+
+

महानगरले सकेन वर्गीकरण अनुसार फोहोरको व्यवस्थापन

अमृत चिमरिया अमृत चिमरिया
२०७९ साउन १७ गते ६:५६

१७ साउन, काठमाडौं । काठमाडौं महानगरपालिका-१४ कुलेश्वरकी सविता क्षेत्रीले १ साउनदेखि आफ्नो घरमा कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर राखिन् ।

काठमाडौं महानगरपालिकाले सूचना जारी गरेपछि त्यसै अनुसार उनले फोहोर छुट्टाछुट्टै राखिन् । तर ७ साउनसम्म गाडी नआएपछि बाध्य भएर उनले छुट्याएर राखेको फोहोर पनि सडकमै लगेर फालिन् । कुहिने फोहोर सडकमै फाल्न बाध्य भएपनि उनले नकुहिने फोहोर १२ साउनसम्म घरमै राखेकी थिइन् । तर त्यो फोहोर पनि उनले सडकमै फालिन् ।

‘झण्डै दुई सातासम्म घरमै छुट्टाएर राखेको फोहोर लिन गाडी नआएपछि सडकमा नफालेर कहाँ राख्ने त ? अहिलेसम्म पनि फोहोर लिन गाडी आएको छैन, छुट्याएर मात्रै के गर्ने रोडमै फाल्नुपरे पछि’ उनले प्रश्न गरिन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३२ नरेफाँट क्षेत्रमा पनि फोहोर उठाउने गाडी नआउँदा वर्गीकरण गरी राखेको फोहोर स्थानीयले एकै ठाउँमा थुपार्न थालेका छन् ।

नरेफाँटमा डेरा गरी बस्ने सुजन न्यौपानेका अनुसार गत वैशाखको स्थानीय तहको निर्वाचनपछि यस क्षेत्रमा एकपटक मात्रै फोहोर उठाउने गाडी पुगेको छ । त्यसयता गाडी नपुग्दा फोहोर छुट्याउनु र नछुट्याउनुको कुनै अर्थ नरहेको उनले बताए ।

कुलेश्वर र नरेफाँट यसको उदाहरण मात्रै हुन् । महानगरभरि यसरी वर्गीकरण गरेर राखेको फोहोर महानगरले समयमा नउठाउँदा छुट्याएर राखेको फोहोर पनि सडकमा एकै ठाउँमा फाल्ने गरेको पाइएको छ ।

महानगरमा निजी क्षेत्रले सडकको फोहोर उठाउँदैन । महानगर आफैंले उठाउँदै आएको प्रवक्ता नवीन मानन्धर बताउँछन् । उनका अनुसार अहिले पहिलो चरणमा सडकमा रहेको फोहोर उठाएर बञ्चरेडाँडा पुर्‍याउने प्राथमिकता हो ।

महानगरको फोहोर व्यवस्थापनको फोकल पर्सन रहेका मेयर बालेनका सचिवालय सदस्य सुनील लम्सालका अनुसार १ साउनदेखि महानगरले पहिले सडकका मिश्रित फोहोर बञ्चरेडाँडा लैजाने र पछि वर्गीकरण गरेका फोहोर उठाएर व्यवस्थापन गर्ने योजना रहेको थियो ।

स्मार्ट डस्टबिन

१ साउनदेखि सडकमा जम्मा भएका फोहोरमात्रै विना वर्गीकरण बञ्चरेडाँडामा लगिने र अन्य फोहोर वर्गीकरण गरेर मात्रै जाने लम्सालका बताएका थिए । तर काठमाडौंवासीले वर्गीकरण गरेर जम्मा गरेको फोहोर नउठेपछि सडकमा फेरि कुहिने र नकुहिने फोहोर एक ठाउँमा मिसिएर थुप्रिन थालेका छन् । यसरी जम्मा भएको फोहोर महानगरले उठाइरहे पनि घर-घरको फोहोर बेलामा नउठाइँदा सडकमा जम्मा हुने क्रम निरन्तर छ ।

ढुवानी समस्याले थुप्रियो फोहोर

काठमाडौंको फोहोर बञ्चरेडाँडा लैजाने सडक अहिले एकतर्फी मात्रै सञ्चालनमा छ । महानगरका प्रवक्ता मानन्धरका अनुसार काठमाडौंमा जम्मा भएको फोहोर दैनिक ३ सय ट्रकसम्म उठाएमा मात्रै नयाँ फोहोर थुप्रिदैन तर अहिले बढीमा ६० गाडी मात्रै बञ्चरेडाँडा ल्यान्डफिल साइट पुगिरहेको छ ।

‘वर्षाको समय भएर बाटो एकतर्फी मात्रै चलिरहेको छ । बाटो क्लियर नहुँदा फोहोर बोकेको गाडी सरासर जान सकिरहेका छैनन् । ल्यान्डफिल साइटमा गाडी नगएपछि फोहोर उठ्न नसक्नु स्वभाविक नै हो’ उनले भने, ‘बाटोलाई देखाएर केही निजी कम्पनीहरुले फाहोर उठाइरहेका छैनन् त्यसले गर्दा सडकमा फोहोर आइरहेको छ । त्यही फोहोर महानगरले उठाउन परिरहेको छ । सडकमा फालेका फोहोर मिश्रित नै हुन्छन् ।’

प्रवक्ता मानन्धरले अब राति पनि फोहोर ढुवानीका लागि सिफ्ट चलाउने विषयमा आन्तरिक छलफल गरिरहेको बताए ।

काठमाडौं महानगरका वातावरण तथा सरसफाइ समितिका संयोजक एवं वडा नम्बर १२ का अध्यक्ष बालकृष्ण महर्जनले फोहोर उठाउन अधिकतम प्रयास गरिरहे पनि नसकिएको स्वीकार गर्छन् ।

‘हामीले घर घरमा गएर फोहोर उठाउन खोजेकै हौं । बञ्चरेडाँडामा सबै फोहोर लैजान सकिरहेको छैन, जसले गर्दा अडि्करहेको छ, त्यसकारण केही फोहोर सडकमा आए होलान् तर महानगरले अब छिट्टै छलफल गर्नेछ । सधैंभरि यसरी फोहोर थुप्रिँदैन’ महर्जनले भने । उनले महानगरले फोहोर व्यवस्थापनका लागि अन्य विकल्पमा पनि निरन्तर प्रयास गरिरहेका बताए ।

भदौबाट अर्को समस्या

बञ्चरेडाँडाका स्थानीयले भदौदेखि बन्चरेडाँडामा फोहोर फाल्न नदिने घोषणा यसअघि नै गरिसकेका छन् । जसले गर्दा महानगरपालिकाले १ भदौदेखि अर्को समस्याको सामना गनुपर्ने देखिएको छ ।

पत्रकार सम्मलेनमार्फत स्थानीयले १ भदौदेखि सधैंका लागि बञ्चरेडाँडामा फोहोर फाल्न नदिने बताइसकेका छन् । महानगरले सम्झौताअनुुसार काम नगरेको, उपत्यकाको अन्य स्थानमा ल्यान्डफिल साइट खोजेर बञ्चरे डाँडावासीलाई बेवास्ता गर्न खोजेको भन्दै फोहोर फाल्न नदिने घोषणा गरेको सरोकार समितिका संयोजक श्रीराम ढुंगाना बताउँछन् ।

महानगरले राम्ररी फोहोर नउठाएको दुई हप्ता भन्दा धेरै भइसकेको छ । ४ साउनदेखि सडक मर्मत गर्ने भन्दै सूचना जारी गरेर एक हप्ता फोहोर नउठाएको महानगरले त्यस अगाडि पनि राम्ररी उठाउन सकेको थिएन ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?