+
+

आयल निगमको एक वर्षको घाटा ५५ अर्ब

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ साउन ९ गते १४:३२

९ साउन, काठमाडौं । मुलुकमा इन्धन आपूर्ति र कारोबारको एकाधिकार भएको नेपाल आयल निगमले एक आर्थिक वर्षमै ५५ अर्ब रुपैयाँ घाटा व्यहोरेको छ ।

सबै प्रकारका सञ्चिति कोष रित्तिएर आर्थिक वर्ष २०७८/७९ मा यो आकारको अनुमानित घाटा व्यहोरेको निगम उच्च स्रोतले जनाएको छ । ‘आर्थिक वर्ष अन्त्यको प्रारम्भिक अनुमानमा यो आकारको घाटा देखिएको छ,’ स्रोतले भन्यो, ‘भलै अन्तिम लेखापरीक्षण प्रतिवेदनमा केही मौज्दात इन्धनको रकम हिसाब गर्दा थोरै रकम तलमाथि हुनसक्छ ।’

यस वर्षको प्रारम्भिक नोक्सानी इतिहासमै हालसम्मकै उच्च भएको निगमको दाबी छ । आव २०७७/७८ मा निगमले ४ अर्ब घाटा व्यहोरेको थियो ।

अघिल्लो वर्षसम्म आफ्नो सञ्चित कोषमा रहेको २६ अर्ब रकम खर्च गरेर पनि निगम अहिले ३५ अर्ब ऋणमा चलेको स्रोतको दाबी छ । ‘निगमले १० अर्ब रुपैयाँ ऋण लिएर भारतीय आयल कर्पोरेसन (आईओसी) लाई भुक्तानी गर्दा पनि अझै २५ अर्ब उधारो बाँकी छ,’ स्रोत भन्छ, ‘भारतको ऋण नेपालमा सरेको मात्रै छ ।’

गत वर्षको तुलनामा खपत र लागतमा उच्च वृद्धि हुँदा निगमको नोक्सान अनपेक्षितरुपमा बढेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको भारी वृद्धिसँगै इन्धनको लागत दोब्बरले बढ्नु, निगमलाई घाटा रहेको पेट्रोल र खाना पकाउने ग्याँसको बिक्री बढ्नु लगायतका कारणले निगमको वित्तीय अवस्थामा थप दबाब सृजना गरेको उनको भनाइ छ ।

आव २०७८/७९ मा नेपालले ३ खर्ब १० अर्बको पेट्रोलियम कारोबार गरेको थियो । जुन अघिल्लो वर्षको तुलनामा दोब्बर बढी हो । आव २०७७/७८ मा निगमले १ खर्ब ५८ अर्बको पेट्रोलियम पदार्थ खरिद गरेको थियो ।

महँगीको वर्ष पनि पेट्रोल र ग्याँसको बिक्री बढ्यो

इन्धनको मूल्य स्रोतबाटै उच्च वृद्धिका बाबजुत पनि त्यसको असरबाट अर्थतन्त्र र निगमको क्षति रोक्न नसकिएको उनले बताए । निगमले खपत कम गर्नका लागि गरेको अनेक आग्रह समयमै पालना नहुँदा खराब वित्तीय अवस्थामा सृजना भएको उनले बताए । ‘दोब्बर महँगीका बाबजुत पनि विलासिताका वस्तुको उपयोग झनै बढ्न पुग्दा निगममा आर्थिक संकट गहिरियो,’ उनले थपे, ‘यस्तो महँगीको वर्ष पनि पेट्रोल र ग्याँसको बिक्री बढेको छ ।’

आव २०७८/७९ मा अघिल्लो वर्षको तुलनामा पेट्रोलको बिक्री २४ प्रतिशत, डिजेलको बिक्री २ प्रतिशत र ग्याँसको बिक्री १२ प्रतिशत रहेको उनले बताए ।

आव २०७७/७८ मा ७ लाख २९ हजार ८०९ किलोलिटर पेट्रोल बिक्री भएको छ । जुन गत आवमा ५ लाख ८७ हजार ६७७ किलोलिटर मात्रै थियो ।

यस्तै अघिल्लो वर्ष १६ लाख ९८ हजार ४२७ किलोलिटर डिजेल ब्रिकी भएकामा गत आवमा यस्तो बिक्री १७ लाख २६ हजार ३१८ किलोलिटर पुगेको निगमले जनाएको छ ।

आव २७८/७९ मा ग्याँस बिक्री ५ लाख ३६ हजार ३२९ मेट्रिकटन पुगेको छ जबकी आव २०७७/७८ मा ग्याँसको बिक्री ४ लाख ७७ हजार ४५२ मेट्रिकटन मात्रै थियो ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?