+
+

‘१०० व्यापारीको मुठ्ठीमा ३० खर्ब’

आर्थिक अनुशासनका लागि बैंकर र व्यवसायी छुट्याउनुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १७ गते १:०५

१७ साउन, काठमाडौं । सांसद अमरेशकुमार सिंहले व्यापारिक घरानामा वित्तीय स्रोत सीमित हुँदा अर्थतन्त्र कमजोर बनेको भन्दै सरकारको धारणा माग गरेका छन् । विदेशी मुद्रा सञ्चिति घट्दो अवस्थामा रहेको र व्यापार असन्तुलन गत आर्थिक वर्षकै जस्तो रहने हो भने दुई वर्षपछि नेपालको अर्थतन्त्र कस्तो होला भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बैंकिङ प्रणालीमा रहेको कुल ५० खर्ब स्रोतमध्ये ३० खर्ब रुपैयाँ १०० वटा व्यापारिक घरानाको पकडमा रहेको बताए ।

‘हाल कुल निक्षेप करिब ५० खर्ब छ । जसमध्ये कुल ऋण प्रवाह करिब ४७ खर्ब छ । ४७ खर्ब ऋण औद्योगिक घरना, ठूला व्यवसायी तथा आमनागरिक समेत गरी कुल ऋणीको संख्या करिब १८ लाख देखिन्छ,’ उनले भने, ‘उक्त ऋण करिब १०० जनाले करिब ३० खर्ब रुपैयाँ लिएको देखिन्छ । यसमा पनि केही व्यक्तिहरु एक्लैले ६० अर्ब रुपैयाँ लिएका छन् ।’

‘अहिलेसम्म चालु पूँजी कर्जा निर्देशिका आउन सकेको छैन । त्यसको कारण के हो ?’ उनले प्रश्न गरे । उनले आर्थिक अनुशासनका लागि पनि बैंकर र व्यवसायी छुट्याउनुपर्ने बताए ।

‘आर्थिक अनुशासनका लागि पनि बैंकर र व्यवसायी छुट्याउनु आवश्यक हुन्छ,’ उनले भने, ‘हाम्रो देशमा एउटै व्यवसायी समूहसँग बैंक, फाइनान्स कम्पनी, मर्चेन्ट बैंक, बीमा कम्पनी, पुनर्विमा कम्पनी, लघुवित्त, निर्माण व्यवसाय, ट्रेडिङ व्यवसाय, स्टिल, सिमेन्ट तथा ठूला होटलहरु पनि भएको देखिन्छ ।’ बैंकर र व्यवसायी छट्याउन सक्ने हो भने आर्थिक अनुसार र वित्तीय स्रोतको समुचित बाँडफाँड हुने उनले बताए ।

‘अहिले कोरोना पछि आर्थिक वृद्धिदर करिब ५.८ प्रतिशत रहेको छ । विदेशी मुद्राको सञ्चिति भण्डार पछिल्लो आर्थिक वर्षको तुलनामा करिब २.५ अर्ब डलर कम देखिन्छ । यो डर लाग्दो अवस्था हो’ उनले भने । विदेशी मुद्राको सञ्चिति ११ अर्ब ७४ करोड डलरबाट एक वर्षमा २ अर्ब ५० करोड डलरले घटेर ९ अर्ब ४५ करोड डलरमा झरिसकेको र यसले साढे ६ महिनाको आयात धान्न सक्ने बताए ।

‘वार्षिक २ अर्ब ५० करोड डलरले विदेशी मुद्रा सञ्चिति हरेक आर्थिक वर्ष घट्दै गयो भने २ वर्षमा देशको आर्थिक अवस्था भयावह हुन्छ,’ उनले भने, ‘जुन हिसावले विदेशी सञ्चिति भण्डार घट्दै जाने र आयात बढ्दै जाने अर्थात् व्यापार घाटा बढ्दै जाने हो भने २ वर्षपछि नै नेपालको अर्थतन्त्र विश्वमा नै खराब अर्थतन्त्र भएको मुलुकको सूचीमा पर्ने देखिन्छ ।’

आर्थिक वर्ष २०७७/७८ मा कोभिड–१९ को कारणले रेमिट्यान्स ९ खर्ब ६१ अर्ब रहेको र गत आबमा थोरै बढेर १० खर्ब मात्रै पुगेको उनले बताए ।

‘अघिल्लो आर्थिक वर्षमा साढे १५ खर्बको आयात भएकोमा गतवर्ष १९ खर्ब २० अर्ब पुगेको छ,’ उनले भने, ‘व्यापार घाटा १३ खर्ब ९९ अर्बबाट बढेर घाटा १७ खर्ब २० अर्ब पुगेको छ । निर्यात १ खर्ब ७५ अर्बबाट २ खर्ब ४ अर्ब छ । सरकारले व्यापार घाटा कम गर्न कुनै पनि रणनीतिक योजना बनाएको देखिंदैन ।’

४८ खर्ब ५२ अर्बको जीडीपीमा १८ अर्ब ऋण रहेको भन्दै यसले अर्थतन्त्र सही दिशामा छैन भन्ने देखिएको उनले बताए । यस बारेमा संसदमा छुट्टै छलफलको माग गर्दै सांसद सिंहले स्वेतपत्र जारी गर्न सभामुखले रुलिङ गर्नुपर्ने उनले माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?