने रिकन्डिसन बाइकको व्यापार मन्द अवस्थामा रहेको बताउँछन् । तेलको मूल्य बढेपछि ‘फ्युल इन्जेक्सन (एफआई) प्रविधि’ भएका बढी माइलेज दिने बाइकको माग बढेको उनको भनाइ छ । तर, व्यापार महामारी अघिको जस्तो अवस्थामा भने अझै नआएको उनको अनुभव छ ।

‘केही कम्पनीले २५ प्रतिशत डाउनपेमेन्टमा शून्य प्रतिशत ब्याजदरमा बाइक बेचिरहेका छन्, यसले गर्दा रिकन्डिसन बाइकको बिक्री पनि अपेक्षित दरमा बढ्न नसकेको भण्डारी बताउँछन् ।
व्यापारीहरुका अनुसार पेट्रोलको मूल्य लिटरमा १९९ रुपैयाँसम्म पुगेपछि चढिरहेको बाइक बेच्नेहरुको संख्या बढेको छ । विशेषगरी माइलेज नदिने बाइकहरु रिकन्डिसनमा बढी आउने गरेका छन् ।

पछिल्लो दिनमा विदेश जानेहरुको संख्या बढेकोले पनि बाइक बेच्नेहरु बढेको उनीहहरुको तर्क छ । महामारीले लामो समय वैदेशिक रोजगारी र अध्ययनमा जानेहरुलाई नेपालमै बस्नुपर्ने बाध्यता सिर्जना गरेको थियो । बेच्नेहरु बढ्दा छानी–छानी रिकन्डिसन बाइक किन्न पाइने अवस्था रहेको व्यापारीहरुको दाबी छ ।

पछिल्लो समयमा बढेको महँगीका कारण पनि धेरैले बाइक नचढ्ने निर्णय लिएको हुनसक्ने अनुमान छ । त्यसैगरी नयाँ बाइक किन्न बजेट नहुनेहरुले सेकेन्ड ह्यान्डको मूल्यमा नयाँ–नयाँ लटककै बाइक पाइरहेको व्यापारी गिरी बताउँछन् ।

नयाँ बाइकको व्यापार सुस्त

अहिले नयाँ बाइकहरुको बिक्रीको दर पनि उत्साहजनक भने छैन । चालु आर्थिक वर्षमा पेट्रोलियमबाट चल्ने मोटरसाइकल/स्कुटरको आयात २०.३४ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिना (साउनदेखि जेठसम्म) २५ अर्ब ५९ करोड ८१ लाख मूल्यको मोटरसाइकल आयात भएको छ । सरकारले सवारीको आयातलाई निरुत्साहन गर्ने गरी नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेपछि आयात कम भएको अटोमोबिल व्यवसायीहरु बताउँछन् ।

यो अवधिमा कुल २ लाख ५७ हजार ६३६ हजार वटा मोटरसाइकल आयात भएको छ । यस्तो आयातबाट सरकारले २५ अर्ब ३२ करोड ८४ लाख भन्सार राजस्व संकलन भएको छ ।
गत वर्ष यसै अवधिमा ३ लाख २३ हजार ४६० मोटरसाइल आयात भएका थिए । गत वर्ष ११ महिनामा ३० अर्ब ३ करोड ३४ लाख मूल्यका मोटरसाइकल आयात हुँदा सरकारले ३० अर्ब ५० करोड १ लाख भन्सार राजस्व संकलन गरेको थियो ।

चालु आर्थिक वर्षमा १२५ सीसीसम्मका १ लाख ६३ हजार ९२४ मोटरसाइकल आयात भएको छ । त्यसैगरी १२५ देखि २०० सीसीसम्मका ६७ हजार ७०८ वटा मोटरसाइकल आयात भएको तथ्यांकमा देखिन्छ । २०० देखि २५० सीसीम्मका १९ हजार २९२ वटा मोटरसाइकल आयात भएको विभागको तथ्यांकमा देखिन्छ । २५० देखि ४०० सीसीसम्मका ६ हजार ७०७ वटा मोटरसाइकल नेपाल भित्रिएका छन् । ४०० देखि ८०० सीसीसम्मका ४ र ८०० सीसीभन्दा बढीको एउटा बाइक नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकमा देखिन्छ ।

यो वर्ष अधिकांश वर्गमा मोटरसाइकलको आयात दर घटेको छ । नेपालमा टीभीएस बाइक बिक्री गरिरहेको जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवाल मुख्य रुपमा बजारमा तरलताको अभावले बिक्री प्रभावित भएको बताउँछन् ।

‘बजारको मनोविज्ञान पनि अहिले सकेसम्म नकिनौं भन्ने खालको बनेको छ,’ उनी भन्छन्, ‘फाइनान्सिङ सजिलो छैन, ब्याजदर पनि बढेको छ, अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यको असर हाम्रो बजारसम्म नै छ ।’ उनका अनुसार ५० प्रतिशत नगद मार्जिन राखेर आयात गर्नुपर्दा लागत बढ्न पुगेको छ । जसको अप्रत्यक्ष मार उपभोक्तामाथि नै परिरहेको छ । बजारको अवस्थाका कारण कम्पनीहरुले पनि आक्रामक ढंगले मार्केटिङ गर्न सकेका छैनन् ।

एक मोटरसाइकल बिक्रेता कम्पनीका प्रमुख कार्यकारी अधिकृतका अनुसार दुई पांग्रे सवारी किन्न पर्याप्त र सहज फाइनान्स सुविधा उपलब्ध छैन । ‘बजार संकटोन्मुख छ, आयातका लागि पनि सहज र सस्तो बैंकिङ भएको छैन,’ उनले भने, ‘मौज्दातमा रहेका बाइकहरु नै बिक्न नसकेपछि धेरै आयात गर्नु नपरेको पनि हो ।’ बजारमा महँगी चर्किएकाले उपभोक्तमा पनि सवारी फेर्ने मनोबल घटेको बिक्रेताहरुको अनुभव छ । धेरैले अहिले रिकन्डिसनिङ बाइकहरु किन्न थालेको भन्दै ती सीईओले आगामी एक वर्ष अझै अवस्था सरल नबन्ने बताए । ‘देशको अर्थतन्त्रको जुन बाह्य अवस्था छ, त्यो हेर्दा अझै केही महिना यस्तो संकट अझै गहिरिने देखिन्छ,’ उनले भने, ‘मौद्रिक नीतिले अटो कर्जा अझै कस्यो भने अवस्था झन बिग्रने जोखिम छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?