+
+

मर्जरमा सेयर कारोबार रोकिन्छ, तर लगानी बन्धक हुन दिइँदैन : धितोपत्र बोर्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १२ गते १३:५४

११ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले बैंकको मर्जरमा सेयर कारोबार रोक्का गर्नेसम्बन्धी व्यवस्था गर्न कार्यविधि बनाउने तयारी थालेको छ । राष्ट्र बैंकले सेयर कारोबार रोक्ने व्यवस्था धितोपत्र बोर्डको नियअनुसार हुने निर्णय बोर्डले कार्यविधि बनाउन लागेको हो ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिको समयमा धितोपत्र कारोबार रोक्नसक्ने अधिकार धितोपत्र बोर्डलाई दिएको छ ।

‘बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिको समयमा धितोपत्र कारोबार रोक्नेसम्बन्धी यस बैंकबाट जारी भएको विद्यमान व्यवस्था खारेज गरी धितोपत्र बोर्डको नियमन बमोजिम हुने व्यवस्था मिलाइनेछ’ मौद्रिक नीतिमा भनिएको छ ।

बोर्डको अध्यक्ष नियुक्त भएदेखि नै रमेश हमालले सेयर सीमित अवधिका लागि रोक्का भएपनि अनिश्चित समयसम्म रोक्का हुन नहुने बताउँदै आएका थिए । निरन्तर छलफलपछि राष्ट्र बैंकले उक्त व्यवस्था खारेज गरेको र अब बोर्डले लगानीकर्ता मर्कामा नपर्ने गरी आवश्यकता अनुसार कारोबार रोक्का हुनेगरी कार्यविधि बनाउने हमाल बताउँछन् ।

सेयर लगानीकर्ता मर्जरको नाममा वर्षौंसम्म सेयर रोक्का भएर बन्धक बनाउँदा समस्या भएको भन्दै सेयर कारोबार रोक्का गर्नुको औचित्यमाथि लगानीकर्ताले प्रश्न उठाउँदै आएका थिए । बोर्ड अध्यक्ष हमालले पनि मर्जरमा सेयर कारोबार रोक्काको व्यवस्था परिमर्जन हुने बताउँदै आएका थिए ।

‘अहिले मर्जर र एक्विजिसनका नाममा सेयर लगानीकर्ताको सम्पत्ति बन्धक भएको छ । यो लगानीकर्तामाथिको अन्याय पनि हो,’ ८ असारमा बोर्डमा आयोजित पत्रकार सम्मेलनमा उनले भनेका थिए, ‘मैले नै पहिलो पटक मर्जर र एक्विजिसनका नाममा लामो समय कारोबार रोक्का हुनु हुँदैन भनेको हुँ, अब त्यही दिशामा काम हुन्छ ।’

राष्ट्र बैंकले सेयर कारोबार रोक्का गर्ने सन्दर्भमा निर्णय गर्ने अधिकार बोर्डलाई दिएसँगै बोर्ड कार्यविधि बनाउन जुटेको हो । राष्ट्र बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली, २०७३ को व्यवस्थाका अचाधारमा सेयर कारोबार रोक्दै आएको थियो ।

तर, बीमा कम्पनी र हाइड्रोपावर कम्पनीको हकमा भने कम्पनी ऐन, बिमा ऐन तथा अन्य कुनै पनि नीति र निदर्नेशनमा सेयर कारोबार रोक्का हुने व्यवस्था छैन । नेपाल धितोपत्र बोर्डको कुनै एने र नियमावली तथा निर्देशकामा पनि मर्जरमा जाने कम्पनीको सेयर कारोबार रोक्का हुने व्यवस्था छैन ।

तर, नेपाल धितोपत्र बोर्डको ‘धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४’ मा भने मर्जरमा जाने कम्पनीको सेयर कारोबार रोक्का हुने विषय उल्लेख नभए पनि मर्जरपछि एकीकृत कारोबार सुरु भएसँगै सेयर कारोबार पनि सुरु गर्नुपर्ने उललेख छ ।

‘सूचीकृत संगठित संस्थाहरू गाभ्ने वा गाभिने कार्य सम्पन्न भएपश्चात एकीकृत कारोबार सुरु भएसँगै सेयरको कारोबारसमेत सुरु हुने व्यवस्था गर्नुपर्नेछ । तर, एकीकृत कारोबार सुरु भएसँगै सेयरको कारोबारसमेत सुरु हुने व्यवस्था गर्न नसकिने भएमा एकीकृत कारोबार सुरु भएको बढीमा १५ दिनभित्र सेयरको कारोबार सुरु गर्नुपर्नेछ,’ यस्तै निर्देशिकामा उल्लेख छ ।

यसले अप्रत्यक्ष रुपमा सेयर मर्जरमा सेयर कारोबार रोक्का गर्नुपर्ने कुरा स्वीकार गरेको देखिन्छ । यसका साथै नेपाल धितोपबा र्डले नैप्रस्ताव गरेको सूचीकृत संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७७’ को मस्यौदामा पनि मर्जर तथा प्राप्ति प्रक्रियामा स्पष्ट रुपमा ‘कारोबार रोक्का हुने’ र ‘कारोबार खुला गर्नुपर्ने’ प्रस्ताव छ ।

बोर्डका अध्यक्ष हमाल मर्जरमा सेयर कारोबार नै रोक्का नहुने भन्ने नरहेको तर, निश्चित अवधि र जोखिमको ख्याल गरी कारोबार रोक्का हुने गरी नयाँ कार्यविधि आउने बताउँछन् ।

मर्जरको समयमा कारोबार रोक्कासम्बन्धी सैद्धान्तिक विषय पहिचान भएको भन्दै चाँडै नै नयाँ कार्यविधि कार्यान्वयनमा आउने उनले बताए ।

नयाँ कार्यविधि कार्यन्वयनमा आएसँगै बोर्डको विद्यमान व्यवस्थाहरु स्वतः निष्क्रिय हुने भएकाले विद्यमान व्यवस्थामा कारोबार खोल्न बारेमा उल्लेख भएपनि त्यसले फर नपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?