+
+

सुरक्षाका सामग्रीविनै जोखिम मोलेर ढुङ्गाखानीमा काम

रासस रासस
२०७९ साउन ९ गते १९:३२
ढुंगाखानीको प्रतिनिधिमूलक तस्वीर

९ साउन, तम्घास । जोखिमयुक्त र जोखिममा नरहेका स्थानमा काम गर्दासमेत कामदारले सुरक्षाका सामग्री लगाउनुपर्ने नियम सरकारले बनाएको छ । सरकारले ढुङ्गाखानीलाई जोखिमयुक्त क्षेत्रका रुपमा घोषणा पनि गरेको छ । तर गुल्मीको रेसुङ्गा नगरपालिका–१२ मा सञ्चालन गरिएको ढुङ्गाखानीका श्रमिकले भने सुरक्षाका सामग्रीविनै काम गरिरहेका छन् ।

पाल्पाको रम्भादेवी गाउँपालिका–४ की नविना सूर्यवंशीले ढुङ्गाखानीमा गिटी कुट्न थालेको १२ वर्ष भयो । एक ट्याक्टर गिटी कुटेबापत उनले तीन हजार २०० कमाउँछिन् । श्रीमानसँगै गिटी कुटेर उनले दुई छोरा पढाउँदै छिन् । गिटी कुट्दाकुट्दै माथिबाट ढुङ्गा खसेका थुप्रै दुःखद् अनुभव उनीसँग छ । त्यसैमाथि चस्मा, पञ्जा, हेलमेट नहुँदा झनै जोखिम थपिएको छ । ‘गिटी कुट्दा ढुङ्गा उछुट्टिएर आँखामै लाग्छ’, उनले भने, ‘चस्मा त आफैँ किनेर लगाउँ लगाउँ हुन्छ ।’

सूर्यवंशी मात्र होइन बागलुङ बुर्तिबाङकी टेकमाया परियारले पनि कुनै सुरक्षाका सामग्री पाएकी छैनन् । उनी पाँच वर्षदेखि ढुङ्गाखानीमा कार्यरत छिन् । श्रीमान् श्रीमतीले गिटी कुटेर छोरा र छोरीलाई दुविचौरस्थित घोर्ले माविमा पढाएका छन् । दुई जनाले गिटी कुट्दा महिनाको १० हजारजति आम्दानी हुन्छ । त्यही रकमबाट उनीहरुले जीविकोपार्जन गर्दै आएका छन् । तर उनीहरुले अहिलेसम्म कुनै सुरक्षा सामग्री पाएका छैनन् । ‘पञ्जा पनि छैनन्, चस्मा पनि छैनन्, न त हातमा लगाउने ग्लोब नै दिएका छन्’, परियारले भनिन्, ‘हामी दुःखी, गरिबलाई कसले हेर्छ र ?’

उनले पाँच वर्षकी छोरीलाई गिटी कुट्ने ठाउँको नजिकै राख्छिन् । विद्यालय सञ्चालन हुँदा पठाउँछिन्, अन्य समयमा आफूसँगै राख्छिन् । छोरीले दुविचौरस्थित कक्षा १ मा पढ्छिन् । ‘छोराछोरीको भाविष्य बन्छ कि भनेर गिटी कुट्दै छु’, उनले भनिन्, ‘जसोतसो काम त गर्नैपर्‍यो ।’

रेसुङ्गा नगरपालिका–१२ का सन्तबहादुर बस्नेत आफैं खानी सञ्चालक छन् । उनी विगत १५ वर्षदेखि ढुङ्गाखानीमा काम पनि गर्छन् । तर उनलाई आफू सुरक्षित हुने विषयमै मतलव छैन । कामदारका विषयमा चासो हुने कुरै भएन । माथि जोखिम र जङ्गल भएकाले अब खानी बन्द हुने सम्भावना भएको बताए ।

‘घाम चर्किंदा र पानी दर्किंदा पहिरो खस्छ । पलपलमा जोखिम देखेका छौँ’, उनले भने, ‘अब खानी नै बन्द हुँदैछ ।’

दुविचौरमा सञ्चालन गरिएको ढुङ्गाखानी जिल्लामै ठूलो हो । पहिलेपहिले ३०० सम्मले काम गर्ने गरेकामा अहिले दैनिक ६० जनाले काम गर्छन् । केही समयअघि पहिरामा परी घाइते भएका रेसुङ्गा नगरपालिका–१२ का गुनबहादुर गुरुङको ज्यान नै गएको थियो ।

साथै खानीले नजिकको बस्तीलाई समेत असर गरिरहेको गुनासो आउने गरेको छ । श्रमिकले सुरक्षाका सामग्रीबारे सरकारले पनि ध्यान दिएको छैन । वडाध्यक्ष चेहरसिंह टन्डनले निर्वाचनपछि आफू ढुङ्गाखानी नगएको स्वीकार गरे । ‘गत वर्ष एकपटक सुरक्षा सामग्री बाँडेको हो, अहिले लगाउन छोडे होलान्’, टन्डनले भने, ‘म भोलि नै खानीमा जान्छु ।’

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?