+
+

अर्थमन्त्री शर्मालाई एमालेले के गर्ला ?

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १५ गते २१:१९

१५ साउन, काठमाडौं । अनधिकृत व्यक्तिले करका दर हेरफेर गरेको आरोप लगाएको प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्मामाथि संसदीय विशेष समिति बनाएर छानबिन गर्न माग गर्‍यो । लगातार संसदमा आवाज उठाउँदा पनि सुनुवाई नभएपछि एमालेले शर्मालाई नै बहिस्कार गर्‍यो ।

एमालेले संसद नै अवरोध गर्ने देखिएपछि सभामुखले विशेष समिति बनाए भने शर्माले २२ असारमा राजीनामा दिए । समितिले गरेको छानबिनका क्रममा पनि एमालेले करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता भएकै दाबी गर्‍यो । सत्ता पक्षको बहुमत भएको समितिले प्राप्त प्रमाणमा अनधिकृत व्यक्ति प्रवेश भएको नदेखिएको प्रतिवेदन तयार पारेपछि एमालेले फरक मत राख्यो ।

तर आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले शर्मालाई अर्थमन्त्री नियुक्त गरेका छन् । सत्तारुढ माओवादी केन्द्रको सिफारिसमा अर्थमन्त्री नियुक्त भएका शर्माले शुक्रबार नै सपथ लिनुका साथै मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन् ।

हिजो आफैंले बहिस्कार गरेको र उनलाई सफाइ दिने समितिको प्रतिवेदन समेत अस्वीकृत गरेको एमालेले अब के गर्ला त ?

एमाले नेताहरुका अनुसार यसबारे पार्टीमा छलफल भएको छैन । भोलि नेताहरुसँग परामर्श गर्ने र मंगलबार संसद बैठक बस्नुअघि एउटा निर्णयमा पुग्ने नेताहरु बताउँछन् । एक नेताका अनुसार एमालेले राजनीतिक रुपमा विरोध गरिराख्ने, तर अर्थमन्त्री शर्मालाई बहिस्कार भने नगर्ने सम्भावना छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले पनि संसदीय विशेष समितिमा राखेको फरक मतलाई जनतामाझ लैजाने र भण्डाफोर गर्ने बताए ।

सत्तारुढ सांसदहरु के भन्छन् ?

सत्तारुढ दलका सांसदहरु भने संसदीय विशेष समितिले क्लिनचिट दिएकाले मन्त्री नियुक्ति स्वभाभिक भएको बताएका छन् ।

संसदीय विशेष समितिमा समेत रहेकी नेकपा एकीकृत समाजवादीकी प्रमुख सचेतक सरला यादव भन्छिन्, ‘उहाँमाथि जुन आरोप लगाएर छानबिन समिति बनेको थियो, त्यस्तो केही पनि देखिएन । त्यही भएर उहाँले ‘क्लिनचिट’ पाउनुभयो ।’ अर्थमन्त्रीमा पुनः नियुक्त गर्ने कि नगर्ने भन्ने भन्ने माओवादीको आन्तरिक मामिला भएकाले आफूहरुले नबोल्ने उनले बताइन् ।

जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रमोद साह पनि छानबिनमा अर्थमन्त्री दोषी नदेखिएकाले अन्यथा भन्न नमिल्ने बताउँछन् । ‘संसदीय समितिको प्रतिवेदनले उहाँलाई निर्दोष सावित गरिसक्दा पनि प्रश्न उठाउनु ठिक होइन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?