
१२ साउन, काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लूको आज बिहीबारदेखि सुरू हुन लागेको नेपाल भ्रमण नियमित भएको जनाएको छ ।
सहायक विदेशमन्त्री लु काठमाडौं आइपुग्नु केही समयअघि मात्रै दूतावासले एक विज्ञप्ति जारी गरेर भ्रमणको विषयमा जानकारी गराएको हो ।
‘दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लू यस क्षेत्रको नियमित भ्रमणको सिलसिलामा आज नेपालको दुई दिने भ्रमणमा आउँदै हुनुहुन्छ,’ दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएकोछ, ‘काठमाडौँमा सहायक विदेश मन्त्री लुले अमेरिकी विदेश मन्त्रीद्वारा वार्षिक रूपमा प्रदान गरिने अवार्ड फर कर्पोरेट एक्सिलेन्स (एसीई) नेपालस्थित अमेरिकी उत्पादनकर्ता कम्पनी पूर्णालाई प्रदान गर्नुहुनेछ ।’
उक्त कम्पनीले परम्परागत रूपमा सीमान्तकृत व्यक्तिहरू र शोषणबाट बचेकाहरूको सशक्तीकरण गर्दै नीतिपरक उत्पादनको प्रवर्द्धन गरिरहेको दूतावासको विज्ञप्तिमा उल्लेख छ ।
दूतावासले भ्रमणका क्रममा सहायक मन्त्री लुले व्यापार, नागरिक समाज र सरकारका नेतृत्वकर्तासँग पनि भेटघाट गर्ने जनाइएको छ। भ्रमणका विषयमा अहिलेसम्म यहाँको परराष्ट्र मन्त्रालयले भने कुनै जानकारी दिएको छैन ।
सहायक विदेशमन्त्री लु यसअघि गत वर्षको १ मंसिरमा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई सदनबाट पारित गराउने विषयलाई लिएर आएका थिए ।
प्रतिक्रिया 4