१९ साउन, काठमाडौं । सरकारले ४ मंसिरका लागि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गरेसँगै नेपाल प्रहरीले सुरक्षा तयारी थालेको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन, २०८९ विशेष सुरक्षा कार्ययोजना बनाउन थालिएको छ ।
प्रहरीले यसअघि दुई चरणमा निर्वाचन भए शान्ति सुरक्षा र निर्वाचनको सुरक्षा व्यवस्थापन सहज हुने बताउँदै आएको थियो ।
तर सरकारले एकैचरणमा चुनाव गर्ने निर्णय गरेपछि प्रवक्ता राईले भने, ‘विगतमा एकैचरणमा भएको स्थानीय तह निर्वाचन पनि शान्तिपूर्ण, भयरहीत र निष्पक्ष तवरमा प्रहरीले सम्पन्न गराएको हो, यसपालि पनि सुरक्षामा कुनै त्रुटि रहँदैन ।’
उनका अनुसार स्थानीय तहको निर्वाचनमा छिटपुट घटना भएपनि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कुनै अप्रिय घटना हुन नदिने गरी सुरक्षा व्यवस्थापन मिलाइनेछ । प्रहरीले निर्वाचन सुरक्षा तयारीका लागि कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुलबहादुर थापाको नेतृत्व सेल बनाउने तयारी गरिरहेको छ ।
प्रतिक्रिया 4