+
+

नारायणी रंगशालामा जग्गा परेका जग्गाधनी मुआब्जा लिन सहमत

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १७ गते २०:२४

१७ साउन, वीरगञ्ज । पर्साको नारायणी रंगशालामा जग्गा रहेका जग्गाधनीले मुआब्जा दिन माग गरेका छन् । रंगशालामा व्यक्तिको जग्गा परेको र रंगशाला अतिक्रमण भएको बारेमा अध्ययन गर्न गठित उपसमितिसँग उनीहरुले मुआब्जा लिएर जग्गा दिन तयार रहेको बताएका हुन् ।

उपसमितिले राष्ट्रिय खेलकुद परिषद राखेपमा बुझाएको प्रतिवेदनमा जग्गाको मुआब्जा प्रदान गर्ने प्रक्रिया अघि बढाउन आवश्यक बजेट व्यवस्था युवा तथा खेलकुद मन्त्रालयले गर्नुपर्ने सुझाव दिएको संयोजक मानदेव हजाराले बताए ।

‘१० जना जग्गाधनीको १४ कठ्ठा जमिन रंगशाला भित्र परेको छ । जग्गा सट्टाभर्नाको कुरा थियो । अब त्यो संभव छैन । जग्गाधनीहरु पनि जग्गा उपभोग गर्न नपाउँदा मर्कामा छन्, जग्गासम्म जाने बाटो पनि छैन’, उनले भने, ‘उनीहरु मुआब्जा लिएर जग्गा रंगशालालाई दिन तयार छन् । सोही ब्यहोराको प्रतिवेदन तयार गरेर परिषदलाई बुझाएको छु ।’

राष्ट्रिय खेलकुद परिषदका सदस्यसमेत रहेका हजारा र मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको कार्यालयका प्रमुख महम्मद ज्याउल इस्लाम सदस्य रहेको उपसमितिले साउन १२ गते जग्गा धनीहरुसँग भेटघाट र छलफल गरेको थियो । छलफलमा उनीहरुले उचित मुआब्जाका लागि बारम्बार परिषदमा लिखित निवेदन पेश गरेको र अदालतहरुमा आफ्नो जग्गा प्राप्तिका लागि निवेदन पेश गरी अदालतबाट समेत फैसला अन्तिम भइ बसेकोमा समेत जग्गा नपाउँदा मर्कामा परेको बताएका छन् ।

आफूहरुको जग्गामा खेलकुदका संरचना समेत तयार भइसकेको हुँदा उचित मुआब्जा पाउनुपर्ने माग जग्गाधनीहरुको छ । छलफलमा जग्गा सम्बन्धी विवादलाई मुआब्जा प्रदान गरी दीर्घकालीन रुपमा समस्या समाधान गर्न सके राम्रो हुने उपसमितिका संयोजक हजराले बताए ।

जग्गा विवादका कारण २५ लाख रुपैयाँ खर्च गरेर रंगशाला क्षेत्रमा खेलकुद पूर्वाधार विकासका लागि तयार पारेको ३ अर्ब रुपैयाँ बराबरको विस्तृत परियोजना प्रतिवेदन (डीपीपआर) को काम अघि बढाउन नसकिएको राखेपका सदस्य हजरा बताउँछन् ।

रंगशालामा १० जनाको १४ कठ्ठा जमिन

१८ विगाहा जमिन रहेको रंगशालाको क्षेत्रभित्रै पर्ने १४ कठ्ठा जमिन १० जना व्यक्तिको नाममा रहँदा समस्या भइरहेको छ ।

रंगशाला भित्र पर्ने क्रिकेट मैदानमा सुनिता सुवेदी (ढुंगाना)को नाममा रहेको कित्ता नं. ४२९ (१० धुर), पुनमदेवी कलवारको कित्ता नं. ८५ को ८ धुर, सुष्मा कुमारी वैद्य, ज्योति नेपाल, मिना रघुवंशी, पुष्पा कुमारी वर्णवाल र गोमा गौतम र रंगशालाको पश्चिमतर्फ रहेको मुख्य प्रवेशद्वारमा भगवानदास बजाज समेतले १४ कठ्ठा जति जमिनमा अदालतबाट मुद्दा जितेर हक कायम गरेर बसेका छन् ।

रंगशालाले चर्चेको क्षेत्रमा जग्गा परेपछि न उनीहरुले उपभोग गर्न पाएका छन्, न त्यसको सट्टामा कतै जमिन नै । उनीहरुले आफ्नो जग्गा क्रिकेट मैदान भित्र परेको कारण उचित मुआब्जा वा उपयुक्त जग्गा सट्टापट्टा गरिपाउन माग गर्दै आएका थिए ।

राष्ट्रिय खेलकुद परिषदको ०६८ असार २४ गते बसेको ९३ औं बोर्ड बैठकले उनीहरुको जग्गा मुल्यांकन गरी कानुन बमोजिम उचित मुआब्जा प्रदान गर्नुपर्ने वा जग्गाहरु सट्टापट्टा गर्ने निर्णय गरेको भए पनि कार्यान्वयन भएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?