+
+

माला र टोपीका भरमा कतिन्जेल बाँच्ला बीपी विचार ?

यतिबेला त बीपी कोइराला जसले पनि लगाइदिने ‘टोपी’ भएका छन् । भर्खरै कांग्रेस बनेका हुन् वा जीवनभर नै कांग्रेस बनेर राजनीति गरेका; सबैले पहिले सम्झने नाम बीपी नै हो ।

लक्ष्मी पाण्डे क्षेत्री लक्ष्मी पाण्डे क्षेत्री
२०७९ साउन ६ गते १५:४४

राष्ट्रियता, लोकतन्त्र र समाजवाद हरेक कांग्रेसजनको मुख–मुखमा झुण्डिने नारा हो । यी शब्दसँग कांग्रेस र कांग्रेसजनको आत्मा नै गाँसिएको छ । जब–जब पार्टीको कुनै पर्व आउँछ, त्यतिबेला यसैलाई सम्झिइन्छ र मन उत्साहित हुन्छ ।

कहिलेकाहीं त लाग्छ कांग्रेस हुनुमा यसै कारणले गर्व गर्छु । नाराले नै वास्तविक यथार्थ बोलेको छ । त्यो बेला परिकल्पना गरेका यी शब्दहरू अहिले पनि उति नै सान्दर्भिक हुनु चानचुने कुरा होइन ।

बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई (किसुनजी) जस्ता नेता नसम्झने त कमै भेटिन्छन् । कांग्रेसले मात्र होइन, उहाँहरूबाट अरू फरक पार्टीकाले पनि केही सिक्ने र जान्ने मौका पाएका छन् । राम्रो कामको सुरुवात जसले गरे पनि त्यसको परिणाम राम्रै हुन्छ भन्ने सन्देश छोड्न सफल नेताहरूलाई फेरि पनि सम्झनु नै पर्छ, जसको विचार र सिद्धान्त यो समयमा पनि अझै प्रशंसा गर्न लायक छ ।

हामी अहिले बीपी स्मृतिको फेरोमा छौं । आज साउन ६ गते बीपी कोइरालाको ४०औं स्मृति दिवस मनाइँदैछ । २०३९ सालमा आजकै दिन उहाँको निधन भएको हो । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको जति चर्चा गरे पनि कम नै हुन्छ ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको ६ साउन २०३९ मा निधन भएको थियो । कोइरालाको जन्म २४ भदौ १९७१ मा भएको हो । २०१५ सालको संसदीय निर्वाचनपछि २०१६ जेठमा उहाँ पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो ।

उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्‍याउनुभएको छ । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् ।

१ पुस २०१७ मा शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्थ गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसदका प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइएको थियो ।

२०२५ सालमा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त हुनुभएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताउनुभएको थियो । उहाँ भारतबाट १६ पुस २०३३ मा नेपाल फर्किनुभएको थियो । उहाँ मेलमिलापको नीति लिएर आउनुभयो, यो दिनलाई कांग्रेसले मेलमिलाप दिवसको रूपमा मनाउँदै आएको छ ।

यतिबेला त बीपी कोइराला जसले पनि लगाइदिने ‘टोपी’ भएका छन् । भर्खरै कांग्रेस बनेका हुन् वा जीवनभर नै कांग्रेस बनेर राजनीति गरेका हुन् सबैले पहिले सम्झने नाम बीपी नै हो । हामीले अहिले त यति धेरै सम्झिएका छौं र त्यो आदर्शको बाटो पछ्याउँछौं भने त्यतिबेला जसले बीपी कोइरालासँग संगत गर्ने अवसर पाए त्यो त पार्टीको लागि साक्षात् भगवान सरह नै भएको छ हाम्रो लागि ।

बीपीको विचार बुझुन्–नबुझुन् तर अधिकांश कांग्रेसले बीपीवादको शब्द उच्चारण गर्न भने छुटाउँदैनन् । हुँदाहुँदा विपक्षी दलका नेता समेतले बीपी कोइरालाको नाम जप्न भ्याउँछन् । बीपीले कहिल्यै पनि देश र जनताको अहित हुने काम नगरेकाले नै उहाँ सबैको प्रिय बन्न पुग्नुभएको सत्य कसैले पनि लुकाउन मिल्दैन ।

‘पपुलिस्ट’हरूको यो युगमा बीपीको सिद्धान्त भनेर नफलाक्ने कमै हुन्छन् । केही सीप नलागे फोटो झुन्ड्याएर माल्यार्पण गरेर पुज्न पनि भ्याउँछन् तर उहाँको नाम लिनु र बिहान बेलुकै पूजा गर्नुभन्दा पनि उनले लिएको बाटोलाई आत्मसात् गर्दै वास्तविक कांग्रेसको परिचय दिनु आजको आवश्यकता हो । के कांग्रेस बीपीकै विचारमा चलेको छ त ? के कांग्रेसले बीपीलाई सम्मान गर्‍यो त ? यी प्रश्न पनि जटिल बनेका छन् ।

केवल २–४ दिन मात्र फोटो झुण्ड्याउने र उहाँ यस्तो र त्यस्तो हुनुहुन्थ्यो भनेर भन्नुले मात्र पनि खास अर्थमा हाम्रो कर्तव्य पूरा हुन सक्दैन । जन्म दिन र मृत्युको दुःखद् दिन गाइने चर्चा केवल औपचारिकता मात्र हुन्छ, वर्ष दिन नै चर्चा गर्दा पनि नसकिने बीपी र उहाँजस्ता व्यक्तिबाट हामीले लिनुपर्ने सिद्धान्त र सही बाटोमा लाग्नुको अरू विकल्प छैन ।

हुन त समाजवादकै सन्दर्भमा पनि ‘बीपी कोइरालाको समाजवाद’ भन्न सजिलो छ । यो नै नेपाली कांग्रेसको पहिचान बनेको छ तर ज–जसले आज बीपीको चर्चा गर्दै हिंड्छन्, बीपीको नाममा राजनीतिक रोटी सेकाउँछन्, उहाँहरूले बीपीको विचारलाई गहिरिएर सोचेका छन् त ? बीपीले परिकल्पना गरेको समाजवादलाई लिएर कांग्रेसजन कति घोत्लिएलान् ? कांग्रेसले नै यसबारे कति गहिरिएर सोचिरहेको छ ?

हुन त अहिले अरू कम्युनिस्ट पार्टीले पनि समाजवादको नारा अघि सारेका छन् तर त्यसबाट जनता लाभान्वित नभएकाले ‘के यी सबै भन्ने कुरा नै हुन्’ भन्ने प्रश्न उठेको छ । अनि बीपीको विचार अनुसार काम गर्ने इमानदार नेता अहिले पार्टी नेतृत्वमा छन् त ? यी र यस्तै प्रश्न आज पेचिलो बनेका छन् ।

मलाई लाग्दैन, कसैले बीपीबारे यति गहिरिएर सोचेको छ । जालझेल र तिकडममा रुमल्लिएका नेताहरूले अपवादबाहेक बीपीको विचारमाथि मन्थन गरेको पाइँदैन । कसै कसैले त्यो विचार पुरानो भएकाले समयसापेक्ष परिवर्तन गरेर जानुपर्छ पनि भनेका छन् तर जनताका न्यूनतम चाहना र आवश्यकता भने त्यतिबेलाको भन्दा अहिले केही फरक छैन ।

अहिलेसम्म पार्टीको विभिन्न नेतृत्वमा बस्नेले बीपीको नाम बेचेर खाए कि सच्चा रूपमा उहाँको अनुसरण गरे भन्ने प्रश्नको जवाफ पाउन त्यति सजिलो छैन । त्यसलाई बुझ्ने र नीतिगत तहमा लागू गर्ने त परको कुरा, आफ्नै व्यवहारमा समेत इमानदार हुन सक्दैनन् । यो नै आजको कांग्रेसभित्रको कुरूप यथार्थ हो । तर त्यसो भन्दैमा कांग्रेसमा पूरै समस्या पर्‍यो, नराम्रो दलदलमा फस्यो र पार्टी नै सिद्धियो भन्नेचाहिं होइन । केही रोगी र अशक्त भएको हो कांग्रेस यसमा शंका छैन तर कहिल्यै पनि नसुध्रिएला भन्नुचाहिं पर्दैन ।

केही समय अगाडि मात्र पार्टीका विशेषगरी विद्यार्थी राजनीति गरिरहेका साथीहरूसँग छलफल गर्ने अवसर जुरेको थियो । भर्खर राजनीतिमा प्रवेश गर्दै गरेका ती विद्यार्थीसँग समाजवादबारे गफ भयो । समाजवाद नै किन त ? उनीहरूसँग त्यसको मूर्त जवाफ थिएन । बीपीले समाजवाद भनिदिनुभएको छ, त्यसैले अहिलेको आवश्यकता यही हो भन्ने आशयको जवाफ त्यहाँबाट सुनिन्थ्यो ।

यसबाट के बुझिन्छ भनें, पार्टीले नयाँ साथीहरूलाई प्रशिक्षण दिएको छैन । भाषणमा बीपीवाद फलाक्ने नेताहरू यसबारे पार्टीभित्रै प्रशिक्षण दिन भने चुकिरहेका छन् । बीपी त केवल औपचारिक कार्यक्रममा उपस्थित कार्यकर्ताको ध्यान तान्नकै लागि भजाउने नाम बनेका छन् ।

पार्टीको महाधिवेशनमा उम्मेदवार भएकाले आफ्नो व्यानरमा बीपीको पनि फोटो राखेका बेला यी बुढा को रहेछन् भन्ने कुरा सुन्दा पनि अचम्म मान्नु पर्दैन किनभने अहिले नयाँ सोच र विचार भएका युवाहरू आएका छन् । उनीहरूले बीपीको फोटो दाह्री फुलेका देख्दा यी बुढा पनि उठेका रहेछन् भन्नु अस्वाभाविक पनि होइन ।

हुँदाहुँदा हामी यतिसम्म निर्लज्ज भइसक्यौं कि, आफ्नै आदर्शपात्र बीपीका रचना समेत छाप्न तत्परता देखाउँदैनौं । पार्टीले बीपीको रचना प्रकाशन गर्न समेत ध्यान दिंदैन । बीपीलाई सम्झनु भनेको उनको नाम जताततै भजाइरहनु, उनका कथाहरू फलाकिरहनु र भोटको लागि मात्र उनको उदाहरण दिने कामजस्तो भएको छ ।

यसकारण पनि अहिले नेपाली कांग्रेसको अस्तित्व खतरामा छ । कांग्रेसले आफ्नो चालढाल, सोच्ने तरिका र क्रियाकलाप नबदल्ने हो भने अब समाप्त हुन्छ । पछिल्लो समय उदाइरहेको स्वतन्त्रहरूको लहरले पनि यस्तै संकेत गर्छ ।

हुन त बीपीले आफू जीवित रहँदै भन्नुभएको थियो, ‘कांग्रेसको ताल यही हो भनें चीनको कोमिङ्ताङ जस्तै इतिहासबाट मेटिन्छौं ।’ अहिले केही अपवादलाई छोडेर हेर्दा सिंगो कांग्रेस नै त्यही बाटोमा हिंडिरहेको भान हुन्छ । विचारमा बीपी बिर्सिएको नेतृत्वले पार्टीलाई नै अधोगतिमा लगिरहेको छ, यो दुःखको कुरा हो । बीपी सम्झनु भनेको के हो त ? बीपी सम्झनु भनेको उनको विचारलाई आत्मसात् गर्नु हो ।

आज समाजमा रहेको असमानता, विभेद, विचारहीनता, जडसूत्रवादका विरुद्ध लड्नु नै उनको सही सम्झना हो । जुन कुरा बीपीले तत्कालीन समयमा अगाडि सार्नुभएको थियो । अहिलेको परिस्थितिमा कांग्रेसलाई बीपी बिर्सने छुट छैन । कांग्रेसले बीपीको विचारलाई समयानुकूल मन्थन गर्दै एउटा ठोस बाटोमा देशलाई हिंडाउनुको विकल्प छैन ।

त्यसैले कांग्रेसका तमाम शुभचिन्तकले पार्टी नेतृत्वलाई झकझक्याइरहनुपर्ने खाँचो छ । कुनै बेला ईसामसीहको उपदेश क्रिश्चियनले बिर्सिए जसरी, लेनिनको शिक्षा र विचारबाट स्टालिन च्यूत भए जसरी आजका कांग्रेसले भने बीपीलाई बिर्सने छुट छैन ।

हामीले याद गर्नुपर्ने कुरा यो छ कि, बीपी राजनीतिक विचारक र चिन्तक हुनुहुन्थ्यो । उहाँले प्रजातान्त्रिक समाजवादको बारेमा बोल्नु मात्र भएन यसबारे धेरै व्याख्या र केही प्रयोग गर्न उहाँ सफल हुनुभएको थियो । कठिन परिस्थितिमा छोटो समय सरकार चलाउँदा पनि बीपीले यी कुराहरूको व्यावहारिक प्रयोग गर्ने प्रयत्न गर्नुभएको थियो ।

बिर्ता उन्मूलन, जमीनदारी प्रथा उन्मूलन, जंगलको राष्ट्रियकरण, जमीनमाथिको स्वामित्वमा हदबन्दी, शाही नेपाल वायुसेवा निगमलाई नेपाल वायुसेवा निगम बनाउँदै राष्ट्रियकरण गर्ने जस्ता समाजवादी कार्यक्रम उहाँको प्रधानमन्त्रीत्व कार्यकालमा ल्याइएका थिए । यद्यपि, २०१७ सालमा राजा महेन्द्रले ‘कु’ गरेपछि उहाँको सरकार ढलेको थियो ।

आन्दोलनको समयमा प्रवासमा रहँदा पनि बीपीले तरुण पत्रिकामार्फत समाजवाद सम्बन्धी विचार पस्किरहनुभयो । तत्कालीन समयमा अन्तर्राष्ट्रिय समाजवादी मञ्चहरू, एसियन समाजवादीहरूको सम्मेलनहरूमा उहाँको समाजवादी धारणा सुनिने गरेको कतिपय पुराना पुस्ताका कांग्रेस नेताहरूले भन्ने गर्नुहुन्छ । अन्तर्राष्ट्रिय समाजवादीहरूमा पनि उहाँका विचारहरू चर्चित रहेको पाइन्छ ।

यतिसम्म कि, बीपीले आफूले जानेको र बुझेको कुराहरू पार्टीका कार्यकर्तासामु बाँड्ने गरेको पाइन्छ । २०३७ सालमा पाल्पाको प्रशिक्षण कार्यक्रममा समाजवादबारेको लामो व्याख्यालाई कतिपय नेताहरूले त्यसकै उदाहरणको रूपमा सम्झने गरेका छन् । यतिसम्म स्पष्ट कि, तत्कालीन समयमा साम्यवादमा प्रजातन्त्र थपिदिए समाजवाद हुन्छ र समाजवादबाट प्रजातन्त्र झिकिदिए साम्यवाद हुन्छ भन्ने खालका धारणा उहाँले राख्नुभएको पाइन्छ ।

कांग्रेसवृत्तमा अझै पनि २०१६ सालमा बीपीले ल्याएकै बजेटको चर्चा सुनिन्छ जबकि, २०४६ सालपछि पटक–पटक कांग्रेस सरकारको नेतृत्वमा आइसकेको छ । यसरी २०१६ सालमा ल्याएको बजेटको अझै चर्चा भइरहनुले प्रष्ट हुन्छ, कांग्रेसले समाजवादी नीतिलाई राम्रोसँग समात्न सकिरहेको छैन । अहिले समाजवादको गफ बढी र लागू कम गर्ने रोग कांग्रेसमा देखिए पनि पार्टी स्थापनाको सुरुवाती चरणमा भने कांग्रेसमा समाजवादी बन्ने अभियान नै चलेको थियो ।

२०१२ सालमा अधिवेशनले समाजवादी नीति लिनासाथ नेताहरूले आफूबाटै कार्यान्वयन थालेका थिए । तत्कालीन समयमा सभापति चुनिएका सुवर्ण शमशेरले त मञ्चबाटै आफ्नो नाममा बारा र पर्सामा रहेको एक हजार बिघा जमीन सुकुम्बासी जनतालाई बाँड्ने घोषणा गरे । सरकारको बजेट भाषणमा पनि आफ्नो नाममा रहेको १२ हजार बिघा जमीन राष्ट्रियकरणको घोषणा उनले गरे । त्यसपछि लगालग कांग्रेसका अन्य नेताहरूले पनि आफ्नो निजी जग्गा राज्यको नाममा सुम्पिएको तथ्य अहिले पनि यदाकदा पढ्न पाइन्छ ।

२०४७ साल पछाडि कांग्रेसले यसबारे बहस नै गर्न छोड्यो । पार्टीको नेतृत्वमा कसरी पुग्ने, कसरी आफ्ना मान्छेलाई भर्ती गर्ने, कसरी सत्तामा टिकिरहने भन्नेबाहेक नेताहरूले अन्य कुराहरू सोच्नसम्म भ्याउँदैनन् । यो नै आजको वास्तविकता हो । हुँदाहुँदा पार्टीको भ्रातृ संस्थाहरूको अवस्था विचल्ली पारिएको छ । लामो समयदेखि तदर्थवादमा रुमल्लिएको भ्रातृसंस्था पार्टी नेतृत्वको पूजक बनेर निस्कनु आजको समयको अर्को दुःखान्त हो ।

हुँदाहुँदा दक्षिण छिमेकमा जवाहरलाल नेहरू र उत्तरी छिमेकी चीनमा माओत्सेतुङ जस्ता शक्तिशाली नेतृत्व रहँदा बीपी कोइरालाले प्रष्ट पार्नुभएको कांग्रेसको राष्ट्रियता नै अहिले अस्तित्व संकटमा छ । त्यस्ता नीतिलाई बेवास्ता गरेर सत्ता बार्गेनिङको अस्त्र बनाएको आरोप कांग्रेसलाई लागिरहनुले पनि पार्टी कुन अवस्थामा छ भन्ने स्पष्ट हुन्छ । तसर्थ, आम कांग्रेस शुभचिन्तक जिम्मेवार नबने पार्टीको भविष्य खतरामा परिरहेको संकेत देखिन्छ ।

बीपी बिर्सिएको कांग्रेसले नाममा मात्र होइन विचारमा पनि बीपीलाई सम्झिएर आफूलाई सुधार गर्नुको विकल्प छैन । जेलमा रहेका टंकप्रसाद आचार्यदेखि सुवर्णशमशेर र कृष्णप्रसाद भट्टराईलाई बीपी कोइराला आफैंले सभापति बनाएको उदाहरण हामीभित्रै छ त्यसैले पहिला त जीवित रहेसम्म पार्टी नेतृत्व नछोड्ने प्रवृत्तिविरुद्ध हामीले उभिनुपर्छ । बीपीलाई आफ्नो राजनीतिक रोटी सेकाउन जप्ने नामको रूपमा मात्र नलिई उनका विचार र कतिपय व्यवहारलाई सम्झिएर त्यसको मर्मअनुसार काम गर्नु आजको कांग्रेसको आवश्यकता हो ।

(लेखक नेपाली कांग्रेस आवद्ध हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?