
काठमाडौं । समयको महत्व कति हुन्छ ? जीवनको यो बिन्दुमा आइपुगेपछि अभिनेता सौगात मल्ललाई बल्ल यो जवाफको महसुस हुँदैछ । किनभने वर्ष २०७९ मा मात्र मल्ल अभिनित आठ फिल्म प्रदर्शन हुँदैछन् । ‘कबड्डी ४’ ब्लकबस्टर बनेयता उनी आफैंले निर्माण गरेको फिल्म राधा भदौ १० गते प्रदर्शन हुँदैछ ।
त्यसको एकसाताअघि नै भदौ ३ गते ‘माइकल अधिकारी’ प्रदर्शन हुँदैछ । एकातिर निर्माताको रुपमा आफ्नो पहिलो डेब्यु फिल्म ‘राधा’को प्रचारप्रसारमा जुट्न उनीसँग समय पर्याप्त छैन ।
अर्कोतर्फ, त्यसअघि रिलिज हुने ‘माइकल अधिकारी’को प्रमोसनलाई पनि समय त चाहियो नै । समयको चेपुवामा सौगात यसरी चेपिएका छन् कि एकातिर निर्माताको रुपमा व्यावहारिक काम र अर्कोतिर हिरोको रुपमा फिल्मको प्रचारप्रसार ।
बिहीबार आयोजित फिल्म ‘माइकल अधिकारी’को पत्रकार सम्मेलनमा सौगात निकै चटारोमा सुनिए । पत्रकार सम्मेलनमै उनले लनच लिए अनि रिसिभ हुन नसकेका थुप्रै मिसकल पनि फर्काए । यो मुडमा उनी ‘माइकल अधिकारी’को गफ गर्न तयार भए ।
सौगात भन्छन्- पटकथाको समस्या यसमा छैन
नेपाली फिल्मलाई सधैं लाग्ने आरोप भनेकै पटकथा झूर हुनु हो । तर सौगातलाई लाग्छ, ‘माइकल अधिकारी’को पटकथा एकदम राम्रो छ । फिल्म प्रवर्द्धनका लागि उनले यस्तो भनेका हुन् या वास्तवमै त्यस्तो हो, भदौ ३ गते थाहा लाग्नेछ ।
‘दर्शकको रुपमा मैले फिल्म पनि हेरें । पटकथा राम्रो छ । नेपाली फिल्ममा स्क्रिनप्ले गतिलो भएन भन्छौं तर यसमा राम्रो छ । मलाई हरेक फिल्ममा काम गर्दा स्क्रिनप्लेकै डर हुन्छ । यसमा स्क्रिनप्ले एकदम राम्रो छ । म ढुक्क छु यसप्रति,’ उनले भने ।
सौगातलाई अर्को प्रश्न सोधियो- फिल्म नाटकजस्ता भए नि ? उनी यो आरोपलाई स्वीकार्छन् ।
‘दर्शकको यो कमेन्ट ठीक हो । जसले त्यस्तो फिल्म बनाउनुभयो, उहाँले फिल्म बनाउँदा त्यस्तो देखिनु सामान्य होला,’ उनलाई लाग्छ, ‘तर यो फिल्ममा त्यस्तो छैन । हरेक फिल्ममा ड्रामा हुन्छ । तर ड्रामाजस्तो देखिनुभएन । यो कुराबाट मुक्त छ माइकल अधिकारी । यसमा नाटक र फिल्म दुवै हेर्न पाउनुहुन्छ ।’
नाटक र फिल्म दुवैको सन्तुलन मिलाउनुपर्ने उनको सुझाव छ ।
फिल्मको मुख्य भूमिकामा सृष्टि श्रेष्ठ छिन् । उनी प्रचारप्रसारमा सौगातकै वरपर हुन्छिन् । वास्तविक जीवनका आफ्ना प्रेमीसँगै फिल्मको प्रचारमा हिंड्दा सृष्टिलाई स्वभाविक रुपमा कम्फर्टेबल त हुन्छ नै, जसको जवाफ उनले धेरैपटक दिइसकेकी छन् ।
‘माइकल अधिकारी’को आत्मा के हो ? सृष्टिलाई लाग्छ, बच्चाप्रति आमाको असीमित माया नै फिल्मको आत्मा हो । फिल्ममा सरोगेसी मुद्दाको राम्रो र नराम्रो दुवै पक्षलाई चित्रण गरिएको उनले बताइन् ।
‘यो कथामा राम्रो र नराम्रो दुवै पक्ष छ । सबै कुरालाई यथार्थपूर्वक देखाइएको छ । हरेक चरित्रको लक्ष्य र उद्देश्य छ,’ सृष्टि भन्छिन्, ‘जन्मदिने आमाको लागि सकारात्मक भए पनि कथाको अर्को पाटोमा निःसन्तान दम्पतीको संवेदना पनि महत्वपूर्ण हो । तटस्थ रहेर कथा भनिएको छ ।’
नेपालमा सरोगेसी प्रक्रियामा सामेल महिला र अभिभावक नखुल्ने भएकाले सृष्टिले यसबारे निर्माण भएका केही वृत्तचित्र हेरेरै आफूलाई चरित्रमा तयार पारिन् । ‘मैले वास्तवमै त्यस्ता पात्रलाई भेट्न पाइनँ, तर डकुमेन्ट्री हेरेर आफूलाई महसुस गरें,’ उनी भन्छिन् ।
रञ्जित रौनियार निर्देशित यो फिल्मलाई निरक पौडेलले निर्माण गरेका हुन् । कृष्ण जन्माष्टमी छेकोमा फिल्म रिलिज हुँदैछ ।
तस्वीर : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4