+
+

गण्डकीमा हप्ता नबित्दै कोरोनाका तेब्बर संक्रमित

कोभिड अस्पतालमै कर्मचारी छैनन् !

विकास रोकामगर विकास रोकामगर
२०७९ साउन ६ गते २०:१४

६ साउन, पोखरा । असार दोस्रो हप्तासम्म गण्डकी प्रदेशमा जम्मा ५ जनामात्रै कोरोनाका सक्रिय संक्रमित थिए । तर, साउनको पहिलो हप्ता आइपुुग्दा उक्त संख्या बढेर १ सय ५८ जना पुुगेको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार थपिएका संक्रमितमध्ये ८० प्रतिशतभन्दा बढी साउनयताका छन् । साउनको २ गतेसम्म गण्डकी प्रदेशभर जम्मा ५६ जनामात्रै कोरोनाका सक्रिय संक्रमित थिए । तर, एक हप्ता नबित्दै ३ गुुणाभन्दा बढी संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घन्टामा ८३ जनामा परीक्षण गर्दा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयको तथ्यांक छ । जसमध्ये सबैभन्दा प्रभावित कास्की जिल्लाका छन् ।

प्रदेश सरकारबाट कोभिड–१९ उपचारका लागि तोकिएको प्रदेश संक्रामक तथा सरुवा रोग अस्पतालमा वैशाख र जेठ महिनामा संक्रमितको संख्या शून्य थियो । तर, असार लागेयता संक्रमितको संख्या थपिँदै जान थालेको अस्पताल प्रमुख डा. विकास गौचनले जानकारी दिए ।

‘वैशाख र जेठमा शून्य संक्रमित थिए । असारमा ७ जना थपिए । त्यसपछि बढ्न थालेका छन्,’ डा. गौचनले अनलाइनखबरसँग भने, ‘अहिले हामीसँग ३ जना नयाँ भर्ना हुनुहुन्छ र ३ जना रिपोर्टको पर्खाइमा हुनुहुन्छ ।’ भर्ना भएका संक्रमितमध्ये एक जनाको आईसीयूमा उपचार भइरहेको छ ।

प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. नारायण श्रेष्ठ देशभरि नै कोभिडका बिरामी बढ्दै जाँदा गण्डकीमा पनि बढेको बताउँछन् । ‘बीचमा परीक्षणदर नै कम भयो । त्यसमाथि अहिले नेशनलवाइज नै कोभिडका बिरामी बढ्दै गइरहेको देखिन्छ, त्यही भएर पनि गण्डकीमा बढी देखिएको हो,’ उनले भने, ‘अब परीक्षणदर बढाउँदा झनै संक्रमित थपिन्छन् भन्ने आकलन गरेका छौं ।’

सीसीएमसीको तयारी बैठक

असार दोस्रो हप्ताबाट कोरोना संक्रमणदर पुनः उकालो लाग्न थालेपछि प्रदेशस्तरीय कोभिड नियन्त्रण निर्देशन (सीसीएमसी) पुनः तयारी थालेको छ । शुुक्रबार मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्यका मापदण्ड पुनः कडाइका साथ लागू गर्ने निर्णय गरेको छ ।

मानिसको भीडभाड हुने स्थान, विश्वविद्यालय, विद्यालय र शिक्षण संस्था, धार्मिक स्थल, व्यवसायिक तथा मनोरञ्जन स्थल, गोष्ठी, सेमिनार, बैठकमा जनस्वास्थ्यका मापदण्ड पालना गराउने निर्णय बैठकले गरेको छ ।

कोरोना यस्तै बढिरह्यो भने अब गाह्रो पर्छ । यहाँ पनि कर्मचारी अभाव छन् । फेरि प्राइभेट अस्पतालहरुमा महंगो तिरेर उपचार गर्नुपर्ने बाध्यता आइपर्छ

मानिसहरूको जमघट र भीडभाड हुने स्थानमा नमुना परीक्षण र समुदायस्तरमा सचेतना फैलाउने प्रमुख सचिव रविलाल पन्थले जानकारी दिए । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विगतको अनुभवका आधारमा कोरोना महामारी नियन्त्रणको काम गर्ने बताए ।

कोभिड अस्पतालमै कर्मचारी अभाव

प्रदेश सरकारबाट कोरोना उपचारका लागि तोकिएको प्रदेश संक्रामक तथा सरुवा रोग अस्पतालमै कर्मचारी अभाव भएको छ । अस्पतालमा कार्यरत करार कर्मचारीको अवधि सकिएकाले अभाव भएको अस्पताल प्रमुख डा. विकास गौचनले जानकारी दिए ।

३० जनाको दरबन्दी रहेको उक्त अस्पतालमा दरबन्दीबाट जम्मा २६ जनामात्रै कर्मचारी रहेको डा. गौचनले जानकारी दिए । जबकी अघिल्लो पटकको कोरोना महामारीमा अस्पतालमा ११७ जनासम्म स्वास्थ्यकर्मी नियुक्त गरिएका थिए । ‘अहिले कर्मचारी अभावले आईसीयू चलाउन, एचडीयू चलाउन नै गाह्रो भइरहेको छ,’ उनले भने ।

अस्पतालमा अस्थायी स्वीकृत दरबन्दी थप्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पटकपटक पत्राचार गर्दै आइरहेको पनि डा. गौचनले जानकारी दिए । ‘लेख्दै पठाउँदै पनि गरिरहेका छौं । स्थायी हुनका लागि संघ सरकारबाटै पहल हुनुपर्छ । अस्थायी प्रदेश सरकारले नै व्यवस्था गर्न सक्छ । यसमा हामीले धेरै पहल गर्‍यौं,’ उनले भने ।

अघिल्लो पटक नियुुक्त गरिएका करार कर्मचारी प्रदेशको कोरोना कोषबाट गरिएको थियो । जसले गर्दा महामारी उच्चतम् अवस्थामा पुुग्दा उपचारमा सजिलो भएकोसमेत डा. गौचनले सुनाए । ‘कोरोना यस्तै बढिरह्यो भने अब गाह्रो पर्छ । यहाँ पनि कर्मचारी अभाव छन् । फेरि प्राइभेट अस्पतालहरुमा महंगो तिरेर उपचार गर्नुपर्ने बाध्यता आइपर्छ,’ उनले भने ।

१० दिनभित्रै नियुक्त गर्छौं : प्रदेश स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले जिल्लास्तरका अस्पतालमा जनशक्ति र अन्य प्रबन्धका लागि समन्वय भइरहेको जानकारी गराइन् । कोभिड कोषबाट तलब खाने गरी नियुक्त गरिएका कर्मचारीको करार अवधि सकिएकाले अब फेरि अध्ययन गरेर नियुक्त गर्न लागिएको उनले बताइन् ।

मन्त्रालयका प्रवक्ता डा. नारायण श्रेष्ठले बीचमा संक्रमितको संख्या शून्य अवस्थामा पुुगेको र करार कर्मचारीलाई कोभिड कोषबाट राखिराख्नु उचित नभएकाले हटाइएको बताए ।

‘प्रदेश मन्त्रिपरिषद्ले नै असार मसान्तसम्ममात्रै अस्थायी दरबन्दी खुलाएको थियो । संक्रमित पनि घटेकाले करारमा कर्मचारी राखिराख्न पुष्ट्याइँ भएन’, उनले भने, ‘त्यसमाथि केन्द्रबाट पनि कोभिड दरबन्दी नराख्ने भन्ने एउटा सर्कुुलरजस्तो पनि भयो ।’

करार कर्मचारीको अवधि थप नहुँदा प्रदेशका अन्य अस्पतालमा पनि समस्या देखिएको डा. श्रेष्ठले जानकारी दिए । ‘मन्त्रालयबाट यो आर्थिक वर्षका लागि पहिले जत्तिकै संख्यामा राख्न नसकेपछि केही अस्थायी दरबन्दी सिर्जना गरेर जनशक्ति राख्ने योजना बनाएका छौं,’ उनले भने, ‘हप्ता, १० दिनमा अस्थायी कर्मचारी सबै अस्पतालमा पठाउँछौं ।’

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?